मिशनेरीहरूको लागि प्रार्थना
February 9, 2016 | Blogs
श्री जेम्स र श्रीमती सेल्भी नेपाली परिवार (मुम्बई), पाष्टर नरेन्द्र र श्रीमती शान्ता सिंह परिवार (कोटद्वार, गढवाल), पाष्टर प्रदीप र श्रीमती फिलोमिना बज्राचार्य परिवार (पुने), पाष्टर लोक र श्रीमती परिना गुरूङ्ग परिवार (सिलगढी, भारत), पाष्टर अब्राहाम र श्रीमती केट श्रेष्ठ परिवार बेलायत,पाष्टर तिमोथी र श्रीमती शान्ता थापा परिवार(बेङ्गलोर,भारत) । उहाँहरूको परिवार, सेवकाइ र मण्डलीको लागि साथै विभिन्न देशहरूमा रहेर मण्डली तथा संगतिहरूमा सहायता पुर्याइ राख्नुभएकाहरूको लागि प्रार्थना गरिदिऔं ।
परमेश्वरले खोज्नुभएको हृदय – डिकन सिमोन पाठक
February 9, 2016 | Articles
तपाईंले पानीको मूल फुटेको ठाउँ देख्नुभएको छ ? नूहको जलप्रलयको समयमा अगाधका सब मूलहरू फुटे र आकाशकाद्वारहरू खुलेको कारण सारा पृथ्वी पानीले जलमग्न भएको थियो । बाइबलले मानिसको हृदयलाई सारा जीवनको मूलहो भनी चित्रण गरेको छ । हाम्रो दैनिक जीवनका क्रियाकलापहरू हृदयसँग सम्बन्धित छन् । विगतमा हामीले हृदयमा संकलन गरेका कुराहरू नै आज हामी दैनिक जीवनमा पोखाइराखेका छौं । मानिस जन्मँदा खाली हृदय लिएर जन्मेको हुन्छ । जन्मेको दिन देखि वा आमाको गर्भमा आएको दिनदेखि उसले जे सुन्छ त्यही कुरा नै उसको मन मस्तिष्कमा भरिँदै जान्छ । हामीले आज देखाइराखेको आनीबानी, व्यवहार, रहनसहन, बोलीवचन सानो देखि हाम्रो मनमा भरिएका कुराहरू नै हुन् ।
कति मानिसहरू हिंसक बनेका छन्, अरूलाई दुव्र्यवहार गर्नेहरू भएका छन् । किन उनीहरू आज त्यस्ता भएका छन् ? अनुसन्धानले देखाए अनुसार हिंसक र दुव्र्यवहार परिवारमा हुर्केकाहरू नै आज अरूलाई हिंसा गरिराखेका छन्, अरूलाई दुव्र्यवहार गरिराखेका छन् । उनीहरू त्यसरीनै हुर्केको कारण उनीहरूको मन मस्तिष्कमा पनि आफू ठूलो भएपछि त्यस्तै गर्नेहरू भएका छन् । किन आर्मी र प्रहरीहरूमा हुनेहरूले आफू भन्दा तल भएकाहरूलाई तथानामशब्दहरू बोल्ने, गालीगर्ने, हेप्ने गर्दछन् ? किनकि ऊ पनि तल्लो दर्जामा हुँदा ऊ भन्दा माथिकाहरूले उसलाई त्यस्तै व्यवहार गरेका थिए, त्यसकारण आफू माथिल्लो दर्जामा पुगेपछि तल्लो दर्जामा हुनेहरूलाई त्यस्तै व्यवहार गर्ने सोच उसमा विकास भइसकेको हुन्छ । जुन मानिसको हृदय डर, असुरक्षा, छल, दुष्टता, खराब, अशुद्ध, कठोर, शंकालु, स्वार्थी आदि कुराहरूले भरिएको छ, उसले अरू मानिसहरूलाई पनि त्यस्तै नजरले हेरिराखेको हुन्छ । किनकि उसले आफ्नो हृदयमा भएको कुराहरू नै अरूहरूमा प्रतिबिम्ब गरिराखेको हुन्छ ।
बाइबलले मानिसको हृदयलाई विशेष गरी दुई किसिमले चिरफार गरिदिएको छ । सकारात्मक हृदय र नकारात्मक हृदय ।
बाइबलले चित्रण गरेको नकारात्मक ह्दयः
· परमेश्वरबाट तर्किएको हृदय (यर्मिया १७ः५)
· ढुंगाको हृदय (इजकिएल ११ः१९)
· कठोर हृदय (हिब्रू ३ः८, रोमी २ः५)
· छली हृदय (यर्मिया १७ः९)
· दुष्टताले भरिएको हृदय (लूका ६ः४५)
· अशुद्धहृदय (मत्ती १५ः१८–१९, २३ः२७–३८, मर्कूस ७ः२०–२३)
· स्वःधर्मी ठहराउने हृदय (लूका १६ः१५)
· अपश्चत्तापी हृदय (रोमी २ः५)
· बेठीक हृदय (प्रेरित ८ः२१)
नकारात्मक हृदयको विषयमा धर्मशास्त्रमा खोज्दै गयौं भने अझैँ धेरै कुराहरू पाउन सक्छौं । जलप्रलय हुनुअघि मानिसका विचारहरू खराबहुँदै गएका थिए । यदि हाम्रो हृदय नकारात्मक कुराहरूले भरिएको छ भने कसरी सकारात्मक काम, सकारात्मक बोलीवचन, सकारात्मक व्यवहार, सकारात्मक हेराइ, सकारात्मक सेवागर्न सक्छौं ? हामीले चाहे तापनि हृदय अशुद्ध वा दुष्ट छ भने असल बोलीवचन वा कामहरू प्रकट हुन सक्दैन । प्रभु येशूले भन्नुभयो, “ए सर्पका बच्चा हो ! तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन् । असल मानिसले आफूभित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ” (मत्ती १२ः३४–३५) ।
परमेश्वरले हामीलाई हरेक दिन नयाँ दिन दिनुहुन्छ । हामीले पाएको नयाँ दिन वा नयाँ वर्षमा नयाँ काम गर्नु हो भने सबैभन्दा पहिला हाम्रो हृदय नयाँ हुनु आवश्यक छ । परमेश्वरले गर्नुहुने कामको शुरूवात् शरीरबाट प्राणमा, प्राणबाट आत्मामा नभएर, आत्माबाट प्राणमा, प्राणबाट शरीरमा प्रष्फुटन हुँदछ । फलले रूखको परिचय दिएको जस्तै हाम्रो शरीरबाट भइराखेका वा गरिराखेका कामहरूले हाम्रो हृदय कस्तो छ, त्यसको परिचय दिइराखेको हुन्छ । यदि हामी अरूलाई लडाउने, गिराउने, चोट पुर्याउने, बाहिर चूनपोतेको चिहानजस्तै धर्मी भएको टोपलेर भित्र चाहिँ कुहेको चिहानजस्तो हृदय बनाइराखेका छौं भने त्यही अनुसारको कटनी पनि गर्नेछौं ।
बाइबलले चित्रण गरेको सकारात्मकह्दयः
· नयाँ हृदय (इजकिएल ३६ः२६)
· मासुको हृदय (इजकिएल ३६ः२६)
· चूर्ण हृदय (भजनसंग्रह ३८ः१८)
· सेवागर्ने हृदय (१ इतिहास २८ः९, १ शमूएल १२ः२०)
· खुशी वा आनन्दित हृदय (भजनसंग्रह १०५ः३, १ इतिहास २८ः९)
· परमेश्वरलाई खोज्ने हृदय (भजनसंग्रह १०५ः३)
· शुद्ध हृदय (भजनसंग्रह ५१ः१०, ७३ः१, मत्ती ५ः८)
· पूर्ण हृदय (१ शमूएल १२ः२४)
· पश्चात्तापी हृदय (भजनसंगह ५१ः१७)
· प्रेमगर्ने हृदय (व्यवस्था ६ः४–५, मर्कूस १२ः३०–३१)
· सत्य हृदय (भजनसंग्रह ५१ः६)
· असलथोकले भरिएको हृदय (लूका ६ः४५)
· विभक्तनहुने हृदय (इजकिएल ११ः१९)
· परमेश्वरमा भरोसा राख्ने हृदय (यर्मिया १७ः७–८)
· खतनागरिएको हृदय (रोमी २ः२९)
· सुरक्षितहृदय (हितोपदेश ४ः२३)
· परमेश्वरबाट प्रशंसा पाउने हृदय (रोमी २ः२९)
· परमेश्वरबाट काम अनुसारको इनामपाउने हृदय (यर्मिया १७ः१०)
नकारात्मक हृदयले नकारात्मक विश्वास पैदा गराउँछ भने सकारात्मक हृदयले सकारात्म कविश्वास पैदा गराउँदछ । परमेश्वरले प्रत्येक मानिसमा सकारात्मक हृदय खोज्नुहुन्छ । किनकि सकारात्मक हृदय भएकाहरूको जीवनबाट मात्र जीवनको मूल फुटेर निस्कदछ । हामी हाम्रो पढाईमा, परिवारमा, काममा, व्यवसायमा, सेवामा, मण्डली वृद्धिमा, उन्नति, आशिष् देख्न चाहन्छौं भने सकारात्मक हृदयको विकास गर्नु आवश्यक छ । सकारात्मक हृदयको विकासगर्न चाहनेहरूले आफ्नो बोलीवचनमा परिवर्तन गर्नुपर्दछ । मानिसलाई गोलीहान्ने बोलीबोलेर हाम्रो हृदय सकारात्मक हुन सक्दैन । येशूको रगतले धोइएर शुद्ध भएको हृदयलाई दुषित् पार्ने काम नकारात्मक सोचविचार, नकारात्मक हेराइ, नकारात्मक बोलीवचन र पापका कामहरू नै हुन् । पापबाट शुद्ध हुनलाई येशूको रगतको आवश्यकता पर्दछ भने नकारात्मक व्यवहारबाट शुद्ध हुन हृदय ठीक हुनु पर्दछ ।
हामीले आफ्नो विषयमा, परिवारको विषयमा साथै एक अर्काको विषयमा सकारात्मक सोचहरू राखेर जीवन जिउन थाल्यौं भने हाम्रो हृदय असल थोकहरूको भण्डार हुनपुग्नेछ जसद्वारा आशिष् र उन्नतिको कटनी गर्न सक्नेछौं । मानिसको हृदय जीवनको मूलभएको कारण हृदयलाई सुरक्षित राख्नु प्रत्येक व्यक्तिको दायित्वहो । हाम्रो हृदय कस्तो छ ? “परमप्रभुले मानिसले झैँ हेर्नुहुन्न । मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ” (१ शमूएल १६ः७) ।
हार्दिक शुभकामना
January 10, 2016 | Blogs
आदरणीय पाष्टर गुरुबा रोबर्ट कार्थक यहीपौष २६ गते जनवरी १० तारिख आइतबार ९० वर्ष पूरा गरी ९१ औं वर्षमाप्रवेश गर्नुभएकोमा नेइमका सम्पूर्ण परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं साथै उहाँको सम्पूर्ण आशिष्मय जीवन र सेवकाइको निम्ति परमेश्वर पितालाई धन्यवाद चढाउँछौं । आगामी दिन र वर्षहरूमा पनि प
वित्र आत्माको भरपूरी र परमेश्वरबाटको अझ प्रशस्त आशिष् रहेको होस् भनी प्रार्थना गर्दछौं ।
शुभ कामना
January 1, 2016 | Blogs
नव बर्ष २०१६ को सुखद अवसरमा नेइम अन्तर्गतका सम्पूर्ण मण्डली परिवार, शाखा-आवध्द मण्डलीहरु, देश विदेशमा रहनुभएका सम्पूर्ण मण्डली परिवारहरु साथै सम्पूर्ण देशबासीहरुमा प्रेम, मेलमिलाप, एकता र शान्तिको लागि प्रार्थना तथा शुभ कामना व्यक्त गर्दछौ ।
जानकारी
January 1, 2016 | Blogs
नेइम जोरपाटी मण्डलीको पाष्टर महेश प्रसाद थाँजु नेपाली इसाई मण्डलीमा सन् १९८९ देखि २०१५ सम्मअर्थात् २६ वर्षसम्म पूर्णकालिन सेवामा एक योग्य साथै समर्पित सेवकको रुपमा सेवकाइगर्नुुभई २०१६ सालदेखि नेइमबाट अवकाशलिनुभएको जानकारी गराउँदछौं ।
अगाडि राखिएको निशानामा पुग्न अतीतलाई नहेरौं – पाष्टर रोबर्ट कार्थक
January 1, 2016 | Articles
‘परमप्रभुले हामीलाई यहाँसम्म सहायतागर्नुभएको हो’ भनी एबेनएजेरको स्मारकको कोशे ढुङ्गो यहाँ गाडौं । हामीले अब सन् २०१६ सालको नौलो क्षेत्रमापाइलो टेकेका छौं ।
हामीलाई यहाँसम्म डोर्याउनुहुने परमेश्वरले भविष्यका दिनहरूमा पनि त्यसरी नै डोर्याउनु हुनेछ भन्ने हामीलाई पूरा विश्वास छ । इस्राएलीहरूको निम्ति डेरा हाल्ने ठाउँ खोज्न र तिनीहरू जानुपर्ने बाटो देखाउन रातीआगो र दिउँसो बादलमा यात्राभरि अगि अगि जानुहुने परमेश्वर आज पनि आफ्नो पवित्र आत्माद्वारा हामीलाई डोर्याउँदै हुनुहुन्छ ।
हाम्रा अतीतका सबै नमीठा, तीता कुराहरू बिर्से तापनि हामीले परमप्रभुका सबै उपकारहरू बिर्सनुहुन्न, हामी स्वभावैले भुल्ने प्राणीहरू हौं । उत्तम दानहरू पाए पछि दिने दातालाई चाहिँ सजिलै बिर्सने हाम्रो स्वभाव छ । पाएका असल कुरामा नै ध्यान मग्न भएर ती कुराहरू दिनुहुने परमेश्वर पितालाई हामी ‘धन्यवाद’भन्नपनि बिर्सन्छौं । यो पनि राम्रो कुरो होइन । दाऊद आफ्नो मनलाई भन्दछन्, ‘हे मेरो मन, परमप्रभुलाई धन्यभन्, उहाँका सबै उपकारहरूलाई नबिर्सी’ (भजनसंग्रह १०३ः२) ।
“लूतकी स्वास्नीलाई सम्झ” (लूका १७ः३२) । सदोमबाट भागेर जाँदा स्वर्गदूतले नहेर्नू भनेर दिएको आज्ञा नमानेर पछि छोडिराखेका धन सम्पत्तिको लोभले गर्दा उसले पछिल्तिर फर्केर हेरी र ऊ नूनको खाँबो भई (उत्पत्ति १९ः२६) । प्रभु भन्नुहुन्छ, “आफ्नो हात हलोमा लगाएर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरको राज्यको योग्य हुँदैन” (लूका ९ः६२) । हामी पुग्नुपर्ने ठाउँ अघिल्तिर भएको हुनाले चाँडै नै पुग्नलाई पछि फर्केर हेरिरहन केही आवश्यकता छैन ।
यदि अब्राहाम र साराले पछिल्तिर हेरेका भए तिनीहरूले अघि राखिएका उत्तम आशिष्हरू सबै गुमाउने थिए । हिब्रू ११ः१५–१६ मा लेखिएको छ, “जुन देशबाट तिनहरू निस्केर गएकाथिए, यदि तिनीहरूले त्यही देशका विषयमा सोचेका भए तिनीहरूलाई फर्की जाने मौकामिल्ने थियो तर तिनीहरू अझ उत्तम देश, अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन् । यसैकारण परमेश्वर तिनीहरूका परमेश्वर भनी पुकारिनु, शर्माउनु हुन्न, किनभने उहाँले तिनीहरूका निम्ति एउट सहर तयार पारिदिनुभएको छ ।” अब्राहाम र तिनका साथमा भएकाहरूले तिनीहरूले पछि छाडिराखेका देशका विषयमा सोचेनन्, तिनीहरूले बिर्सिदिए र तिनीहरू अझउत्तम देशमापुग्न सके ।
अतीतका कुराहरूले नै हामीलाई अघि बढ्ने क्रममा धेरै बाधा दिन्छन् । बितेका कुराहरूको सम्झनाले कि त हामीलाई अभिमानी बढाउँछ वा त हतोत्सह गराउँछ । हामीले पाएको सफलतामा हामी आफै घमण्ड गर्न लाग्छौं । अनि परमेश्वरकै सेवामा यो कामगरिसिध्यायौं भनेर कतिचोटि हामीले केही गरेर देखायौं भन्ने लाग्छौं भने हामी सबै श्रेय आफै लिन्छौं अनि परमेश्वरलाई दिनुपर्ने पूरा महिमा उहाँलाई दिँदैनौं साथै हामी आफैलाई सफल ठान्न लाग्छौं र अरूलाई चाहिँ हेलाको दृष्टिले हेर्न लाग्छौं । हाम्रो उपलब्धीकम रह्यो भने हामी आफैलाई असफल सम्झन लाग्छौं अनि आत्माग्लानीले हामीलाई पिरोल्न थाल्छ । हामी आफैलाई दोष दिन लाग्छौं । अयोग्य, बेकामे ठान्न थाल्छौं । हामीमा हीनताबोध बढेर आउँछ र हामीमा भएको जोश, उत्साह सेलाएर जान्छ । यसैले होला यशैया ४३ः१८–१९ मा परमेश्वर भन्नुहुन्छ, “बितेका कुराहरूलाई नसम्झ, उहिलेका कुराहरूलाई विचार नगर । हेर, म एउटा नयाँ कुरा गर्नेछु ।
२ पत्रुस १ः३ ले भन्दछ, “…परमेश्वरको ईश्वरीय शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले हामीलाई दिनुभएको छ ।” तर १ कोरिन्थी ३ः२१–२३ अनुसार हामीलाई दिइएको सबै थोक हाम्रो वत्र्तमान र हाम्रो भविष्यमा पनि भेटाउनेछौं तर हाम्रो भुल वा अतीत भेटाउँदैनौं । किन होला? हुन सक्छ, परमेश्वर पिताले हाम्रो आउँदो जीवनको सफलताको निम्तिबितेको जीवनको विशेष् आवश्यकता पर्दैन भनेर नै हामीलाई नदिनुभएको होला!
रोमी ८ः३८–३९ मापावल भन्दछन्, “म यो पक्का गरी जान्दछु, कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वत्र्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वाशक्तिहरूले, उचाइले वागहिराइले, वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलगगर्न सक्ने छैन ।” यहाँ पावल बताउन चाहन्छन् कि परमेश्वरको अटल प्रेम कहिल्यै पनि टल्दैन । उहाँले हामीलाई अनन्तको, बिनाशर्तको, पवित्र, चोखो, प्रेमले प्रेम गर्नुभएको छ । हामी प्रेम गरिने योग्यको भएर होइन तर उहाँ स्वयं प्रेम हुनुभएकोले हामी अयोग्यहरूलाई पनि उहाँले ख्रीष्टमा प्रेम गर्नुहुन्छ । तर माथि दिइएको रोमी ८ः३८–३९ को सूचीमा पनि वर्तमानका कुराहरू वा पछि हुने कुराहरू मात्र भेटाउँछौं तर अतीतका कुराहरू त्यहाँ भेटाउँदैनौं, किनहोला?
दौडको बारेमा फिलिप्पी ३ः१२–१४ पदहरूमा पावल बताउँछन्, “… म एउटा काम गर्दछु कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोडसँग लम्कदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर जोडसँग अगि बढ्दछु ।” यहाँ पछाडिका कुराहरू भनेको चाहिँ बितेको जीवन, अथवा अतीतका कुराहरू हुन् । पछाडिका कुराहरू किन बिर्सने ? कारण २ कोरिन्थी ५ः१७मा पावल बताउँछन्, “यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर, नयाँआएको छ ।”
भर्खरै जन्मेको बालकको अतीत नभएको जस्तै ख्रीष्टमा विश्वास गर्ने व्यक्तिको पुरानो जीवन पनि सिद्धिसक्यो । पुरानो कुराहरू बितिसके, अब सबै कुरा नयाँभएका छन् । यसैले हामीले बितेका जीवनको कुरातिर हेरि बस्नु आवश्यकता छैन । निशाना अगाडि छ, पछाडि होइन, यसकारण अगाडि बढ्दै जाऔं, अतीतलाई नहेरौं ।
January 2016 – Suchana Patra
January 1, 2016 | Suchana Patra
प्रभु येशू ख्रीष्टको जन्मोत्सव ख्रीष्टमस तथा नव वर्ष २०१६ को शुभ कामना
December 14, 2015 | Blogs
प्रभु येशू ख्रीष्टको जन्मोत्सव ख्रीष्टमस तथा नव वर्ष २०१६ को सुखद अवसरमा नेइम अन्तर्गतका सम्पूर्ण मण्डली परिवार, शाखा आवद्ध मण्डलीहरु, देश विदेशमा रहनुभएका सम्पूर्ण मण्डली परिवारहरु साथै सम्पूर्ण देशबासीहरुमा प्रेम, मेलमिलाप, एकता र शान्तिको लागि प्रार्थना तथा शुभ कामना व्यक्त गर्दछौं ।
येशूको जन्ममा पूरा भएका दिव्य भविष्यवाणीहरू – डिकन सिमोन पाठक
December 14, 2015 | Articles
येशू ख्रीष्टको जन्म मानिसको जन्मभन्दा फरक किसिमले भएको थियो । उहाँको जन्म, उहाँले जिउनुहुने जीवन र उहाँले मानिस जातिको निम्ति गर्नुहुने पवित्र बलिदान र पुनरूत्थान आदिको विषयमा उहाँ जन्मनु भन्दा हजारौं वर्ष अघि देखि अगमवक्ताहरूद्वारा विभिन्न समयमा भविष्यवाणी गरिएको थियो । उहाँको विषयमा गरिएका सबै भविष्यवाणीहरू एउटा पनि बिन्दु तल माथि नभई सबै पूरा भएका छन् । येशूको जन्मको सम्बन्धमा गरिएका दिव्य भविष्यवाणीहरू बाइबल धर्मशास्त्रमा यसरी लिपिबद्ध गरिएका छन्ः
येशू स्त्रीको सन्तान बनेर जन्मनुहुनेछ
सृष्टिको शुरूको मानव आदम र हव्वाले पाप गरिसकेपछि स्त्रीको सन्तान र शैतानको बीचमा दुश्मनी शुरू भयो उत्पत्ति ३ः१५) । मानिस र शैतानको बीचमा दुश्मनी हुनेछ र स्त्रीको सन्तानले तेरो शिर कुच्च्याउनेछ भनी गरिएको वाणीले येशूको जन्मलाई संकेत गरिएको कुरा पावलले गलातीहरूलाई लेखिएको पत्रद्वारा पुष्टि हुँदछ । समयको पूर्णतामा येशू स्त्रीको सन्तान बनेर जन्मनुभयो (गलाती ४ः४–५) । स्त्रीको सन्तानले तेरो शिर कुच्च्याउनेछ भनी हजारौं वर्ष अघि गरिएको भविष्यवाणी क्रूसको मृत्यु र पुनरूत्थानमा पूरा भयो ।
येशू इस्राएलबाट जन्मनुहुनेछ
येशू जन्मनुभन्दा करीब पन्ध्र सय वर्ष अघि उहाँ इस्राएलबाट आउनुहुनेछ भनी भविष्यवाणी गरिएको थियो (गन्ती २४ः१७–१९)। यो भविष्यवाणी मुताविक नै उहाँ अब्राहाम, इसहाक, याकूब अर्थात् इस्राएलको वंशबाट हुँदै जन्मनुभयो र उक्त भविष्यवाणी पनिशत् प्रतिशत पूरा भयो (मत्ती १ः१–१७) ।
येशू कन्या स्त्रीबाट जन्मनुहुनेछ
यशैया अगमवक्ताले येशूको जन्म कन्याद्वारा हुनेछ भनी येशू जन्मनु भन्दा करिब साँढे सात सय वर्षअघि भविष्यवाणी गरेकाथिए (यशैया ७ः१४) । उहाँ कन्या मरियमको कोखमा पवित्र आत्माको शक्तिद्वारा गर्भधारण हुनुभयो । मरियमले सोधेको प्रश्नको जवाफमा स्वर्गदूतले यसरी भनेका थिए, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छायाँ तिमीमाथि पर्नेछ । यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ” (लूका १ः३५–३६) ।
येशूको जन्म कन्या मरियमको कोखबाट हुनु पवित्रआत्माको काम थियो (मत्ती १ः१८–२५) । यशैया अगमवक्ताले गरेको भविष्यवाणी करिब साँढे सात सय वर्षपछि जस्ताको तस्तै पूरा भयो (लूका १ः२६–३३; मत्ती १ः२०–२३ ) ।
येशू बेथलेहममा जन्मनुहुनेछ
मीका अगमवक्ताले येशूको जन्म बेथलेहेममा हुनेछ भनी करिब सात सय पचास देखि छ सय छयासी ख्रीष्टपूर्वमा भविष्यवाणी गरेका थिए (मीका ५ः२) । मीका अगमवक्ताले येशूको जन्मको विषयमा गरेको भविष्यवाणी सत् प्रतिशत पूरा भयो
(लूका२ः४–७,११,१५–१६;मत्ती२ः१–६,८–९;यूहन्ना७ः४२) ।
येशू दाऊदको घराना, यहूदाको कुलमा जन्मनुहुनेछ
येशू दाऊदको घराना, यहूदाको कुलबाट जन्मनुहुनेछ भनी भविष्यवाणी भएको थियो (उत्पत्ति ४९ः१०; यशैया ११ः१–५; लूका १ः३१–३३; यर्मिया २३ः५–६, ३३ः१४–१६) । योसेफ र मरियम दुवै जना दाऊदको घरानाका थिए (मत्ती १ः६,१६) । योसेफ कानूनीतवरले येशूका पिता हुन् र मरियम शारीरिक तवरले येशूकी आमा हुन् र दुवै जना दाऊदको वंशका थिए । मत्ती एक अध्याय र लूका ३ अध्यायमा उल्लेख गरिएको वंशावलीलाई केलाउँदै जाँदा योसेफ र मरियम यरूबाबेलको वंशमा पर्दछन् (मत्ती १ः१२; लूका ३ः२७) । यरूबाबेल दाऊदको वंशका थिए (मत्ती १ः६,१२) । मत्ती र लूकामा उल्लेख गरिएको वंशावलीलाई अध्ययनगर्दा येशू दाऊदको घरानाबाट जन्मनुभएको पुष्टि हुन्छ । यसरी येशू दाऊदको घराना, यहूदाको कुलमा जन्मनुहुनेछ भनी गरिएको भविष्यवाणी पनि शत् प्रतिशत पूरा भयो ।
येशूले सदासर्वदै राज्य गर्नुहुनेछ
यशैयाले येशू सदासर्वदै राज्य गर्नुहुनेछ भनी उहाँ जन्मनु भन्दा करिब साँढे सात सय वर्ष अघि भविष्यवाणी गरेकाथिए (यशैया ९ः६–७) । स्वर्गदूतले येशूको जन्म र उहाँ कस्तो व्यक्ति हुनुहुनेछ भन्ने विषयमा मरियमलाई भनेको वाणी र यशैयाले गरेको भविष्यवाणी मिल्दोजुल्दो छ (लूका १ः३२–३३) । येशू सदासर्वदै राज्य गर्नुहुने राजा हुनुहुन्छ । उहाँ स्वर्गको सिंहासनमा आज पनि राज्य गरिराख्नुभएको छ । उहाँ एक दिन मण्डलीलाई लिन आउनुहुनेछ र हामी पनि उहाँसँगै राज्य गर्नेछौं ।
येशूको जन्म मात्र होइन उहाँको मृत्यु र पुनरूत्थान वा फेरि जीवित हुने विषयमा गरिएको भविष्यवाणी पनि सबै पूरा भएका छन् । उहाँमा विश्वास गर्नेहरूलाई एकदिन लिन आउनुहुनेछ भनी येशू मृत्युबाट जीवित हुनुभएको चालिस दिनपछि जैतून डाँडाबाट स्वर्ग उचालिनुहुँदै गर्दा स्वर्गदूतद्वारा गरिएको भविष्यवाणी पनि एक दिन शत् प्रतिशत् पूरा हुने नै छ (प्रेरित १ः११) । यदि उहाँको विषयमा गरिएका भविष्यवाणीहरू पूरा नभएको भए दोस्रो आगमन र उहाँ माथि विश्वास गर्नेहरूले मुक्ति पाउने कुरामा शंका हुने थियो तर उहाँको विषयमा गरिएको भविष्यवाणी शत् प्रतिशत् पूरा भएको हुनाले उहाँमाथि विश्वास गर्नेहरूले मृत्युपछि मुक्ति पाउने कुरा पनिशत् प्रतिशत् निश्चित छ ।
उहाँको जन्मले अन्धकारमा रूमल्लिएका संसारका सारा मानव जातिलाई मुक्ति, शान्ति, मिलाप आदिको सन्देश दिएको छ, यो सन्देश छर्दै ख्रीष्ट जन्मोत्सवको वास्तविकतालाई सार्थक बनाउनु नै साँचो ख्रीष्टमस मनाउनु हो । देशको प्रतिकूल परिस्थितिले हाम्रो घरको चूल्हो निभे पनि हृदयको दियो जलिरहोस् र अन्धकारमा भएका मानिसहरूलाई ज्योति, मुक्ति, शान्ति र मिलापको सन्देश सुनाउँदै यो वर्षको ख्रीष्टमसलाई उज्ज्वल गराऔं !
December 2015 – Suchana Patra
December 14, 2015 | Suchana Patra





