इसाइ मण्डली किन ? – पाष्टर राजेन्द्र रोंगोंग

November 9, 2016 | Articles  

नेपाली इसाई मण्डली स्थापना भएको ६ दशक पूरा हुन लाग्यो । यसको स्थापना, यसो हेर्दा मानिसहरूबाट भएको देखिन्छ, तर मण्डलीको वास्तविक स्थापक प्रभु येशू हुनुहुन्छ ।

एकपल्ट येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्छन् ?” चेलाहरूले विभिन्न प्रकारका उत्तर दिए र त्यसपछि उहाँले चेलाहरूलाई सोध्नुभयो, “तिमीहरू के भन्छौं, म को हुँ ? पत्रुसले उत्तर दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र ।” येशूले स्याबासी दिनुभयो र भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ । किनभने मानिसहरूबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो ।” परमप्रभु परमेश्वरले येशूको परिचय दिनुभएको थियो । त्यसपछि येशूले अर्को अति महŒवपूर्ण कुरा भन्नुभयो, “म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ । म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि बिजयी हुनेछैनन् ।” (मत्ती १६ः१३–१८) ।

झट्टै हेर्दा येशूले मण्डली “यस चट्टान” माथि बनाउँछु भन्नुभएको छ र त्यो चट्टान पत्रुस हो किनकि पत्रुसको अर्थ चट्टान हो । तर येशूले संसारमा मानिसहरूको लागि नयाँ करार ल्याउनुभयो । आफूलाई परमप्रभु परमेश्वरको इच्छाअनुसार मानिसहरूको पाप क्षमाको निमित्त बली चढाउनुभयो । उहाँले आफ्नो रगतद्वारा त्यो करारलाई पक्का गर्नुभयो ।

नयाँ करार पछि येशूले पहिले आफ्ना चेला र उहाँमाथि विश्वास गर्नेहरूको लागि दिनुभएका शिक्षा (वचन) को अर्थ पवित्र आत्माले प्रकाश गर्दै लैजानुभयो । यो क्रम अहिलेसम्म चलिरहेको छ अर्थात् उहाँले पहिल छोडिजानुभएका वचनको नयाँ प्रकाश आइरहेको छ । यसै क्रममा मण्डलीसम्बन्धी पावल उहाँका चेलाले यसरी व्याख्या गरेका छन् । “किनकि जुन जग बसालिएको छ, जो येशू ख्रीष्ट हुनुहुन्छ, त्यस बाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन” (१ कोरन्थी ३ः११) ।

जब पत्रुसले “तपाईंले … जीवित परमेश्वरका पुत्र” भन्ने स्वीकार गरे त्यही स्वीकारलाई चट्टान भनी स्वीकार गर्दै येशूले यस चट्टानमाथि मण्डली स्थापना गर्छु भन्नुभयो । यसैले मण्डलीको जग येशू हुनुहुन्छ र जब पछि मण्डली स्थापना भयो त्यसको शिर पनि उहाँ नै हुनुभयो ।

सबैभन्दा पहिलो मण्डली यरूशलेममा स्थापना भयो । मण्डलीको स्थापनाभन्दा पहिले चेलाहरूमाथि पवित्र आत्मा आउनुभयो । अझ यसलाई क्रमिक रूपमा हेर्ने हो भने प्रभु येशूले आफ्नो करीब साढे तीन वर्षको सेवकाइ समाप्त गर्नुभयो, उहाँलाई क्रूसमा चढाइयो तर तेश्रो दिनमा उहाँ शैतानलाई सदाको निमित्त हराउँदै पुनरुत्थानहुनुभयो र स्वर्गारोहण हुनुभयो । पुनरुत्थानको ठीक पचास दिनपछि पवित्र आत्मा चेलाहरूमा (१२० जना) आउनु भयो । यसरी पहिलो मण्डली शुरू भयो । मण्डली प्रभु येशूमाथि विश्वास गर्ने मानिसहरूको जमात थियो । पहिलो इसाई मण्डलीसम्बन्धी हेर्नुहोस् (प्रेरित २ः४२–४७) ।

मण्डली प्रभु येशूले पवित्र आत्माद्वारा स्थापना गर्नुभयो । मण्डली किन स्थापना गरियो अथवा मण्डली केका लागि स्थापना गर्नुभयो भन्ने तथ्य बुझ्नलाई प्रभु येशू किन संसारमा मानिसको रूपमा आउनुभयो भनी बुझ्नु आवश्यक छ । मत्ती प्रभुका चेलाले बप्तिस्मा दिने यूहन्नालाई उद्धृत गरेका छन्, “पश्चात्ताप गर किनभने स्वर्गको राज्य नजीक आएको छ ।” प्रभु येशूले आफ्नो सेवकाइ शुरू गर्नुभयो । एकदिन चेलाहरूले हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् भनी बिन्ती गरे । उत्तरमा उहाँले यसरी प्रार्थना (Lords Prayer) सिकाउनुभयो । उक्त प्रार्थनाका दुईवटा पदहरू यस प्रकारका छन् ः
“हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ
तपाईंको नाउँ पवित्र होस् ।
तपाईंको राज्य आओस् ।
तपाईंको इच्छा स्वर्गमा जस्तो छ
त्यस्तै यस पृथ्वीमा होस् . . .”

माथि उल्लेखित बाइबलका दुई खण्डले येशू ख्रीष्ट संसारमा आउनुभएको प्रमुख उद्देश्य परमेश्वरको राज्य यस पृथ्वीमा ल्याउनु हो ।

परमेश्वरको राज्य हाल मानिसको हृदयभित्र छ (लूका १७ः२१) । जतिले प्रभु येशूलाई मुक्तिदाता र प्रभु भनी विश्वास गर्छन् उनीहरू परमेश्वरका हुन्छन् र उनीहरूभित्र पवित्र आत्मा बास गर्नुहुन्छ । तर एकदिन, अर्थात् संसारका अन्त्यका दिन भौतिकरूपमा नै परमेश्वरको राज्य स्थापित हुनेछ (प्रकाश २०ः४–६) ।

परमेश्वरको राज्यमा परमप्रभु परमेश्वर स्वयं उपस्थित हुनुहुन्छ । त्यहाँ संसारमा जस्तो मृत्यु, शोक र अन्य सांसारिक कुरा हुँदैनन् परमेश्वरले सबै मानिसलाई त्यस स्थानमा लैजान चाहनुहुन्छ । मानिसहरूको पापको कारण यो सम्भव थिएन तर प्रभु येशूको बलिदान, पुनरुत्थानद्वारा यो सम्भव भएको छ । यो काम गर्न उहाँ परमेश्वर हुनुभएर पनि मानिसको रूप धारण गरी आउनुभयो । उहाँ एक्लै आउनुभयो । आफ्नो साढे तीन वर्षको सेवकाइ अवधिमा चेलाहरू छान्नुभयो र आफूसित सँग सँगै राखी परमेश्वरको राज्यबारे प्रवचन, व्यावहारिक शिक्षा, आश्चर्य काम र सबैभन्दा ठूलो आफ्नो जीवनको नमूनाबाट सिकाउनुभयो । प्रेम, क्षमा, शान्ति, भलाइ, नम्रता, सत्यता अर्थात परमेश्वरको राज्यमा हुनुपर्ने कुराहरूबारे सिकाउनुभयो ।

आफ्नो सेवकाइको अन्त्यतिर व्रmुसमा चढाइनुभयो तर यो परमप्रभु परमेश्वरको योजना अनुरूप नै थियो । मृत्युको तेश्रो दिनमा उहाँ विजयीको रूपमा पुनरुत्थान हुनुभयो । त्यसपछि उहाँ स्वर्गारोहणहुनुभयो तर माथि जानुअघि चेलाहरूलाई “तिमीहरू यरूशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर . . .” भन्नुभयो (प्रेरित १ः४) । पेन्तिकोसको दिन चेलाहरूले पर्खिरहेकै ठाउँमा पवित्र आत्मा शक्तिका साथ आउनुभयो र त्यहाँ भएका १२० जना विश्वासीहरूलाई अभिषेक गर्नुभयो (प्रेरित २ः१–४) । पवित्र आत्मा आउनुभएपछि उनीहरूले शक्ति पाए साथै प्रभु येशूले अघि सिकाउनुभएका कुराहरू बुझ्न थाले । यी नै विश्वासीहरूको जमात पहिलो इसाई मण्डली भयो । प्रभु येशू यसै मण्डलीलाई स्वर्ग राज्य संसारमा ल्याउने जिम्मा दिनुभयो । स्वर्गारोहणको दिनमा स्वर्ग प्रस्थान गर्न अघि उहाँले आफ्नो एघार जना चेला र अन्य विश्वासीहरूलाई आफ्नो महान जिम्मेवारीले (The Greast Commission) दिनुभयो (मत्ती २८ः१६–२०) । यो जिम्मेवारीको उद्देश्य नै “स्वर्ग राज्य यस पृथ्वीमा ल्याउनु” हो । यो सामूहिक जिम्मेवारी हो । व्यक्ति व्यक्ति मिलेर गर्नुपर्ने जिम्मेवारी हो । यो काम गर्न उहाँ वचन, व्यावहारिक जीवन, आश्चर्यको कामहरू नम्रतापूर्वक गर्न मण्डलीका प्रत्येक सदस्यको जिम्मेवारी हो ।

इसाई मण्डली प्रभु येशूले स्थापना गर्नुभयो र यसले उहाँको शारीरिक अनुपस्थितिमा पवित्र आत्माको अगुवाईमा उहाँको प्रतिनिधित्व गर्नु पर्दछ ।