मृत्यु संस्कार, दाह संस्कार वा समाधि (दफन): जलाउने कि गाड्ने ? – पाष्टर बर्णबास श्रेष्ठ

June 30, 2017 | Articles  

सबै मानिसको जीवनको गर्नैपर्ने संस्कारमा मृत्यु संस्कार पनि एक हो । यो अत्यन्तै संवेदनशील विषय भएकोले सबैले यस विषयको सम्बन्धमा राम्रोसँग जान्न र समयमै विचार गर्नु आवश्यक छ । समयमै यस सम्बन्धमा जानकारी नभएको खण्डमा मृत्यु हुँदाको समयमा धेरै असमझदारीको संभावना हुन सक्ने कुरालाई ध्यानमा राखी यो छलफलको विषयलाई अगाडि बढाएका छौं ।

१. मृत्यु निश्चित छः भजनसंग्रह ४८ः९, भजनसंग्रह ८९ः४९, भजनसंग्रह १०९ः२९

क. मृत्यु संस्कारको सम्बन्धमा बाइबलले के भन्दछ ?

बाइबलमा हामीले मृत्यु संस्कार यसरी नै गर्नुपर्छ भनेर आज्ञा वा नियमको रूपमा स्पष्टसँग बताएको वा लेखिएको पाउँदैनौं । त्यस समयमा यहूदी परम्पराअनुसार मृत शरीरलाई गाड्ने चलन थियो ।
पुरानो नियममा शुरूदेखि हेर्ने हो भने उत्पति २३ः२९, १ इतिहास १६ः२४ मा बताएअनुसार जमीनमाथि खोपेर बनाएको चिहानमा (ओडारमा) मृत्यु भएकै दिन दफन गर्ने चलन थियो । सुगन्धित मसलाहरू लगाएर शवलाई ओडारमा राख्ने चलन पनि थियो । नसक्नेहरूले जमीनमुनि गाडेको (दफन गरीएको) उदाहरणहरू धेरै पढ्न पाउँछौं, पछि नयाँ नियममा येशू ख्रीष्टको शरीरलाई पनि पहरामा खोपेर बनाएको चिहानमा राखिएको पढ्न पाउँछौं (मत्ती २७ः६०–६६) ।

पुरानो नियममा जलाएको उदाहरण पनि छ । शाउल र उसको छोराहरू जोहरूलाई पलिस्तीहरूले मारेर छाडेका वीर योध्दाहरूले भेट्टाए, उनीहरूले ती लासहरूलाई जलाए (१ शमूएल ३१ः१२) ।
पुरानो नियममा लासहरू जलाएको चाहिँ या त यातना दिइएको वा मारिएको व्यक्तिको सम्वन्धमा छ अर्थात् जलाउने कुरा नकारात्मक अर्थमा लिइएको छ । तर नयाँ नियममा भने पावलले कोरिन्थीमा भएको मण्डलीलाई लेख्दा उनी भन्दछन्, “मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन” (१ कोरिन्थी १३ः३), यहाँ शरीर जलाउन दिने कुरालाई सकारात्मक रूपमा प्रस्तुत गरेका छन् ।

हामीले मृत्युपछिको जीवनको सम्बन्धमा राम्रोसँग बुझ्न सक्यौं भने जलाउने वा दफन गर्ने भन्ने कुरा त्यति ठूलो विषय बन्दैन ।

ख. मृत्युपछिको जीवनको सम्बन्धमा बाइबलले के भन्दछ त ?

परमेश्वरले मानिसलाई श्राप दिनुहुँदा भन्नुभयो, “माटोमा नफर्कुञ्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैंले खानेछस् । किनकि माटैबाट तँ निकालिएको थिइस् । तँ माटै होस् र माटैमा फर्किजानेछस्” उत्पति ३ः१९, धुलोबाट आएको धुलोमा नै फर्कि जानुपर्छ (उपदेशक ३ः२०, १२ः७, भजनसँग्रह १०४ः२९) ।

पावलले कोरिन्थीमा भएका मण्डलीलाई लेख्दा पनि जोड दिएर स्पष्टसँग लेखेका छन् कि माटोको विनाशी शरीर छ भने आत्मिक अविनाशी शरीर पनि छ ।

जे रोप्दछौं, त्योचाहिँ पछि हुने शरीर होइन (१ कोरिन्थी १५ः३७) अनि शरीर पनि स्वर्गीय र पार्थिव हुन्छन् (१ कोरिन्थी १५ः४०) प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि अवश्य हुन्छ (१ कोरिन्थी १५ः४४) ।

त्यसरी नै स्वर्गका मानिसको रूप धारण गर्नेछौं (१ कोरिन्थी १५ः४९) पावल यो पनि भन्दछन् कि मासु र रगत स्वर्गका राज्यको हकदार हुन सक्दैन (१ कोरिन्थी १५ः५०), पुनरुत्थान हुँदाको शरीर बेग्लै हुन्छ । हाम्रो अहिले भएको शरीर त केवल पाल जस्तै अर्थात् अस्थायी हो (२ कोरिन्थी ५ः१) । अंग्रेजी सबै अनुवादमा पार्थिव शरीरलाई Tent वा Tabernacle भनिएको छ र जसको अर्थ पाल नै हो । पाल भन्नु नै अस्थायी हो ।

हाम्रो शरीर पुनरुत्थान हुँदा हामीले आत्मिक, अविनाशी, स्वर्गीय, महिमित शरीर (फिलिप्पी ३ः२१) प्राप्त गर्छौैं र जुन शरीरमा कष्ट, रोग, अभाव, दुर्बलता, सीमितपना, असक्षमता भन्ने हुँदैन । चाहे त्यो गाडेपछि कुहिएर माटो भएको होस् वा जलाएपछि खरानी भएर पछि माटो बनेको होस् वा समुद्रमा डुबेर माटो भएको होस् वा आगलागीमा परेर खरानी भई माटोमा मिलेको होस् सबैलाई एकैक्षणमा परमेश्वरले बिउताउँनुहुन्छ र सबैलाई एक एक नयाँ आत्मिक शरीर अर्थात् अविनाशी शरीर दिनुहुन्छ
(१ कोरिन्थी १५ः५२–५३) ।

हामीले ख्याल राख्नुपर्ने कुरा के हो भने, मृत्यु पछि हाम्रो शरीरको त्यति ठूलो स्थान नभए तापनि मृत शरीरलाई ससम्मान अन्त्येष्टि गरिनु आवश्यक छ कारण जीवित हुँदा यो पवित्रआत्माको मन्दिरको एउटा भाग हो (१ कोरिन्थी ३ः१६) ।

मृत शरीर भन्दा पनि उनका नजीककाहरूको भावना र अवस्थालाई सबैले बुझिदिनु र सम्मान गर्नु अति जरुरी छ साथै मर्ने व्यक्तिले मर्नु अगावै (जीवित छँदा नै) आफ्नो लासको मृत्यु संस्कारलाई यसरी गरिदिनु भनेर इच्छा व्यक्त गर्नुभएको छ भने र व्यक्त गरिएको इच्छा सम्भव र सान्दर्भिक छ भने सोहीअनुसार गरिदिनु असल हुन्छ । कतिपय अवस्थामा विभिन्न कारणले गर्दा हामीले चाहेजस्तो प्रकारले मृत्यु संस्कार गर्न सम्भव नहुन सक्छ । त्यस्तो अवस्थामा परिवारका सदस्यहरूले अवस्था बुझी परिस्थितिअनुसार मृत शरीरलाई सदगत गर्न तयार रहन पर्छ र असहजतालाई न्यूनिकरण गर्न सहयोग पुर्‍याउनुपर्छ।

मृत्यु सबैको लागि निश्चित भएको हुँदा सबैले यस विषयलाई समयमै सोचेर ठीक निर्णय लिएमा पछिबाट अनावश्यक वादविवाद र समस्यालाई धेरै कम गर्न मद्दत पुग्छ ।

मृत्यु संस्कार गर्दा ध्यान पुर्‍याउनुपर्ने कुराहरूः

बाइबलमा हामीलाई यसरी नै मृत्यु संस्कार गर्नुपर्छ भनेर आज्ञाको रूपमा वा विधिको रूपमा नलेखिदिएको अवस्थामा मृतकको परिवारको भावनालाई सम्मान गर्नुपर्छ । दफननै गर्नुपर्छ वा जलाउनैपर्छ भनेर दबाब दिन ठीक हुँदैन ।
देश वा सामाजिक अवस्थालाई विचार गर्नुपर्ने हुन्छ । जहाँ जलाउन सम्भव नै हुँदैन त्यहाँ जलाउनु नै पर्छ वा त जहाँ दफन गर्ने जमीन नै छैन वा अन्य विभिन्न कारणले दफन गर्न सम्भव छैन भने, त्यहाँ दफन नै गर्नुपर्छ भनेर हठी गर्दा नसोचेको परिणाम भोग्न पर्ने अवस्था आउनसक्छ ।

आफ्नो वा आफ्नो परिवारको विचारलाई मात्र सोच्नु भन्दा व्यावहारिकतालाई पनि सोच्न सक्नु परिपक्वता हुन्छ । बदलिँदो परिस्थितिका साथै तीब्र शहरीकरणले गर्दा दफन गर्ने ठाउँको अभाव बढ्दै गएको कारण अब मृत शरीरलाई जलाउने तर्फ विचार गर्न बुध्दिमानी हुन्छ । आर्थिक भारलाई विचार गरेर ठीक निर्णय लिन पनि जरुरी छ । यदि हामीले समय छँदै जोहो गरेका वा रकम छुट्याएर राख्न सक्यौं भने आफ्ना परिवार वा आफन्तलाई कठिन समयमा आर्थिक भारको पीरलाई धेरै कम गर्न मद्दत पुग्छ ।

मृत्यु पछि के गर्ने गाड्ने वा जलाउने भन्ने कुरा महत्वपूर्ण कुरा होइन सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामी जीवित छँदै उहाँको लागि जिउन, खोजी गर्न र उहाँको सेवा गर्ने कुरा महत्वपूर्ण हो ।