भलाइ गर्न भलाइको स्रोतले भरिनु – एल्डर सिमोन पाठक

September 5, 2016 | Articles  

तपाईंको हृदयमा कुनै व्यक्तिप्रति, माया, प्रेम, वास्ता छ भने व्यवहारमा त्यस व्यक्तिप्रति तपाईं के कुराहरू प्रकट गर्नुहुन्छ ? माया, प्रेम वास्ता नै प्रकट गर्नुहुन्छ, होइन र ? यदि तपाईंको हृदयमा कुनै व्यक्तिप्रति रीस, ईष्र्या, डाह, घृणा छ भने व्यवहारमा त्यस व्यक्तिप्रति तपाईं के कुरा प्रकट गर्नुहुन्छ ? रीस, ईष्र्या, डाह, घृणा नै प्रकट गर्नुहुन्छ, होइन त ?

हाम्रो हृदयमा भरिने कुराहरूको स्रोत अथवा जराचाहिँ“ खराब छ भने हाम्रो हृदयबाट पनि खराब कुराहरू नै बाहिर निस्केर आउँछन् । तर हाम्रो हृदयमा भरिने कुराहरूको स्रोत अथवा जराचाहिँ“ असल छ भने हाम्रो हृदयमा पनि असल कुराहरूले नै भरिन्छ र असल कुराहरू नै व्यवहारमा प्रकट हुँदछ । बाइबल धर्मशास्त्रले बताउँछ, सबै उत्तम थोकहरूको स्रोत परमेश्वर हुनुहुन्छ ।

“हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ । बदलिरहने छायाँजस्तो उहाँमा कुनै हेरफेर हुँदैन” (याकूब १ः१७) । हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गको परमेश्वरबाट आउँछ ।

“आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो । र त्यो साह्रै राम्रो थियो…” (उत्पत्ति १ः३१) । परमेश्वरले सृष्टि गर्नुभएका सबै कुरा साह्रै राम्रा थिए । मानिसको निम्ति भलाइ गर्ने थिए । किनकि उहाँ सबै राम्रा र भलाइ थोकहरूका स्रोत हुनुहुन्छ । हाम्रो हृदयलाई परमेश्वरबाटको असल कुराहरूले भर्नु हो भने परमेश्वरको भलाइलाई जान्नु पर्दछ । भलाइ परमेश्वरको विशिष्ट गुणहरूमध्येको एउटा गुण हो । परमेश्वरको भलाइ, प्रेम, दया, कृपा र अनुग्रहसँग सम्बन्धित छ । “परमप्रभु सबैमाथि भलो हुनुहुन्छ र आफ्नो समस्त सृष्टिमाथि दया राख्नुहुन्छ” (भजनसंग्रह १४५ः९) ।

परमेश्वर सबैमाथि भलो हुनुहुन्छ । उहाँले कहिल्यै पनि मानिसको कुभलो गर्नुहुन्न । असल बुवाआमाले आफ्ना छोराछोरीप्रति कहिल्यै पनि कुभलो गर्नुहुन्न । उहाँहरूले जहिले पनि भलो चिताउनुहुन्छ । आफ्ना छोराछोरीहरूको उन्नति, प्रगति देख्न चाहनुहुन्छ । परमेश्वर मानिस भन्दा धेरैमाथि हुनुहुन्छ । हामीले उहाँलाई नचिनेर उहाँको विरूद्धमा पापका कामहरू गरेको समयमा पनि उहाँले आफ्नो भलाइ हामीप्रति प्रकट गरिराख्नुभएको हुन्छ ।

एकदिन पावल र बर्णाबास लुस्त्रा शहरमा सुसमाचार सुनाउन गएका थिए । त्यहाँ एकजना जन्मैदेखिको अपाङ्ग भएर बसेको मानिस थियो । पावलले त्यो अपाङ्गलाई येशूको नाउँमा प्रार्थना गरे अनि त्यो तुरून्तै निको भयो । त्यो मानिस निको भएको कारण लुस्त्रा शहरका मानिसहरूले पावल र बर्णाबासलाई देवता भनी पूजा गर्न खोजे । पावलले त्यहाँका मानिसहरूलाई सम्झाउँछन् तपाईंहरूले भूल गर्दै हुनुहुन्छ । हामी तपाईंहरू जस्तै मानिस मात्र हौं । हामीले पनि एक समय अज्ञानतामा मानिसहरूलाई देवता भनी पूजा गर्ने गथ्र्यौं । हामी आ–आफ्नै रीतिअनुसार चलेका थियौं । तपाईंहरू पनि त्यसरीनै चलिराख्नुभएको छ । तपाईंहरूले परमेश्वरको विरूद्धमा पापहरू गरिराख्नुभएको छ । तर पनि सृष्टिकर्ता परमेश्वरचाहिँ तपाईंहरूप्रति भलो नै हुनुभएको छ भनी पावल भन्दछन्ः

“तापनि उहाँले आफूलाई गवाहीविना छोड्नुभएन, किनकि उहाँले भलो गरेर तपाईंहरूलाई स्वर्गबाट पानीको झरी र फलवन्त ऋतु दिनुभयो र तपाईंहरूका हृदयलाई भोजन र आनन्दले सन्तुष्ट पार्नुभयो” (प्रेरित १४ः१७) ।

परमेश्वरको भलोपन सबै मानिसहरूप्रति हुन्छ तर उहाँको भलोपन थाहा पाउन मानिसको हृदयबाट पाप हट्नुपर्छ । उहाँसँग ठीक सम्बन्धमा हुनुपर्छ । पापी हृदयबाट उत्तम कुराहरू वा भलाइको मूल फुट्न सक्दैन । हाम्रो हृदयबाट उत्तम कुराहरूको मूल फुट्नको निम्ति परमेश्वरको विरूद्धमा गरेको पापको क्षमा माग्नुपर्छ । परमेश्वरको बाटोमा हिँड्नुपर्छ । उहाँसँग हाम्रो ठीक सम्बन्ध हुनुपर्दछ ।

“सत्य मार्गमा हिँड्नेहरूलाई परमप्रभुले कुनै भलो थोकबाट बञ्चित राख्नुहुन्न” (भजनसंग्रह ८४ः११) । बाइबल धर्मशास्त्रअनुसार सत्य व्यक्ति हुनुहुन्छ । येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ । मद्वारा बाहेक ? कोही पनि पिताकहाँ आउन सक्दैन” (यूहन्ना १४ः६) ।

उहाँको बाटोमा हिँडनेहरूलाई असल कुराहरूको अभाव हुँदैन । उहाँलाई प्रेम गर्ने र उहाँको अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ गर्नुहुन्छ । “हामी जान्दछौ, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ” (रोमी ८ः२८) ।

परमेश्वरले सबै कुराहरूद्वारा भलाइ उत्पन्न गर्नुहुन्छ भन्ने सत्यता जान्यौं भने त्यसको परिणाम के हुन्छ ? सबै परिस्थितिमा परमेश्वरलाई धन्यवाद चढाइराख्न सक्छौं । किनकि उहाँ सबै भलाइ, असल, राम्रा कुराहरूको स्रोत हुनुहुन्छ । हाम्रो हेराइमा वर्तमानको परिस्थिति खराब, कुभलो जस्तो भएतापनि परमेश्वरसँग संगति गर्न, उहाँको बाटोमा निरन्तर हिँड्न, र निरन्तर प्रार्थनामा लागिरह्यौं भने प्रतिकूल परिस्थितिको समयमा पनि परमेश्वरले भलाइ उत्पन्न गर्न सक्नुहुुन्छ ।

मानविय भलाइ र ईश्वरीय भलाइमा के फरक छ ?

मानविय भलाइले हामीलाई तुरून्त खुशी पैदा गर्छ, क्षणिक आनन्द दिन्छ । तपाईंलाई पचास हजार रूपैंयाको खाँचो परेको थियो । कहाँबाट ल्याउने, कसरी यो खाँचो टार्ने तपाईं छट्पटाइराख्नुभएको थियो । तपाईंको एकजना साथीले पचास हजारको अभावले तपाईं संकष्टमा परेको थाहा पायो र पचास हजार सापटी दियो भने तपाईंको निम्ति त्यो कहिल्यै नबिर्सने भलाइ भयो । त्यो गुण अथवा भलाइप्रति तपाईं कृतज्ञ हुनुहुन्छ । तपाईं क्षणिक समयको लागि भएपनि आनन्दित हुन सक्नुहुन्छ । मानविय भलाइले चाहिँ छोटो समयको लागि भएपनि खुशी पैदा गर्छ, क्षणिक आनन्द दिन्छ । फेरि पैसाको अभाव हुन्छ फेरि अशान्ति हुन्छ ।

ईश्वरीय भलाइ अथवा परमेश्वरले गर्नुहुने भलाइले चाहिँ दीर्घकालिन आनन्द दिन्छ । परमेश्वरले गर्नुहुने भलाइले हामीलाई अनन्त जीवनमा पुर्‍याउँछ । परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभएर गर्नुभएको भलाइचाहिँ दीर्घकालिन भलाइ हो । ईश्वरीय भलाइमा क्षणिक ताडना पनि हुन्छ तर दुःख दिन होइन हामीलाई अझै फलवन्त बनाउनलाई हो । किसानले फल फल्ने रूखलाई छाँट्दा दुख्छ तर त्यसले पछिबाट बढी फल दिन्छ ।
ईश्वरीय भलाइचाहिँ पवित्र आत्माको फल हो (गलाती ५ः२२) । परमेश्वरले पवित्र आत्माद्वारा हाम्रो जीवनमा काम गर्नुहुन्छ अनि हामीमा भलाइको फल उत्पन्न हुन्छ । हामीलाई घृणा गर्ने, कुभलो चिताउनेहरूप्रति बदलाको भावना जगाउनको सट्टा प्रेमको भावना पैदा हुन्छ र तिनीहरूको लागि प्रार्थना गर्नसक्छौं । परमेश्वरले गर्नुहुने भलाइचाहिँ मानविय सोचभन्दा धेरै फरक छ ।

“उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ । धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ (मत्ती ४ः४५) ।” परमेश्वरले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ । धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ । यो धर्मीको घर रहेछ, यसलाई बढी समय उज्यालो, ताप दिनुपर्‍यो । यो पापीको घर रहेछ, यसलाई थोरै समय उज्यालो वा ताप दिनुपर्‍यो भन्दैन । यो पापीको खेत रहेछ, थोरै पानी दिनुपर्‍यो । यो धर्मीको खेत रहेछ, धेरै वृष्टि दिनुपर्‍यो भन्दैन ।

परमेश्वर भलो हुनुहुन्छ भनेको यही नै हो । हामीले उहाँको विरूद्धमा पाप गरिराखेको समयमा पनि प्रेम गरिराख्नुहुन्छ । मानिस दुष्ट भएको समयमा पनि परमेश्वरले उसको जीवनमा असल हुने काम गर्नुको उद्देश्यचाहिँ हो मानिसले यो जीवनमा नै उहाँको भलोपनलाई थाहा गर्न सकोस्, पापको पश्चात्ताप गर्न सकोस्,परमेश्वरको बाटोमा हिड्न र आफ्नो जीवनबाट असल कामहरू गर्न सकोस् भनेर नै हो । हामीहरूबाट असल कामहरू, भलाइका कामहरू हुनको निम्ति हामी पहिला असल बन्नुपर्छ । असल मानिस को हो ? बाइबल धर्मशास्त्रअनुसार असल मानिस त्यो हो जो परमेश्वरसगको संगतिमा रहन्छ र उहाँको आज्ञाअनुसार जीवन जिउँछ ।
“ए मानिस, जे असल छ, त्यो उहाँले तलाई देखाउनुभएको छ । र परमप्रभुले तँ
बाट के चाहनुहुन्छ ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू” (मीका ६ः८) । “प्रिय हो, खराबीको अनुकरण नगर, तर भलाइको अनुकरण गर । जसले भलो गर्दछ, त्यो परमेश्वरको हो, जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन” (३ यूहन्ना ११) ।
असल फल फलाउनको निम्ति व्यक्ति पहिला असल हुनुपर्छ । “कि रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ । कि रूखलाई खराब बनाओ र त्यसको फल पनि खराब हुनेछ । किनभने फलबाट नै रूख चिनिन्छ । ए सर्पका बच्चा हो । तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन् । असल मानिसले आफूभित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ” (मत्ती १२ः३३–३५) । “किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं । हामी ती बमोजिम हिँड़ौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो” (एफिसी २ः१०)। भलाइ गर्न भलाइको स्रोतले भरिनु आवश्यक छ । भलाइको स्रोत परमेश्वर स्वयं हुनुहुन्छ । के हामी भलाई गर्नुहुने परमेश्वरसँग संगति गर्दै उहाँको आज्ञाअनुसार जीवन जिउँदैछौ ?