येशूको जन्ममा पूरा भएका दिव्य भविष्यवाणीहरू – डिकन सिमोन पाठक

December 14, 2015 | Articles  

येशू ख्रीष्टको जन्म मानिसको जन्मभन्दा फरक किसिमले भएको थियो । उहाँको जन्म, उहाँले जिउनुहुने जीवन र उहाँले मानिस जातिको निम्ति गर्नुहुने पवित्र बलिदान र पुनरूत्थान आदिको विषयमा उहाँ जन्मनु भन्दा हजारौं वर्ष अघि देखि अगमवक्ताहरूद्वारा विभिन्न समयमा भविष्यवाणी गरिएको थियो । उहाँको विषयमा गरिएका सबै भविष्यवाणीहरू एउटा पनि बिन्दु तल माथि नभई सबै पूरा भएका छन् । येशूको जन्मको सम्बन्धमा गरिएका दिव्य भविष्यवाणीहरू बाइबल धर्मशास्त्रमा यसरी लिपिबद्ध गरिएका छन्ः

येशू स्त्रीको सन्तान बनेर जन्मनुहुनेछ

सृष्टिको शुरूको मानव आदम र हव्वाले पाप गरिसकेपछि स्त्रीको सन्तान र शैतानको बीचमा दुश्मनी शुरू भयो उत्पत्ति ३ः१५) । मानिस र शैतानको बीचमा दुश्मनी हुनेछ र स्त्रीको सन्तानले तेरो शिर कुच्च्याउनेछ भनी गरिएको वाणीले येशूको जन्मलाई संकेत गरिएको कुरा पावलले गलातीहरूलाई लेखिएको पत्रद्वारा पुष्टि हुँदछ । समयको पूर्णतामा येशू स्त्रीको सन्तान बनेर जन्मनुभयो (गलाती ४ः४–५) । स्त्रीको सन्तानले तेरो शिर कुच्च्याउनेछ भनी हजारौं वर्ष अघि गरिएको भविष्यवाणी क्रूसको मृत्यु र पुनरूत्थानमा पूरा भयो ।

येशू इस्राएलबाट जन्मनुहुनेछ

येशू जन्मनुभन्दा करीब पन्ध्र सय वर्ष अघि उहाँ इस्राएलबाट आउनुहुनेछ भनी भविष्यवाणी गरिएको थियो (गन्ती २४ः१७–१९)। यो भविष्यवाणी मुताविक नै उहाँ अब्राहाम, इसहाक, याकूब अर्थात् इस्राएलको वंशबाट हुँदै जन्मनुभयो र उक्त भविष्यवाणी पनिशत् प्रतिशत पूरा भयो (मत्ती १ः१–१७) ।

येशू कन्या स्त्रीबाट जन्मनुहुनेछ

यशैया अगमवक्ताले येशूको जन्म कन्याद्वारा हुनेछ भनी येशू जन्मनु भन्दा करिब साँढे सात सय वर्षअघि भविष्यवाणी गरेकाथिए (यशैया ७ः१४) । उहाँ कन्या मरियमको कोखमा पवित्र आत्माको शक्तिद्वारा गर्भधारण हुनुभयो । मरियमले सोधेको प्रश्नको जवाफमा स्वर्गदूतले यसरी भनेका थिए, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छायाँ तिमीमाथि पर्नेछ । यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ” (लूका १ः३५–३६) ।
येशूको जन्म कन्या मरियमको कोखबाट हुनु पवित्रआत्माको काम थियो (मत्ती १ः१८–२५) । यशैया अगमवक्ताले गरेको भविष्यवाणी करिब साँढे सात सय वर्षपछि जस्ताको तस्तै पूरा भयो (लूका १ः२६–३३; मत्ती १ः२०–२३ ) ।

येशू बेथलेहममा जन्मनुहुनेछ

मीका अगमवक्ताले येशूको जन्म बेथलेहेममा हुनेछ भनी करिब सात सय पचास देखि छ सय छयासी ख्रीष्टपूर्वमा भविष्यवाणी गरेका थिए (मीका ५ः२) । मीका अगमवक्ताले येशूको जन्मको विषयमा गरेको भविष्यवाणी सत् प्रतिशत पूरा भयो
(लूका२ः४–७,११,१५–१६;मत्ती२ः१–६,८–९;यूहन्ना७ः४२) ।

येशू दाऊदको घराना, यहूदाको कुलमा जन्मनुहुनेछ

येशू दाऊदको घराना, यहूदाको कुलबाट जन्मनुहुनेछ भनी भविष्यवाणी भएको थियो (उत्पत्ति ४९ः१०; यशैया ११ः१–५; लूका १ः३१–३३; यर्मिया २३ः५–६, ३३ः१४–१६) । योसेफ र मरियम दुवै जना दाऊदको घरानाका थिए (मत्ती १ः६,१६) । योसेफ कानूनीतवरले येशूका पिता हुन् र मरियम शारीरिक तवरले येशूकी आमा हुन् र दुवै जना दाऊदको वंशका थिए । मत्ती एक अध्याय र लूका ३ अध्यायमा उल्लेख गरिएको वंशावलीलाई केलाउँदै जाँदा योसेफ र मरियम यरूबाबेलको वंशमा पर्दछन् (मत्ती १ः१२; लूका ३ः२७) । यरूबाबेल दाऊदको वंशका थिए (मत्ती १ः६,१२) । मत्ती र लूकामा उल्लेख गरिएको वंशावलीलाई अध्ययनगर्दा येशू दाऊदको घरानाबाट जन्मनुभएको पुष्टि हुन्छ । यसरी येशू दाऊदको घराना, यहूदाको कुलमा जन्मनुहुनेछ भनी गरिएको भविष्यवाणी पनि शत् प्रतिशत पूरा भयो ।

येशूले सदासर्वदै राज्य गर्नुहुनेछ

यशैयाले येशू सदासर्वदै राज्य गर्नुहुनेछ भनी उहाँ जन्मनु भन्दा करिब साँढे सात सय वर्ष अघि भविष्यवाणी गरेकाथिए (यशैया ९ः६–७) । स्वर्गदूतले येशूको जन्म र उहाँ कस्तो व्यक्ति हुनुहुनेछ भन्ने विषयमा मरियमलाई भनेको वाणी र यशैयाले गरेको भविष्यवाणी मिल्दोजुल्दो छ (लूका १ः३२–३३) । येशू सदासर्वदै राज्य गर्नुहुने राजा हुनुहुन्छ । उहाँ स्वर्गको सिंहासनमा आज पनि राज्य गरिराख्नुभएको छ । उहाँ एक दिन मण्डलीलाई लिन आउनुहुनेछ र हामी पनि उहाँसँगै राज्य गर्नेछौं ।

येशूको जन्म मात्र होइन उहाँको मृत्यु र पुनरूत्थान वा फेरि जीवित हुने विषयमा गरिएको भविष्यवाणी पनि सबै पूरा भएका छन् । उहाँमा विश्वास गर्नेहरूलाई एकदिन लिन आउनुहुनेछ भनी येशू मृत्युबाट जीवित हुनुभएको चालिस दिनपछि जैतून डाँडाबाट स्वर्ग उचालिनुहुँदै गर्दा स्वर्गदूतद्वारा गरिएको भविष्यवाणी पनि एक दिन शत् प्रतिशत् पूरा हुने नै छ (प्रेरित १ः११) । यदि उहाँको विषयमा गरिएका भविष्यवाणीहरू पूरा नभएको भए दोस्रो आगमन र उहाँ माथि विश्वास गर्नेहरूले मुक्ति पाउने कुरामा शंका हुने थियो तर उहाँको विषयमा गरिएको भविष्यवाणी शत् प्रतिशत् पूरा भएको हुनाले उहाँमाथि विश्वास गर्नेहरूले मृत्युपछि मुक्ति पाउने कुरा पनिशत् प्रतिशत् निश्चित छ ।

उहाँको जन्मले अन्धकारमा रूमल्लिएका संसारका सारा मानव जातिलाई मुक्ति, शान्ति, मिलाप आदिको सन्देश दिएको छ, यो सन्देश छर्दै ख्रीष्ट जन्मोत्सवको वास्तविकतालाई सार्थक बनाउनु नै साँचो ख्रीष्टमस मनाउनु हो । देशको प्रतिकूल परिस्थितिले हाम्रो घरको चूल्हो निभे पनि हृदयको दियो जलिरहोस् र अन्धकारमा भएका मानिसहरूलाई ज्योति, मुक्ति, शान्ति र मिलापको सन्देश सुनाउँदै यो वर्षको ख्रीष्टमसलाई उज्ज्वल गराऔं !