पुस्तादेखि पुस्तासम्म रहने कृपा – एल्डर सिमोन पाठक

January 18, 2018 | Articles  

परमेश्वरका विशिष्ट गुणहरूमध्ये कृपा पनि एउटा गुण हो । परमेश्वरले आफ्नो कृपा उहाँको आदर गर्नेहरूमाथि एउटा पुस्तादेखि अर्को पुस्ता गर्दै पुस्तौसम्म राख्नुहुन्छ । धर्मशास्त्रमा कृपालाई बुझाउनको निम्ति प्रयोग गरिएका अन्य शब्दहरूमा दया, माया, करूणा आदि हुन् ।

वृहत्त शब्दकोषमा कृपा भनेकोः करूणापूर्वक कसैमाथि गरिने दया माया, अनुग्रह, निगाहलाई कृपा भनिन्छ । दुःखी, असहाय, सहारा विहिनहरूमाथि परमेश्वरले गर्नुहुने भलोपनलाई परमेश्वरको कृपा भनिन्छ । कृपा एउटा गुण हो । यो गुण दया र सहनशीलताद्वारा प्रष्टसँग झल्किँदछ ।

परमेश्वरले आफ्नो कृपा मानिसलाई दया देखाएर झल्काउनुभएको छ । पापीप्रति सहनशील हुनुभएर उहाँले कृपा झल्काउनुभएको छ । यदि उहाँ पापीप्रति कृपालु नहुनुभएको भए पापी मानिस संसारमा बाँच्न सक्ने थिएन । मानिस पापको सागरमा डुबेको छ । ऊ त्यहाँबाट आफै निस्कन सक्दैन । समुद्रमा डुबेको मानिस आफै निस्कन सक्दैन । उसले जति नै चिच्याए पनि, कराए पनि, समुद्रको छालले उसलाई झन्–झन् गहिराइमा पुर्‍याइदिन्छ । ऊ सहारा विहिन हुन पुग्छ । उसलाई समुद्रबाट बचाउनको निम्ति कसैको मदत चाहिन्छ । संसारमा भएका मानिसहरू पापको समुद्रमा डुबेका छन् । उनीहरू त्यहाँबाट आफ्नै प्रयासले बाहिर निस्कन सक्दैनन् ।

परमेश्वरको कृपाले मात्र पापको समुद्रमा डुबेका मानिसहरू बाहिर निस्कन सक्छन् । धर्मशास्त्र बाइबलले बताउँदछ, हामीहरूले गरेका धर्म, कर्म, दान, दक्षिणा, तीर्थव्रत, असल कामहरूले पापको समुद्रबाट निकाल्न सक्दैन । त्यसकारण पापबाट बचाइनको निम्ति परमेश्वरको कृपा पाउनु अति आवश्यक छ ।

मानिस पापको कारण अनन्त दण्ड भोग्ने योग्यको छ । तर परमेश्वरले मानिसमाथि सित्तैमा कृपा देखाउनुभयो । कृपा भनेको नै सित्तैमा पाउने कुरा हो । यसको निम्ति हामीले परिश्रम गर्नु पर्दैन । परमेश्वरको सित्तैको कृपाको कारणले गर्दा नै हामी पापबाट बचाइन सकेका हौं ।

“तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान् प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो” (एफिसी २ः४) ।

“हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्यका भन्छौं । तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्तो करूणामय र कृपालु हुनुहुन्छ”
(याकूब ५ः११) । हामीले नयाँ जीवन पाउनु परमेश्वरको कृपाले गर्दा सम्भव भएको हो ।

“परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यका हुनुहुन्छ । उहाँको महान कृपाले मृतकबाट येशू ख्रीष्टको पुनरूत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं” (१ पत्रुस १ः३) ।

धर्मशास्त्रमा परमेश्वर कोहरूप्रति कृपालु हुनुभएको छ ?

इस्राएलीहरूप्रतिः परमेश्वर कृपालु हुनुभएको छः

“परमप्रभु टिठालु र अनुग्रही, क्रोध गर्नमा ढिला, र अति करूणामय हुनुहुन्छ ” (भजनसंग्रह १०३ः८) । “परमप्रभुले हाम्रा निम्ति गर्नुभएका सबै कार्यहरूअनुसार, जसको निम्ति उहाँलाई प्रशंसा दिनुपर्दछ, उहाँले गर्नुभएको दयाको विषयमा म बताउनेछु– उहाँको करूणा र धेरै दयाअनुसार, उहाँले इस्राएलको घरानाको निम्ति धेरै असल कार्य गर्नुभयो” (यशैया ६३ः७) ।
इस्राएलीहरू मिश्रको दासत्वमा रहेको समयमा कृपा देखाउनुभयो र दासत्वबाट छुट्कारा दिनुभयो । उजाडस्थानको यात्रामा उनीहरू घरि–घरि परमेश्वरप्रति बागी भए तर पनि उहाँले आफ्नो कृपा उनीहरूप्रति देखाइरहनुभयो । प्रतिज्ञाको मुलुकमा पुर्‍याउनुभयो । इस्राएलीहरूप्रति परमेश्वरले गर्नुभएको कृपाको वर्णन गर्ने हो भने धेरै नै छन् ।

अन्य जातिहरूप्रति परमेश्वर कृपालु हुनुभएको छः

“किनकि जसरी तिमीहरू पनि एक पल्ट परमेश्वरको आज्ञापालन नगर्नेहरू थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताले गर्दा तिमीहरूले कृपा पाएका छौ । तिमीहरूलाई कृपा देखाइएकोले गर्दा तिनीहरूले पनि कृपा प्राप्त गरून् भनी तिनीहरू अहिले अनाज्ञाकारी भएका छन् । किनभने परमेश्वरको कृपा सबै मानिसहरूमाथि होस् भनेर उहाँले सबैलाई अनाज्ञाकारितामा नै सुम्पनुभएको छ”(रोमी ११ः३०–३२ ) ।

जो मानिसहरू अहिले परमेश्वरलाई नचिनेर उहाँको विरूद्धमा छन् तिनीहरूले पनि परमेश्वरको कृपाको कारण एकदिन उहाँलाई चिन्नेछन् । परमेश्वरको कृपालाई अनुभव गर्नेछन् । हामी पनि एक समय उहाँलाई चिन्दैनथियौं । उहाँलाई पुज्नुको सट्टा उहाँले सृष्टि गर्नुभएका थोकहरूलाई पूजा आराधना गर्ने गर्दथ्यौं । तर परमेश्वरको कृपाको कारण ठीक समयमा उहाँलाई चिन्न सक्यौं । नेपालमा धेरै मानिसहरू छन् जसले जीवित परमेश्वरलाई चिनेका छैनन् तर परमेश्वर तिनीहरूप्रति पनि कृपालु हुनुहुन्छ । परमेश्वरको कृपाको कारण नेपालका धेरै मानिसहरूले उद्धार पाइराखेका छन् ।

परमेश्वरको आदर गर्नेहरूप्रति उहाँ कृपालु हुनुभएको छः

“तर परमप्रभुको करूणा आफ्ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा–नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ” (भजनसंग्रह १०३ः१७ ) ।

परमेश्वर उहाँको आदर गर्नेहरूप्रति कृपालु हुनुभयो । उहाँको आदर गर्ने, भक्ति गर्नेहरू, आज्ञापालन गर्नेहरू, करारलाई पक्रिराख्ने सन्तानप्रति पनि परमेश्वर कृपालु हुनुहुनेछ । परमेश्वरको कृपा एउटा पुस्तादेखि अर्को पुस्तामा बग्दै जानेछ । उहाँको कृपाको अन्त्य छैन । परमेश्वरले हामीमाथि गर्नुभएको कृपा हाम्रा सन्तानप्रति पनि बगाउनुहुनेछ ।

“उहाँको भय मान्नेहरूमाथि उहाँको कृपा पुस्तादेखि पुस्तासम्म रहनेछ” (लूका १ः५०) । हामीले परमेश्वरको भय मान्यौ, उहाँको आदर गर्‍यौं भने परमेश्वरको प्रतिज्ञा छ पुस्तादेखि पुस्तासम्म परमेश्वरको कृपा रहिरहनेछ । हाम्रा सन्ततीमा परमेश्वरको कृपाको अन्त हुने छैन ।

मुक्तिको खोजी गर्नेहरूप्रति परमेश्वर कृपालु हुनुभएको छः

“दुष्टले आफ्नो बाटो र अधर्मीले आफ्नो विचार त्यागोस्, र परमप्रभुतिर फर्कोस्, र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ । हाम्रा परमेश्वरतर्फ त्यो फर्कोस्, र उहाँले त्यसलाई सित्तैमा क्षमा गर्नुहुनेछ” (यशैया ५५ः७) ।

मुक्तिको खोजी गर्नेहरू परमेश्वरतिर फर्कन्छन् भने उनीहरूले उहाँलाई नचिन्दा गरेका सबै पाप, अधर्महरू परमेश्वरले क्षमा गरिदिनुहुन्छ । बिना शर्त क्षमा छ ।

परमेश्वरको कृपा येशू ख्रीष्टले क्रूसमा गर्नुभएको बलिदानमा देख्न सक्छौं । क्रूसको चित्र कृपापूर्ण कार्य हो । क्रूसमा दया छ, माफी छ, क्षमा छ, पापको दण्ड सजायको मिनाहा छ । परमेश्वर इस्राएलीहरूप्रति, अन्यजातिहरूप्रति, उहाँको आदर गर्नेहरूप्रति र मुक्तिको खोजी गर्नेहरूप्रति कृपालु हुनुभएको कुरा थाहा पाउँदा तपाईंलाई कस्तो लाग्यो ? परमेश्वरको कृपालाई हाम्रो दैनिक जीवनमा झल्काएर परमेश्वरको कृपालाई पुस्तादेखि पुस्तासम्म बग्न दिऔं र उहाँको महिमा गरौं ।