काठमाडौंको चक्रपथमा शोभा-यात्रा – २०१२

April 6, 2012 | News and Events  

[singlepic id=775 w=320 h=240 float=left]प्रभु येशू ख्रीष्ट यरुशलेममा अन्तिम पटक प्रवेश गरेको दिन खजूरको आइतवारको दिनको अवसर पारेर अप्रिल महिनाको १, २ र ३ तारिखका दिन काठमाडौंको चक्रपथ परिक्रमा गरी शोभा–यात्रा गरियो । उपत्यकाका मण्डलीहरूको तर्फबाट नेइम ज्ञानेश्वर चर्चको अगुवाइमा तीन दिने शोभा–यात्राको कार्यक्रम सम्पन्न गरिएको हो । भजनसंग्रह ६८:२४–२५ मा उल्लेख गरिएको नमूना बमोजिम गरिएको परमेश्वरको शोभा–यात्रामा सबैभन्दा अधिल्लो पंक्तिमा काठमाडौंका मण्डलीहरूका अगुवाहरू हुनुहुन्थ्यो भने त्यसको पछि गीत–भजन गाउनेहरू हुनुहुन्थ्यो । गीत–भजन गाउनेहरूको पछि तुरही फुक्नेहरू तथा तथा झ्याली बजाउनेहरू र तिनीहरूको पछि खैजडी बजाउनेहरू थिए । अगुवाहरू तथा बाद्यबादकहरूको पछाडि महिला तथा पुरुषहरूको लामो पक्ति परमेश्वरको बडाइँ गर्दै पदयात्रा गरेका थिए । विभिन्न जातिय भेषभूषा तथा पोशाकमा सजिएर परमेश्वरको जयगान गाउनेहरूको कारण त्यहाँ थप उमंगको वातावरण थियो । भजन गाउँदै र नाच्दै गरिएको उक्त शोभा–यात्रा साच्चिकै परमेश्वरको महिमा गर्नको लागि शोभायमान थियो । परमेश्वरका नाम लेखिएका सैकडौं झण्डाहरू फरफराउँदै हजारौंको संख्यामा विश्वासीहरूले परमेश्वरको जयगान गर्दै चक्रपथ परिक्रमा गरेका थिए । शोभा–यात्रामा केटाकेटी, बृद्धबृद्धा, महिला, जवान र पुरुषहरू सबैको उल्लेखनिय सहभागीता थियो भने शोभा–यात्रामा सहभागी भएका धेरैले आशिष पाएको र उत्साहित भएको कुरा बाँडेका थिए ।

प्रभु येशू ख्रीष्टलाई काठमाडौंमा स्वागत गर्नको लागि पहिलो दिन —अप्रिल १ तारिख आइतबारको दिन विहान ६ बजे सुरु गरी कोटेश्वरको पूर्वपट्टिबाट तीनकुने, सिनामंगल, गौशाला हुदै महाराजगन्जसम्म ९ बजे आइपुगेको थियो, दोस्रो दिन —अप्रिल २ तारिख सोमवारको दिन विहान ६ बजेदेखिसुरु गरी महाराजगञ्ज, बसुन्धारा, बालाजु, सितापाइला हुँदै कलंकीमा ९.३० मा आइपुगेको थियो भने तेस्रो दिन — अप्रिल ३ तारिख मंगलबारको दिन विहान ६ बजे सुरु भएर एकान्तकुना, सातदोबाटो, ग्वार्को, कोटेश्वर हुँदै करीब पौने १० बजे तीनकुनेमा आइपुगेको थियो । तीनकुनेमा जम्मा भएका विश्वासीहरूले यहोशूको पालोमा कराएर यरिहोको पर्खाल ढालेको कुरालाई सम्झना गर्दै यो शहरमा रहेका अन्धकारको शक्तिको विरुद्धमा कराएका थिए । अन्तिममा पास्टर रोबर्ट कार्थक (गुरुबा) ले प्रार्थना गरी उक्त शोभा यात्रा समापन गर्नुभएको थियो ।

शोभा यात्राको फोटोहरु हेर्न यहाँ थिच्नु होला।