हामीले के गर्ने, के नगर्ने !

November 12, 2018 | Articles  

नेपाली मण्डलीहरूको प्रयोजनका लागि इमाडोल क्वाइनोनिया मण्डलीका पाष्टर शेर ए.सी.ज्यूले तयार पार्नुभएको आचार संहितालाई यहाँ साभार गरिएको छ । मण्डलीका सबै विश्वासीहरूले यस आचार संहितामा गर्ने भनिएका कुराहरूलाई गरौं र नगर्ने भनिएका कुराहरूलाई नगरौं ।

के के गर्ने ?

१. बाइबलले सिकाएअनुसार परमेश्वर र सबै मानिसहरूलाई प्रेम गर्ने, आफ्ना छिमेकीहरूलाई असल व्यवहार र भलाइ गर्ने (मत्ती २२ः३७–४०) ।

२. बाइबल–अध्ययन, प्रार्थना र संगतिलाई पहिलो प्राथमिकता दिई आत्मिकी कुराहरूमा सधैँ अग्रसर बन्ने (प्रेरित २ः४२–४७) ।

३. पाप–अधर्म र दुष्टताबाट सधैँ टाढा बस्ने, आत्माको अगुवाइमा आफू हिँड्ने र अरूलाई पनि हिँडाउने (रोमी ६ः१–१४;८ः१–८) ।

४. मण्डलीमा एक–अर्कालाई माया, वास्ता र सहयोग गर्ने वातावरण सिर्जना गर्ने (फिलिप्पी ४ः१–३; कलस्सी १ः३–४) ।

५. कुनै पनि असल कार्य र खाँचो–आवश्यकतामा दिने वा मुठी खोल्ने कुराहरूमा अग्रसर बन्ने/बनाउने (२ कोरिन्थी ८ः१–५) ।

६. स्थानीय मण्डलीका नीति–नियम र बाइबलीय अनुशासनमा बस्ने, मण्डलीप्रतिको आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्ने (कलस्सी १ः२४–२९; १ तिमोथी ५ः१–१६) ।

७. प्रभुको काम तथा सेवा गर्दा सामूहिक हित वा भलाइका कुराहरूमा बढी जोड दिने र समाज रूपान्तरणका लागि अग्रणी भूमिका निर्वाह गर्ने (गलाती ६ः९–१०) ।

८. मण्डली वा अन्य सामूहिक कार्यक्षेत्रका चल–अचल सम्पत्तिलाई सुरक्षित र व्यवस्थित राख्ने (मत्ती २१ः१२–१३; लूका १६ः१०–१२)

९. क्षमादान, मेलमिलाप र एकताका कुराहरूलाई व्यावहारिक रूपमै पालन गर्ने/गराउने (मत्ती ५ः२३–२४; फिलिप्पी २ः२–५; कलस्सी ३ः१३–१४) ।

१०. आफूभन्दा फरक व्यक्ति र उनीहरूका वरदानहरू अनि अरू मण्डलीका शिक्षा सिद्धान्त र अभ्यासहरूलाई आदर गर्ने/गराउने (एफिसी ४ः१–१६; रोमी १२ः३–८) ।

११. सधैँ सकारात्मक सोचका साथ अगाडि बढ्ने र सबैलाई आदरको दृष्टिले हेर्ने (हितोपदेश १७ः२२; मत्ती ७ः१२; फिलिप्पी ४ः८, १३) ।

१२. घर तथा मण्डली परिवारहरूलाई आत्मनिर्भर बन्न र आफ्नै खुट्टामा उभिन सिकाउने (प्रेरित २०ः३४–३५) ।

१३. इच्छुक र चासो दिने व्यक्तिहरूलाई “परमेश्वर को र कस्तो हुनुहुन्छ” भन्ने कुरा बाइबलसम्मत ढङ्गले बताउने (यूहन्ना ३ः१–२१) ।

१४. सबैले सुसमाचारीय जीवनशैली अपनाउने र सुसमाचार कार्यलाई हरपल कायम राख्ने (फिलिप्पी १ः२७) ।

१५. आथिर्क कारोबारलाई पारदर्शी बनाउने, तिर्नुपर्ने कुरा सबैलाई तिर्ने र लेनदेनको क्षेत्रमा इमानदार र स्पष्ट हुने (रोमी १३ः७) ।

१६. हरेकले आफूले पाएको जिम्मेवारी तथा अधिकारबारे थाहा पाउने र आफ्नो कार्यक्षेत्र–अधिकारभित्र रहेर मात्र काम गर्ने/गराउने (प्रेरित ६ः१–७) ।

१७. आफै नैतिकवान बनी असल चरित्र र इमानदारी सधैँ प्रदर्शन गर्ने/गराउने (रोमी ५ः१–४; कलस्सी ३ः१–१०) ।

१८. भूल–गल्ती गर्नेहरूलाई स्थानीय मण्डलीका नीति–नियमअन्तर्गत अनुशासनको दायराभित्र ल्याउने र आवश्यकताअनुसार कारबाहीका प्रक्रीयाहरू अबलम्बन गर्ने (मत्ती १८ः१५–१७; १ तिमोथी ५ः२०) ।

१९. समाजका सबै मानिसहरूसँग मेलमिलापपूर्वक बस्ने र निकटतम सम्बन्ध र भातृप्रेम कायम राख्ने (रोमी १२ः१६–१८) ।

२०. समाज तथा मण्डलीमा भएका गरिब–दुःखी, कमजोर–अशक्त र असहायहरूप्रति दयालु बन्ने र प्रेम तथा सद्भाव व्यावहारिक रूपमै प्रकट गर्ने (हितोपदेश १४ः३१, १९ः१७; याकूब १ः२७) ।

२१. आपत्–विपत्, दुःख–कष्ट र सबै प्रकारका अप्ठ्याराहरूमा उद्धार तथा राहतका लागि आफू सधैँ तयार भई आफूसँग सम्बन्धित मानिसहरूलाई परिचालन गर्ने (मत्ती ८ः२३–२७) ।

२२. देशको विकास तथा समुन्नतिका लागि स्थानीय जनता तथा सरकारलाई सहयोग गर्ने (रामी १३ः१–७) ।

२३. मण्डलीमा आउने सबै जात, वर्ग, वर्ण, लिङ्ग र क्षेत्रका मानिसहरूका बीचमा समान व्यवहार गर्ने/गराउने (रोमी १०ः१२; गलाती ३ः२८) ।

२४. अन्य देशहरूबाट आएका परिचित वा अपरिचित मित्र तथा शुभचिन्तकहरूलाई भित्री तथा बाह्य कुराहरूमा स्थानीय मण्डलीको अगुवाइमा बुद्धिमत्तापूर्ण तरिकाले प्रयोग गर्ने/गराउने (प्रेरित १३ः१–५) ।

२५. सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी मेलमिलाप र राष्ट्रिय एकतामा टेवा पुर्‍याउने प्रकारले मात्रै सामाजिक सञ्जाल र सञ्चार सामग्रीहरूमा आफ्ना विचार तथा धारणाहरू राख्ने (फिलिप्पी २ः३–४) ।

के के नगर्ने ?

१. अरू जाति, धर्म र समुदायलाई आँच आउने र आपत्ति हुने कुराहरू बोल्दै नबोल्ने (एफिसी ४ः२९) ।

२. प्रभुको काम तथा सेवा गर्दा विद्यमान परिस्थिति र अवस्थाको ख्यालै वा विचारै नगरी सहमतिविना गर्दै नगर्ने (१ कोरिन्थी १६ः१३–१४) ।

३. कसैको इच्छा विपरीत जबरजस्ती वा करकापमा पारेर सुसमाचार सुनाउँदै नसुनाउने (मत्ती १०ः१४) ।

४. व्यक्तिगत रूपमा कुराकानी गर्दा, सुसमाचार तथा वचन प्रचार गर्दा, प्रार्थना गर्दा, गवाही बाँड्दा, बहस तथा छलफल गर्दा, कुनै व्यक्ति वा समूहलाई आपत्ति हुने शब्दहरू जस्तैः शैतान, अन्यजाति, अविश्वासी आदि प्रयोग गर्दै नगर्ने र कसैका आस्था एवम् विश्वासमा ठेस पुर्‍याउने काम/व्यवहार पनि नदेखाउने (रोमी १४ः१३;
१ कोरिन्थी १०ः३२–३३) ।

५. कुनै नयाँ व्यक्तिहरूसँग भेटघाट तथा सेवा–संगति गर्दा उनीहरूको आस्था र विश्वासप्रति कुनै नकारात्मक प्रतिकृया नजनाउने र उनीहरूका आस्थाका चिन्ह तथा प्रतीकहरूलाई फाल्न वा नष्ट गर्न जबरजस्ती नगर्ने (एफिसी ५ः१५–१६) ।

६. नयाँ हुर्कदै गरेका व्यक्तिहरूलाई मण्डलीका नीति–नियम र अनुशासनका कुराहरू आजै/अहिले नै पालन गर्नुपर्छ भनेर तुरुन्तै बाध्य नगराउने (यूहन्ना ६ः६०–६९) ।

७. कुनै व्यक्ति वा समूहलाई भौतिक तथा आर्थिक सहयोग गरेको आधारमा ख्रीष्टियन बन्न वा मण्डलीमा आउन जबरजस्ती नगर्ने (यहूदा २२–२३) ।

८. बाइबलमा उल्लेख नगरिएका, प्रभुले अनुमति नदिएका र मण्डलीले अभ्यास नगरेका कुराहरू आफ्नै मनोमानी ढङ्गले नसिकाउने र मानिसहरूलाई गर्न बाध्य नपार्ने (गलाती १ः७–९; २ थेसलोनिकी २ः१५; ३ः६; २ तिमोथी ३ः१–५) ।

९. मण्डलीका सेवा–संगति तथा बैठक–छलफलहरूमा राजनीतिक कुराहरू नगर्ने र कसैको पक्ष वा विपक्षमा नबोल्ने (लूका २२ः२४–२६; कलस्सी २ः८) ।

१०. मण्डलीमा जात–धर्म, लिङ्ग–वर्ण, क्षेत्र र अन्य यस्तै विषयहरूमा विरोधाभासी कुराहरू गर्दै नगर्ने (गलाती ३ः२८) ।

११. गरिब–निमुखा, अशक्त, असहाय र कमजोरहरूलाई अपमान हुने शब्दावली प्रयोग नगर्ने र उनीहरूप्रति भेदभावपूर्ण व्यवहार नदेखाउने (१ कोरिन्थी ११ः२२; याकूब २ः१–६) ।

१२. कुनै बिरामीका लागि प्रार्थना गर्दा निजलाई बाइबल छुवाउने वा बाइबलले हिर्काउने, शारीरिक यातना दिने काम गर्दै नगर्ने (१ तिमोथी ५ः२२) ।

१३. कुराकानी वा प्रार्थना गर्दा पुरुषले महिलालाई र महिलाले पुरुषलाई अशोभनीय तरिकाले छुने वा समाउने काम गर्दै नगर्ने (१ कोरिन्थी ७ः१; १०ः८; कलस्सी ३ः५) ।

१४. मण्डलीका सेवक/सेविकाहरू सेवा संगति वा सेवकाइहरूमा संलग्न हुँदा कसैको परिवार वा समाजलाई अपाच्य हुने प्रकारले नगर्ने (१ तिमोथी ३ः५–७) ।

१५. छिमेकी वा वरिपरिका मानिसहरूलाई अप्ठ्यारो वा बाधा हुने गरी ठूलठूलो आवाजमा मानिसहरूलाई कुनै गतिविधिहरू सञ्चालन नगर्ने/नगराउने (मत्ती ५ः४३–४४; ६ः७; एफिसी ४ः२५–३१) ।

१६. भ्रष्टाचार अर्थात् नैतिक पतन हुने कार्यहरूमा संलग्न हुँदै नुहुने (लूका ३ः१४; एफिसी ५ः११) ।

१७. कुनै ठाउँ वा क्षेत्रका भौतिक एवम् आर्थिक कुराहरू हिनामिना तथा दुरुपयोग नगर्ने (प्रस्थान २०ः१५; मत्ती ६ः१९; प्रेरित ५ः१–११) ।

१८. अरूहरूको व्यक्तिगत विरोध तथा चरित्र–हत्या गर्ने कार्य नगर्ने/नगराउने (व्यवस्था १९ः१५–२०; मत्ती ७ः१–५; रोमी २ः१–३) ।

१९. अन्य मुलुकमा आमन्त्रित आगन्तुक पाहुनाहरूलाई सुसमाचारका क्षेत्र र मण्डलीका कामहरूमा एक्लै र सिधै नपठाउने (मत्ती १०ः१६) ।

२०. झूटो शिक्षा भनेर पहिचान गरिएका समूहहरूसँग कुनै प्रकारको सहयात्रा र सहकार्य गर्दै नगर्ने (१ यूहन्ना ४ः१–३; २ यूहन्ना ७ः–११) ।

२१. ख्रीष्टियनहरू र मण्डलीहरूका बीचमा असमझदारी हुने कामहरू गर्दै नगर्ने (१ कोरिन्थी १ः१०; ६ः७–८) ।

२२. बाइबलअनुसार गर्भपतन, लिङ्ग परिवर्तन र समलिङ्गी विवाह नगर्ने/नगराउने (रोमी १ः२५–३२) ।

२३. आफ्नो व्यक्तिगत लाभ तथा फाइदाका लागि सम्पूर्ण ख्रीष्टियन समुदायको बदनाम हुने वा सबैलाई अप्ठ्यारो पार्ने प्रकारका कामहरू नगर्ने/नगराउने (प्रेरित ५ः१–११; २०ः३३–३५)

२४. सामाजिक सञ्जाल तथा सञ्चार–सामग्रीहरूमार्फत् कसैको आस्था, प्रतिष्ठा, चरित्र र भावनामा चोट पुग्ने र धार्मिक सहिष्णुता र शान्ति खलबल्याउने प्रकारले आफ्नो विश्वास तथा आस्थाका पक्षमा प्रतिवाद वा वादविवाद नगर्ने (१ तिमोथी १ः५–७) ।

२५. अरूहरूलाई बाधा पुग्ने गरी आ–आफ्ना काम तथा गतिविधिको अनावश्यक रूपमा प्रचार–प्रसार नगर्ने (फिलिप्पी १ः१५–१७) ।

निष्कर्षः

ख्रीष्टियनहरूको मुख्य आचारसंहिता भनेको पवित्र धर्मशास्त्र बाइबल हो र यसैको आधारमा नै आज संसारभरिका सम्पूर्ण ख्रीष्टियन मण्डलीहरू सञ्चालन भइरहेका छन् । यदि त्यसो हो भने अर्को आचार संहिता किन चाहियो भन्ने विचार पनि आउन सक्छ ।

साँचो–सत्य कुरा यही हो बाइबल नै; मण्डली सञ्चालन र सम्पूर्ण ख्रीष्टियन गतिविधिहरूका लागि मुख्य आचारसंहिता हो । तर पनि केही क्षेत्रहरू बाहेक अन्य कुराहरूमा हाम्रा मानिसहरू स्पष्ट र सचेत हुन नसकेकाले यो आचारसंहिता तयार पारिएको हो । यदि सबैले यो प्रयोग गर्ने र यहाँ बताइएका कुराहरू अँगाल्ने हो भने हामीले अरूहरूलाई ख्रीष्टियनको सही पहिचान दिन सक्नुका साथै ख्रीष्टियनहरूप्रति भएको नकारात्मक धारणा पनि कम हुँदै जानेछ अनि हाम्रा विश्वासीहरू पनि आ–आफ्ना विश्वासमा सुदृढ र बलियो हुँदै जानेछन् । यसका अतिरिक्त यस आचारसंहिताले हरेक मण्डली विश्वासीलाई ख्रीष्टियन परिपक्वतामा बढ्न–हुर्कन पनि सहायता गर्नेछ । हामी जुन समाज र समुदायका बीचमा बस्छौं, उनीहरूसँग मेलमिलाप गर्न, राष्ट्रिय एकता र सद्भाव कायम राख्न पनि यसले धेरै नै सहायता गर्नेछ । आफ्नो काम–कर्तव्य बुझेका ख्रीष्टियन समुदायको नैतिक र व्यावहारिक जीवनबाट देश र समाजलाई पनि फाइदा पुग्नेछ । आ–आफ्ना झुण्ड तथा मण्डलीहरूमा यसको प्रयोग गरी देश तथा समाजमा ख्रीष्टियनहरूको सही पहिचान दिई आफ्नै कारण आउने समस्याहरूबाट बाँचौं र अरूहरूलाई बचाऔं, यही नै यस मण्डली आचारसंहिताको मुख्य उद्देश्य हो । यसकारण सबै मण्डली समुदायका पाष्टर, अगुवाजन र सम्पूर्ण विश्वासीहरूले यसलाई सहर्ष स्वीकार गरी आफ्नै भलाइ र फाइदाका लागि प्रयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।