भावी पुस्तालाई तयार पार्नु – भुवन देवकोटा

February 2, 2017 | Articles  

हाम्रो परमेश्वरले सबै जातिका मानिसलाई आफ्नो स्वरूपमा बनाउनुभयो भनेर उत्पत्ति १ः२७ अनुसार हामीले पढ्न पाउँछौं । परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । “मैले तँलाई गर्भमा रच्नुअघि नै तँलाई चिनिसकेका थिएँ…” (यर्मिया १ः५)।  परमेश्वरले यसरी मानव जीवनलाई सुरु गर्नुहुन्छ । मानव जीवनलाई नाश गर्ने कामचाहिँ शैतानले गर्छ । यूहन्ना १०ः१० मा येशूले भन्नुभयो, “चोर त चोर्न, मार्न र नाश पार्न आउँछ ।” अनि परमेश्वरको स्वरूपमा सृष्टि गरिएको सुन्दर र सर्वाेत्तम सृष्टिलाई नाश पार्ने कामचाहिँ शैतानको हो ।

“तर मचाहिँ तिमीहरूले जीवन पाओ, प्रशस्त जीवन पाओ भन्ने हेतुले आएँ” भनेर प्रभु येशूले भन्नुभयो । गर्भपतनबाट मात्रै संसारभरि वार्षिक चार करोड बीस लाख भू्रण हत्या गरिन्छ । पोलपोट वा हिटलरले गरेको नरसंहार अथवा नेपालमा १८ हजारभन्दा बढी मानिस मर्ने गरी भएको जनयुद्धभन्दा पनि यो सङ्ख्या धेरै हो । लागु औषधि, गरीबी, युद्धमा, बाल विवाहद्वारा धेरै बालबालिकाको जीवन नाश पारिएको छ । यी सबै समस्याको जड मानिसको हृदयमा भएको पाप हो । त्यो पापको समाधानचाहिँ येशू ख्रीष्टको क्रूस मात्रै हो ।

नेपालको मण्डलीको इतिहास झण्डै ६० वर्षको छ । सतावटमा खारिएर आएको गौरवशाली इतिहास मण्डलीको छ । तर अहिले मण्डलीमा ख्रीष्टियान धर्म मान्ने मानिसहरूको सङ्ख्या बढ्दै छ । येशूसँग जम्काभेट भएर परमेश्वरसँग हिँड्ने मानिसहरूको सङ्ख्या चाहिँ घट्दैछ ।

उत्पत्ति ४ः९ मा परमेश्वरले कयिनलाई एउटा प्रश्न सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ ?”  तिनले भने, “मलाई थाहा छैन । के म मेरो भाइको गोठाला हुँ र ?” यही प्रश्न परमेश्वरले आज मण्डलीलाई सोध्दै हुनुहुन्छ, मण्डलीका छोराछोरीहरू कहाँ छन् ? उनीहरू भवनभित्र त छन् होला, तर के उनीहरू जीवित परमेश्वरको शरीर, जीवित मण्डलीभित्र छन् ? मण्डलीको भविष्य कता के गर्दै छ ?

मण्डलीका कति सदस्यहरूले आफ्नो बच्चाको स्कूलको मासिक शुल्क एक लाखभन्दा बढी तिर्नुहुन्छ । त्यो गलत होइन । तर तपाईंका छोराछोरीलाई परमेश्वरको बारेमा सिकाउनको लागि के लगानी गर्दै हुनुहुन्छ त ?

बालबालिकाहरू बिहान उठ्ने बित्तिक्कै के गर्छन् ? फटाफट गृहकार्य सिध्याउने अथवा स्कूलको अभ्यास गर्ने । स्कूल जाने, फर्केर आउने एक छिन ब्रेक टाइम, त्यसपछि फेरि गृहकार्य सुरु गर्ने अनि सुत्ने, सिध्दियो । हो, उनीहरू आफ्नो पढाइको कारण संसारका उत्कृष्ट मानिसहरू बन्लान्, ठूला मानिस होलान्, पैसा कमाउलान् तर उनीहरूको जीवनमा परमेश्वरको वचनचाहिँ कहाँ छ ? परमेश्वरले आज तपाईंलाई सोध्दै हुनुहुन्छ, तपाईंका छोराछोरी आत्मिक रूपमा कहाँ छन् ?

हरेक हप्ता बालसंगतिका शिक्षकले पढाउनुहुन्छ अनि बाल बालिकाहरूलाई गृहकार्य दिनुहुन्छ । पद कण्ठ गर्ने काम पनि दिनुहुन्छ । अनि धेरै पल्ट बच्चाहरूले शनिबारको दिन बाटोमा आउँदा त्यो पद पढ्दै आउँछन् । उनीहरूले शिक्षकको अगाडि त्यो पद एक पल्ट भन्नको निम्ति कण्ठ गर्छन् । शनिबारको बालसंगति सिध्दिएपछि त्यो पद पनि सिध्दिन्छ अर्थात् बिर्सन्छन् । के तपाईंले कहिल्यै तपाईंका छोराछोरी बाल संगतिबाट घरमा फर्केर गएपछि आज मण्डलीमा के सिक्यौ ? आज मण्डलीमा तिम्रो बाल संगतिको शिक्षकले के सिकाउनुभयो ? कुनै पद कण्ठ गर्नुपर्ने छ कि ? भनेर सोध्नुहुन्छ त ?

तपाईंले कण्ठ गर्नुपर्ने पदलाई कागजमा लेखेर उनीहरू पढ्ने टेबुलमाथि राखिदिनुभयो भने दिनमा दुई पल्ट, तीन पल्ट हप्तैभरि उनीहरूले अभ्यास गरे भने त्यो एकछिन बाल संगतिको निम्ति मात्रै होइन, उनीहरूको हृदयभित्र बस्छ ।

बाइबलमा लेखिएको छ, बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालिम देऊ र जीवनकालभरि उसले त्यो कुरा बिर्सिंदैन । तपाईंले आफ्नो बालबालिकाको शैक्षिक भविष्यका लागि समय, पैसा लगानी गर्नुभएको छ तर परमेश्वरको वचनमा उनीहरूलाई हुर्काउनलाई अनि सानै उमेरदेखि नै उनीहरूको हृदयभित्र उनीहरूको हृदयमा परमेश्वरको वचन राख्न के गर्नुभएको छ ? यदि त्यसो गर्नुभएन भने संसार र शैतान उनीहरूलाई आफ्नो चेला बनाउन एकदमै तम्तयार भएर बसेको छ ।

इस्राएलको सुनौलो र गौरवशाली इतिहास छ । परमप्रभु परमेश्वर आफैले इस्राएलीहरूलाई अगुवाइ गर्नुभयो । संसारको अरू कुनै जातिलाई परमप्रभुले राति आगोको खाँबो र दिउँसो बादलको खाँबो भएर अगुवाइ गर्नुभएन । व्यवस्था ३४ अध्यायमा लेखिएको छ, मोशाजस्तो अगुवा संसारमा अहिले कोही पनि छैन, जोसँग परमेश्वर आमनेसामने भएर कुरा गर्नुभयो, त्यस्तो व्यक्तिले अगुवाइ गरेर ल्याएको जाति । त्यति मात्रै होइन, परमेश्वरका ठूला–ठूला आश्चर्यकर्महरू उनीहरूले मिश्र छोड्नुभन्दा अगाडि नै देखेका थिए । त्यस्तो जातिमा के भयो ?

जब यहोशूले बाह्र कुललाई जितेको भूभाग भागबण्डा गरे, प्रतिज्ञाको मुलुकमा बसाए, त्यसपछि यहोशू बिते । यहोशू बितेपछि के भयो भनेर न्यायकर्ता २ः८–१० मा हामीले हेर्न सक्छौं । “नूनका छोरा यहोशू, परमप्रभुका दास, एक सय दश वर्षको उमेरमा मरे … त्यस जम्मै पुस्ताका सबै जना आफ्ना पितापुर्खाहरूसँग मिले ।
पछि एउटा अर्काे पुस्ता आयो, जसले परमप्रभुलाई चिन्दैनथ्यो न त उहाँले इस्राएलको निम्ति गर्नुभएको कामलाई पनि जान्दथ्यो ।” यहोशू यस संसारबाट बिदा भएपछि इस्राएलमा एउटा नयाँ पुस्ता आयो । गौरवशाली इतिहास भएको जाति, परमेश्वरले छान्नुभएको जाति, तर जब यहोशू यस संसारबाट बिदा भए, त्यसपछि के आयो ? एउटा पुस्ता इस्राएलमा खडा भयो, जसले परमप्रभुलाई चिन्दैनथ्यो र उहाँले इस्राएलको निम्ति गर्नुभएको कामलाई पनि जान्दैनथ्यो । इस्राएली त हो, यहूदी नै हो, परमेश्वरले चुन्नुभएको जातिभित्रकै मानिस हो तर परमप्रभुलाई पनि चिनेको थिएन, उहाँले के गर्नुहुन्छ भनेर थाहा पनि थिएन ।

नेपालको मण्डलीको गौरवशाली इतिहास छ । सतावट, दुःख अनि त्यो आगोबाट खारिएर आएको मण्डली हो, नेपालको मण्डली । तर अब यसपछि के ? अबको दश वर्षपछि के ? अबको बीस वर्षपछि के ? हाम्रा छोराछोरीहरू, बालसंगतिका भाइबहिनीहरू अब बिस्तारै युवा हुन्छन् । उनीहरूले परिवार सुरु गर्छन् । नयाँ परिवार सुरु हुन्छ, नयाँ शाखा मण्डलीहरू बढ्छन् । अब यसपछि के ? उनीहरूलाई ख्रीष्टियान धर्म मान्ने व्यक्ति कि साँच्चै परमेश्वरसँग हिँड्ने व्यक्तिहरूको रूपमा मण्डलीले र परिवारले तयार पार्दैछौं ? हामीले जसरी प्रभुलाई विश्वास गर्‍यौं, के हामीले आफ्नो गवाही आफ्ना छोराछोरीलाई दिएका छौं ?

हामी त परमेश्वरसँग हिँड्ने जातिहरू हौं । हामीले परमेश्वरलाई व्यक्तिगत रूपमा मेरो मुक्तिदाता भनेर चिनेका छौं । उहाँलाई मैले चिनेको छु, उहाँको अनुग्रह मलाई थाहा छ । उहाँले पाप क्षमा दिने कुरा मलाई थाहा छ । उहाँको प्रेम मैले अनुभव गरेको छु । के हामीले आफ्ना छोराछोरीहरूलाई त्यही कुरा सिकाइरहेका छौं ?

हामीले विचार गर्छौं, हाम्रा छोराछोरीहरूलाई मैले बालसंगति पठाइदिएको छु, बालसंगतिका शिक्षकहरूले पढाउँछन्, भइ त गो नि, पुगी गो नि । अहिलेको युगमा त्यो लगानीले पुग्दैन किनभने हाम्रा छोराछोरीहरू लडाइँमा छन् । हाम्रा छोराछोरीको चारैतिर संसारले, शैतानले, दुष्टले मोर्चाबन्दी गरेको छ । हाम्रा छोराछोरीलाई कसरी नाश पारौं भनेर शैतानले विभिन्न योजना, युग सुहाउँदो रणनीतिहरू ल्याएको छ ।

तपाईंका बालबालिकालाई परमेश्वरबिना अरू शिक्षाले मात्रै पेल्नुभयो भने उनीहरू बाठा होलान्, धेरै कमाउलान्, प्रसिद्ध होलान्, ठूलो मानिस बन्लान्, सबैको जयजयकार पाउलान् । तर जब तपाईं एक दिन येशूको अघि खडा हुनुहुनेछ, त्यो बेलामा येशूले तपार्इंलाई सोध्नुहुन्छ, तेरा छोराछोरी कहाँ छन् ? तैंले के गरिस् ? तैंले आफ्नो छोराछोरीलाई परमेश्वरको वचन सिकाइस् कि सिकाइनस् ? मकहाँ ल्याइस् कि ल्याइनस् ? उनीहरूले मलाई चिने कि चिनेनन् ? अहिले परमेश्वरले धाँदोमा उभिने व्यक्ति खोज्दै हुनुहुन्छ । मण्डलीमा हाम्रा बालबालिकाहरूको पक्षमा परमेश्वरसँग अन्तरबिन्ती गर्ने र हाम्रा बालबालिकाहरूलाई परमेश्वरको वचन सिकाउने, उहाँकहाँ ल्याउने व्यक्ति परमेश्वरले खोज्दै हुनुहुन्छ ।
गलातीको मण्डलीको निम्ति पावलको के चाहना रहेछ भनेर यसरी लेखिएको छ, “मेरा साना बालक हो, ख्रीष्ट तिमीहरूमा नबनिनुभएसम्म म फेरि प्रसवपीडामा छु” (गलाती ४ः१९) । प्रसवपीडा भनेको बच्चा जन्माउँदा एउटी आमालाई हुने असह्य पीडा हो । तिमीहरूको जीवनमा ख्रीष्टको पूर्णता, ख्रीष्टको महिमा पूरा नभएसम्म अझ भनौं तिमीहरू ख्रीष्टको ज्ञानमा पूर्ण नभएसम्म, तिमीहरूले ख्रीष्टलाई पक्का गरी नचिनुञ्जेल मलाई त्यस्तै पीडा भएको छ, म कसरी तिमीहरूलाई ख्रीष्टको नजीकै लैजान सकुँ भनेर पावलले भन्दैछन् । आज मण्डलीले, हामी बुबाआमाले आफ्ना छोराछोरीको निम्ति यही प्रार्थना गर्नुपर्ने हो । कसरी हुन सक्छ, मेरो छोराछोरीमा ख्रीष्टको स्वरूप आओस्, कसरी हुन्छ, मेरो छोराछोरी परमेश्वरलाई चिन्ने र उहाँको वचनमा जिउने छोराछोरी बन्न सकून् । “मेरा छोराछोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनुभन्दा अरू बढी आनन्दको कुरा मेरो लागि के हुन सक्छ ?” (३ यूहन्ना ४) । सायद हामीलाई योभन्दा ठूलो कुरा सुन्ने रहर लाग्दैन होला । येशू बाटो, सत्य र जीवन हुनुहुन्छ । मेरा छोराछोरीले उहाँको अनुसरण गर्छन् भनेर अरू मानिसबाट सुन्न पाउनुभन्दा ठूलो आनन्द हाम्रो लागि के हुन सक्छ र ?

पैसा लगानी गरेर, मेहेनेत गरेर, प्रार्थना गरेर, सिकाएर, कसरी हुन्छ, मण्डलीमा ख्रीष्ट बनिनुभएको होस् भनेर पावलले प्रयास गरेका थिए । हाम्रो मण्डली, समाज, समुदायको भविष्य हाम्रा बालबालिकाहरू हुन् । तिनीहरूमा ख्रीष्टको जीवन पूर्णरूपले बनिनको लागि प्रार्थना गर्ने, उनीहरूलाई सिकाउने, उनीहरूलाई बाटो देखाउने कामचाहिँ सम्पूर्ण मण्डलीको हो । हामीले परमेश्वरको बारेमा अनुभव गरेका, सिकेका ती विरासत आगामी पुस्तालाई हस्तान्तरण नगर्ने हो भने हामीले हाम्रा पुस्तालाई परमेश्वरको ज्ञानबाट बञ्चित गरिरहेका हुनेछौं ।