मण्डलीमा मिलापको भूमिका – पाष्टर राजेन्द्र रोंगोंग

May 9, 2017 | Articles  

इसाई मण्डली मानिसहरूले आपसी सरसल्लाहद्वारा स्थापना गरेका होइनन् । प्रभु येशू ख्रीष्टको मृत्यु, पुनरुत्थान र पेन्तिकोसको दिन उहाँले प्रतिज्ञा गर्नुभएको पवित्र आत्माका साक्षातरुपमा उहाँका चेलाहरूमाथि आउनुभएपछि इसाई मण्डलीको स्थापना भयो । येशूले आफ्नो परिचयसम्बन्धी अन्य मानिसहरू र चेलाहरूलाई सोध्नुभएको उत्तरमा पत्रुसले यसरी जवाफ दिएका थिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र ।”

त्यसबेला येशूले पत्रुसलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, तिमी पत्रुस हौ । म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु र नरकका ढोकाहरू त्यसमाथि विजयी हुने छैनन् (मत्ती १६ः१५–१८) ।” येशूको भनाइमा पत्रुसको अर्थ चट्टान भएकोले त्यसैमाथि म मेरो मण्डली स्थापना गर्छु भन्ने बुझिन्छ । वास्तवमा येशूले यस चट्टानमाथि भन्नुहुँदा ठूलो चट्टानको जग (मत्ती ७ः२४–२५) लाई संकेत गर्नुभएको थियो जब कि “पत्रुस वा पेत्रा” को अर्थ सानो ढुङ्गा मात्र हो । पत्रुस स्वयंले पनि आफ्नो पत्रमा येशूलाई “कुने ढुङ्गो “Foundation Stone” भनेका छन् । तर यो सही हो कि मण्डलीको स्थापनामा पत्रुसले दह्रो भूमिका खेलेका छन् (एफिसी २ः२०) ।

पत्रुसले परमेश्वरको घर वा मण्डलीको सम्बन्धमा यसरी भन्छन्, “तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउने पवित्र पूजाहारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिक घर बन्दै जाओ (१ पत्रुस २ः५) ।” परमेश्वरले आफ्ना एक मात्र प्रिय पुत्रलाई क्रूसमा बलिदान चढाउनुभयो यसको एउटै कारण थियो मानिसहरू परिवर्तन होऊन् र परिवर्तन भएपछि आफ्नै लागि होइन तर परमेश्वरको निम्ति जिऊन् ।
“उहाँ सबैका निम्ति (ख्रीष्ट) मर्नुभयो ताकि बाँच्नेहरू आफ्नै निम्ति होइन तर उहाँको निम्ति बाँचून् जो तिनीहरूका खातिर मर्नुभयो र फेरि जीवित पारी उठाइनुभयो (२ कोरन्थी ५ः१५) ।” परमेश्वरको घर वा इसाई मण्डली येशू ख्रीष्टद्वारा परिवर्तन गरिएका मानिसहरूको समूह हो । मण्डली अन्य सामाजिक समूह जस्ता मात्र नभई बाइबलमा व्याख्या गरिएझैँ यो एउटा शरीर हो जसको शिर ख्रीष्ट येशू हुनुहुन्छ ।

परमेश्वर पवित्र हुनुहुन्छ र उहाँको घर पनि पवित्र नै हुनुपर्छ, यसैले उहाँले यो कामको निम्ति आफ्ना पुत्र येशू ख्रीष्टलाई बलिदान चढाउनुभयो । यो बलीद्वारा पापी मानिसलाई पवित्र बनाउनुभयो र आफूसंग मिलाउनुभयो अथवा मिलाप गराउनुभयो । यस्तो काम मानिसलाई परमेश्वरसंग मिलाउने काम खालि परमेश्वरले मात्र गर्नसक्नुहुन्छ र उहाँले यो गर्नु पनि भयो । वास्तवमा परमेश्वर संसारलाई (सम्पूर्ण मानिसलाई) नै मिलाप गराउन चाहनुहुन्छ ।

हामी ख्रीष्ट येशूमा विश्वास गर्नेहरू नयाँ सृष्टिहरू हौं र परमेश्वरसंग हाम्रो मिलाप भएको छ । परमेश्वरले हामीलाई आफूसित मिलाप गराउनुको साथै यो मिलापको सेवकाइ हामीलाई सुम्पिनुभएको छ । “यो सब परमेश्वरबाट भएको हो जसले हामीलाई ख्रीष्ट येशूद्वारा आफूसंग मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभयो (२ कोरन्थी ५ः१८) ।”

अब परमेश्वरले हामीलाई मिलापको सेवकाइ दिनुभएको छ अर्थात् यो मिलापको सुसमाचार अरूहरूलाई सुनाउनुपर्छ । यो मिलापको सुसमाचारको महत्व बाहिर संसारको लागि जति महत्वपूर्ण छ उतिकै घरभित्र अर्थात् मण्डलीभित्र पनि छ । मण्डलीमा नै मिलाप छैन भने हामीले बाहिर मिलापको सुसमाचार सत्यतापूर्वक दिन सत्तैनौं । प्रभु येशू ख्रीष्ट संसारमा हुनुहुँदा चेलाहरूलाई आपसी प्रेमबारे धेरै कुरा सिकाउनुभयो । प्रेम नै मिलापको आधार हो । प्रभु येशू ख्रीष्टले आखिरी हप्ता आफ्ना चेलाहरूसंग बिताउनुभयो र प्रेममा रहने कुरामा विशेष् जोड दिनुभयो । उहाँले नयाँ आज्ञाको रूपमा “एक अर्कालाई” प्रेम गर्न आह्वान गर्नुभयो ।

हिजो आज हामी मण्डलीसम्बन्धी धेरै कुरा सुन्छौं तर अफसोस मण्डलीको चर्चामा त्यहाँ रहेको झगडा, गुटबन्दी, बाझाबाझ वा झेलले प्रमुख स्थान लिएको छ । मण्डली प्रभुको सुन्दरता तथा उहाँको प्रेमको साक्षी बन्नुपर्ने तर उल्टो काम पो भइरहेछ । लडाई, झगडाले कसैलाई ठीक र बेठीक देखाउँदैन । मण्डलीमा रहेका यस्ता कुराले संसारलाई मिलाउन चाहनुहुने परमेश्वरको महिमा हुँदैन । हामीले गरेको “मिलापको सुसमाचार” पनि अरूहरूले राम्ररी सुन्न सत्तैनन् । लडाई, झगडाको गोलमालले मिलापको सुसमाचारलाई पछिल्तिर ढकेलिदिन्छ । तर यी सबै भएता पनि हामीलाई सधैं प्रेम गर्नुहुने परमेश्वरका सन्तान भएका हुनाले हाम्रो आशा जीवितै छ । सबै नराम्रा कुरालाई छोडी हामीले गर्नुपर्ने काम अथवा हामीलाई सुम्पिएको मिलापको सेवकाइ गर्न सक्छौं ।

“यसकारण साहससंग अनुग्रहको सिंहासन नजीक जाऔं र  खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं (हिबू्र ४ः१६) ।”