परमेश्वरले खोज्नुभएको हृदय – डिकन सिमोन पाठक

February 9, 2016 | Articles  

तपाईंले पानीको मूल फुटेको ठाउँ देख्नुभएको छ ? नूहको जलप्रलयको समयमा अगाधका सब मूलहरू फुटे र आकाशकाद्वारहरू खुलेको कारण सारा पृथ्वी पानीले जलमग्न भएको थियो । बाइबलले मानिसको हृदयलाई सारा जीवनको मूलहो भनी चित्रण गरेको छ । हाम्रो दैनिक जीवनका क्रियाकलापहरू हृदयसँग सम्बन्धित छन् । विगतमा हामीले हृदयमा संकलन गरेका कुराहरू नै आज हामी दैनिक जीवनमा पोखाइराखेका छौं । मानिस जन्मँदा खाली हृदय लिएर जन्मेको हुन्छ । जन्मेको दिन देखि वा आमाको गर्भमा आएको दिनदेखि उसले जे सुन्छ त्यही कुरा नै उसको मन मस्तिष्कमा भरिँदै जान्छ । हामीले आज देखाइराखेको आनीबानी, व्यवहार, रहनसहन, बोलीवचन सानो देखि हाम्रो मनमा भरिएका कुराहरू नै हुन् ।

कति मानिसहरू हिंसक बनेका छन्, अरूलाई दुव्र्यवहार गर्नेहरू भएका छन् । किन उनीहरू आज त्यस्ता भएका छन् ? अनुसन्धानले देखाए अनुसार हिंसक र दुव्र्यवहार परिवारमा हुर्केकाहरू नै आज अरूलाई हिंसा गरिराखेका छन्, अरूलाई दुव्र्यवहार गरिराखेका छन् । उनीहरू त्यसरीनै हुर्केको कारण उनीहरूको मन मस्तिष्कमा पनि आफू ठूलो भएपछि त्यस्तै गर्नेहरू भएका छन् । किन आर्मी र प्रहरीहरूमा हुनेहरूले आफू भन्दा तल भएकाहरूलाई तथानामशब्दहरू बोल्ने, गालीगर्ने, हेप्ने गर्दछन् ? किनकि ऊ पनि तल्लो दर्जामा हुँदा ऊ भन्दा माथिकाहरूले उसलाई त्यस्तै व्यवहार गरेका थिए, त्यसकारण आफू माथिल्लो दर्जामा पुगेपछि तल्लो दर्जामा हुनेहरूलाई त्यस्तै व्यवहार गर्ने सोच उसमा विकास भइसकेको हुन्छ । जुन मानिसको हृदय डर, असुरक्षा, छल, दुष्टता, खराब, अशुद्ध, कठोर, शंकालु, स्वार्थी आदि कुराहरूले भरिएको छ, उसले अरू मानिसहरूलाई पनि त्यस्तै नजरले हेरिराखेको हुन्छ  । किनकि उसले आफ्नो हृदयमा भएको कुराहरू नै अरूहरूमा प्रतिबिम्ब गरिराखेको हुन्छ ।

बाइबलले मानिसको हृदयलाई विशेष गरी दुई किसिमले चिरफार गरिदिएको छ । सकारात्मक हृदय र नकारात्मक हृदय ।

बाइबलले चित्रण गरेको नकारात्मक ह्दयः

·   परमेश्वरबाट तर्किएको हृदय (यर्मिया १७ः५)
·   ढुंगाको हृदय (इजकिएल ११ः१९)
·   कठोर हृदय (हिब्रू ३ः८, रोमी २ः५)
·   छली हृदय (यर्मिया १७ः९)
·   दुष्टताले भरिएको हृदय (लूका ६ः४५)
·    अशुद्धहृदय (मत्ती १५ः१८–१९, २३ः२७–३८,     मर्कूस ७ः२०–२३)
·    स्वःधर्मी ठहराउने हृदय (लूका १६ः१५)
·   अपश्चत्तापी हृदय (रोमी २ः५)
·   बेठीक हृदय (प्रेरित ८ः२१)

नकारात्मक हृदयको विषयमा धर्मशास्त्रमा खोज्दै गयौं भने अझैँ धेरै कुराहरू पाउन सक्छौं । जलप्रलय हुनुअघि मानिसका विचारहरू खराबहुँदै गएका थिए । यदि हाम्रो हृदय नकारात्मक कुराहरूले भरिएको छ भने कसरी सकारात्मक काम, सकारात्मक बोलीवचन, सकारात्मक व्यवहार, सकारात्मक हेराइ, सकारात्मक सेवागर्न सक्छौं ? हामीले चाहे तापनि हृदय अशुद्ध वा दुष्ट छ भने असल बोलीवचन वा कामहरू प्रकट हुन सक्दैन । प्रभु येशूले भन्नुभयो, “ए सर्पका बच्चा हो ! तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन् । असल मानिसले आफूभित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ” (मत्ती १२ः३४–३५) ।

परमेश्वरले हामीलाई हरेक दिन नयाँ दिन दिनुहुन्छ । हामीले पाएको नयाँ दिन वा नयाँ वर्षमा नयाँ काम गर्नु हो भने सबैभन्दा पहिला हाम्रो हृदय नयाँ हुनु आवश्यक छ । परमेश्वरले गर्नुहुने कामको शुरूवात् शरीरबाट प्राणमा, प्राणबाट आत्मामा नभएर, आत्माबाट प्राणमा, प्राणबाट शरीरमा प्रष्फुटन हुँदछ । फलले रूखको परिचय दिएको जस्तै हाम्रो शरीरबाट भइराखेका वा गरिराखेका कामहरूले हाम्रो हृदय कस्तो छ, त्यसको परिचय दिइराखेको हुन्छ । यदि हामी अरूलाई लडाउने, गिराउने, चोट पुर्‍याउने, बाहिर चूनपोतेको चिहानजस्तै धर्मी भएको टोपलेर भित्र चाहिँ कुहेको चिहानजस्तो हृदय बनाइराखेका छौं भने त्यही अनुसारको कटनी पनि गर्नेछौं ।

बाइबलले चित्रण गरेको सकारात्मकह्दयः

·    नयाँ हृदय (इजकिएल ३६ः२६)
·    मासुको हृदय (इजकिएल ३६ः२६)
·    चूर्ण हृदय (भजनसंग्रह ३८ः१८)
·    सेवागर्ने हृदय (१ इतिहास २८ः९, १ शमूएल १२ः२०)
·    खुशी वा आनन्दित हृदय (भजनसंग्रह १०५ः३,  १ इतिहास २८ः९)
·    परमेश्वरलाई खोज्ने हृदय (भजनसंग्रह १०५ः३)
·    शुद्ध हृदय (भजनसंग्रह ५१ः१०, ७३ः१, मत्ती ५ः८)
·    पूर्ण हृदय (१ शमूएल १२ः२४)
·    पश्चात्तापी हृदय (भजनसंगह ५१ः१७)
·    प्रेमगर्ने हृदय (व्यवस्था ६ः४–५, मर्कूस १२ः३०–३१)
·    सत्य हृदय (भजनसंग्रह ५१ः६)
·    असलथोकले भरिएको हृदय (लूका ६ः४५)
·    विभक्तनहुने हृदय (इजकिएल ११ः१९)
·    परमेश्वरमा भरोसा राख्ने हृदय (यर्मिया १७ः७–८)
·    खतनागरिएको हृदय (रोमी २ः२९)
·    सुरक्षितहृदय (हितोपदेश ४ः२३)
·    परमेश्वरबाट प्रशंसा पाउने हृदय (रोमी २ः२९)
·    परमेश्वरबाट काम अनुसारको इनामपाउने हृदय  (यर्मिया १७ः१०)

नकारात्मक हृदयले नकारात्मक विश्वास पैदा गराउँछ भने सकारात्मक हृदयले सकारात्म कविश्वास पैदा गराउँदछ । परमेश्वरले प्रत्येक मानिसमा सकारात्मक हृदय खोज्नुहुन्छ । किनकि सकारात्मक हृदय भएकाहरूको जीवनबाट मात्र जीवनको मूल फुटेर निस्कदछ । हामी हाम्रो पढाईमा, परिवारमा, काममा, व्यवसायमा, सेवामा, मण्डली वृद्धिमा, उन्नति, आशिष् देख्न चाहन्छौं भने सकारात्मक हृदयको विकास गर्नु आवश्यक छ । सकारात्मक हृदयको विकासगर्न चाहनेहरूले आफ्नो बोलीवचनमा परिवर्तन गर्नुपर्दछ । मानिसलाई गोलीहान्ने बोलीबोलेर हाम्रो हृदय सकारात्मक हुन सक्दैन । येशूको रगतले धोइएर शुद्ध भएको हृदयलाई दुषित् पार्ने काम नकारात्मक सोचविचार, नकारात्मक हेराइ, नकारात्मक बोलीवचन र पापका कामहरू नै हुन् । पापबाट शुद्ध हुनलाई येशूको रगतको आवश्यकता पर्दछ भने नकारात्मक व्यवहारबाट शुद्ध हुन हृदय ठीक हुनु पर्दछ ।

हामीले आफ्नो विषयमा, परिवारको विषयमा साथै एक अर्काको विषयमा सकारात्मक सोचहरू राखेर जीवन जिउन थाल्यौं भने हाम्रो हृदय असल थोकहरूको भण्डार हुनपुग्नेछ जसद्वारा आशिष् र उन्नतिको कटनी गर्न सक्नेछौं । मानिसको हृदय जीवनको मूलभएको कारण हृदयलाई सुरक्षित राख्नु प्रत्येक व्यक्तिको दायित्वहो । हाम्रो हृदय कस्तो छ ? “परमप्रभुले मानिसले झैँ हेर्नुहुन्न । मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ” (१ शमूएल १६ः७) ।