धापसी विश्रामस्थलको पर्खाल

May 4, 2012 | Articles  

हाम्रो धर्मशास्त्र बाइबलमा दुई पुस्तकहरू एज्रा र नहेम्याह पनि छन् । यी पुस्तकहरूले आज पनि हामीलाई सन्देश दिएर आह्वान गरिरहेको छ । कतिपल्ट यस्ता पुस्तक किन र केको लागि लेखिए झै लाग्छ । मण्डलीको काम संयुक्त रूपमा गर्नलाई यी पुस्तकहरूबाट हामीलाई प्रेरणा र चुनौती मिल्दछ । कार्तिक २०६० नोभेम्बर २००३ को नेइम सूचना–पत्रमा “धापासी किन प्रिय” भनी सानो लेखद्वारा केही कुराहरू जानकारी गराउने मौका मिल्यो । आज नौ वर्षपछि फेरि एज्रा र नहेम्याहको पुस्तकले दिएको प्रेरणा र चुनौतीलाई अघि सार्दैछु । धापासी समिति, स्थानीय मण्डली निर्माण समितिहरू र निर्माण विभागबाट छलफल र तय गरिएको कामलाई मण्डलीको सह– योगको अपेक्षा गर्दै, हार्दिक निवेदन यही सूचना–पत्रद्वारा गरिरहेका छौं ।
धापासी निवासी स्व. नर बहादुर खड्का दाईको पहलमा २०३१ चैत्र-मार्च १९७४ मा श्री खड्का भद्रकाली गाउँ पञ्चायतको करीब १३ रोपनी जग्गा रू. १५,००० मा श्री पी.बी. राई, श्री जनक लाल श्रेष्ठ र वीर बहादुर खवासको नाउँमा पास गरियो । दाई नरबहादुरको घर धापासीमा भएकोले यो ठाउँलाई पनि धापासी भन्न थालेछौं । २०४४ सालमा धेरै कठिनाइको सामना गर्दै, मुद्दा खेप्न परेता पनि परमप्रभु परमेश्वरले हामीलाई विजय गराउनुभयो । २०३१ तिर यो अभेग र जंगल थियो भने अहिले घना बस्तीले भरिएको छ । हाम्रा प्रियहरूलाई राखेको ठाउँ हाम्रो लागि जति नै प्रिय भएता पनि वरिपरिका छिमेकीको लागि प्रेत रहने स्थान सरह छ । हामीलाई उहाँहरूको त्रास प्रकट गर्दै राम्रा सल्लाहहरू पनि दिइराख्नुभएको छ ।
एज्रा १:१ परमप्रभुले फारेसको राजा कोरेसको हृदयलाई उत्तेजित पार्नुभयो । १:५ परमप्रभुको मानिसहरूलाई परमेश्वरले परमप्रभुको भवन पुननिर्माण गर्नलाई उत्तेजित पार्नुभयो । मानिसहरूले आह्वानलाई स्वीकार गरेर राजीखुशीले धन सम्पत्ति र अन्य थोकहरू दिए । एज्रा ७ अध्याय पूजाहारी एज्रा र तिनको दलले यरूशलेममा परमेश्वरको भवनको पुननिर्माण गरे । ६:१५ काम गरेर सिध्याए ।
नहेम्याह १:३ यरूशलेमको पर्खाल भत्काइयो । यो समाचारले नहेम्याह रोए, बिलाप गरे, उपवास बसेर स्वर्गका परमेश्वरलाई प्रार्थना गरे । १ः५ आर्ट जारसेज राजालाई भने ‘मेरा पुर्खाहरू गाडिएको शहरलाई मैले पुननिर्माण गर्न मलाई यहूदामा पठाइ– बक्सियोस् ।’ नहेम्याह १:११ उनी राजाका मद्य टक्राउनेहरूका अधिकारी थिए । १:१३ उनले राती निस्केर भत्केको पर्खालको निरीक्षण गरे । १:१७ मानिसहरूलाई आह्वान गरे । ३ अध्याय विभिन्न ४२ परिवारले खुरन्धार आफ्ना–आफ्ना भाग मर्मत गरे । यो काम ४:२० अनुसार युद्ध सरह थियो । ६:१५ एलूल महिनाको पचासौं दिनमा काम गरेर सिध्याए । मिल्दो छ – एज्रा ६:१५, र नहेम्याह ६:१५ काम गरी पुननिर्माण सिध्याए ।
अब हामी नेइमले यी पाठहरूबाट धापासी–विश्रामस्थल कबरस्थानसम्बन्धी केही सुन्यौ ? केही देख्यौं ? उत्तेजित भयौं ? प्रेरणा पायौं । निश्चय पायौं । हाम्रो काँधमा आइपरेको यो ठूलो काम गर्नलाई हामीहरूले पुननिर्माणको अवधिभरि आसन, भाषण, रासन तथा मिटिङ्ग, सिटिङ्ग, इटिङ्गलाई नहेम्याह ६:३ मा झै अहिले मेरो हातमा ठूलो योजना, म यो काम छोडी त्यहाँ आउन सक्तिन भन्न सके प्रभुको ठूलो इनाम र आशिषबाट बञ्चित हुन पर्दैन ।
यो काम हामीले पनि छिटो सिध्याउनुपर्छ ।
यर्मिया ४८:१० परमप्रभुको काम ढिलोसित गर्नेलाई सराप ।
उपदेशक ९:१० तिम्रो हातमा जे काम छ, त्यो आफ्नो पूरा शक्तिले गर, किनभने चिहानमा जहाँ तिमी जान्छौ त्यहाँ केही गर्न सक्तैनौ ।
न्यायकर्ता ५:२३ मेरोजलाई सराप किनभने तिनीहरूले परमप्रभुलाई र युद्ध गर्ने मानिसहरूलाई सघाएनन् ।
१ कोरिन्थी १५:५८ पावलको प्रार्थना छ: प्रभुको काममा बढ्दैजाओ – प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन ।
नेइम कार्यकारिणी समिति बैठकले ११ मार्च २०१२ मा पारित गरेको छ: धापासीको सिमानाको पर्खाल बनाउने । आवश्यक रकम चारैवटा मण्डलीले जुटाउने । हामीलाई प्रभुले देखाउनुभएअनुसार निम्न प्रकारले सहभागी हुन सक्छौं:
१. आफैलाई काममा उपस्थित गराएर, रकम दिएर, प्रार्थनामा साथ दिएर;
२. कतिले आफैलाई काममा उपस्थित गराएर, प्रार्थनामा साथ दिएर;
३. कतिले रकम दिएर, प्रार्थनामा साथ दिएर
४. कतिले केवल प्रार्थनामा साथ दिएर
मर्कूस १४:८ यस स्त्रीले जे गर्न सक्थी त्यही गरेकी छ ।
कामको निम्ति योग्यता —
१ तपाईंको इच्छा,
२ तपाईंको समर्पण,
३. अह्राएको जे काम गर्नलाई पनि तयारी आत्मा र नम्रता ।
विभिन्न काम— पर्खाल निर्माण, बाँस काटछाट, उम्रेको पानी जम्मा गरी उपयोग गर्ने । काम गर्नेलाई खानेकुराले बल पु¥याउने । स्थानीय मण्डलीहरूले आफ्नो रकम र विभिन्न व्यक्तिगत सहयोग भेटीहरू ज्ञानेश्वरमा डीकन रत्नमान महर्जनलाई बुझाउन हुन अनुरोध छ । कसले जान्ने हामीले जुटेर, जुटाएर एकसाथ लागिपर्‍यौं भने प्रभुको वर्ष जुन १५ ता. २०१२ तथा १५–६–२०१२ मा काम गरेर सिध्याइवरी प्रभुलाई धन्यवादको बली चढाउन पाउनेछौं ।

संयुक्त निर्माण विभाग र धापासी समिति
– पास्टर विर बहादुर खवास