जीवन कि मृत्यु ? हाम्रो छनोट – एल्डर गोपी राइ

June 6, 2016 | Articles  

सबै मानिस आमाको गर्भबाट एक पटक जन्मने हो । तर हाम्रो लागि दोस्रो पटक जन्मने अवसर पनि छ ।

बाइबलमा यूहन्ना ३ अध्यायमा निकोदेमस नाउँका फरिसीका बारेमा लेखिएको छ । प्रभु येशूलाई ती फरिसीले रातको समयमा आएर भन्छन्, “गुरुज्यू हामी जान्दछौं, तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन” (यूहन्ना ३ः२) ।

येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन ।” निकोदेमसले भने, “मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र ? के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन के सक्छ र ?”

येशूले भन्नुभयो, “कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन । शरीरबाट जन्मेको शरीर हो र आत्माबाट जन्मेको आत्मा हो ।”

हरेक मानिसको मनमा निकोदेमसको जस्तै प्रश्न हुन्छ । साँच्चै दोस्रो पटक जन्मनु सम्भव छ ? प्रभु येशूले भन्नुभयो सम्भव छ । हरेक जीवात् आमाको गर्भबाट जन्मन्छ । त्यो उसको लागि पहिलो जन्म हो । मानिस पनि पहिलो पटक आमाको गर्भबाट जन्मन्छ । तर उसको लागि त्यो जन्म मात्र पर्याप्त छैन । उसको लागि दोस्रो जन्म पनि आवश्यक छ । दोस्रो जन्म उसको विश्वाससँग सम्बन्धित छ । जसले प्रभु येशूको जन्म “मेरो निम्ति भएको हो” भनेर मानिलिन्छ र आफ्नो जीवनको मुक्तिदाता भनेर स्वीकार गर्छ भने त्यसको नयाँ जन्म हुन्छ र नयाँ जन्म भनेको फेरि जन्मनु भनेको हो । ऊ विश्वासद्वारा जन्मनु पर्छ । आमाको गर्भबाट जन्मेको शरीर हो । शरीरमा जन्मेर मात्र उसलाई पुग्दैन । आत्माबाट पनि जन्मेको हुनुपर्छ । यसैलाई दोस्रो जन्म भनिन्छ । आत्मामा जिउनुको लागि आत्माबाट जन्मेको हुनुपर्छ ।

जो दुई पटक जन्मन्छ, त्यो एक पटक मात्र मर्छ । तर जो एक पटक मात्र जन्मन्छ, त्यो दुई चोटि मर्छ । एउटा मानवमा २ वटा जीवन हुन्छ । शारीरिक जीवन र आत्मिक जीवन ! शारीरिक जीवन रहुन्जेल त्यससँगै आत्मिक जीवन पनि रहन्छ । शारीरिक जीवनको अन्त्यपछि आत्मिक जीवन बाँचिरहन्छ कि नास हुन्छ वा त्यसको पनि मृत्यु हुन्छ ?

२ कोरिन्थी ५ः१७ यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो कुरा बितिगएको छ, हेर नयाँ कुरा आएको छ । कसैले ख्रीष्टलाई पाएकोले मात्र नयाँ सृष्टि हुन्छ अर्थात् दोस्रो जन्म पाउँछ ।

अधर्मीहरू परमेश्वरका राज्यका हकदार हुँदैनन् भन्ने तिमीहरूलाई थाहा छैन, धोका नखाओ अनैतिकहरू, मूर्तिपूजकहरू व्यभिचारीहरू,समलिङ्गीहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू, परमेश्वरका राज्यको हकदार हुने छैनन्” (१ कोरन्थी ६ः९–१०) । हिजोको जन्म हाम्रो इच्छाद्वारा भएको होइन न त मृत्यु नै हाम्रो इच्छामा भर पर्छ । दुवै हाम्रो बशमा छैनन् । हाम्रो जन्म र हाम्रो आयु परमेश्वरद्वारा निर्धारित हुन्छ र मृत्यु अवश्यम्भावी छ ।

शारीरिक मृत्यु जन्मेपछि एकदिन हुन्छ नै । तर जब मानिसले आफ्नो पाप स्वीकार गर्छ र प्रभु येशुकहाँ पश्चात्ताप गर्छ भने आत्माको मृत्युबाट बाँच्छ । दोस्रो मृत्यु ल्याउनेचाहिँ पाप हो । जसले पापलाई स्वीकार गर्छ र फर्कन्छ भने त्यो दोस्रो मृत्युबाट बाँच्छ अर्थात् आत्मिक मृत्युबाट बाँच्छ र अनन्त जीवनमा प्रवेश गर्छ । “तिनले एउटा पुत्र जन्माउनेछिन्, तिमीले उहाँको नाउँ येशू राख्ने छौं, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनु हुनेछ अर्थात् मुक्ति दिनुहुनेछ” (मत्ती १ः२१) ।

२ कोरिन्थी ५ः१७ मा लेखिएको छ, “यदि कोही ख्रीष्टमा छ त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर नयाँ आएको छ ।”
रोमी ३ः२३ ले भन्छ, “सबै मानिसले पाप गरेका छन् र परमेश्वरको महिमामा पुग्नबाट चुकेको छन् ।” रोमी ६ः२३ ले भन्छ, “किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैंको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो ।”

पापले दोस्रो मृत्यु ल्याउँछ । किनकि सबै पाप गर्नको लागि मृत्युको दण्ड छ । यो मृत्यु आत्माको मृत्यु हो । यो दोस्रो मृत्यु हो । तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू हत्याराहरू, व्यभिचारीहरू, जादुगरहरू, मूर्तिपूजकहरू, झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ । यो दोस्रो मृत्यु हो । (प्रकाश २१ः८) । रोमी ८ः१ ले भन्छ, उहाँमा अर्थात् येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन अर्थात् अनन्त जीवन छ । इसाईहरू मृत्यु पश्चात् अनन्त जीवनमा प्रवेश गर्छन् । अन्त्य नहुने जीवनमा प्रवेश गर्छन् । अनन्त जीवन पाउनेहरू परमेश्वरका राज्यमा जान्छन् जहाँ आनन्द छ ।

हाम्रो वशमा भएको कुरा चाहिँ हाम्रो जीवन कालमा नै दोस्रो जीवन कि दोस्रो मृत्यु छान्ने मौका हो । दोस्रोमा एउटा छनोट गर्न सकिन्छ । जब जीवन छनोट गर्छौं भने त्यो हो अनन्त जीवन । त्यसको लागि येशू प्रभुलाई मुक्तिदाता भनेर स्वीकार गर्नुपर्छ । हामी छनोट गर्दैनौं भने दोस्रो मृत्युमा पुग्छौं । त्यो भनेको नरक अर्थात् बाईबलमा उल्लेख गरिएको दोस्रो मृत्यु हो । पाप गर्ने तर पश्चात्ताप नगर्नेहरूको मार्ग दोस्रो मृत्यु हुन्छ ।

हामीलाई पनि कसैले सुसमाचार सुनायो । हामीले पनि सुसमाचार सुनाउने कर्तव्य हो र मत्ती २८ः१८–२० मा प्रभुको आज्ञा पनि हो । तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्तअधिकार मलाई दिइएको छ । यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ पिता, पुत्र र पवित्रआत्माको नाउँमा तिनीहरूलाई बप्तिसमा देओ । मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । हेर युगको अन्तसम्म म तिमीहरूको साथमा छु ।”

रोमी १०ः१४–१५ – तर जसलाई विश्वास गरेकै छैन उहाँलाई मानिसहरूले कसरी पुकार्ने ? जसको विषयमा सुनेकै छैनन्उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने र प्रचारकविना तिनीहरूले कसरी सुन्ने ? र कसैले नपठाइकन मानिसहरूले कसरी प्रचार गर्ने ? जस्तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर ।” नसुनिकन कसैले थाहा नै पाउँदैनन् । थाहा पाएपछि मात्र विश्वास गर्ने हो । त्यसैले सुसमाचार सुनाउनै पर्छ । त्यसैले दोस्रो जन्म लिनु आवश्यक छ । कसैले नयाँ जन्म पाउँछन् भने सन्तान सुखको रूपमा किन नलिने ? हामीले सित्तैंमा पाएको कुरा सित्तैंमा किन नदिने ?