भलाइ गर्न भलाइको स्रोतले भरिनु – एल्डर सिमोन पाठक
September 5, 2016 | Articles
तपाईंको हृदयमा कुनै व्यक्तिप्रति, माया, प्रेम, वास्ता छ भने व्यवहारमा त्यस व्यक्तिप्रति तपाईं के कुराहरू प्रकट गर्नुहुन्छ ? माया, प्रेम वास्ता नै प्रकट गर्नुहुन्छ, होइन र ? यदि तपाईंको हृदयमा कुनै व्यक्तिप्रति रीस, ईष्र्या, डाह, घृणा छ भने व्यवहारमा त्यस व्यक्तिप्रति तपाईं के कुरा प्रकट गर्नुहुन्छ ? रीस, ईष्र्या, डाह, घृणा नै प्रकट गर्नुहुन्छ, होइन त ?
हाम्रो हृदयमा भरिने कुराहरूको स्रोत अथवा जराचाहिँ“ खराब छ भने हाम्रो हृदयबाट पनि खराब कुराहरू नै बाहिर निस्केर आउँछन् । तर हाम्रो हृदयमा भरिने कुराहरूको स्रोत अथवा जराचाहिँ“ असल छ भने हाम्रो हृदयमा पनि असल कुराहरूले नै भरिन्छ र असल कुराहरू नै व्यवहारमा प्रकट हुँदछ । बाइबल धर्मशास्त्रले बताउँछ, सबै उत्तम थोकहरूको स्रोत परमेश्वर हुनुहुन्छ ।
“हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ । बदलिरहने छायाँजस्तो उहाँमा कुनै हेरफेर हुँदैन” (याकूब १ः१७) । हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गको परमेश्वरबाट आउँछ ।
“आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो । र त्यो साह्रै राम्रो थियो…” (उत्पत्ति १ः३१) । परमेश्वरले सृष्टि गर्नुभएका सबै कुरा साह्रै राम्रा थिए । मानिसको निम्ति भलाइ गर्ने थिए । किनकि उहाँ सबै राम्रा र भलाइ थोकहरूका स्रोत हुनुहुन्छ । हाम्रो हृदयलाई परमेश्वरबाटको असल कुराहरूले भर्नु हो भने परमेश्वरको भलाइलाई जान्नु पर्दछ । भलाइ परमेश्वरको विशिष्ट गुणहरूमध्येको एउटा गुण हो । परमेश्वरको भलाइ, प्रेम, दया, कृपा र अनुग्रहसँग सम्बन्धित छ । “परमप्रभु सबैमाथि भलो हुनुहुन्छ र आफ्नो समस्त सृष्टिमाथि दया राख्नुहुन्छ” (भजनसंग्रह १४५ः९) ।
परमेश्वर सबैमाथि भलो हुनुहुन्छ । उहाँले कहिल्यै पनि मानिसको कुभलो गर्नुहुन्न । असल बुवाआमाले आफ्ना छोराछोरीप्रति कहिल्यै पनि कुभलो गर्नुहुन्न । उहाँहरूले जहिले पनि भलो चिताउनुहुन्छ । आफ्ना छोराछोरीहरूको उन्नति, प्रगति देख्न चाहनुहुन्छ । परमेश्वर मानिस भन्दा धेरैमाथि हुनुहुन्छ । हामीले उहाँलाई नचिनेर उहाँको विरूद्धमा पापका कामहरू गरेको समयमा पनि उहाँले आफ्नो भलाइ हामीप्रति प्रकट गरिराख्नुभएको हुन्छ ।
एकदिन पावल र बर्णाबास लुस्त्रा शहरमा सुसमाचार सुनाउन गएका थिए । त्यहाँ एकजना जन्मैदेखिको अपाङ्ग भएर बसेको मानिस थियो । पावलले त्यो अपाङ्गलाई येशूको नाउँमा प्रार्थना गरे अनि त्यो तुरून्तै निको भयो । त्यो मानिस निको भएको कारण लुस्त्रा शहरका मानिसहरूले पावल र बर्णाबासलाई देवता भनी पूजा गर्न खोजे । पावलले त्यहाँका मानिसहरूलाई सम्झाउँछन् तपाईंहरूले भूल गर्दै हुनुहुन्छ । हामी तपाईंहरू जस्तै मानिस मात्र हौं । हामीले पनि एक समय अज्ञानतामा मानिसहरूलाई देवता भनी पूजा गर्ने गथ्र्यौं । हामी आ–आफ्नै रीतिअनुसार चलेका थियौं । तपाईंहरू पनि त्यसरीनै चलिराख्नुभएको छ । तपाईंहरूले परमेश्वरको विरूद्धमा पापहरू गरिराख्नुभएको छ । तर पनि सृष्टिकर्ता परमेश्वरचाहिँ तपाईंहरूप्रति भलो नै हुनुभएको छ भनी पावल भन्दछन्ः
“तापनि उहाँले आफूलाई गवाहीविना छोड्नुभएन, किनकि उहाँले भलो गरेर तपाईंहरूलाई स्वर्गबाट पानीको झरी र फलवन्त ऋतु दिनुभयो र तपाईंहरूका हृदयलाई भोजन र आनन्दले सन्तुष्ट पार्नुभयो” (प्रेरित १४ः१७) ।
परमेश्वरको भलोपन सबै मानिसहरूप्रति हुन्छ तर उहाँको भलोपन थाहा पाउन मानिसको हृदयबाट पाप हट्नुपर्छ । उहाँसँग ठीक सम्बन्धमा हुनुपर्छ । पापी हृदयबाट उत्तम कुराहरू वा भलाइको मूल फुट्न सक्दैन । हाम्रो हृदयबाट उत्तम कुराहरूको मूल फुट्नको निम्ति परमेश्वरको विरूद्धमा गरेको पापको क्षमा माग्नुपर्छ । परमेश्वरको बाटोमा हिँड्नुपर्छ । उहाँसँग हाम्रो ठीक सम्बन्ध हुनुपर्दछ ।
“सत्य मार्गमा हिँड्नेहरूलाई परमप्रभुले कुनै भलो थोकबाट बञ्चित राख्नुहुन्न” (भजनसंग्रह ८४ः११) । बाइबल धर्मशास्त्रअनुसार सत्य व्यक्ति हुनुहुन्छ । येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ । मद्वारा बाहेक ? कोही पनि पिताकहाँ आउन सक्दैन” (यूहन्ना १४ः६) ।
उहाँको बाटोमा हिँडनेहरूलाई असल कुराहरूको अभाव हुँदैन । उहाँलाई प्रेम गर्ने र उहाँको अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ गर्नुहुन्छ । “हामी जान्दछौ, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ” (रोमी ८ः२८) ।
परमेश्वरले सबै कुराहरूद्वारा भलाइ उत्पन्न गर्नुहुन्छ भन्ने सत्यता जान्यौं भने त्यसको परिणाम के हुन्छ ? सबै परिस्थितिमा परमेश्वरलाई धन्यवाद चढाइराख्न सक्छौं । किनकि उहाँ सबै भलाइ, असल, राम्रा कुराहरूको स्रोत हुनुहुन्छ । हाम्रो हेराइमा वर्तमानको परिस्थिति खराब, कुभलो जस्तो भएतापनि परमेश्वरसँग संगति गर्न, उहाँको बाटोमा निरन्तर हिँड्न, र निरन्तर प्रार्थनामा लागिरह्यौं भने प्रतिकूल परिस्थितिको समयमा पनि परमेश्वरले भलाइ उत्पन्न गर्न सक्नुहुुन्छ ।
मानविय भलाइ र ईश्वरीय भलाइमा के फरक छ ?
मानविय भलाइले हामीलाई तुरून्त खुशी पैदा गर्छ, क्षणिक आनन्द दिन्छ । तपाईंलाई पचास हजार रूपैंयाको खाँचो परेको थियो । कहाँबाट ल्याउने, कसरी यो खाँचो टार्ने तपाईं छट्पटाइराख्नुभएको थियो । तपाईंको एकजना साथीले पचास हजारको अभावले तपाईं संकष्टमा परेको थाहा पायो र पचास हजार सापटी दियो भने तपाईंको निम्ति त्यो कहिल्यै नबिर्सने भलाइ भयो । त्यो गुण अथवा भलाइप्रति तपाईं कृतज्ञ हुनुहुन्छ । तपाईं क्षणिक समयको लागि भएपनि आनन्दित हुन सक्नुहुन्छ । मानविय भलाइले चाहिँ छोटो समयको लागि भएपनि खुशी पैदा गर्छ, क्षणिक आनन्द दिन्छ । फेरि पैसाको अभाव हुन्छ फेरि अशान्ति हुन्छ ।
ईश्वरीय भलाइ अथवा परमेश्वरले गर्नुहुने भलाइले चाहिँ दीर्घकालिन आनन्द दिन्छ । परमेश्वरले गर्नुहुने भलाइले हामीलाई अनन्त जीवनमा पुर्याउँछ । परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभएर गर्नुभएको भलाइचाहिँ दीर्घकालिन भलाइ हो । ईश्वरीय भलाइमा क्षणिक ताडना पनि हुन्छ तर दुःख दिन होइन हामीलाई अझै फलवन्त बनाउनलाई हो । किसानले फल फल्ने रूखलाई छाँट्दा दुख्छ तर त्यसले पछिबाट बढी फल दिन्छ ।
ईश्वरीय भलाइचाहिँ पवित्र आत्माको फल हो (गलाती ५ः२२) । परमेश्वरले पवित्र आत्माद्वारा हाम्रो जीवनमा काम गर्नुहुन्छ अनि हामीमा भलाइको फल उत्पन्न हुन्छ । हामीलाई घृणा गर्ने, कुभलो चिताउनेहरूप्रति बदलाको भावना जगाउनको सट्टा प्रेमको भावना पैदा हुन्छ र तिनीहरूको लागि प्रार्थना गर्नसक्छौं । परमेश्वरले गर्नुहुने भलाइचाहिँ मानविय सोचभन्दा धेरै फरक छ ।
“उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ । धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ (मत्ती ४ः४५) ।” परमेश्वरले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ । धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ । यो धर्मीको घर रहेछ, यसलाई बढी समय उज्यालो, ताप दिनुपर्यो । यो पापीको घर रहेछ, यसलाई थोरै समय उज्यालो वा ताप दिनुपर्यो भन्दैन । यो पापीको खेत रहेछ, थोरै पानी दिनुपर्यो । यो धर्मीको खेत रहेछ, धेरै वृष्टि दिनुपर्यो भन्दैन ।
परमेश्वर भलो हुनुहुन्छ भनेको यही नै हो । हामीले उहाँको विरूद्धमा पाप गरिराखेको समयमा पनि प्रेम गरिराख्नुहुन्छ । मानिस दुष्ट भएको समयमा पनि परमेश्वरले उसको जीवनमा असल हुने काम गर्नुको उद्देश्यचाहिँ हो मानिसले यो जीवनमा नै उहाँको भलोपनलाई थाहा गर्न सकोस्, पापको पश्चात्ताप गर्न सकोस्,परमेश्वरको बाटोमा हिड्न र आफ्नो जीवनबाट असल कामहरू गर्न सकोस् भनेर नै हो । हामीहरूबाट असल कामहरू, भलाइका कामहरू हुनको निम्ति हामी पहिला असल बन्नुपर्छ । असल मानिस को हो ? बाइबल धर्मशास्त्रअनुसार असल मानिस त्यो हो जो परमेश्वरसगको संगतिमा रहन्छ र उहाँको आज्ञाअनुसार जीवन जिउँछ ।
“ए मानिस, जे असल छ, त्यो उहाँले तलाई देखाउनुभएको छ । र परमप्रभुले तँ
बाट के चाहनुहुन्छ ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू” (मीका ६ः८) । “प्रिय हो, खराबीको अनुकरण नगर, तर भलाइको अनुकरण गर । जसले भलो गर्दछ, त्यो परमेश्वरको हो, जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन” (३ यूहन्ना ११) ।
असल फल फलाउनको निम्ति व्यक्ति पहिला असल हुनुपर्छ । “कि रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ । कि रूखलाई खराब बनाओ र त्यसको फल पनि खराब हुनेछ । किनभने फलबाट नै रूख चिनिन्छ । ए सर्पका बच्चा हो । तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन् । असल मानिसले आफूभित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ” (मत्ती १२ः३३–३५) । “किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं । हामी ती बमोजिम हिँड़ौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो” (एफिसी २ः१०)। भलाइ गर्न भलाइको स्रोतले भरिनु आवश्यक छ । भलाइको स्रोत परमेश्वर स्वयं हुनुहुन्छ । के हामी भलाई गर्नुहुने परमेश्वरसँग संगति गर्दै उहाँको आज्ञाअनुसार जीवन जिउँदैछौ ?
September 2016 – Suchana Patra
September 5, 2016 | Suchana Patra
ख्रीष्टमा पूर्ण जीवन – एल्डर सिमोन पाठक
August 5, 2016 | Articles
कति मानिसहरू मेरो जीवन अधूरो छ, अपूरो छ, अर्थहिन छ भन्ने विचार गर्छन् । यो सोचले गर्दा कतिको जीवन, निराश, हतास, आशाविहीन हुन पुगेको छ तर परमेश्वरको वचनले बताउँदछ, ख्रीष्टमा हामीले पूर्ण जीवन पाएका छौं । कसरी हामीले ख्रीष्टमा पूर्ण जीवन पाएका छौं ? कलस्सी २ः९–१५ पदअनुसार ख्रीष्टमा हामी पूर्ण भएका छौं भन्ने कुराको तीनवटा आधारहरू पाउन सक्छौं ।
पहिलो आधार होः आत्मिकी खतनाद्वारा हामीले ख्रीष्टमा पूर्ण जीवन पाएका छौं (११ पद)
खतना भनेको शरीरको कुनै अंगलाई काटेर फाल्ने काम हो । खतनाको नियम व्यवस्था आउनुभन्दा धेरै समय अघि नै परमेश्वरले अब्राहामलाई ९९ वर्षको उमेर हुँदा खतनाको करार दिनुभएको थियो (उत्पत्ति १७ः९–१४) । अनि यहूदीहरूले यो परम्परालाई निरन्तरता दिँदै आएका थिए । यो एउटा विश्वासमा गरिँदै आएको धार्मिक विधि थियो । यो धार्मिक विधिले सांकेतिक रूपमा दुईवटा कुराहरूलाई दर्शाउँथ्यो । पहिलोचाहिँ हो खतना गर्ने मानिस र उसको परिवारले परमेश्वरमा विश्वास गरिसकेको कुरालाई बुझाउँथ्यो । जब मानिसले परमेश्वरमा भरोसा गर्दछ, तब उसले परमेश्वरमा विश्वास गरेको छु भनी साक्षीको रूपमा देखाउने चिन्ह थियो । खतनाद्वारा यो कुरालाई घोषणा गरिराखेको हुन्थ्यो कि म र मेरो परिवारले परमेश्वरलाई पछ्याएका छौं । हामी उहाँलाई पछ्याइरहने छौं । दोस्रोचाहिँ होः खतनाले शरीरमा भएको पाप स्वभावलाई काटेर फालिदिएको कुरालाई पनि संकेत गर्दथ्यो ।
शरीरको अंगलाई काटेर फाल्ने कुराले सम्पूर्ण पाप स्वभाव वा पापको थैलीलाई काटेर फालिएको छ भन्ने कुरालाई चित्रण गथ्र्यो ।
येशू ख्रीष्टले मानव जातिको पापको निम्ति क्रूसमा प्रायश्चित गर्नु अघिसम्म मानिसले परमेश्वरलाई पछ्याउन यो विधि पालना गर्नुपथ्र्यो तर ख्रीष्टको क्रूसको बलिदान र पुनरूत्थानपछि यो विधिको आवश्यकता छैन ।
येशूलाई ग्रहण गरेको दिन हामीहरू आत्मिक तवरले खतना भयौं । परमेश्वरले अब्राहामलाई दिनुभएको खतनाको कार्य गर्न हातको प्रयोग गर्नुपथ्र्यो, हतियार चलाउनुपथ्र्यो तर आज हामी हातहतियार नचलाइकन खतना भएका छौं । ख्रीष्टलाई ग्रहण गरेको दिन हामीमा भएको पापको थैली काटेर फालिदियौं । ख्रीष्टमा हामी धर्मी ठहरिएका छौं । हामी आत्मिक तवरले खतना गरिएका मानिसहरू हौं । आत्मिक खतनाद्वारा ख्रीष्टमा हामी पूर्ण भएका छौं । दोस्रो आधार होः पुनरूत्थानको जीवनद्वारा हामीले ख्रीष्टमा पूर्ण जीवन पाएका छौं (कलस्सी २ः१२–१३)
कलस्सी २ः१२ पदमा उल्लेख गरिएको बप्तिस्माको विषयमा ईश्वरशास्त्रीहरूको मतभेद छ । जुनसुकै बप्तिस्मा भएतापनि बप्तिस्माको अर्थचाहिँ एउटै नै हो । जब कुनै व्यक्तिले ख्रीष्टलाई ग्रहण गर्दछ त्यही दिन ऊ ख्रीष्टसँगै क्रूसमा टाँगिन्छ । ख्रीष्टको मृत्युमा ऊ सहभागी भएको हुन्छ । पुरानो स्वभावको निम्ति ऊ मारिन्छ अनि गाडिन्छ । ख्रीष्ट मारिनुभयो, गाडिनुभयो । उहाँलाई ग्रहण गरेका दिन हामी पनि उहाँसँग मारियौं अनि चिहानमा गाडियौं । ख्रीष्टसँग मारिनु, गाडिनु र पुनरूत्थानको जीवन पाउनुको पूर्ण चित्र पानीको बप्तिस्मामा देख्न सक्छौं । जब कुनै व्यक्तिले ख्रीष्टलाई ग्रहण गर्दछ त्यही दिन उसले पुनरूत्थानको जीवन पनि प्राप्त गर्दछ । ख्रीष्ट मृत्युबाट जीवित हुनुभयो अनि उहाँलाई ग्रहण गर्नेहरू सबैले उहाँसँग पुनरूत्थानको जीवन प्राप्त गर्दछन् । त्यसकारण पानीको बप्तिस्मा नलिनु भएकाहरूलाई मैले त पानीको बप्तिस्मा लिएको छैन जे गरेपनि हुन्छ भन्ने छुट छैन किनकि ख्रीष्टमा तपाईंहरूले पुनरूत्थानको जीवन पाइसक्नुभएको छ । ख्रीष्टमा विश्वास गर्ने मानिसले आफ्नो हृदयभित्र भएको विश्वासलाई बाहिर प्रकटीकरण गर्ने माध्यम पानीको बप्तिस्मा हो ।
ख्रीष्टमा विश्वास गर्ने व्यक्तिलाई जब पिता, पुत्र र पवित्र आत्माको नाउँमा पानीको बप्तिस्मा दिइन्छ, यसको अर्थचाहिँ हो ऊ ख्रीष्टसँगै पुरानो जीवनको निम्ति मारियो, ख्रीष्टसँगै गाडियो । ख्रीष्टको मृत्युमा ऊ सहभागी भयो । बप्तिस्मा लिनु ख्रीष्टसँग एक हुनु हो । जब पानीबाट बाहिर निस्कन्छ, यसको अर्थ हो ऊ ख्रीष्टको पुनरूत्थानमा सहभागी भयो । ख्रीष्ट जसरी मृत्युपछि जीवित हुनुभयो, त्यसरी नै ऊ पनि ख्रीष्टसँग नयाँ जीवनमा सहभागी भयो । अब उसले जिउने जीवनचाहिँ पुनरूत्थानको जीवन हो । नयाँ जीवन हो । ख्रीष्टमा हुनेहरूले पुरानो जीवन अब जिउँदैनन् । उनीहरूको आनी, बानी, बोलीचाली, चालचलन, व्यवहार, चरित्र सबैमा परिवर्तन हुन्छ । एकैचोटि सिद्धता नदेखिएला तर दिनदिन नयाँ जीवनको ढाँचामा बनिँदै जान्छन् ।
हामी जति जनाले पानीको बप्तिस्मा लिइसकेका छौं के हामी ख्रीष्टमा पुनरूत्थानको जीवन जिउँदैछौं ? पानीको बप्तिस्मा हृदयभित्र भएको परिवर्तनको बाहिरी प्रकटीकरण हो । पानीको बप्तिस्मा लिएको दिन जुन अठोट गरेर बप्तिस्मा लिएका थियौं, त्यहीअनुसार जीवन जिउँदै छौं के ? कति मानिसहरू पानीको बप्तिस्मा लिनुभन्दा अघि नियमित मण्डलीमा आउने, संगतिहरूमा जाने गर्दछन् । अनि बप्तिस्मा र समर्पणपछि बिस्तारै सेलाउँदै जान्छन् । कता–कता मानिसहरूले बप्तिस्माको अर्थ नबुझेर आफ्नो स्वार्थको लागि बप्तिस्मा लिएको जस्तो देखिन्छ । त्यस्ता मानिसहरूले आफैले आफैलाई ठगिराखेका हुन्छन् । पुनरूत्थानमा पाइने आत्मिक आशिष्हरूबाट आफैले आफैलाई बञ्चित गराइराखेका हुन्छन् ।
तेस्रो आधार होः स्वतन्त्रताद्वारा हामीले ख्रीष्टमा पूर्ण जीवन पाएका छांै (कलस्सी २ः१४–१५) ।
ख्रीष्टमा हामीले पाएको स्वतन्त्रतालाई बुझाउनको निम्ति तमसुकको उदाहरण दिइएको छ । तमसुक भनेको ऋण लिएको हुँ भनेर लिखित रूपमा सही छाप गरेर लेखिएको कागज हो । ऋण लिने मानिसले सबै ऋण नतिरेसम्म यो कागज च्यातिँदैन । ऊ ऋणको बन्धनमा बाँधिएको हुन्छ । उसले भनेको समयमा तिर्न सकेन भने उसको घरमा भएको सम्पत्ति पनि जफत हुन सक्छ । त्यो जमानामा लिएको ऋण तिर्न सकेन भने साहुको कमारो बन्नुपथ्र्यो । नेपालमा कमैया प्रथा अन्त्य भएको १६ वर्ष हुँदैछ । यो प्रथाको शुरूवातलाई हेर्ने हो भने मानिसले साहुबाट ऋण लियो, तिर्न सकेन अनि अन्त्यमा साहु महाजनको कमारा बन्नपुगेको पाइन्छ । ऋण लिन जान्ने तर तिर्न नजान्ने मानिस कमारो बन्न पुग्छ ।
परमेश्वरको कानूनमा पाप गर्ने मानिस पापको कमारो हुन्छ । पापको दण्ड मृत्यु हो । हामीले जन्मेदेखि गर्दै आएका पापको हिसाब राख्दै आएको भए अहिले सम्ममा त्यो किताब कत्रो हुन्थ्यो होला । किताबको बाहिरी भागमा पाप गर्ने व्यक्तिको नाउँ छ, अनि त्यो किताबको शीर्षक छ, पापको किताब । अब त्यो पाप मेटाउनलाई कति धर्मकर्म गर्ने, कति दान गर्ने, कति दिन व्रत बस्ने, कति असल कामहरू गर्ने ? मानिसले जति नै धर्मकर्म गरे पनि, जति नै असल कामहरू गरे पनि पापको ऋण तिर्न सक्दैन । पापको तमसुक कहिल्यै पनि च्यातिँदैन किनकि मानिसले पापको ऋण तिर्न नै सक्दैन । त्यही कारण ख्रीष्ट त्रूmसमा बलि हुनुभयो । पाप र शैतानको शक्तिमाथि विजयी हुनुभयो । जुन दिन मानिसले पापको स्वीकार गरेर, ख्रीष्ट क्रूसमा मारिनुभयो, गाडिनुभयो र तेस्रो दिनमा पुनरूत्थान हुनुभयो भनी मुखले स्वीकार गर्छ अनि हृदयले विश्वास गर्छ त्यही दिन नै उसको पापको तमसुक च्यातियो । रद्द गरियो । ऊ पाप र अन्धकारको शक्तिबाट स्वतन्त्र भयो ।
पावल लेख्छन्, “ए मृत्यु तेरो खील कहाँ ?” अब मृत्युको खील छैन । पापको दण्ड भोग्न मानिस नरकमा जानु पर्दैन । ख्रीष्टमा भएकाहरूलाई दण्डको आज्ञा छैन । जुन मौरीले मानिसलाई टोकिसकेको हुन्छ त्यसले तुरून्तै फेरि अर्कोलाई टोक्न खोज्दा उसको खील हुँदैन किनकि उसको खील पहिलो मानिसमै गाडिसकेको छ । प्रभु येशू ख्रीष्टले पापको खील, मृत्युको खील लिइसक्नुभएको छ । हामी पाप र मृत्युबाट स्वतन्त्र भइसकेका छौं ।
कति मानिसहरूले आफैलाई मेरो जीवन अधूरो छ, अपूरो छ, आशाविहीन छ भन्ने विचार गर्छन् । तर ख्रीष्टमा विश्वास गर्नेहरू उहाँमा पूर्ण भएका छन् । ख्रीष्टमा पुनरूत्थान र स्वतन्त्रताको जीवन छ । अब हामी कसमा जीवन बिताउने ? ख्रीष्टमा कि संसारमा देखिने थोकहरूमा ?
August 2016 – Suchana Patra
August 5, 2016 | Suchana Patra
बधाई
July 1, 2016 | Blogs
एस.एल.सी. परीक्षामा उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थीहरूको आउँदा दिनका सबै पढाइ, तालिम, उच्च शिक्षा हासिल गर्दै जानको लागि परमेश्वरबाटको आशिष्को लागि प्रार्थनाको साथै मण्डली परिवारबाट हार्दिक बधाइ ज्ञापन गर्दछौं ।
“पेन्तिकोस दिवस” – श्री स्टिफन राई
July 1, 2016 | Articles
पेन्तिकोसको पृष्ठभूमि पुरानो करारमा पाइन्छ
“विश्राम दिनको भोलिपल्टदेखि अर्थात् तिमीहरूले डोलाउने बलिको बिटा ल्याएको दिनदेखि सात विश्राम दिन तिमीहरूले गन्नू अर्थात् सातौं विश्राम दिनको भोलिपल्टसम्म पचास दिन गन्नू । त्यही दिन तिमीहरूले परमप्रभुका निम्ति नयाँ अन्न बलि चढाउनू
(लेवी २३ः१५–१६) ।
मोशाको व्यवस्थाअनुसार इस्राएलीहरूले विभिन्न किसिमका चाडहरू मनाउनु पर्दथ्यो जस्तै निस्तार चाड, झुप्रोबासको चाड, अखमिरी रोटीको चाड इत्यादि । ती चाडहरूमध्ये एउटा चाडचाहिँ हप्ताहरूको चाड अर्थात् पेन्तिकोसको चाड थियो जसमा दिन र हप्ताहरू गन्नु पर्दथ्यो । सात हप्ताहरू गनिसकेर त्यसको भोलिपल्ट पचासदिन पुग्दा उनीहरूले परमप्रभुको निम्ति नयाँ अन्न बलि चढाउनु पर्दथ्यो (लेवी २३ः१६) ।
नयाँ करारमा आएपछि चाहिँ त्यस दिनलाई येशू ख्रीष्ट बौरी उठ्नुभएको दिनदेखि सात विश्राम दिनहरू गनेर त्यसको भोलिपल्ट आइतबारलाई मान्नु पर्दथ्यो (पेन्तिकोस पचास दिन) । २०१६ को पेन्तिकोस दिवस मे महिनाको १५ तारिख थियो ।
१. पेन्तिकोसको दिन पवित्र आत्मा ओर्लनुभएको दिन हो ।
जब पेन्तिकोसको दिन आइपुगेको थियो, पुनरूत्थानको ठीक पचासौं दिन आइपुगेको थियो । अचानक स्वर्गबाट ठूलो बतास बहेको जस्तो हुरूरूरू शब्द आयो ।
किनभने यूहन्ना ३ः८ मा लेखिएको छ, “बतास जता इच्छा गर्दछ त्यता बहन्छ” हुरूरूरू शब्द आयो र त्यसले उनीहरू बसेको जम्मै घर भरिदियो । यहाँ “हुरूरूरू” शब्दले पवित्र आत्माको उपस्थितिलाई जनाउँछ ।
चिरा चिरा परेका जिब्राहरूले पवित्र आत्माको आगोको बप्तिस्माको प्रतिनिधित्व गर्दछ । बप्तिस्मा दिने यूहन्नाले भनेका थिए, “म ता साँच्चै तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु तर एकजना मभन्दा शक्तिशाली आउँदै हुनुहुन्छ जसको जुत्ताको फिता खोल्ने लायकको म छैन । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ । आगो पवित्र आत्माको चिन्ह हो, बतास, ढुकुर, तेल पनि पवित्र आत्माको चिन्ह हो । पवित्र आत्मालाई आउनका लागि बाध्य गराउन सक्दैन । पवित्र आत्मा बतास होइन, बताससँग तुलना मात्र गरिएको हो ।
२. पेन्तिकोसको दिन पवित्र आत्माको राज्यभिषेकको दिन हो ।
पुरानो करारको समयमा पनि पवित्र आत्मा आउने जाने गर्नुहुन्थ्यो तर सधैँका लागि रहिरहने गरी पेन्तिकोसमा पवित्र आत्मा ओर्लनुभयो । गिदोन र शिमशोनमाथि पवित्र आत्मा आउनुहुँदा पनि ठूलो आश्चर्य कर्म भएको थियो । पुरानो करारको समयमा पवित्र आत्मा आउनुहुन्थ्यो र आफ्नो काम सकेर जानुहुन्थ्यो, तर पेन्तिकोसमा उहाँ सधैँभरि विश्वासीसित रहिरहनका लागि आउनुपर्ने थियो । येशूले भन्नुभयो, “म पितासँग बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को शान्तिदाता दिनुहुनेछ र उहाँ तिमीहरूसँग सधैँभरि रहनुहुनेछ” (यूहन्ना १४ः१६) ।
पवित्र आत्मा ख्रीष्टको मण्डली स्थापना गर्न आउनुभएको दिन भएकाले सम्पूर्ण मण्डलीको कार्यभार सम्हाल्नुभएकाले पेन्तिकोसको दिनलाई पवित्र आत्माको राज्यभिषेक दिन भन्नु अत्यूक्ति नहोला ।
पेन्तिकोसको शक्तिलाई ग्रीक (मूल) भाषामा “डुनामिस” भनेर भनिन्छ अनि डुनामिस शब्दबाट अंग्रेजी भाषाको डायनामा र डायनामाइट भन्ने शब्दहरू बनिएका हुन् । डायनामा भनेको बिजुली उत्पादन गर्ने यन्त्र हो अनि डायनामाइट भनेको विष्फोटक हो । जसरी डायनामाले ठूला ठूला शक्तिको काम गर्दछ भने डायनामाइटले चट्टानहरू फोर्ने काम गर्दछ भने, त्यसै गरी पवित्र आत्माको काम पनि त्यस्तौ हो । नेइम ज्ञानेश्वर मण्डलीमा पनि १९७० दशकदेखि पवित्र आत्माको भरपूरीले नेइममा आत्मिक जागृतिको कारणले मण्डली वृद्धि भएर गएको हो (प्रेरित १ः८) ।
वर्तमान समयमा पनि पवित्र आत्माको शक्तिको प्रदर्शन हुनु आवश्यक देखिन्छ ।
क. पहिलो कारणः मण्डली स्थापना गर्नुः पहिलो शताब्दिका मण्डलीहरूमा पवित्र आत्माको आगमनभन्दा अगाडि येशूका चेलाहरू पनि डरपोक थिए भन्ने कुरा हामीले धेरै उदाहरण पाउँछौं । पेन्तिकोसको दिनपछि कसरी साहसी भएर साक्षी र गवाही बनी मण्डली वृद्धि गर्ने काममा लागिरहे भन्ने प्रेरितको पुस्तकमा पाइन्छ (प्रेरित ६ः१, ७, ४ः३१–३२) ।
ख. दोस्रो कारणः चिन्ह र चमत्कारको निम्ति (सामाजिक सेवकाइ) मर्कूस १६ः१७ महान् आज्ञा मात्र नभएर रोगीहरू निको पार्ने, भूतहरू धपाउने जस्ता सामाजिक सेवकाइ समेत चेलाहरूले गरेका थिए ।
३. पेन्तिकोसको दिन प्रेरितहरूले दोब्बर पवित्र आत्माको शक्ति पाएर दोब्बर पवित्र आत्माको काम गरे ।
उदाहरणको लागि कुनै पनि गाडी १० लिटर पेट्रोल राख्दा जति टाढा जान सक्दछ, २० लिटर राखेको खण्डमा दोब्बर जान सक्दछ । एलिया र एलिसाको पनि उदाहरण हामीले हेर्न सक्दछौं । पेन्तिकोसको दिनपछि ठीक त्यस्तै काम पहिलो शताब्दिका मण्डलीहरूमा भएको पाइन्छ । प्रभुले भन्नुभएको महान् आज्ञा पूरा गर्नलाई आज मण्डलीको भक्ति र पवित्र आत्माको शक्तिमा मात्र महान् आज्ञा पूरा गर्न सक्दछौं । आमेन् !
July 2016 – Suchana Patra
July 1, 2016 | Suchana Patra
मण्डली निर्माण सम्बन्धि जानकारी
June 16, 2016 | News and Events
नेइम ज्ञानेश्वर चर्चद्वारा सुरुवात भई पुर्वमा जोरपाटी, जहरसिंहपौवा, गाम्चा, सुन्दरीजल र साँखु अवस्थित पाँच स्थानमा नेइम जोरपाटी मण्डलीद्वारा प्रत्येक शनिबार आराधना सेवा भईरहेको जानकारी गराउन पाउँदा परमेश्वरको महिमा भइरहेको महसुस गरेकाछौं । नेइम जोरपाटी मण्डलीमा आत्मिक तथा भौतिक सहयोग गर्नुभएका सम्पूर्ण गुरुजन तथा विश्वासीप्रति मण्डली धन्यवाद व्यक्त गर्दछौं । पाष्टर प्रेम श्रेष्ठ लगायत स्थानिय अगुवा र गुरुजनको संयुक्त प्रार्थनाद्वारा नेइम गाम्चा मण्डली २०७२ फागुल्ण महिना र नेइम जहरसिंहपौवा मण्डली २०७३ जेष्ठ २८ गते देखि विधिवध भवन निर्माणको काम भईरहेको जानकारी गराउँदछौं । साथै उक्त निर्माण कार्यमा जिम्मालिनु भएका सम्पूर्ण अगुवा गुरुजनलाई परमेश्वरले आवश्यक ज्ञान, बुद्धि, र आर्थिक स्रोत खोलिदिनुभएको होस भनि प्रार्थनाको लागि अनुरोध गर्दछौं ।
जीवन कि मृत्यु ? हाम्रो छनोट – एल्डर गोपी राइ
June 6, 2016 | Articles
सबै मानिस आमाको गर्भबाट एक पटक जन्मने हो । तर हाम्रो लागि दोस्रो पटक जन्मने अवसर पनि छ ।
बाइबलमा यूहन्ना ३ अध्यायमा निकोदेमस नाउँका फरिसीका बारेमा लेखिएको छ । प्रभु येशूलाई ती फरिसीले रातको समयमा आएर भन्छन्, “गुरुज्यू हामी जान्दछौं, तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन” (यूहन्ना ३ः२) ।
येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन ।” निकोदेमसले भने, “मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र ? के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन के सक्छ र ?”
येशूले भन्नुभयो, “कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन । शरीरबाट जन्मेको शरीर हो र आत्माबाट जन्मेको आत्मा हो ।”
हरेक मानिसको मनमा निकोदेमसको जस्तै प्रश्न हुन्छ । साँच्चै दोस्रो पटक जन्मनु सम्भव छ ? प्रभु येशूले भन्नुभयो सम्भव छ । हरेक जीवात् आमाको गर्भबाट जन्मन्छ । त्यो उसको लागि पहिलो जन्म हो । मानिस पनि पहिलो पटक आमाको गर्भबाट जन्मन्छ । तर उसको लागि त्यो जन्म मात्र पर्याप्त छैन । उसको लागि दोस्रो जन्म पनि आवश्यक छ । दोस्रो जन्म उसको विश्वाससँग सम्बन्धित छ । जसले प्रभु येशूको जन्म “मेरो निम्ति भएको हो” भनेर मानिलिन्छ र आफ्नो जीवनको मुक्तिदाता भनेर स्वीकार गर्छ भने त्यसको नयाँ जन्म हुन्छ र नयाँ जन्म भनेको फेरि जन्मनु भनेको हो । ऊ विश्वासद्वारा जन्मनु पर्छ । आमाको गर्भबाट जन्मेको शरीर हो । शरीरमा जन्मेर मात्र उसलाई पुग्दैन । आत्माबाट पनि जन्मेको हुनुपर्छ । यसैलाई दोस्रो जन्म भनिन्छ । आत्मामा जिउनुको लागि आत्माबाट जन्मेको हुनुपर्छ ।
जो दुई पटक जन्मन्छ, त्यो एक पटक मात्र मर्छ । तर जो एक पटक मात्र जन्मन्छ, त्यो दुई चोटि मर्छ । एउटा मानवमा २ वटा जीवन हुन्छ । शारीरिक जीवन र आत्मिक जीवन ! शारीरिक जीवन रहुन्जेल त्यससँगै आत्मिक जीवन पनि रहन्छ । शारीरिक जीवनको अन्त्यपछि आत्मिक जीवन बाँचिरहन्छ कि नास हुन्छ वा त्यसको पनि मृत्यु हुन्छ ?
२ कोरिन्थी ५ः१७ यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो कुरा बितिगएको छ, हेर नयाँ कुरा आएको छ । कसैले ख्रीष्टलाई पाएकोले मात्र नयाँ सृष्टि हुन्छ अर्थात् दोस्रो जन्म पाउँछ ।
अधर्मीहरू परमेश्वरका राज्यका हकदार हुँदैनन् भन्ने तिमीहरूलाई थाहा छैन, धोका नखाओ अनैतिकहरू, मूर्तिपूजकहरू व्यभिचारीहरू,समलिङ्गीहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू, परमेश्वरका राज्यको हकदार हुने छैनन्” (१ कोरन्थी ६ः९–१०) । हिजोको जन्म हाम्रो इच्छाद्वारा भएको होइन न त मृत्यु नै हाम्रो इच्छामा भर पर्छ । दुवै हाम्रो बशमा छैनन् । हाम्रो जन्म र हाम्रो आयु परमेश्वरद्वारा निर्धारित हुन्छ र मृत्यु अवश्यम्भावी छ ।
शारीरिक मृत्यु जन्मेपछि एकदिन हुन्छ नै । तर जब मानिसले आफ्नो पाप स्वीकार गर्छ र प्रभु येशुकहाँ पश्चात्ताप गर्छ भने आत्माको मृत्युबाट बाँच्छ । दोस्रो मृत्यु ल्याउनेचाहिँ पाप हो । जसले पापलाई स्वीकार गर्छ र फर्कन्छ भने त्यो दोस्रो मृत्युबाट बाँच्छ अर्थात् आत्मिक मृत्युबाट बाँच्छ र अनन्त जीवनमा प्रवेश गर्छ । “तिनले एउटा पुत्र जन्माउनेछिन्, तिमीले उहाँको नाउँ येशू राख्ने छौं, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनु हुनेछ अर्थात् मुक्ति दिनुहुनेछ” (मत्ती १ः२१) ।
२ कोरिन्थी ५ः१७ मा लेखिएको छ, “यदि कोही ख्रीष्टमा छ त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर नयाँ आएको छ ।”
रोमी ३ः२३ ले भन्छ, “सबै मानिसले पाप गरेका छन् र परमेश्वरको महिमामा पुग्नबाट चुकेको छन् ।” रोमी ६ः२३ ले भन्छ, “किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैंको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो ।”
पापले दोस्रो मृत्यु ल्याउँछ । किनकि सबै पाप गर्नको लागि मृत्युको दण्ड छ । यो मृत्यु आत्माको मृत्यु हो । यो दोस्रो मृत्यु हो । तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू हत्याराहरू, व्यभिचारीहरू, जादुगरहरू, मूर्तिपूजकहरू, झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ । यो दोस्रो मृत्यु हो । (प्रकाश २१ः८) । रोमी ८ः१ ले भन्छ, उहाँमा अर्थात् येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन अर्थात् अनन्त जीवन छ । इसाईहरू मृत्यु पश्चात् अनन्त जीवनमा प्रवेश गर्छन् । अन्त्य नहुने जीवनमा प्रवेश गर्छन् । अनन्त जीवन पाउनेहरू परमेश्वरका राज्यमा जान्छन् जहाँ आनन्द छ ।
हाम्रो वशमा भएको कुरा चाहिँ हाम्रो जीवन कालमा नै दोस्रो जीवन कि दोस्रो मृत्यु छान्ने मौका हो । दोस्रोमा एउटा छनोट गर्न सकिन्छ । जब जीवन छनोट गर्छौं भने त्यो हो अनन्त जीवन । त्यसको लागि येशू प्रभुलाई मुक्तिदाता भनेर स्वीकार गर्नुपर्छ । हामी छनोट गर्दैनौं भने दोस्रो मृत्युमा पुग्छौं । त्यो भनेको नरक अर्थात् बाईबलमा उल्लेख गरिएको दोस्रो मृत्यु हो । पाप गर्ने तर पश्चात्ताप नगर्नेहरूको मार्ग दोस्रो मृत्यु हुन्छ ।
हामीलाई पनि कसैले सुसमाचार सुनायो । हामीले पनि सुसमाचार सुनाउने कर्तव्य हो र मत्ती २८ः१८–२० मा प्रभुको आज्ञा पनि हो । तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्तअधिकार मलाई दिइएको छ । यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ पिता, पुत्र र पवित्रआत्माको नाउँमा तिनीहरूलाई बप्तिसमा देओ । मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । हेर युगको अन्तसम्म म तिमीहरूको साथमा छु ।”
रोमी १०ः१४–१५ – तर जसलाई विश्वास गरेकै छैन उहाँलाई मानिसहरूले कसरी पुकार्ने ? जसको विषयमा सुनेकै छैनन्उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने र प्रचारकविना तिनीहरूले कसरी सुन्ने ? र कसैले नपठाइकन मानिसहरूले कसरी प्रचार गर्ने ? जस्तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर ।” नसुनिकन कसैले थाहा नै पाउँदैनन् । थाहा पाएपछि मात्र विश्वास गर्ने हो । त्यसैले सुसमाचार सुनाउनै पर्छ । त्यसैले दोस्रो जन्म लिनु आवश्यक छ । कसैले नयाँ जन्म पाउँछन् भने सन्तान सुखको रूपमा किन नलिने ? हामीले सित्तैंमा पाएको कुरा सित्तैंमा किन नदिने ?
एल्डर, डीकन अभिषेक र समर्पण
June 6, 2016 | Blogs
जेष्ठ १ गते/मे १४ तारिख शनिबार नेइम गोंगबूँ मण्डलीमा एल्डरहरू र डीकनहरूको अभिषेक भयो ।
एल्डर — डीकन बेन्जामीन तामाङ्ग र श्री पिटर लिम्बू ।
डीकन — श्री गोपी लाल तामाङ्ग र श्री होम बहादुर तामाङ्ग ।
जेष्ठ ८ गते/मे २१ तारिख शनिबार नेइम जोरपाटी मण्डलीमा ५ जनाको समर्पण भयो ।






