जिब्रो अनि जीवनद्वारा साक्षी

July 11, 2018 | Articles  

– एल्डर सिमोन पाठक

येशूले उहाँमाथि विश्वास गर्नेहरूलाई पृथ्वीमा नून र ज्योति हुनलाई बोलाउनुभएको छ । नून र ज्योतिको जीवन जिउनेहरूले कहिल्यै पनि अरूको धर्मलाई खसाल्दैनन् । अरूले पूजिआएका देवी देवतालाई तथानाम बोल्ने, नराम्रा शब्दहरूद्वारा गाली गर्ने, शैतान भन्ने गर्दैनन् र नेपालको कानुनले पनि यो गर्न दिँदैंन । कुनै पनि धर्म वा आस्थाका मानिसहरूले अर्को धर्म मान्नेहरूलाई खसालेर बोल्ने वा नराम्रो व्यवहार गरेको पाइएमा नेपालको कानूनले त्यस्ताहरूलाई जेल हाल्नेसम्मको सजाय तोकेको छ । यदि तपाईंले सुसमाचार वा साक्षी दिने समयमा अरूको देवी देवताको नाउँ लिएर उसको आस्थालाई खसाल्ने बानी लागेको छ भने त्यो कुरालाई आजैदेखि बन्द गर्नुहोस् । येशूले उहाँका चेलाहरूलाई त्यसरी सुसमाचार सुनाउनलाई सिकाउनुभएको थिएन । येशूले उहाँलाई पछ्याउनेहरूलाई पृथ्वीमा नून जस्तै स्वाद दिन र ज्योति जस्तै उज्यालो बन्नलाई आज्ञा दिनुभएको छ (मत्ती ५ः१३–१६)।

समाज र राष्ट्रमा नून र ज्योति हुनेहरूले के गर्छन् रु धर्मशास्त्रमा भएको सत्यतालाई जीवन र जिब्रोद्वारा प्रकट गर्छन् । बाइबल धर्मशास्त्रमा परमेश्वर, मानिस, पाप, मृत्यु, अनन्त जीवन आदिको विषयमा जे सत्यता प्रकट गरिएको छ ती सत्यताहरूलाई प्रकट गर्नु नै जिब्रोद्वारा दिने साक्षी हो । जिब्रोद्वारा साक्षी दिँदा बताउनु पर्ने महत्वपूर्ण कुराहरू यसप्रकार छन्ः
सृष्टिको सुरुमा परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको थियो ९उत्पत्ति १ः२६० । मानिस परमेश्वरको आफ्नै स्वरूपमा बनाइएको कारण सृष्टिको सुरुमा मानिसको परमेश्वरसँग सम्बन्ध थियो । तर सृष्टिको पहिलो मानिस आदम र हव्वाले परमेश्वरले नखानु भन्नुभएको रूखको फल टिपेर खाएको कारण संसारमा पापको प्रवेश भयो (उत्पत्ति ३ः६–८) ।

पापको परिणाम मानिस परमेश्वरबाट अलग भयो (रोमी ३ः२३) मानिस र परमेश्वरको बीचमा पापको खाडल तयार भयो । सबै मानिस पापको कारण परमेश्वरको उपस्थितिबाट बाहिरिनुपर्यो (उत्पत्ति ३ः२३–२४) ।

पाप के हो ? चोर्नु, ढाँट्नु, मानिसको हत्या गर्नु, व्यभिचार गर्नु, अनैतिक कामहरू गर्नु सबै पापको श्रेणीभित्र पर्दछ । तर सृष्टिकर्ता परमेश्वरले राख्नुभएको निशानाबाट चुक्नु नै सबैभन्दा ठूलो पाप हो । परमेश्वर पवित्र हुनुहुन्छ तर सृष्टिको पहलो मानव आदम र हव्वाले परमेश्वरको आज्ञा उलङ्घन गरेपछि मानिसमा पाप आयो । पापले मानिसलाई परमेश्वरबाट टाढा गरायो । परमेश्वरलाई भेट्नको लागि एउटा मापदण्ड तोकिएको छ, त्योचाहिँ हो पवित्रता तर जन्मँदै मानिस पापस्वभावमा जन्मन्छ र पापको ज्याला मृत्यु हो (रोमी ६ः२३)। स्वर्ग जानको लागि पापको ज्याला तिरिनुपर्दछ ।

तर बाइबल धर्मशास्त्रमा लेखिएको छः
· धर्मकर्मद्वारा पापको ज्याला तिरिँदैन (यशैया ६४ः६)
· पापको ज्याला तिर्न रगत चाहिन्छ (हिब्रू ९ः२२)
· पशुपंक्षीको रगतले पापको ज्याला तिर्न असम्भव छ (हिब्रू १०ः४)
· मानिसको पापको ज्याला तिर्न मानिसकै पवित्र रगत चाहिन्छ ।

जसरी एउटा रोगीलाई अर्को निरोगीको रगतले बचाउँछ, त्यसरी नै पापी मानिसलाई पापरहित मानिसको रगतले पापबाट बचाउँछ अनि अनन्त जीवन दिन्छ ।

तर संसारमा पापरहित मानिस कोही पनि छैन (रोमी ३ः२३) । त्यसकारण परमेश्वरले येशू ख्रीष्टलाई मानिस बनाएर पृथ्वीमा पठाउनुभयो ९यूहन्ना ३ः१६० । येशू पवित्र आत्माद्वारा कन्या मरियमको कोखमा गर्भधारण हुनुभयो (लूका १ः३४–३५) । येशू मरियमको कोखबाट जन्मनुभयो । तीस वर्षको उमेरमा उहाँले स्वर्गको राज्यको विषयमा शिक्षा दिन सुरु गर्नुभयो (लूका ४ः१८–१९) । उहाँले दिनुभएको शिक्षा र आश्चर्यकामहरू देखेर धेरै मानिसहरूले उहाँलाई पछ्याउन थाले । यो देखेर यहूदी धर्मगुरुहरू उहाँप्रति क्रोधित भए । उहाँलाई उनीहरूले मार्ने षड्यन्त्र गर्न थाले । साढे तेत्तिस वर्षको उमेरमा उहाँलाई क्रूसमा टाँगे । उहाँको शिरदेखि पाउसम्म रगतका धाराहरू बग्यो जुनचाहिँ पापी मानिसको पाप धुनका लागि बगाइनु नै पर्ने थियो ।

उहाँ क्रूसमा मारिनुभयो । यहूदी चलनअनुसार ढुंगाको ओढारमा खोपेर बनाइएको चिहानमा गाडिनुभयो र तेस्रो दिनमा मृत्युबाट जीवित हुनुभयो । अनि आफ्ना चेलाहरूकहाँ पटक–पटक देखा पर्नुभयो र पछिबाट धेरै मानिसहरूकहाँ देखा पर्नुभयो । मृत्युबाट जीवित हुनुभएको चालीस दिनपछि पाँच सयभन्दा बढी मानिसहरूलाई शिक्षा दिँदा दिँदै फेरि स्वर्गमा नै चढिजानुभयो । अब संसारमा जतिले उहाँमाथि विश्वास गर्छन् तिनीहरू पनि येशूद्वारा स्वर्गमा जान सक्छन् । येशूमाथि विश्वास गर्नु धर्म परिवर्तन गर्नु होइन तर आमाको गर्भमा रच्नुहुने जीवित परमेश्वरको प्रेमलाई चाख्नु हो (यूहन्ना ३ः१६), परमेश्वरको सन्तान हुनु हो (यूहन्ना १ः१२), स्वर्गमा भएको जीवनको पुस्तकमा नाउँ लेखिनु हो (लूका १ः२०), जीवन छँदै स्वर्ग जाने बाटो भेट्टाउनु हो र मृत्युपछि अनन्त जीवन पाउनु हो ९यूहन्ना ३ः१५० ।

यदि कुनै पनि व्यक्तिले माथि बताइएका सत्यतालाई आफ्नो बनाउन चाहन्छ भने उसले आफ्नो मुखका शब्दहरूद्वारा प्रभु येशूलाई स्वीकार गरी हृदयमा विश्वास गर्नुपर्छ, तब मात्र त्यो व्यक्ति परमेश्वरको सन्तान हुन्छ (यूहन्ना १ः१२, रोमी १०ः९, १०) । परमेश्वरको सन्तान भएकाहरू मृत्युपछि परमेश्वरको घर स्वर्गमा अनन्तसम्मको लागि बास गर्छन् । पापबाट बचाइनको लागि मुखका शब्दहरूद्वारा स्वीकार गर्नुपर्ने शब्दहरू यसप्रकार छन्ः

“प्रभु येशू मैले जानी नजानी गरेका सबै पापहरूको म क्षमा माग्छु । मैले गरेका सबै अधर्मको म पश्चात्ताप गर्दछु । तपाईंले क्रूसमा बगाउनुभएको पवित्र रगतले मेरा सबै पाप अधर्महरूलाई धोइ पखाली शुद्ध गरिदिनुहोस् । तपाईं मेरो हृदयमा आउनुहोस् र मेरो जीवनको प्रभु र मालिक भएर सधैँ बास गर्नुहोस् । मलाई तपाईंको इच्छाअनुसार जीवन जिउनलाई सहायता गर्नुहोस् । मेरो बिन्तीलाई सुनिदिनुहोस् । प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन् ।”

यी शब्दहरूलाई आफ्नो मुखले स्वीकार गर्ने व्यक्ति परमेश्वरको सन्तान हुन्छ (यूहन्ना १ः१२) । मानिस परमेश्वरको सन्तान भइसकेपछि समाज र राष्ट्रमा नून र ज्योतिजस्तै बनेर साक्षीको जीवन जिउन थाल्छ ।

सुसमाचार सुनाउने अर्को तरिका हो आफ्नै जीवनको साक्षीद्वाराः पहिलो शताब्दीको मण्डलीले आफ्नो जीवनको साक्षीद्वारा मानिसहरूलाई सुसमाचार दिएका थिए । उनीहरूले साहससँग साक्षी दिएका थिए (प्रेरित ४ः१९, २०) । साक्षी भनेकै देखेको र सुनेको कुरा भन्नु हो । चेलाहरूले येशूको जीवनमा देखेका र उहाँबाट सुनेका कुराहरू मानिसहरूलाई बताएका थिए । उनीहरूले साक्षी दिँदा स्वतः स्फूर्तरूपमा साक्षी दिएका थिए (प्रेरित ११ः१९–२१) । मण्डलीमा सतावट सुरु भयो । सुसमाचारको निम्ति योजना बनाउने, तालिम दिने, बजेट बनाउने, पैसा जम्मा गर्ने समय नै थिएन, सुसमाचारको पर्चा पनि थिएन, बाइबल पनि थिएन । उनीहरूले स्वतः स्फूर्तरूपमा आफ्नो जीवनको साक्षी मानिसहरूलाई दिए । उनीहरूले जहाँ–जहाँ मौका पाए, त्यहाँ–त्यहाँ तिनीहरूले साक्षी दिएका थिए । उनीहरूले शब्दद्वारा दिएको साक्षीलाई प्रभुले चिन्ह र आश्चर्यकर्महरूद्वारा सुदृढ पार्नुभयो (मर्कूस १६ः२०) । प्रभु येशूले नै चेलाहरूलाई भन्नुभएको थियो, “तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ” (प्रेरित १ः८) ।

आफ्नो जीवनद्वारा कसरी साक्षी दिने ?

साक्षीका चार कदमहरू छन्ः

पहिलो कदमः प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नु अघि तपाईंंको जीवन कस्तो थियो सो बारेमा छोटकरीमा बताउनुहोस्, जस्तैः प्रभुलाई पाउनु अघि तपाईंको जीवनमा भएका हार, निराशा, असफलता, अशान्ति, रोगबिमार, दुःख, कष्ट, समस्या, पीडा, नराम्रा आनीबानी, सोचविचार जे थियो ती कुराहरू छोटकरीमा बताउनु हो । तपाईंहरूमध्ये कतिजना ख्रीष्टियन घरानामा जन्मनुभएको होला । ख्रीष्टियन घरानामा जन्मेको भए तापनि प्रभुलाई राम्रोसँग पछ्याउने निर्णय गर्नु अघि तपाईंको जीवन कस्तो थियो सो बताउनु हो ।

दोस्रो कदमः तपाईंले प्रभु येशू ख्रीष्टको विषयमा कहिले र कसरी सुन्नुभयो सो विषयमा छोटकरीमा बताउनुहोस् जस्तैः तपाईंलाई कुनै मानिसले बतायो, सुसमाचार पर्चा दियो, मण्डलीमा बोलायो, वचनको कुनै खण्डहरूबाट पढेर सुनायो, आफ्नो जीवनको गवाहीद्वारा बतायो, वा कसैको जीवन देखेर प्रभावित हुनुभयो, ती कुराहरू बताउनु हो ।

तेस्रो कदमः तपाईंले प्रभु येशूलाई कसरी ग्रहण गर्नुभयो सो विषयमा छोटकरीमा बताउनुहोस् । प्रभु येशूलाई के भनेर ग्रहण गर्नुभयो ती कुराहरू बताउनु हो र कसरी ग्रहण गर्नुभयो, प्रार्थना गरेर, घुँडा टेकेर, मण्डलीमा गएर, पर्चामा लेखिएका प्रार्थनाका शब्दहरूलाई मुखका शब्दहरूद्वारा स्वीकार गरेर, ती कुराहरू बताउनु हो ।

चौथो कदमः तपाईंले प्रभु येशूलाई प्रभु र मुक्तिदाता भनेर ग्रहण गरिसकेपछि तपाईंको जीवनमा के कस्ता परिवर्तनहरू भए सो विषयमा बताउनुहोस् । प्रभुलाई पाउन अघि तपाईंको जीवनमा भएका निराश, हतास, समस्याहरू, अशान्ति, दुःख, पीडा, रोगबिमार, नराम्रा आनीबानी, नराम्रा सोचविचार, कुलत, दुव्र्यसनी, मुक्तिको खोजी आदिमा के कस्ता परिवर्तनहरू भए सो विषयमा बताउनु हो ।

माथि बताइएका पहिलो, दोस्रो, तेस्रो र चौथो कदमहरूमा के के भन्ने सो विषयमा आफ्नो साक्षी लेखेर राख्नुभयो अनि अरूसँग बाँड्नुअघि घरमै अभ्यास गर्नुभयो भने मौका पाएको समयमा तपाईंलाई साक्षी बाँड्न सजिलो हुनेछ । तपाईंले जसलाई साक्षी बाँड्दै हुनुहुन्छ, उसको समय छ भने आधा घण्टाभन्दा बढी समय लगाएर पनि साक्षी बाँड्न सक्नुहुन्छ तर यदि त्यस व्यक्तिसँग समय छैन भने पाँच मिनेटमा पनि आफ्नो साक्षी बाँड्न सक्नुहुन्छ ।

येशूलाई पछ्याउनेहरू उहाँको साक्षी हुनका लागि बोलाइएकाहरू हुन् । प्रभु येशूको आज्ञा छ “तिमीहरूले सित्तैमा पायौं, सित्तै देओ” (मत्ती १०ः८) । तर साक्षी दिनुपर्छ भन्दैमा जथाभावी साक्षी नबाँडौं । प्रभुसँग प्रार्थना गरौं र पवित्र आत्माले प्रेरणा दिनुभएअनुसार प्रभु येशूको महिमा हुने अवस्थामा मात्र येशूको नाउँमा पाइने मुक्ति र उद्धारको चर्चा गरौं र त्रिएक परमेश्वरलाई महिमा दिने काम जिब्रो र जीवनद्वारा सधैँ गरौं ।