मिशनको बिस्तार र यसको चुनौतीहरु

July 14, 2009 | Articles  

[singlepic id=142 w=320 h=240 float=right]… “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ । यसकारण जाओ र सबै देशका जातिहरुलाई चेला बनाओ पिता र पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ मैले तिमीहरुलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरुलाई सिकाओ । हेर म युगको अन्त्यसम्म सधैं  तिमीहरुका साथमा छु” (मत्ती २८:१८-२०) । यो प्रभुको महान आज्ञा हो । यसै आज्ञालाई पालन गर्दै नेपाली इसाई मण्डलीले सकृय रुपमा काम गर्दै आइरहेको छ । नेपालका २१ जिल्लाका करिब ७०-८० ठाउँहरुमा हाल नेइमको शाखा-आवद्ध मण्डलीहरुमा नियमित रुपमा साप्ताहिक तथा दैनिक सेवा संगतिहरु भइरहेका छन् । ठाउँ-ठाउँमा रहेका शाखा-आवद्ध मण्डली तथा संगतिहरुमा साप्ताहिक सयौंको संख्यामा प्रभुलाई ग्रहण गरिरहेका छन् भने हजारौं मानिसहरुलाई सुसमाचार प्रचार गरिँदै छ । साप्ताहिक दर्जनौं ठाउँहरुमा सुसमाचारिय झुण्डहरु जाने गरेका छन् भने मासिक १-२ ठाउँमा नयाँ संगति शुरु हुन थालेका छन् । त्यस्तै नेइमका विभिन्न स्थानीय मण्डलीहरुबाट ठाउँ-ठाउँमा आउट-रीच संगतिहरु भइरहेका छन् ।

मण्डलीको ५० औं वार्षिकोत्सवको समयमा दिइएको जानकारी अनुसार उपत्यकाभित्र तथा बाहिर गरेर ११००० भन्दा बढी विश्वासीहरु नेइम अन्तर्गतका मण्डली तथा शाखा-आवद्ध संगतिमा जाने गरेका छन् । यो संख्या हाल आएर अझ बढेको छ । नेइमका मिशनेरीहरु नेपालभन्दा बाहिर भारतका विभिन्न शहरहरु, मलेशिया तथा यू.के.मा समेत जानुभएको छ । त्यहाँ पनि नियमित रुपमा सेवा संगतिहरु भइरहेका छन् ।

यसरी यी तथ्याङ्कहरु हेर्दा परमेश्वर आफैले नै आफ्नो कामहरु यी दिनहरुमा गरिरहनुभएको छ । नेपालका गाउँ-गाउँमा, शहरहरु र बस्तीहरुमा मानिसहरु प्रभुमा आउन तयार छन् । प्रभुको बारेमा सुन्नको लागि मानिसहरु उत्सुक छन् । कति रोगी-बिरामीहरु निराश मन भएकाहरु, अशान्तिमा जीवन बिताइरहेकाहरुले निको हुनको लागि प्रार्थना मागिरहेका छन् । जब हाम्रा शाखा-आवद्ध मण्डलीमा रहेका विश्वासीहरुलाई भेट्छौं , शिक्षाको लागि प्रार्थनाको लागि, हामीलाई अनुरोध गरिरहेका हामी पाउँछौं । प्रभुको काम यति बढेर गएको छ कि, मानिसहरु घण्टौं लामो पैदल उकाली ओराली गर्दै संगति धाइरहेका छन् । यी सबै दृष्य हेर्दा, हामीले एउटा कुरा पक्कै पनि महसुस गरिरहेका छौं , त्यो के हो भने, बाली पूरै पाकिसकेको छ तर खेतालाको भने अभाव छ ।

अहिले मानिसहरुमा प्रभुप्रति जुन प्रकारको भोक र तृष्णा छ र जुन अनुपातमा मानिसहरु प्रभुमा आइरहेका छन् त्यसबाट हामीले बुझ्नुपर्ने स्पष्ट कुरा के हो भने यी दिनहरुमा नेपालमा प्रभुको सिधा हस्तक्षेप छ । यदि हामी मण्डलीले यो कुरा बुझेर प्रभुको लागि जान तयार भयौं भने, केही वर्षभित्रनै पूरै नेपालले प्रभुमा उद्धार पाउनेछ । किनकि जुन अनुपातमा अहिले नेपालभरि उद्धारको काम भइरहेको छ सायद यस्तो पहिले कहिल्यै भएको थिएन होला । यो समयमा परमेश्वरले मण्डलीको लागि ठूलो ढोका खोलिदिनुभएको छ । अनि मण्डलीको जिम्मेवारी प्रभुले उद्धार गरी बचाउन चाहनुभएका मानिसहरुलाई प्रभुको राज्य (मण्डली) भित्र ल्याउनु नै हो । यसका लागि धेरै खेतालाहरुको खाँचो छ किनकि अन्न पूरै पाकिसकेको छ । जसरी प्रभुले भन्नुभएको छ …”फसल त प्रशस्त छ, तर खेतालाहरु थोरै छ…” (लूका १०:२) । मानिसहरु हजारौंको संख्यामा प्रभुमा आउन चाहन्छन् । के मण्डली यसको लागि तयार छ के कोही प्रभुको लागि जान तयार छ जस्तो लेखिएको छ, …”म कसलाई पठाउँ र हाम्रो निम्ति को जाने?” (यशैया ६ः८) । कोही तयार हुनुहुन्छ हराइरहेका रोग पीडा र अशान्तिले छट्पटाइरहेका मानिसहरुलाई उद्धारको खबर दिनको लागि । कोही तयार हुनुहुन्छ? प्रभु फेरि पनि भन्दै हुनुहुन्छ, “मेरो निम्ति को जाने?”

वास्तवमा अब मण्डली जाग्नुपर्छ । परमेश्वर आफैले गर्न चाहनुभएको यो महान काममा उहाँसँग सहकार्य गर्नको निम्ति के हामी तयार नहुने? हामी आफैले विचार गरौं । प्रभुसँग सहकार्य गर्न उहाँले गर्नुभएको आह्वानमा हामी मण्डली पनि सहभागी बनौं ।

अब प्रश्नचाहिँ कसरी हामी प्रभुको लागि जान सक्छौं त? त्यो, उहाँले दिनुभएको दान-वरदानहरु प्रभुको सेवाको खातिर चलाएरनै हो । परमेश्वरले सोच्न, विचार गर्न, योजना गर्न र सल्लाह दिनको लागि मण्डलीमा अगुवा गुरुजनहरु राख्नुभएको छ । उहाँहरुले आफ्नो बुद्धि, अनुभव र परमेश्वरबाटको सल्लाह दिएर परमेश्वरको महान काममा सहकार्य गर्न सक्नुहुन्छ । त्यसै गरी परमेश्वरले कति उहाँका जनहरुलाई व्यापार र पेशागत वरदानहरु दिनुभएको छ । उहाँहरुले मिशनमा जानेहरुको लागि र मिशनका लागि आफ्नो मुठ्ठी खोलेर प्रभुको यो महान काममा सहकार्य गर्न सक्नुहुन्छ । त्यस्तै कति व्यक्तिहरुले परमेश्वरले सुसमाचार तथा वचन प्रचारको, प्रार्थनाको, गीत संगीतको वरदान दिनुभएको छ । ती वरदानहरु चलाएर परमेश्वरको महिमाको काममा निस्कन सक्नुहुन्छ । वचनमा लेखिएझैं, सारा नेपालभरि गएर प्रभुको वचन प्रचार गरेर परमेश्वरको काममा सहकार्य गर्न सक्नुहुन्छ । जस्तो लेखिएको छ, ‘सुसमाचार प्रचार गर्ने पाउ डाँडाहरु हुँदो कति सुन्दर छन् जसले शान्तिको घोषणा गर्दछन् जसले शुभ समाचार ल्याउँछन् जसले उद्धारको घोषणा गर्दछन्…’ (यशैया ५२:७) ।

प्रभु फेरि सोध्दै हुनुहुन्छ “मेरो निम्ति को जाने?” प्रभुको काम बढ्दो क्रममा छ, आज प्रभुको महान काममा सहायता पुर् याउने सहकर्मी हातहरु, प्रार्थना गर्ने घुँडाहरु, सुसमाचार तथा वचन प्रचार गर्न जाने खुट्टाहरु, वरदान भएका गलाहरु चाहिएको छ । के तपाईं तयार हुनुहुन्छ? प्रार्थना गर्नुहोस् र यस महान काममा सहायता पुर् याउनको लागि प्रभुसँग प्रार्थना गर्नुहोस् र प्रभुले देखाउनुभए बमोजिम उहाँको महान काममा सहकर्मी बन्नको लागि सहयोगका हातहरु बढाउनुहोस् । तपाईं देश-विदेश जहाँकहीँ हुनुभए तपानि यो महान काममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ ।

के तपाईं आफ्नो गाउँ-ठाउँमा गएर प्रभुको वचन सुनाउँदै मण्डली स्थापना गरेर परमेश्वरको राज्य विस्तार गर्न चाहनुहुन्छ? के तपाईंसँग भएका वरदानहरु चलाउन चाहनुहुन्छ? के तपाईं विभिन्न ठाउँमा रहेका शाखा-आवद्ध मण्डलीमा गएर उत्साह हौसला तथा शिक्षा दिन चाहनुहुन्छ? के तपाईं जानेहरुका लागि आर्थिक तथा अन्य सहायता गर्न चाहनुहुन्छ? के तपाईं विभिन्न मण्डली र देश विदेशमा रहेका मिशनेरीहरुको लागि निरन्तर प्रार्थना गर्दै उहाँहरुलाई सहयोग दिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने ढिलो नगर्नुहोस् । किनकि प्रभुको समय नजीकै छ । आज हो कि भोलि एक दिन उहाँकहाँ हामी जानेनै छौं । के त्यस दिन प्रभुको अगाडि फल फलाएको देखाउनको लागि आज तपाईंले कुनै बीउ रोप्दैहुनुहुन्छ वा रोप्नुभएको छ? याद गर्नुहोस् कतै तपाईं रित्तै हात त प्रभुकहाँ जाँदैहुनुहुन्न? प्रभुको काम गर्ने समय अहिले नै हो किनकि फसल तयार छ (उपदेशक ११:४ र ६, भ.सं. १२६:५-६) । तसर्थ आउनुहोस् हामी सबै मण्डली हातेमालो गर्दै परमेश्वरको यो महान आज्ञा पूरा गर्न अघि बढौं ।

यदि तपाईंहरु पनि नेइमसँग हातेमालो गर्दै यस महान काममा सहभागी भई परमेश्वरसँग उहाँको काममा सहकार्य गर्न चाहनुहुन्छ भने नेइम मिशन विभाग मण्डली अफिस तथा आफ्ना स्थानीय अगुवाहरुसँग सम्पर्क गर्न सक्नुहुनेछ ।

– श्री लेख नाथ पौडेल
नेइम मिशन विभाग
mission@nim.org.np

मिसनको तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।