दुई थरीका ख्रीष्टियानहरू – पाष्टर रोबर्ट कार्थक

October 3, 2016 | Articles  

दुई थरीका ख्रीष्टियानहरू शारीरिक र आत्मिक । हाम्रा मण्डलीहरूमा पनि यस्ता ख्रीष्टियानहरू छन्, जसलाई छुट्टयाउन पनि गाह्रो पर्छ किनकि सबैजना संगतिमा आउँछन्, प्रार्थना गर्छन्, हात उचालेर प्रशंसामा पनि सहभागी हुन्छन् तर पनि मण्डलीहरूमा दुई थरीका ख्रीष्टियानहरू हुन्छन् । आत्मिक ख्रीष्टियानहरू आत्माको कुरामा बढी ध्यान दिन्छन् । हामी संसारमा छौं, शरीरमा छौं, शरीरका कुरामा पनि ध्यान दिनुपर्छ तर शरीरका कुरामा भन्दा धेरै आत्मिक कुरामा ध्यान दिनेचाहिँ आत्मिक ख्रीष्टियान हुन् । अर्को थरीका ख्रीष्टियानहरू जोहरू नयाँ जीवन पाएका, उद्धार पाएका, येशूको रगतले पाप क्षमा पाएका, परमेश्वरको सन्तान भएका, पानीको बप्तिस्मा लिएका ख्रीष्टियानहरू नै हुन् । मृत्युपछि उनीहरूको आत्मा स्वर्गमा जान्छ, त्यसमा कुनै शंका छैन तर उनीहरू संसारका कुराहरू–धनदौलत, लुगाफाटा, घर, जग्गाजमीन आदिमा बढी ध्यान दिन्छन् । संसारका मानिसहरू संसारका कुराहरूमा अल्मलिएजस्तै संसारमै बढी समय खर्चिने ख्रीष्टियानहरूचाहिँ शारीरिक ख्रीष्टियान हुन् ।

केही दिन अगाडि म एउटा संगतिमा थिएँ । प्रार्थना सभामा आउनका लागि संचालकले अगाडिबाट अनुरोध गर्नुभयो । मलाई त कस्तो कस्तो लाग्यो । ख्रीष्टियानहरूलाई प्रार्थना सभामा आउनलाई अनुरोध गर्नुपर्ने ? कस्तो अनौठो कुरा हो । प्रार्थना सभामा आउन पाउनु त हाम्रो लागि खुशीको कुरा हो । यसको लागि कसैले अनुरोध गर्नु पर्दैन । यो त हाम्रो सौभाग्य हो । एक मात्र सत्य जिउँदो परमेश्वर, स्वर्ग र पृथ्वीका सृजनहार, पालनहार, तारणहार परमेश्वर जसलाई हामीले अब्बा, पिता भनी चिन्न सकेका छौं । परमेश्वरले हे अब्बा र हे पिता भनी पुकार्ने आत्मा तपाईं र मलाई दिनुभएको छ । हामी परमेश्वरका छोराछोरी हौं । हामी परमेश्वरको उपस्थितिमा आउनका लागि दया गरी उपस्थित हुनुहोस्, आइदिनुहोस् भनी निम्तो दिनुपर्ने, अनुरोध गर्नुपर्ने ? मलाई त चित्तै बुझेन । मैले त्यतिखेर नै भने यो त मिल्दै मिल्दैन ।

संसारका मानिसहरूले त परमेश्वरलाई खोजिरहेका छन् । नेपालकै मानिसहरू पनि तीर्थयात्रा, चारधाम गइरहेका छन् । उनीहरू गाह्रो, अप्ठ्यारो ठाउँहरूमा पनि जान्छन्, परमेश्वरलाई खोज्छन् तर अझै पनि तिनीहरूले परमेश्वरलाई भेट्टाएका छैनन् । उनीहरू निरन्तर खोजिरहेका छन् तर हामीले त स्वर्गीय परमेश्वर पितालाई ख्रीष्ट येशू प्रभुमा भेट्टाएका छौं । उहाँ हाम्रो नजीक हुनुहुन्छ । हामीलाई पर्खिराख्नुभएको छ तर उहाँका मानिसहरूलाई फुर्सद छैन । संसारकै कुराहरूमा अल्मलिराखेका छन् ।

परमेश्वरको उपस्थितिमा आनन्दको भरपूरी छ । जो–जो परमेश्वरको गुप्तस्थानमा बास गर्छन् र परमेश्वरको छत्रछायाँमा रहन्छ, त्यहाँसबैलाई सुरक्षा, शान्ति, संवृद्धि र सफलता छ तर हामी परमेश्वरको उपस्थितिमा रहन चाहँदैनौं र बाहिर जान्छौं भने त्यहाँ असुरक्षा र सबै किसिमका समस्याहरू छन् । यो परमेश्वरले पठाउनुभएको होइन तर परमेश्वरको सुरक्षाबाट तपाईं बाहिर जानुभएको कारणले भएको हो । परमेश्वरको छत्रछायाँमा आउन चाहनुभएन र तपाईं बाहिर निस्केर जानुभयो । उडाउ पुत्रलाई उसका बाबुले सुँगुरको खोरमा पठाएको होइन तर आफ्नै नराम्रो कामको कारण सुँगुरको खोरमा पुगेको हो (लूका १५ः११३२) । हामी आफैले सोच्ने र निर्णय गर्नुपर्ने कुरा हो । कहाँ प्रार्थना सभा छ, घरेलु संगति कहाँ हुँदैछ, समय निकालेर जानुपर्छ । संसारको कुराहरू एकापट्टि राखेर प्रभुको उपस्थितिमा जानुपर्छ ।

हामी आत्माको कुराहरूमा ध्यान दिने ख्रीष्टियानहरू हुनुपर्छ । तपाईं र मचाहिँ कस्तो खालको ख्रीष्टियान हौं, आफैले आफैलाई जाँचौं, चिनौं । “यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो कुरा बितिगएको छ, हेर, नयाँ आएको छ” (२ कोरिन्थी ५ः१७)। यो पदअनुसार हामी नयाँ सृष्टि हौं । अब हामी आदमका सन्तानहरू होइनौं । आदमका सन्तानमा पापस्वभाव थियो भने आज हामी ख्रीष्टका सन्तान हौं । त्यसैले हामीमा पापस्वभाव हुनु हुँदैन । परमेश्वरले हामीलाई धर्मी बनाइसक्नुभएको छ । “परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन, किनकि उहाँको स्वभाव त्यसमा रहन्छ, र त्यसले पाप गरिरहन सक्दैन, किनभने त्यो परमेश्वरबाट जन्मेको हो (१ यूहन्ना ३ः९) ।” यो वचनअनुसार परमेश्वरको स्वभाव त्यसमा रहन्छ । जुन व्यक्तिमा परमेश्वरको स्वभाव छ त्यसमा पाप स्वभाव रहनु हुँदैन र रहन सक्दैन, किनकि हामी पवित्र र निस्खोट परमेश्वरमा नयाँ गरी जन्मेकाहरू हौं । यो हाम्रो आत्माको बारेमा भनिएको हो । मन र शरीरको बारेमा होइन ।

तपाईंको हातले चोर्छ, मुखले खान नहुने चीज खान्छ, बोल्न नहुने कुरा बोल्छ, नराम्रो दृष्टिले हेर्छ, यी सबै तपाईंको शरीरले गरेको पाप हो । तपाईंको नराम्रो सोच, अशुद्ध, अपवित्र विचार, रीस, दुश्मनी, लोभ तपाईंको मनले गरेको पाप हो । तपाईंको आत्मामा त परमेश्वरको स्वभाव छ । मेरो एउटा मन, म शरीरमा बस्छु तर म भन्नेचाहिँ मेरो आत्मा हो । आत्मिक ख्रीष्टियनाहरूचाहिँ त्यो हो, जो बाइबल पढ्ने, प्रार्थना गर्ने, सेवा संगतिमा जाने, प्रभुको कुरामा ध्यान दिने, मनन गर्ने, प्रभुसँग समय बिताउने, यी कुराहरू गरेर परमेश्वरको नजीकमा बस्छन् । संसारका खाने, लगाउने, रमाइलो गर्ने, मनोरञ्जनमा समय बिताउने, यी सबै शारीरिकताको जीवन हो । पापमय स्वभाव जसले जाँड, रक्सी खान, रीस गर्न, लोभ गर्न, चोर्न, ढाँट्न, अर्कालाई पिट्ने, बदनाम गर्ने गर्छ, यो चाहिँ पापमय स्वभाव हो । अनि शारीरिक स्वभाव भनेको चाहिँ पापमय स्वभाव होइन । शारीरिक कुरामा बढी ध्यान दिने कुरा हो । खानेकुरा त राम्रो कुरा हो, नखाइकन मान्छे कसरी बाँच्न सक्छ ? तर यदि म आत्मिक कुरामा भन्दा बढी खानेकुरामा ध्यान दिन्छु भने त्यो चाहिँ मेरो शारीरिकता हो । पैसा कमाउने कुरा परमेश्वरको श्राप होइन, आशिष् हो । परमेश्वरको आशिष् पाउन हात बाँधेर बसेर त हुँदैन । कोशिश गर्नुपर्छ । यसकारण पैसा कमाउने कुरा नराम्रो होइन, राम्रो कुरा हो किनकि मसँग पैसा छ भने अरूलाई सहायता गर्न सक्छु, आफूसँग छैन भने सहयोग गर्न सकिँदैन । कमाउनु नराम्रो होइन तर म कमाउनतिर मात्र लागेर मण्डलीलाई बिर्सनु, प्रार्थना नगर्नु, बाइबल नपढ्नु, सेवा संगति नजानुचाहिँ शरीरतिर ढल्केको, शारीरिक ख्रीष्टियन हुनु हो, आत्मिक ख्रीष्टियन होइन किनकि मैले शरीरको कुरालाई बढी जोड दिएँ, ध्यान दिएँ, आत्माको कुरालाई मैले एकातिर पन्छाएर राखेँ ।

आत्माका कुरालाई ध्यान नदिने ख्रीष्टियानहरूमा पाप स्वभावका कामहरू व्यभिचार, अपवित्रता, दुष्मनी, झैँझगडा, इष्र्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी, डाह आदि कुराहरूले भरिएका हुन्छन् तर आत्माका कुराहरूमा ध्यान दिने ख्रीष्टियानहरूमा आत्माका फल प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विस्वश्तता, नम्रता संयमका गुणहरूले भरिएका हुन्छन् (गलाती ५ः१९–२३) । हामी कुन कुरालाई बढी खुवाउँछौं ? “किनकि पाप–स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पाप स्वभावको विरुद्ध । तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नको निम्ति यीचाहिँ एकअर्काको विरुद्धमा हुन्छन् । तर यदि तिमीहरू पवित्र आत्माद्वारा डोर्‍इएका हौ भनेता तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ” (गलाती ५ः१६–१८) । मानिलिनुहोस्, दुई वटा कुकुरहरू छन्, एउटा कालो र अर्काे सेतो, घीनलाग्दो स्वभावको शरीरचाहिँ कालो कुकुर हो, अर्कोचाहिँ सेतो कुकुर । तपाईंले दुवै कुकुर घरमा पाल्नुभएको छ । तपाईं कुनचाहिँ कुकुरलाई बलियो बनाउन चाहनुहुन्छ । तपाईं आफैमाथि निर्भर गर्छ । यदि तपाईं कालो कुकुर बलियो होस् भन्ने चाहनुहुन्छ भने त्यसलाई तपाईं बढी समय दिनुहुन्छ । मीठो खानेकुरा खुवाउनुहुन्छ, औषधि उपचार पनि त्यसैलाई गर्नुहुन्छ । तपाईंले बढी ध्यान त्यसैलाई दिनुहुन्छ भने सेतो कुकुरको वास्तै गर्नुहुन्न । त्यसले खायो कि खाएन, पियो कि पिएन, त्यो कस्तो अवस्थामा छ, लुतो लागेको छ कि के छ, ध्यान नै दिनुहुन्न । सबै ध्यानचाहिँ कालो कुकुरमा छ । कालो कुकुरचाहिँ मोटाउँदै जान्छ, अनि सेतो कुकुरचाहि दुब्लाउँदै जान्छ ।

कालो कुकुरचाहिँ मोटाएको छ, सेतो कुकुरचाहिँ हाड र छालामात्र बाँकी छ ।

आज कति जना यस्ता ख्रीष्टियानहरू छन्, जसले आफ्ना आत्मिक जीवनलाई बेवास्ता गरिराखेका छन् । मण्डलीभित्रचाहिँ दुई–तीन घण्टा नाटक खेलेर जान्छन् । यदि तपार्ईंले सेतो कुकुर वा आत्मिक जीवन राम्रो होस् भन्ने चाहनुहुन्छ भने अब तपाईंले कालो कुकुरलाई ध्यान दिनुभएन । त्यो समयचाहिँ तपाईंले सेतो कुकुरलाई दिनुपर्‍यो । बाइबल पढ्ने, प्रार्थना गर्ने, सेवा संगतिमा जाने मण्डलीको कुरामा चासो लिने, मण्डलीलाई ध्यान दिने गर्नु पर्छ । समर्पित ख्रीष्टियान भनेकोचाहिँ यही नै हो । समर्पणको कागजमा हस्ताक्षर गरेर म समर्पित ख्रीष्टियान भएँ भन्ने अनि हप्ताभरिचाहिँ सांसारिक कुरामा मात्रै ध्यान दिने, अनि शनिबार एकदिन संगतिमा आयो, त्यसपछि आइतबारदेखि शुक्रबारसम्म संसारकै कुरामा रमायो । यस्तो मानिस त ख्रीष्टियान पनि हो कि होइन, छुट्टयाउन पनि गाह्रो हुन्छ । किनकि संसारकै मान्छे जस्तो, उनीहरूले जे खान्छन् त्यही खाइरहेको छ, जे बोल्छन् त्यही बोलिरहेको छ, उनीहरूको जस्तो व्यवहार छ, त्यस्तै व्यवहार गरिरहेको छ । उनीहरू गएको ठाउँमा गइरहेको छ, सबै सांसारिक मानिसहरू जस्तै गरिराखेको छ । अनि यस्तो मानिस मण्डलीको समर्पित सदस्य भएर के फाइदा भयो ? समर्पित भनेकोचाहिँ म मेरो जीवन प्रभुलाई दिन्छु प्रभुको कुराहरूमा ध्यान दिन्छु, मण्डलीमा ध्यान दिन्छु, प्रभुको सेवा संगतिका लागि समय निकाल्छु, फुर्सद निकाल्छु, मैले कमाएका धनसम्पत्ति मण्डलीलाई दिन्छु, दशांश मात्र होइन अरू भेटीहरू पनि दिन्छु, समय, शक्ति, सामथ्र्य दिन्छु, ममा भएका कुराहरू प्रभुलाई दिन्छु, आत्मिक कुराहरूमा ध्यान दिन्छु, भन्नुचाहिँ समर्पित ख्रीष्टियान हो, हामीले सधैँ आफ्नो साँचो समर्पणता र आत्मिक जीवनको नमूना प्रस्तुत गर्नुपर्छ ताकि अरूले पनि त्यसबाट धेरै कुरा सिक्न सकून् । “हामी पवित्र आत्माद्वारा जिउँछौं भने आत्माकै अनुसार हिँडौं” (गलाती ५ः२५)।