मिशनका क्षेत्रमा बढ्दै नेइम – लेखनाथ पौडेल

March 9, 2017 | Articles  

स्थापना कालदेखिनै प्रभु येशूले दिनुभएको महान् जिम्मेवारीपूर्ण अभिभारा “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर” (मर्कूस १६ः१५) नेइमले गम्भीर रूपमा लिएर कार्य गर्दै आइरहेको छ । सुरुका वर्षहरूमा नेपालमा प्रचार गर्ने र मानिसहरूलाई येशू चिनाउने कार्य त्यति सहज थिएन तर पाष्टर गुरुबा तथा उहाँका सहकर्मीहरूले चुनौतिहरूको सामना गर्दै यो महान् अभिभारा बहन गर्दै जानुभयो । फलस्वरूप काठमाडौं लगायत नेपालभरि थुप्रै मण्डलीहरू स्थापना भए अनि हजारौंले सुसमाचार सुने । सुसमाचार प्रचारका लागि नेपालका विभिन्न विकट स्थानहरूमा समेत उहाँहरूले यात्रा गर्नुभयो । त्यसको परिणाम नै हो आज देशका विभिन्न सुगम र विकट ठाउँमा मण्डलीहरू स्थापना भएका छन् र मानिसहरूले ख्रीष्ट येशूमा उद्धार पाइरहेका छन् । सुरुका तीन दशकसम्म सुसमाचार प्रचार तथा मण्डली स्थापनाको काममा विभिन्न चुनौतिहरूको सामना गर्नुपरेको थियो तापनि नेपाली इसाई मण्डलीले आफ्नो जिम्मेवारी पूरा गरिनै रह्यो । ९० को दशकमा नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भएपछि देशमा मिशनको काम गर्न केही सहजता आयो । सो अवसरलाई सदुपयोग गर्दै नेइमका विश्वासीहरू पूर्वदेखि पश्चिमसम्म फैलिएर गए र ठाउँ ठाउँमा सुसमाचार प्रचार तथा मण्डली स्थापनाको काम भयो । सन् २००० को पहिलो दशकमा गुरुबाले ‘मण्डली अब कुवा होइन कुलो बन्नुपर्छ, पालको डोरी तन्काउनुपर्छ’ भन्नुभएको कुरालाई यथार्थमा परिणत गर्दै भारत लगायत अन्य देशहरूमा पनि मिशनेरीहरू पठाउने कार्य भयो । सन् २०१० मा एकदशकपछि फेरि मिशन वर्षको घोषणा भयो र सुसमाचार प्रचारको काम अझ तीब्र भएर गयो । त्यसपछिका वर्षहरूमा स्थानीय शाखा–आबद्ध मण्डलीलाई परिचालन गरी विभिन्न ठाउँमा मण्डली स्थापना गर्ने, मिशनेरी पठाउने कार्य भइरह्यो । त्यतिमात्रै नभइकन नेइमका काठमाडौंमा रहेका मूल मण्डलीहरूबाट समेत उपत्यकाबाहिर मण्डली स्थापनाको कार्य जारी भइरहेको छ । फलस्वरूप नेइमका नेपालभरिका ७ प्रदेशका ३२ वटा जिल्लाहरूमा १४० वटा भन्दा बढी शाखा–आबद्ध मण्डली तथा संगतिहरू हाल संचालनमा छन् अनि ती मण्डलीहरूले पनि अरू मण्डलीहरू स्थापना गर्ने अभियानमा लागेका छन् । नेइमको मिशन सम्बन्धी कार्यभार हेर्ने नेइम मिशन विभाग, हाल रहेका शाखा–आबद्ध मण्डलीहरूलाई बलियो बनाउँदै तिनीहरूलाई आधार इलाका बनाएर सुसमाचार प्रचार तथा मण्डली स्थापनाको काम गर्ने कार्यनीति लिएको छ । जसअनुरूप गहन तालिम कार्यक्रमहरू केन्द्रिय स्तर, क्षेत्रीय स्तर तथा स्थानीय स्तरमा गरिरहेको छ । यस्ता तालिम कार्यक्रमहरूले मण्डलीहरूमा रहेको अगुवापनको अभावलाई पूर्ति गर्ने, नयाँ मण्डलीहरू स्थापना गर्न अगुवाहरू तयार गर्ने र स्वस्थ मण्डली बनाउने गर्छ । धेरैले भन्ने गरेझैँ ‘नेइमको (ज्ञानेश्वरको) शिक्षा राम्रो छ’, नेइमको मूल जग नै यसको बाइबल आधारित शिक्षा हो र त्यो सबै ठाउँमा पुर्‍याउनु नै मिशनको लक्ष्य हो । जहाँ शिक्षा बलियो हुन्छ, त्यहाँ भाँडभैलो तथा शिथिलता भन्ने हुँदैन । मण्डली बलियो हुनको लागि शिक्षा (बाइलमा आधारित शिक्षा) अत्यन्तै आवश्यक कुरा हो । शिक्षाको अलावा नियमित संगति, सम्मेलन, भैपरि आउँदा गरिने सहायता, र कतिपय अगुवाहरूलाई गरिने सहायताले समेत शाखा–आबद्ध मण्डलीहरूलाई प्रोत्साहित गरिरहेको छ । गत वर्ष गएको विनाशकारी भूकम्पले १५ वटा जिल्लामा रहेका करीब ५० वटा मण्डलीहरू तथा त्यहाँका विश्वासीहरूलाई गम्भीर असर पा¥यो उक्त समयमा पनि नेइमले भातृप्रेम प्रदर्शन गर्दै त्यहाँका विश्वासीहरू मात्रै होइन छरछिमेकसमेतमा सहायता पुर्‍यायो । छिटपुट बाहेक नेइमका सबै भूकम्पपीडित विश्वासीले केही न केही राहत पाए । भूकम्मले गम्भीर रूपमा क्षति पुर्‍याएका मण्डली भवनहरूको पुनर्निर्माणको काम समेत लगभग समापन भइसकेको छ । मण्डली भवन पुनर्निर्माणको क्षेत्रमा सबैभन्दा तीब्ररूपमा काम सम्पन्न भएको छ । भत्केको भवनमा संगति गर्ने अवस्थाबाट शाखा–आबद्ध मण्डलीहरूलाई उन्मुक्ति मिलेको छ । यसको लागि विभिन्न मण्डलीहरू तथा विश्वाससँग मेलखाने संघसंस्था र मित्रहरूको योगदान अभूतपूर्व रहेको छ । बेलाबेलामा शाखा–आबद्ध मण्डलीहरूमा आइपर्ने समस्याहरूलाई पनि यथासक्य समाधान गर्ने प्रयास भइरहेको छ । नेइमका देशभित्र र बाहिर रहेका मिशनेरीहरूलाई समय–समय उहाँहरूकै कार्यस्थलमा गई हौसला तथा संगति दिने कार्य भइरहेको छ । हाल उत्तर तर्फ तिब्बतमा रहेकाहरूलाई सुसमाचार प्रचार गर्ने र त्यहाँ मण्डली स्थापना गर्ने लक्ष्यका साथ डोल्पाको स्थानीय मण्डलीको सहकार्यमा उपल्लो डोल्पामा विगत तीन वर्षदेखि श्री नरसिंह थापा मिशनेरीको रूपमा कार्यरत हुनुहुन्छ । यूरोपमा छरिएर रहेका स–साना नेपालीभाषी संगति तथा मण्डलीहरूलाई सहायता पुर्‍याउनको लागि तालिम तथा प्रोत्साहन र संगति दिन विगत १० वर्षभन्दा बढी समयदेखि पाष्टर अब्राहाम श्रेष्ठ परिवार मिशनरीको रूपमा आयरल्याण्डमा हुनुहुन्छ । बेचिएका नेपाली चेलीहरू तथा तिनीहरूकालाई यौन व्यवसायको भयानक दलदलदेखि उद्धार गर्ने हेतुले सुसमाचार प्रचार, उद्धार तथा पुनस्र्थापना गराउने कार्यमा विगत १७ वर्षदेखि श्री जेम्स नेपाली परिवार मुम्बइमा मिशनरीको रूपमा कार्यरतहुनुहुन्छ । उहाँहरूको सेवकाइमार्फत् मुम्बइका देह व्यापार–गृहका हजारौं चेलीहरू तथा मानिसहरूले प्रभु येशूको बारेमा सुन्न पाए भने कैयौ प्रभुमा आए र सयौं भन्दा बढी चेलीबेटी तथा बाल बालिकाहरूको उद्धार भइ पुनस्र्थापना भएको छ । तीमध्ये धेरैजना अहिले विभिन्न देशमा सेवकाइमा सक्रिय छन् । त्यस्तै सेवकाइमा सहायता पुर्‍याउन र थुप्रै नेपालीहरू होटेल तथा रेस्टुरेन्ट मजदुरको रूपमा काम गरिरहेकाहरूको माझमा सुसमाचार प्रचार तथा मण्डली स्थापना गर्न विगत एक दशक देखि पाष्टर प्रदीप बज्राचार्य परिवार भारतको पुनेमा कार्यरत हुनुहुन्छ । उहाँहरूले हाल रेडलाइट एरियाको भित्र त्यहाँका बालबालिकाहरूको निम्ति डे केयर सेन्टर संचालन गरिरहनुभएको छ । उहाँहरूले हेरिरहनुभएको पुनाको नेपाली संगतिबाट सयौंले पानीको बप्तिस्मा लिइसक्नुभएको छ भने कतिजना विभिन्न स्थानमा सेवकाइमा सक्रिय हुनुहुन्छ । हाल त्यहाँ ३०० भन्दा बढी सदस्यहरू संगति गरिरहनुभएको छ । भारतको धर्मको गढ मानिने गढवालको कोटद्वारमा विगत डेढ दशकदेखि पास्टर नरेन्द्र सिंह परिवार कार्यरत हुनुहन्छ । त्यहाँ मण्डली स्थापना भएको छ र त्यहाँबाट फैलिएर अर्को पहाडी भेगमा समेत नयाँ मण्डली स्थापना भएको छ । पूर्वोत्तर भारतका विभिन्न प्रान्तहरू, विहार तथा विशेष् गरी नेपालीभाषीहरू रहेका आसामका मानिसहरूलाई सुसमाचार प्रचार तथा मण्डली स्थापनाको काममा पाष्टर लोक गुरूङ्ग परिवार मिशनेरीको रूपमा त्यहाँ कार्यरत हुनुहुन्छ । यस वर्षको सुरुमा ती क्षेत्रका मण्डलीहरूका अगुवाहरूको निम्ति १ महिने विशेष् तालिम पनि सम्पन्न भयो । पूर्वोत्तर भारत, भूटान तथा नेपालबाट अध्ययन र रोजगारीको सिलसिलामा गएका नेपालीहरूको बीचमा सुसमाचार प्रचार, तालिम र संगति दिने कार्य जारी राख्दै पाष्टर तिमोथी थापा परिवार हाल बैंगलोरमा कार्यरत हुनुहुन्छ । केही समय अघिसम्म मलेशियामा समेत मिशनेरीको रूपमा कतिजना अगुवाहरू कार्यरत हुनुहुन्थ्यो । आधिकारिक रूपमा मिशनेरी बनी सेवकाइ गरिरहनुभएका बाहेक हाल विदेशमा अध्ययन तथा रोजगारीका लागि जानुभएकाहरू पनि मिशनको काममा सक्रिय हुनुहुन्छ र यसको मूल कारण नेइम मिशनेरी मण्डली भएकै कारणले हो । नेपालभित्र रहेका शाखा–आबद्ध मण्डलीहरूलाई अझ बलियो आधार इलाका बनाउन स्थानीय स्तरमा क्षेत्रीय सुपरभाइजरको रूपमा विभिन्न पाष्टर तथा अगुवाहरू कार्यरत हुनुहुन्छ अनि क्षेत्रीयस्तरमा मण्डलीहरूको नियमित भेटघाट, सरसल्लाह तथा सामूहिक प्रचार र मण्डली स्थापनाका कामहरू भइरहेका छन् । उत्तरमा डोल्पा, जुम्ला, सोलूखुम्बु, धादिङ्गदेखि दक्षिणमा सर्लाही, रौतहट, महोत्तरीसम्म, त्यसैगरी पूर्वमा झापादेखि पश्चिममा कन्चनपुरसम्म नेइमका शाखा–आबद्ध मण्डलीहरू जीवित र क्रियाशील रूपमा फैलँदैछन् । ‘स्थानीय मण्डली रहेको क्षेत्रमा स्थानीय मानिसहरूको जीवनस्तर पनि सुध्रिनुपर्छ’ भन्ने मान्यताअनुरूप मिसन विभागले नेइमको सामाजिक क्षेत्र हेर्ने निकाय मेरी गुरुआमा प्रतिष्ठान तथा अन्य संघसंस्थासँग मिलेर विभिन्न आयआर्जनका तालिमहरू समेत विभिन्न क्षेत्रमा उपलब्ध गराउँदै आएको छ । प्रशस्त मात्रामा गाँजाखेती हुने मकवानपुरको नामटार गा.वि.सं.मा गरिएको कृषि तालिमद्वारा हाल त्यहाँ गाँजाखेती बन्द हुनपुगेको छ साथै त्यहाँका स्थानीयहरूले अहिले कृषिबाट राम्रो आमदानी गर्न थालेका छन् । त्यस्तै काम अन्य जिल्लाहरूमा पनि भइरहेका छन् । हाल मिशनको क्षेत्रमा सुसमाचार प्रचारको काम स्वस्फूर्त रूपमा भइरहेको छ । मुख्य चुनौतिचाहिँ तालिम प्राप्त अगुवापन निर्माण हो । जति धेरै तालिम प्राप्त सुसज्जित अगुवाहरू निर्माण गर्न सकियो त्यतिनै मण्डली स्थापना र निर्माणको काम सबल हुँदै जान्छ । अझ पनि नेपालका कतिपय जिल्लाहरूमा मण्डलीको संख्या न्यून छ । कतिपय जाति समूहमा सुसमाचार प्रचार र मण्डली स्थापनाको काम खड्केको छ । विशेष गरी पूर्व र पश्चिमका उत्तरी हिमाली भेगका जिल्लाहरू र दक्षिणमा मध्य तराई चुनौतिपूर्ण क्षेत्रको रूपमा रहेका छन् । मध्य तराईका जिल्लाहरूमा परमेश्वरको राज्य विस्तार हुन सकेमा त्यहाँबाट भारतको विहार, उत्तर प्रदेश, उत्तराखण्ड, झारखण्ड, छत्तीसगढसम्म सुसमाचार पुर्‍याउन सकिने सम्भावना प्रचुर मात्रामा छ । धेरै जनसंख्या रहेको यी क्षेत्रमा पुग्ने सबभन्दा सजिलो ढोका नेपालको मध्य तराई नै हो । उत्तरतर्फ नेपालमात्र एउटा त्यस्तो देश हो जहाँका नागरिकलाई तिब्बतमा जानको लागि भिषा चाहिँदैन (तिब्बतसँग सिमाना जोडिएका नागरिकहरूको हकमा मात्र) । तिब्बत अझै पनि बन्द गरिएको ढोकाजस्तै छ । तर नेपालका उत्तरी हिमाली जिल्लाहरूमा मण्डलीको बलियो उपस्थिति भएमा सुसमाचार प्रचारको निम्ति तिब्बतको लागि यो नै सबैभन्दा सहज मार्ग हुनेछ । तर ती क्षेत्रमा मण्डलीको उपस्थिति कसरी पुर्‍याउने भन्ने चुनौति छँदैछ । यसका विकल्पहरूमा पहिलो हिमाली भेगमा तथा मध्य तराई भेगमा रहेका स्थानीय मण्डलीलाई आधार इलाका बनाएर त्यहीका विश्वासीहरूलाई तयार गरी मिशनरीको रूपमा परिचालन गर्ने, दोस्रोमा, नेइम मण्डलीहरू (शाखा–आबद्धसमेत) बाट मिशनेरीहरू तयार गरी पठाउने, तेस्रोमा काम तथा व्यवसाय गर्ने हेतुले ती ठाउँहरूमा विश्वासीहरू जाने र मिशनेरीको रूपमा काम गर्ने हुनसक्छ । तर यी विकल्पहरूमा पहिलो विकल्प अझ बढी सहज देखिन्छ । दोस्रो विकल्पको लागत अलि बढी देखिन्छ तर पहिलो विकल्पले काम नगरेमा यो अपनाउनु नै पर्ने हुन्छ । प्रभुले भन्नुभयो ‘फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्’ (मत्ती ९ः३७) । अब यो बढ्दो कामको लागि खेतालाहरू (मिशनेरीहरू) को खाँचो छ । मिशन येशू ख्रीष्ट प्रभुको हो । नेइमको मिशन पनि येशू ख्रीष्टको नै हो । यो काममा हामी उहाँका सहकर्मीहरूमात्र हौं, कारिन्दाहरू मात्र हौं । प्रभुको मिशन अघि बढ्दैछ । परमेश्वरको राज्य फैलँदैछ । यसमा अझ धेरै हातहरूको खाँचो छ । अझ धेरै बुद्धि र विवेकको खाँचो छ । अझ धेरै प्रार्थनाको खाँचो छ । प्रश्नचाहिँ परमेश्वरले गरिरहनुभएको यो महान काममा हामी कसरी सहभागी हुनसक्छौं ? हो हामी विभिन्न तरिकाले सहभागी हुनसक्छौं । प्रार्थना गरौं प्रभुले देखाउनुभएबमोजिम हामी सरिक हौं ।