ख्रीष्टमा – आशाले भरिएको जीवन ।
June 21, 2012 | Articles
पापको कारणले आत्मामा मरेका मानिसहरूलाई चाहिने अति आवश्यक जीवन दिनलाई नै येशू प्रभु यस संसारमा आउनुभयो । शैतानलाई चोरको नाउँ दिँदै उहाँले भन्नुभयो, “चोर त चोरूँ र मारूँ र नाश पारूँ भनेर मात्र आउँछ ।” यसरी उहाँले शैतानको विनाश गर्ने कामबारे बताउनुभयो । त्यसपछि उहाँले भन्नुभयो, “तर म तिनीहरूले जीवन पाऊन् त्यो जीवन प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ” (यूहन्ना १०:१०) । जीवन दिन आउनुहुने उहाँ स्वयं जीवन हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बाटो, सत्य र जीवन म नै हुँ’ (यूहन्ना १४:३) । ‘पुनरुत्थान र जीवन म नै हुँ’ (यूहन्ना ११:२५) ।
यसर्थ ख्रीष्ट येशूलाई आफ्ना व्यक्तिगत मुक्तिदाता प्रभु गरी ग्रहण गरेर मात्र हामी पापमा मरेकाहरूले फेरि आत्मिक जीवन पाउन सक्छौं ।
१ यूहन्ना ५:१२ ले भन्दछ, “जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्न त्यससँग जीवन हुँदैन ।” यसैले जीवन पाउनलाई हामी हरेकले ख्रीष्ट येशू प्रभुलाई ग्रहण गर्न अत्यन्तै आवश्यक छ ।
तर ख्रीष्ट येशू मानिसहरूलाई जीवन दिनलाई मात्र आउनुभएको
होइन । उहाँ हामीलाई प्रशस्त जीवन पनि दिनलाई आउनुभएको हो । ख्रीष्ट येशूलाई आफ्ना व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गरेर मानिसहरूले मुक्ति पाउँछन्, पाप–क्षमा पाउँछन्, अनन्त जीवन पाउँछन् । मरेपछि स्वर्ग जाने निश्चयता पनि उनीहरूलाई प्राप्त हुन्छ । ख्रीष्टलाई ग्रहण गरेर उनीहरू परमेश्वरका छोराछोरी पनि बन्दछन् साथै उहाँका उत्तराधिकारी बन्ने सौभाग्य पनि उनीहरूलाई मिल्दछ । मृत्युपछिको जीवनको लागि उनीहरूलाई अब केही फिक्री गर्न पर्दैन । मरेपछि उनीहरू स्वर्गमा आफ्ना स्वर्गीय पिताको घरमा जानेछन् , यो पक्का छ, सुनिश्चित छ । तर उनीहरूलाई यस पापमय दुष्ट संसारमा अझ धेरै दिन बाँच्न बाँकी नै छ । यस संसारमा बिताउनुपर्ने रहल जीवनमा उनीहरूले धेरै पाप–अधर्म दुष्टतासँग संघर्ष गर्नुपर्छ । रोग–बिमार, घटी–अभाव, चिन्ता–फिक्री तथा अन्य समस्याहरूको सामना गर्नुपर्छ । शैतान दुष्टको विरुद्धमा लड्नुपर्छ, दुष्टका डरलाग्दा आक्रमणहरूको विरुद्धमा खडा रहनुपर्छ । यसैले उनीहरूलाई जीवनले मात्र पुग्दैन । उनीहरूलाई प्रशस्त जीवन पनि चाहिन्छ । शत्रुसँग मुकाबला गरेर त्यसमाथि विजयी हुनु हो भने उनीहरूलाई बलियो बन्नलाई प्रशस्त, प्रशस्त जीवन चाहिन्छ । अस्पतालमा सुतिरहेका बिरामीहरूसित पनि जीवन हुन्छ । जीवन नभएको भए उनीहरू मुर्दा बन्नेथे र स्मशान–घाटमा पुर्याइनेथे । अस्पतालमा उनीहरूको निम्ति ठाउँ हुने थिएन । जीवितै भएता पनि उनीहरू केही गर्न सक्तैनन् कारण उनीहरूमा जीवन थोरै मात्रामा मात्र हुन्छ । बाँचेकै भएता पनि उनीहरूले कामलाग्दो, उपयोगी जीवन जिउन सकिराखेका हुँदैनन् । एकमुठी सास थामिराख्ने प्रयासमा उनीहरूको औषधि–उपचार भइराखेको हुन्छ । उनीहरू अशक्त हुन्छन्, केही गर्ने क्षमता उनीहरूमा हुँदैन । जीवन मात्र पाएका तर प्रशस्त जीवन नपाएका ख्रीष्टियानहरू यस्तै हुन्छन् । ख्रीष्ट येशूलाई ग्रहण गरेकाहरूमा पवित्र आत्माले बास गर्नुभएको हुन्छ ।
रोमी ८:९ ले भन्दछ, “कुनै मानिसमा ख्रीष्टको आत्मा हुनुहुन्न भनेता त्यो उहाँको हुँदै होइन ।” ख्रीष्टको आत्मा नै उनीहरूको जीवनको सास हुन्छ ।
ख्रीष्टियानहरू दुई थरिका हुन्छन्, शारीरिक वा आत्मिक, आत्मा पाएका वा आत्माको भरपूरी पाएका, जीवन पाएका वा प्रशस्त जीवन पाएका । शारीरिक ख्रीष्टियानहरू मुक्ति पाएका मानिसहरू भएता पनि शरीरकै कुराहरूमा बढी ध्यान दिनेहरू हुन्छन् । तिनीहरू आत्मासम्बन्धी कुराहरूमा भन्दा बेसी खाने–लाउने, सुख–बिलास, श्रृङ्गार–पटारका कुराहरूमा मन लगाउँदछन् । संसारका, शरीरका अभिलाषाको बन्धनमा जकडिएका यस्ता ख्रीष्टियानहरू आत्मिक कुराहरूमा अत्यन्तै कमजोर, शिथिल हुन्छन् । यिनीहरू रोगी–बिरामीहरू जस्ता हुन्छन् र परमेश्वरको निम्ति कामलाग्दा हुन सक्तैनन् । यिनीहरूले परमेश्वरका काम गर्न सक्तैनन् । यसैले हामीलाई आत्माका बासले मात्र पुग्दैन, हामीलाई आत्माको भरपूरी नै चाहिन्छ । आत्माले भरिएका ख्रीष्टियानहरू मात्र आत्मिकी हिसाबले स्वस्थ्य, तन्दुरूस्त र बलिया हुन्छन् । ख्रीष्टमा प्रशस्त जीवन जिउनु भनेकै यही हो ।
पुनरुत्थानको दिन आफ्ना चेलाहरूसँग माथिल्लो तल्लामा भेट्दा येशू प्रभुले तिनीहरूलाई भन्नुभयो, “जसरी पिताले मलाई पठाउनुभयो, म पनि तिमीहरूलाई पठाउँछु ।” यति भनेर उहाँले तिनीहरूमाथि फुक्नुभयो र भन्नुभयो, “पवित्र आत्मा लेओ ।” प्रभुले फुक्नुभएको सास आफूभित्र लिनासाथ तिनीहरूले उत्तिखेरै पवित्र आत्मा ग्रहण गरेथे । त्यसको चालीस दिनपछि उहाँको स्वर्गारोहणको बेला उहाँले तिनीहरूलाई यरुशलेममै रहेर पवित्र आत्माको बप्तिस्माको लागि पर्खिरहने कडा आज्ञा दिनुभयो (लूका २४:४९, प्रेरित १:४–५) । त्यसपछि उहाँले प्रेरित १:८ मा भन्नुभयो, “तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरुशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ ।” सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार सुनाउने र विश्वास गर्नेहरूलाई चेला बनाउने प्रभुको महान आज्ञा पालन गर्नलाई चेलाहरूलाई पवित्र आत्माको शक्तिको नितान्त आवश्यक्ता थियो । मण्डली निर्माणको काम मानवीय बल र शक्तिले मात्र गर्न नसकिने भएकोले पवित्र आत्माको शक्ति एकदमै चाहिएको थियो । प्रार्थनामा दश दिन पर्खिरहेपछि ती एक सय बीस चेलाहरूमाथि पवित्र आत्मा खन्याइनुभयो र तिनीहरू सबै आत्माले भरिए । त्यही दिन मण्डलीको जन्म भयो ।
हरेक विश्वासीलाई पवित्र आत्माको भरपूरी मिलोस् भन्ने प्रभु चाहनुहुन्छ । उहाँ आफै पनि पवित्र आत्माद्वारा कन्या मरियमको गर्भमा आउनुभएको थियो । आत्माद्वारा जन्मनुभएको भएता पनि परमेश्वरको काम गर्नलाई तीस वर्षको उमेरमा उहाँले पवित्र आत्माको भरपूरी लिनुभएको थियो (लूका ३:२१–२२) । कर्निलियसको घरमा पत्रुस भन्दछन्, “परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो । उहाँ सुकर्म गर्दै र शैतानबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्नुभयो, किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो” (प्रेरित १०:३८) । पवित्र आत्माको शक्तिविना परमेश्वर पुत्र ख्रीष्ट येशूले पनि एउटै शक्तिको काम गर्न सक्नुभएन । उहाँले एउटै अन्धालाई दृष्टि दिन सक्नुभएन, एउटै लाटोलाई बोल्न सक्ने बनाउनुभएन, एउटै बहिरोको कान खोल्न सक्नुभएन, एउटै भूतात्मालाई धपाउन सक्नुभएन, एउटै कुष्ठ रोगीलाई निको पार्न सक्नुभएन, मरेकोलाई जीवित गराउन सक्नुभएन, यहाँसम्म कि उहाँले परमेश्वरको राज्यको प्रचार पनि गर्न सक्नुभएन । परमेश्वर पुत्र ख्रीष्ट येशूलाई पनि परमेश्वरका यी सबै काम गर्नलाई पवित्र आत्माको भरपूरी चाहियो । पवित्र आत्माको अभिषेक विनानै परमेश्वरका काम गर्न सकिने भए तीन साँढे तीन वर्षको सेवकाइको निम्ति येशू प्रभुलाई तीस वर्षसम्म पर्खनुपर्ने आवश्यक थिएन । आज धेरै ख्रीष्टियानहरू प्रभुको सेवा गर्ने कोशिष गरिरहेका छन् । ‘आत्माको अभिषेक बिनानै म यी कामहरू गर्न सक्छु’ भन्ने धृष्टता देखाउनुचाहिँ आफैलाई ख्रीष्ट प्रभुभन्दा पनि ठूलो बनाउनु हो । ‘ख्रीष्टलाई चाहियो होला तर मलाई चाहिँदैन । यो भरपूरी नभएपनि म यी कामहरू गर्न सक्षम छु’ भन्नुचाहिँ आफैलाई धोकामा पार्नु मात्र हो । पवित्र आत्माको भरपूरी बिना नै महान आज्ञा पालन गर्न सकिने भए प्रभुले आफ्ना चेलाहरूलाई पवित्र आत्माको बप्तिस्माको निम्ति यरुशलेममा अझ पर्खने कडा आज्ञा दिनुहुने थिएन (लूका २४:४९, प्रेरित १:४–५) ।
प्रभु येशूलाई चाहियो, उहाँका चेलाहरूलाई चाहियो, उहाँका सेवक–सेविकाहरूलाई चाहियो, तपाईंलाई पनि चाहिएको छ ।
प्रभु येशूले लिनुभयो, उहाँका चेलाहरूले लिए, उहाँका सेवक-सेविकाहरूले पनि लिए, लिँदैछन् …तपाईंले नि ?
– पाष्टर रोबर्ट कार्थक