भलाइ गर्न भलाइको स्रोतले भरिनु – एल्डर सिमोन पाठक

September 5, 2016 | Articles  

तपाईंको हृदयमा कुनै व्यक्तिप्रति, माया, प्रेम, वास्ता छ भने व्यवहारमा त्यस व्यक्तिप्रति तपाईं के कुराहरू प्रकट गर्नुहुन्छ ? माया, प्रेम वास्ता नै प्रकट गर्नुहुन्छ, होइन र ? यदि तपाईंको हृदयमा कुनै व्यक्तिप्रति रीस, ईष्र्या, डाह, घृणा छ भने व्यवहारमा त्यस व्यक्तिप्रति तपाईं के कुरा प्रकट गर्नुहुन्छ ? रीस, ईष्र्या, डाह, घृणा नै प्रकट गर्नुहुन्छ, होइन त ?

हाम्रो हृदयमा भरिने कुराहरूको स्रोत अथवा जराचाहिँ“ खराब छ भने हाम्रो हृदयबाट पनि खराब कुराहरू नै बाहिर निस्केर आउँछन् । तर हाम्रो हृदयमा भरिने कुराहरूको स्रोत अथवा जराचाहिँ“ असल छ भने हाम्रो हृदयमा पनि असल कुराहरूले नै भरिन्छ र असल कुराहरू नै व्यवहारमा प्रकट हुँदछ । बाइबल धर्मशास्त्रले बताउँछ, सबै उत्तम थोकहरूको स्रोत परमेश्वर हुनुहुन्छ ।

“हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ । बदलिरहने छायाँजस्तो उहाँमा कुनै हेरफेर हुँदैन” (याकूब १ः१७) । हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गको परमेश्वरबाट आउँछ ।

“आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो । र त्यो साह्रै राम्रो थियो…” (उत्पत्ति १ः३१) । परमेश्वरले सृष्टि गर्नुभएका सबै कुरा साह्रै राम्रा थिए । मानिसको निम्ति भलाइ गर्ने थिए । किनकि उहाँ सबै राम्रा र भलाइ थोकहरूका स्रोत हुनुहुन्छ । हाम्रो हृदयलाई परमेश्वरबाटको असल कुराहरूले भर्नु हो भने परमेश्वरको भलाइलाई जान्नु पर्दछ । भलाइ परमेश्वरको विशिष्ट गुणहरूमध्येको एउटा गुण हो । परमेश्वरको भलाइ, प्रेम, दया, कृपा र अनुग्रहसँग सम्बन्धित छ । “परमप्रभु सबैमाथि भलो हुनुहुन्छ र आफ्नो समस्त सृष्टिमाथि दया राख्नुहुन्छ” (भजनसंग्रह १४५ः९) ।

परमेश्वर सबैमाथि भलो हुनुहुन्छ । उहाँले कहिल्यै पनि मानिसको कुभलो गर्नुहुन्न । असल बुवाआमाले आफ्ना छोराछोरीप्रति कहिल्यै पनि कुभलो गर्नुहुन्न । उहाँहरूले जहिले पनि भलो चिताउनुहुन्छ । आफ्ना छोराछोरीहरूको उन्नति, प्रगति देख्न चाहनुहुन्छ । परमेश्वर मानिस भन्दा धेरैमाथि हुनुहुन्छ । हामीले उहाँलाई नचिनेर उहाँको विरूद्धमा पापका कामहरू गरेको समयमा पनि उहाँले आफ्नो भलाइ हामीप्रति प्रकट गरिराख्नुभएको हुन्छ ।

एकदिन पावल र बर्णाबास लुस्त्रा शहरमा सुसमाचार सुनाउन गएका थिए । त्यहाँ एकजना जन्मैदेखिको अपाङ्ग भएर बसेको मानिस थियो । पावलले त्यो अपाङ्गलाई येशूको नाउँमा प्रार्थना गरे अनि त्यो तुरून्तै निको भयो । त्यो मानिस निको भएको कारण लुस्त्रा शहरका मानिसहरूले पावल र बर्णाबासलाई देवता भनी पूजा गर्न खोजे । पावलले त्यहाँका मानिसहरूलाई सम्झाउँछन् तपाईंहरूले भूल गर्दै हुनुहुन्छ । हामी तपाईंहरू जस्तै मानिस मात्र हौं । हामीले पनि एक समय अज्ञानतामा मानिसहरूलाई देवता भनी पूजा गर्ने गथ्र्यौं । हामी आ–आफ्नै रीतिअनुसार चलेका थियौं । तपाईंहरू पनि त्यसरीनै चलिराख्नुभएको छ । तपाईंहरूले परमेश्वरको विरूद्धमा पापहरू गरिराख्नुभएको छ । तर पनि सृष्टिकर्ता परमेश्वरचाहिँ तपाईंहरूप्रति भलो नै हुनुभएको छ भनी पावल भन्दछन्ः

“तापनि उहाँले आफूलाई गवाहीविना छोड्नुभएन, किनकि उहाँले भलो गरेर तपाईंहरूलाई स्वर्गबाट पानीको झरी र फलवन्त ऋतु दिनुभयो र तपाईंहरूका हृदयलाई भोजन र आनन्दले सन्तुष्ट पार्नुभयो” (प्रेरित १४ः१७) ।

परमेश्वरको भलोपन सबै मानिसहरूप्रति हुन्छ तर उहाँको भलोपन थाहा पाउन मानिसको हृदयबाट पाप हट्नुपर्छ । उहाँसँग ठीक सम्बन्धमा हुनुपर्छ । पापी हृदयबाट उत्तम कुराहरू वा भलाइको मूल फुट्न सक्दैन । हाम्रो हृदयबाट उत्तम कुराहरूको मूल फुट्नको निम्ति परमेश्वरको विरूद्धमा गरेको पापको क्षमा माग्नुपर्छ । परमेश्वरको बाटोमा हिँड्नुपर्छ । उहाँसँग हाम्रो ठीक सम्बन्ध हुनुपर्दछ ।

“सत्य मार्गमा हिँड्नेहरूलाई परमप्रभुले कुनै भलो थोकबाट बञ्चित राख्नुहुन्न” (भजनसंग्रह ८४ः११) । बाइबल धर्मशास्त्रअनुसार सत्य व्यक्ति हुनुहुन्छ । येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ । मद्वारा बाहेक ? कोही पनि पिताकहाँ आउन सक्दैन” (यूहन्ना १४ः६) ।

उहाँको बाटोमा हिँडनेहरूलाई असल कुराहरूको अभाव हुँदैन । उहाँलाई प्रेम गर्ने र उहाँको अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ गर्नुहुन्छ । “हामी जान्दछौ, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ” (रोमी ८ः२८) ।

परमेश्वरले सबै कुराहरूद्वारा भलाइ उत्पन्न गर्नुहुन्छ भन्ने सत्यता जान्यौं भने त्यसको परिणाम के हुन्छ ? सबै परिस्थितिमा परमेश्वरलाई धन्यवाद चढाइराख्न सक्छौं । किनकि उहाँ सबै भलाइ, असल, राम्रा कुराहरूको स्रोत हुनुहुन्छ । हाम्रो हेराइमा वर्तमानको परिस्थिति खराब, कुभलो जस्तो भएतापनि परमेश्वरसँग संगति गर्न, उहाँको बाटोमा निरन्तर हिँड्न, र निरन्तर प्रार्थनामा लागिरह्यौं भने प्रतिकूल परिस्थितिको समयमा पनि परमेश्वरले भलाइ उत्पन्न गर्न सक्नुहुुन्छ ।

मानविय भलाइ र ईश्वरीय भलाइमा के फरक छ ?

मानविय भलाइले हामीलाई तुरून्त खुशी पैदा गर्छ, क्षणिक आनन्द दिन्छ । तपाईंलाई पचास हजार रूपैंयाको खाँचो परेको थियो । कहाँबाट ल्याउने, कसरी यो खाँचो टार्ने तपाईं छट्पटाइराख्नुभएको थियो । तपाईंको एकजना साथीले पचास हजारको अभावले तपाईं संकष्टमा परेको थाहा पायो र पचास हजार सापटी दियो भने तपाईंको निम्ति त्यो कहिल्यै नबिर्सने भलाइ भयो । त्यो गुण अथवा भलाइप्रति तपाईं कृतज्ञ हुनुहुन्छ । तपाईं क्षणिक समयको लागि भएपनि आनन्दित हुन सक्नुहुन्छ । मानविय भलाइले चाहिँ छोटो समयको लागि भएपनि खुशी पैदा गर्छ, क्षणिक आनन्द दिन्छ । फेरि पैसाको अभाव हुन्छ फेरि अशान्ति हुन्छ ।

ईश्वरीय भलाइ अथवा परमेश्वरले गर्नुहुने भलाइले चाहिँ दीर्घकालिन आनन्द दिन्छ । परमेश्वरले गर्नुहुने भलाइले हामीलाई अनन्त जीवनमा पुर्‍याउँछ । परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभएर गर्नुभएको भलाइचाहिँ दीर्घकालिन भलाइ हो । ईश्वरीय भलाइमा क्षणिक ताडना पनि हुन्छ तर दुःख दिन होइन हामीलाई अझै फलवन्त बनाउनलाई हो । किसानले फल फल्ने रूखलाई छाँट्दा दुख्छ तर त्यसले पछिबाट बढी फल दिन्छ ।
ईश्वरीय भलाइचाहिँ पवित्र आत्माको फल हो (गलाती ५ः२२) । परमेश्वरले पवित्र आत्माद्वारा हाम्रो जीवनमा काम गर्नुहुन्छ अनि हामीमा भलाइको फल उत्पन्न हुन्छ । हामीलाई घृणा गर्ने, कुभलो चिताउनेहरूप्रति बदलाको भावना जगाउनको सट्टा प्रेमको भावना पैदा हुन्छ र तिनीहरूको लागि प्रार्थना गर्नसक्छौं । परमेश्वरले गर्नुहुने भलाइचाहिँ मानविय सोचभन्दा धेरै फरक छ ।

“उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ । धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ (मत्ती ४ः४५) ।” परमेश्वरले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ । धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ । यो धर्मीको घर रहेछ, यसलाई बढी समय उज्यालो, ताप दिनुपर्‍यो । यो पापीको घर रहेछ, यसलाई थोरै समय उज्यालो वा ताप दिनुपर्‍यो भन्दैन । यो पापीको खेत रहेछ, थोरै पानी दिनुपर्‍यो । यो धर्मीको खेत रहेछ, धेरै वृष्टि दिनुपर्‍यो भन्दैन ।

परमेश्वर भलो हुनुहुन्छ भनेको यही नै हो । हामीले उहाँको विरूद्धमा पाप गरिराखेको समयमा पनि प्रेम गरिराख्नुहुन्छ । मानिस दुष्ट भएको समयमा पनि परमेश्वरले उसको जीवनमा असल हुने काम गर्नुको उद्देश्यचाहिँ हो मानिसले यो जीवनमा नै उहाँको भलोपनलाई थाहा गर्न सकोस्, पापको पश्चात्ताप गर्न सकोस्,परमेश्वरको बाटोमा हिड्न र आफ्नो जीवनबाट असल कामहरू गर्न सकोस् भनेर नै हो । हामीहरूबाट असल कामहरू, भलाइका कामहरू हुनको निम्ति हामी पहिला असल बन्नुपर्छ । असल मानिस को हो ? बाइबल धर्मशास्त्रअनुसार असल मानिस त्यो हो जो परमेश्वरसगको संगतिमा रहन्छ र उहाँको आज्ञाअनुसार जीवन जिउँछ ।
“ए मानिस, जे असल छ, त्यो उहाँले तलाई देखाउनुभएको छ । र परमप्रभुले तँ
बाट के चाहनुहुन्छ ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू” (मीका ६ः८) । “प्रिय हो, खराबीको अनुकरण नगर, तर भलाइको अनुकरण गर । जसले भलो गर्दछ, त्यो परमेश्वरको हो, जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन” (३ यूहन्ना ११) ।
असल फल फलाउनको निम्ति व्यक्ति पहिला असल हुनुपर्छ । “कि रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ । कि रूखलाई खराब बनाओ र त्यसको फल पनि खराब हुनेछ । किनभने फलबाट नै रूख चिनिन्छ । ए सर्पका बच्चा हो । तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन् । असल मानिसले आफूभित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ” (मत्ती १२ः३३–३५) । “किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं । हामी ती बमोजिम हिँड़ौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो” (एफिसी २ः१०)। भलाइ गर्न भलाइको स्रोतले भरिनु आवश्यक छ । भलाइको स्रोत परमेश्वर स्वयं हुनुहुन्छ । के हामी भलाई गर्नुहुने परमेश्वरसँग संगति गर्दै उहाँको आज्ञाअनुसार जीवन जिउँदैछौ ?

ख्रीष्टमा पूर्ण जीवन – एल्डर सिमोन पाठक

August 5, 2016 | Articles  

कति मानिसहरू मेरो जीवन अधूरो छ, अपूरो छ, अर्थहिन छ भन्ने विचार गर्छन् । यो सोचले गर्दा कतिको जीवन, निराश, हतास, आशाविहीन हुन पुगेको छ तर परमेश्वरको वचनले बताउँदछ, ख्रीष्टमा हामीले पूर्ण जीवन पाएका छौं । कसरी हामीले ख्रीष्टमा पूर्ण जीवन पाएका छौं ? कलस्सी २ः९–१५ पदअनुसार ख्रीष्टमा हामी पूर्ण भएका छौं भन्ने कुराको तीनवटा आधारहरू पाउन सक्छौं ।

पहिलो आधार होः आत्मिकी खतनाद्वारा हामीले ख्रीष्टमा पूर्ण जीवन पाएका छौं (११ पद)

खतना भनेको शरीरको कुनै अंगलाई काटेर फाल्ने काम हो । खतनाको नियम व्यवस्था आउनुभन्दा धेरै समय अघि नै परमेश्वरले अब्राहामलाई ९९ वर्षको उमेर हुँदा खतनाको करार दिनुभएको थियो (उत्पत्ति १७ः९–१४) । अनि यहूदीहरूले यो परम्परालाई निरन्तरता दिँदै आएका थिए । यो एउटा विश्वासमा गरिँदै आएको धार्मिक विधि थियो । यो धार्मिक विधिले सांकेतिक रूपमा दुईवटा कुराहरूलाई दर्शाउँथ्यो । पहिलोचाहिँ हो खतना गर्ने मानिस र उसको परिवारले परमेश्वरमा विश्वास गरिसकेको कुरालाई बुझाउँथ्यो । जब मानिसले परमेश्वरमा भरोसा गर्दछ, तब उसले परमेश्वरमा विश्वास गरेको छु भनी साक्षीको रूपमा देखाउने चिन्ह थियो । खतनाद्वारा यो कुरालाई घोषणा गरिराखेको हुन्थ्यो कि म र मेरो परिवारले परमेश्वरलाई पछ्याएका छौं । हामी उहाँलाई पछ्याइरहने छौं । दोस्रोचाहिँ होः खतनाले शरीरमा भएको पाप स्वभावलाई काटेर फालिदिएको कुरालाई पनि संकेत गर्दथ्यो ।

शरीरको अंगलाई काटेर फाल्ने कुराले सम्पूर्ण पाप स्वभाव वा पापको थैलीलाई काटेर फालिएको छ भन्ने कुरालाई चित्रण गथ्र्यो ।

येशू ख्रीष्टले मानव जातिको पापको निम्ति क्रूसमा प्रायश्चित गर्नु अघिसम्म मानिसले परमेश्वरलाई पछ्याउन यो विधि पालना गर्नुपथ्र्यो तर ख्रीष्टको क्रूसको बलिदान र पुनरूत्थानपछि यो विधिको आवश्यकता छैन ।

येशूलाई ग्रहण गरेको दिन हामीहरू आत्मिक तवरले खतना भयौं । परमेश्वरले अब्राहामलाई दिनुभएको खतनाको कार्य गर्न हातको प्रयोग गर्नुपथ्र्यो, हतियार चलाउनुपथ्र्यो तर आज हामी हातहतियार नचलाइकन खतना भएका छौं । ख्रीष्टलाई ग्रहण गरेको दिन हामीमा भएको पापको थैली काटेर फालिदियौं । ख्रीष्टमा हामी धर्मी ठहरिएका छौं । हामी आत्मिक तवरले खतना गरिएका मानिसहरू हौं । आत्मिक खतनाद्वारा ख्रीष्टमा हामी पूर्ण भएका छौं । दोस्रो आधार होः पुनरूत्थानको जीवनद्वारा हामीले ख्रीष्टमा पूर्ण जीवन पाएका छौं (कलस्सी २ः१२–१३)

कलस्सी २ः१२ पदमा उल्लेख गरिएको बप्तिस्माको विषयमा ईश्वरशास्त्रीहरूको मतभेद छ । जुनसुकै बप्तिस्मा भएतापनि बप्तिस्माको अर्थचाहिँ एउटै नै हो । जब कुनै व्यक्तिले ख्रीष्टलाई ग्रहण गर्दछ त्यही दिन ऊ ख्रीष्टसँगै क्रूसमा टाँगिन्छ । ख्रीष्टको मृत्युमा ऊ सहभागी भएको हुन्छ । पुरानो स्वभावको निम्ति ऊ मारिन्छ अनि गाडिन्छ । ख्रीष्ट मारिनुभयो, गाडिनुभयो । उहाँलाई ग्रहण गरेका दिन हामी पनि उहाँसँग मारियौं अनि चिहानमा गाडियौं । ख्रीष्टसँग मारिनु, गाडिनु र पुनरूत्थानको जीवन पाउनुको पूर्ण चित्र पानीको बप्तिस्मामा देख्न सक्छौं । जब कुनै व्यक्तिले ख्रीष्टलाई ग्रहण गर्दछ त्यही दिन उसले पुनरूत्थानको जीवन पनि प्राप्त गर्दछ । ख्रीष्ट मृत्युबाट जीवित हुनुभयो अनि उहाँलाई ग्रहण गर्नेहरू सबैले उहाँसँग पुनरूत्थानको जीवन प्राप्त गर्दछन् । त्यसकारण पानीको बप्तिस्मा नलिनु भएकाहरूलाई मैले त पानीको बप्तिस्मा लिएको छैन जे गरेपनि हुन्छ भन्ने छुट छैन किनकि ख्रीष्टमा तपाईंहरूले पुनरूत्थानको जीवन पाइसक्नुभएको छ । ख्रीष्टमा विश्वास गर्ने मानिसले आफ्नो हृदयभित्र भएको विश्वासलाई बाहिर प्रकटीकरण गर्ने माध्यम पानीको बप्तिस्मा हो ।

ख्रीष्टमा विश्वास गर्ने व्यक्तिलाई जब पिता, पुत्र र पवित्र आत्माको नाउँमा पानीको बप्तिस्मा दिइन्छ, यसको अर्थचाहिँ हो ऊ ख्रीष्टसँगै पुरानो जीवनको निम्ति मारियो, ख्रीष्टसँगै गाडियो । ख्रीष्टको मृत्युमा ऊ सहभागी भयो । बप्तिस्मा लिनु ख्रीष्टसँग एक हुनु हो । जब पानीबाट बाहिर निस्कन्छ, यसको अर्थ हो ऊ ख्रीष्टको पुनरूत्थानमा सहभागी भयो । ख्रीष्ट जसरी मृत्युपछि जीवित हुनुभयो, त्यसरी नै ऊ पनि ख्रीष्टसँग नयाँ जीवनमा सहभागी भयो । अब उसले जिउने जीवनचाहिँ पुनरूत्थानको जीवन हो । नयाँ जीवन हो । ख्रीष्टमा हुनेहरूले पुरानो जीवन अब जिउँदैनन् । उनीहरूको आनी, बानी, बोलीचाली, चालचलन, व्यवहार, चरित्र सबैमा परिवर्तन हुन्छ । एकैचोटि सिद्धता नदेखिएला तर दिनदिन नयाँ जीवनको ढाँचामा बनिँदै जान्छन् ।

हामी जति जनाले पानीको बप्तिस्मा लिइसकेका छौं के हामी ख्रीष्टमा पुनरूत्थानको जीवन जिउँदैछौं ? पानीको बप्तिस्मा हृदयभित्र भएको परिवर्तनको बाहिरी प्रकटीकरण हो । पानीको बप्तिस्मा लिएको दिन जुन अठोट गरेर बप्तिस्मा लिएका थियौं, त्यहीअनुसार जीवन जिउँदै छौं के ? कति मानिसहरू पानीको बप्तिस्मा लिनुभन्दा अघि नियमित मण्डलीमा आउने, संगतिहरूमा जाने गर्दछन् । अनि बप्तिस्मा र समर्पणपछि बिस्तारै सेलाउँदै जान्छन् । कता–कता मानिसहरूले बप्तिस्माको अर्थ नबुझेर आफ्नो स्वार्थको लागि बप्तिस्मा लिएको जस्तो देखिन्छ । त्यस्ता मानिसहरूले आफैले आफैलाई ठगिराखेका हुन्छन् । पुनरूत्थानमा पाइने आत्मिक आशिष्हरूबाट आफैले आफैलाई बञ्चित गराइराखेका हुन्छन् ।

तेस्रो आधार होः स्वतन्त्रताद्वारा हामीले ख्रीष्टमा पूर्ण जीवन पाएका छांै (कलस्सी २ः१४–१५) ।

ख्रीष्टमा हामीले पाएको स्वतन्त्रतालाई बुझाउनको निम्ति तमसुकको उदाहरण दिइएको छ । तमसुक भनेको ऋण लिएको हुँ भनेर लिखित रूपमा सही छाप गरेर लेखिएको कागज हो । ऋण लिने मानिसले सबै ऋण नतिरेसम्म यो कागज च्यातिँदैन । ऊ ऋणको बन्धनमा बाँधिएको हुन्छ । उसले भनेको समयमा तिर्न सकेन भने उसको घरमा भएको सम्पत्ति पनि जफत हुन सक्छ । त्यो जमानामा लिएको ऋण तिर्न सकेन भने साहुको कमारो बन्नुपथ्र्यो । नेपालमा कमैया प्रथा अन्त्य भएको १६ वर्ष हुँदैछ । यो प्रथाको शुरूवातलाई हेर्ने हो भने मानिसले साहुबाट ऋण लियो, तिर्न सकेन अनि अन्त्यमा साहु महाजनको कमारा बन्नपुगेको पाइन्छ । ऋण लिन जान्ने तर तिर्न नजान्ने मानिस कमारो बन्न पुग्छ ।

परमेश्वरको कानूनमा पाप गर्ने मानिस पापको कमारो हुन्छ । पापको दण्ड मृत्यु हो । हामीले जन्मेदेखि गर्दै आएका पापको हिसाब राख्दै आएको भए अहिले सम्ममा त्यो किताब कत्रो हुन्थ्यो होला । किताबको बाहिरी भागमा पाप गर्ने व्यक्तिको नाउँ छ, अनि त्यो किताबको शीर्षक छ, पापको किताब । अब त्यो पाप मेटाउनलाई कति धर्मकर्म गर्ने, कति दान गर्ने, कति दिन व्रत बस्ने, कति असल कामहरू गर्ने ? मानिसले जति नै धर्मकर्म गरे पनि,  जति  नै असल कामहरू गरे पनि पापको ऋण तिर्न सक्दैन । पापको तमसुक कहिल्यै पनि च्यातिँदैन किनकि मानिसले पापको ऋण तिर्न नै सक्दैन । त्यही कारण ख्रीष्ट त्रूmसमा बलि हुनुभयो । पाप र शैतानको शक्तिमाथि विजयी हुनुभयो । जुन दिन मानिसले पापको स्वीकार गरेर, ख्रीष्ट क्रूसमा मारिनुभयो, गाडिनुभयो र तेस्रो दिनमा पुनरूत्थान हुनुभयो भनी  मुखले स्वीकार गर्छ अनि हृदयले  विश्वास  गर्छ  त्यही  दिन  नै उसको पापको तमसुक च्यातियो । रद्द गरियो । ऊ पाप र अन्धकारको शक्तिबाट स्वतन्त्र भयो ।

पावल लेख्छन्, “ए मृत्यु तेरो खील कहाँ ?” अब मृत्युको खील छैन । पापको दण्ड भोग्न मानिस नरकमा जानु पर्दैन । ख्रीष्टमा भएकाहरूलाई दण्डको आज्ञा छैन । जुन मौरीले मानिसलाई टोकिसकेको हुन्छ त्यसले तुरून्तै फेरि अर्कोलाई टोक्न खोज्दा उसको खील हुँदैन किनकि उसको खील पहिलो मानिसमै गाडिसकेको छ । प्रभु येशू ख्रीष्टले पापको खील, मृत्युको खील लिइसक्नुभएको  छ  ।   हामी  पाप  र मृत्युबाट स्वतन्त्र भइसकेका छौं ।

कति मानिसहरूले आफैलाई मेरो जीवन अधूरो छ, अपूरो छ, आशाविहीन छ भन्ने विचार गर्छन् । तर ख्रीष्टमा विश्वास गर्नेहरू उहाँमा पूर्ण भएका छन् । ख्रीष्टमा पुनरूत्थान र स्वतन्त्रताको जीवन छ । अब हामी कसमा जीवन बिताउने ? ख्रीष्टमा कि संसारमा देखिने थोकहरूमा ?

“पेन्तिकोस दिवस” – श्री स्टिफन राई

July 1, 2016 | Articles  

पेन्तिकोसको पृष्ठभूमि पुरानो करारमा पाइन्छ

“विश्राम दिनको भोलिपल्टदेखि अर्थात् तिमीहरूले डोलाउने बलिको बिटा ल्याएको दिनदेखि सात विश्राम दिन तिमीहरूले गन्नू अर्थात् सातौं विश्राम दिनको भोलिपल्टसम्म पचास दिन गन्नू । त्यही दिन तिमीहरूले परमप्रभुका निम्ति नयाँ अन्न बलि चढाउनू
(लेवी २३ः१५–१६) ।

मोशाको व्यवस्थाअनुसार इस्राएलीहरूले विभिन्न किसिमका चाडहरू मनाउनु पर्दथ्यो जस्तै निस्तार चाड, झुप्रोबासको चाड, अखमिरी रोटीको चाड इत्यादि । ती चाडहरूमध्ये एउटा चाडचाहिँ हप्ताहरूको चाड अर्थात् पेन्तिकोसको चाड थियो जसमा दिन र हप्ताहरू गन्नु पर्दथ्यो । सात हप्ताहरू गनिसकेर त्यसको भोलिपल्ट पचासदिन पुग्दा उनीहरूले परमप्रभुको निम्ति नयाँ अन्न बलि चढाउनु पर्दथ्यो (लेवी २३ः१६) ।

नयाँ करारमा आएपछि चाहिँ त्यस दिनलाई येशू ख्रीष्ट बौरी उठ्नुभएको दिनदेखि सात विश्राम दिनहरू गनेर त्यसको भोलिपल्ट आइतबारलाई मान्नु पर्दथ्यो (पेन्तिकोस पचास दिन) । २०१६ को पेन्तिकोस दिवस मे महिनाको १५ तारिख थियो ।

१. पेन्तिकोसको दिन पवित्र आत्मा ओर्लनुभएको दिन हो ।

जब पेन्तिकोसको दिन आइपुगेको थियो, पुनरूत्थानको ठीक पचासौं दिन आइपुगेको थियो । अचानक स्वर्गबाट ठूलो बतास बहेको जस्तो हुरूरूरू शब्द आयो ।

किनभने यूहन्ना ३ः८ मा लेखिएको छ, “बतास जता इच्छा गर्दछ त्यता बहन्छ” हुरूरूरू शब्द आयो र त्यसले उनीहरू बसेको जम्मै घर भरिदियो । यहाँ “हुरूरूरू” शब्दले पवित्र आत्माको उपस्थितिलाई जनाउँछ ।

चिरा चिरा परेका जिब्राहरूले पवित्र आत्माको आगोको बप्तिस्माको प्रतिनिधित्व गर्दछ । बप्तिस्मा दिने यूहन्नाले भनेका थिए, “म ता साँच्चै तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु तर एकजना मभन्दा शक्तिशाली आउँदै हुनुहुन्छ जसको जुत्ताको फिता खोल्ने लायकको म छैन । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ । आगो पवित्र आत्माको चिन्ह हो, बतास, ढुकुर, तेल पनि पवित्र आत्माको चिन्ह हो । पवित्र आत्मालाई आउनका लागि बाध्य गराउन सक्दैन । पवित्र आत्मा बतास होइन, बताससँग तुलना मात्र गरिएको हो ।

२. पेन्तिकोसको दिन पवित्र आत्माको राज्यभिषेकको दिन हो ।

पुरानो करारको समयमा पनि पवित्र आत्मा आउने जाने गर्नुहुन्थ्यो तर सधैँका लागि रहिरहने गरी पेन्तिकोसमा पवित्र आत्मा ओर्लनुभयो । गिदोन र शिमशोनमाथि पवित्र आत्मा आउनुहुँदा पनि ठूलो आश्चर्य कर्म भएको थियो । पुरानो करारको समयमा पवित्र आत्मा आउनुहुन्थ्यो र आफ्नो काम सकेर जानुहुन्थ्यो, तर पेन्तिकोसमा उहाँ सधैँभरि विश्वासीसित रहिरहनका लागि आउनुपर्ने थियो । येशूले भन्नुभयो, “म पितासँग बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को शान्तिदाता दिनुहुनेछ र उहाँ तिमीहरूसँग सधैँभरि रहनुहुनेछ” (यूहन्ना १४ः१६) ।

पवित्र आत्मा ख्रीष्टको मण्डली स्थापना गर्न आउनुभएको दिन भएकाले सम्पूर्ण मण्डलीको कार्यभार सम्हाल्नुभएकाले पेन्तिकोसको दिनलाई पवित्र आत्माको राज्यभिषेक दिन भन्नु अत्यूक्ति नहोला ।

पेन्तिकोसको शक्तिलाई ग्रीक (मूल) भाषामा “डुनामिस” भनेर भनिन्छ अनि डुनामिस शब्दबाट अंग्रेजी भाषाको डायनामा र डायनामाइट भन्ने शब्दहरू बनिएका हुन् । डायनामा भनेको बिजुली उत्पादन गर्ने यन्त्र हो अनि डायनामाइट भनेको विष्फोटक हो । जसरी डायनामाले ठूला ठूला शक्तिको काम गर्दछ भने डायनामाइटले चट्टानहरू फोर्ने काम गर्दछ भने, त्यसै गरी पवित्र आत्माको काम पनि त्यस्तौ हो । नेइम ज्ञानेश्वर मण्डलीमा पनि १९७० दशकदेखि पवित्र आत्माको भरपूरीले नेइममा आत्मिक जागृतिको कारणले मण्डली वृद्धि भएर गएको हो (प्रेरित १ः८) ।

वर्तमान समयमा पनि पवित्र आत्माको शक्तिको प्रदर्शन हुनु आवश्यक देखिन्छ ।

क. पहिलो कारणः मण्डली स्थापना गर्नुः पहिलो शताब्दिका मण्डलीहरूमा पवित्र आत्माको आगमनभन्दा अगाडि येशूका चेलाहरू पनि डरपोक थिए भन्ने कुरा हामीले धेरै उदाहरण पाउँछौं । पेन्तिकोसको दिनपछि कसरी साहसी भएर साक्षी र गवाही बनी मण्डली वृद्धि गर्ने काममा लागिरहे भन्ने प्रेरितको पुस्तकमा पाइन्छ (प्रेरित ६ः१, ७, ४ः३१–३२) ।

ख. दोस्रो कारणः चिन्ह र चमत्कारको निम्ति (सामाजिक सेवकाइ) मर्कूस १६ः१७ महान् आज्ञा मात्र नभएर रोगीहरू निको पार्ने, भूतहरू धपाउने जस्ता सामाजिक सेवकाइ समेत चेलाहरूले गरेका थिए ।

३. पेन्तिकोसको दिन प्रेरितहरूले दोब्बर पवित्र आत्माको शक्ति पाएर दोब्बर पवित्र आत्माको काम गरे ।

उदाहरणको लागि कुनै पनि गाडी १० लिटर पेट्रोल राख्दा जति टाढा जान सक्दछ, २० लिटर राखेको खण्डमा दोब्बर जान सक्दछ । एलिया र एलिसाको पनि उदाहरण हामीले हेर्न सक्दछौं । पेन्तिकोसको दिनपछि ठीक त्यस्तै काम पहिलो शताब्दिका मण्डलीहरूमा भएको पाइन्छ । प्रभुले भन्नुभएको महान् आज्ञा पूरा गर्नलाई आज मण्डलीको भक्ति र पवित्र आत्माको शक्तिमा मात्र महान् आज्ञा पूरा गर्न सक्दछौं । आमेन् !

जीवन कि मृत्यु ? हाम्रो छनोट – एल्डर गोपी राइ

June 6, 2016 | Articles  

सबै मानिस आमाको गर्भबाट एक पटक जन्मने हो । तर हाम्रो लागि दोस्रो पटक जन्मने अवसर पनि छ ।

बाइबलमा यूहन्ना ३ अध्यायमा निकोदेमस नाउँका फरिसीका बारेमा लेखिएको छ । प्रभु येशूलाई ती फरिसीले रातको समयमा आएर भन्छन्, “गुरुज्यू हामी जान्दछौं, तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन” (यूहन्ना ३ः२) ।

येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन ।” निकोदेमसले भने, “मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र ? के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन के सक्छ र ?”

येशूले भन्नुभयो, “कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन । शरीरबाट जन्मेको शरीर हो र आत्माबाट जन्मेको आत्मा हो ।”

हरेक मानिसको मनमा निकोदेमसको जस्तै प्रश्न हुन्छ । साँच्चै दोस्रो पटक जन्मनु सम्भव छ ? प्रभु येशूले भन्नुभयो सम्भव छ । हरेक जीवात् आमाको गर्भबाट जन्मन्छ । त्यो उसको लागि पहिलो जन्म हो । मानिस पनि पहिलो पटक आमाको गर्भबाट जन्मन्छ । तर उसको लागि त्यो जन्म मात्र पर्याप्त छैन । उसको लागि दोस्रो जन्म पनि आवश्यक छ । दोस्रो जन्म उसको विश्वाससँग सम्बन्धित छ । जसले प्रभु येशूको जन्म “मेरो निम्ति भएको हो” भनेर मानिलिन्छ र आफ्नो जीवनको मुक्तिदाता भनेर स्वीकार गर्छ भने त्यसको नयाँ जन्म हुन्छ र नयाँ जन्म भनेको फेरि जन्मनु भनेको हो । ऊ विश्वासद्वारा जन्मनु पर्छ । आमाको गर्भबाट जन्मेको शरीर हो । शरीरमा जन्मेर मात्र उसलाई पुग्दैन । आत्माबाट पनि जन्मेको हुनुपर्छ । यसैलाई दोस्रो जन्म भनिन्छ । आत्मामा जिउनुको लागि आत्माबाट जन्मेको हुनुपर्छ ।

जो दुई पटक जन्मन्छ, त्यो एक पटक मात्र मर्छ । तर जो एक पटक मात्र जन्मन्छ, त्यो दुई चोटि मर्छ । एउटा मानवमा २ वटा जीवन हुन्छ । शारीरिक जीवन र आत्मिक जीवन ! शारीरिक जीवन रहुन्जेल त्यससँगै आत्मिक जीवन पनि रहन्छ । शारीरिक जीवनको अन्त्यपछि आत्मिक जीवन बाँचिरहन्छ कि नास हुन्छ वा त्यसको पनि मृत्यु हुन्छ ?

२ कोरिन्थी ५ः१७ यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो कुरा बितिगएको छ, हेर नयाँ कुरा आएको छ । कसैले ख्रीष्टलाई पाएकोले मात्र नयाँ सृष्टि हुन्छ अर्थात् दोस्रो जन्म पाउँछ ।

अधर्मीहरू परमेश्वरका राज्यका हकदार हुँदैनन् भन्ने तिमीहरूलाई थाहा छैन, धोका नखाओ अनैतिकहरू, मूर्तिपूजकहरू व्यभिचारीहरू,समलिङ्गीहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू, परमेश्वरका राज्यको हकदार हुने छैनन्” (१ कोरन्थी ६ः९–१०) । हिजोको जन्म हाम्रो इच्छाद्वारा भएको होइन न त मृत्यु नै हाम्रो इच्छामा भर पर्छ । दुवै हाम्रो बशमा छैनन् । हाम्रो जन्म र हाम्रो आयु परमेश्वरद्वारा निर्धारित हुन्छ र मृत्यु अवश्यम्भावी छ ।

शारीरिक मृत्यु जन्मेपछि एकदिन हुन्छ नै । तर जब मानिसले आफ्नो पाप स्वीकार गर्छ र प्रभु येशुकहाँ पश्चात्ताप गर्छ भने आत्माको मृत्युबाट बाँच्छ । दोस्रो मृत्यु ल्याउनेचाहिँ पाप हो । जसले पापलाई स्वीकार गर्छ र फर्कन्छ भने त्यो दोस्रो मृत्युबाट बाँच्छ अर्थात् आत्मिक मृत्युबाट बाँच्छ र अनन्त जीवनमा प्रवेश गर्छ । “तिनले एउटा पुत्र जन्माउनेछिन्, तिमीले उहाँको नाउँ येशू राख्ने छौं, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनु हुनेछ अर्थात् मुक्ति दिनुहुनेछ” (मत्ती १ः२१) ।

२ कोरिन्थी ५ः१७ मा लेखिएको छ, “यदि कोही ख्रीष्टमा छ त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर नयाँ आएको छ ।”
रोमी ३ः२३ ले भन्छ, “सबै मानिसले पाप गरेका छन् र परमेश्वरको महिमामा पुग्नबाट चुकेको छन् ।” रोमी ६ः२३ ले भन्छ, “किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैंको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो ।”

पापले दोस्रो मृत्यु ल्याउँछ । किनकि सबै पाप गर्नको लागि मृत्युको दण्ड छ । यो मृत्यु आत्माको मृत्यु हो । यो दोस्रो मृत्यु हो । तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू हत्याराहरू, व्यभिचारीहरू, जादुगरहरू, मूर्तिपूजकहरू, झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ । यो दोस्रो मृत्यु हो । (प्रकाश २१ः८) । रोमी ८ः१ ले भन्छ, उहाँमा अर्थात् येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन अर्थात् अनन्त जीवन छ । इसाईहरू मृत्यु पश्चात् अनन्त जीवनमा प्रवेश गर्छन् । अन्त्य नहुने जीवनमा प्रवेश गर्छन् । अनन्त जीवन पाउनेहरू परमेश्वरका राज्यमा जान्छन् जहाँ आनन्द छ ।

हाम्रो वशमा भएको कुरा चाहिँ हाम्रो जीवन कालमा नै दोस्रो जीवन कि दोस्रो मृत्यु छान्ने मौका हो । दोस्रोमा एउटा छनोट गर्न सकिन्छ । जब जीवन छनोट गर्छौं भने त्यो हो अनन्त जीवन । त्यसको लागि येशू प्रभुलाई मुक्तिदाता भनेर स्वीकार गर्नुपर्छ । हामी छनोट गर्दैनौं भने दोस्रो मृत्युमा पुग्छौं । त्यो भनेको नरक अर्थात् बाईबलमा उल्लेख गरिएको दोस्रो मृत्यु हो । पाप गर्ने तर पश्चात्ताप नगर्नेहरूको मार्ग दोस्रो मृत्यु हुन्छ ।

हामीलाई पनि कसैले सुसमाचार सुनायो । हामीले पनि सुसमाचार सुनाउने कर्तव्य हो र मत्ती २८ः१८–२० मा प्रभुको आज्ञा पनि हो । तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्तअधिकार मलाई दिइएको छ । यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ पिता, पुत्र र पवित्रआत्माको नाउँमा तिनीहरूलाई बप्तिसमा देओ । मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । हेर युगको अन्तसम्म म तिमीहरूको साथमा छु ।”

रोमी १०ः१४–१५ – तर जसलाई विश्वास गरेकै छैन उहाँलाई मानिसहरूले कसरी पुकार्ने ? जसको विषयमा सुनेकै छैनन्उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने र प्रचारकविना तिनीहरूले कसरी सुन्ने ? र कसैले नपठाइकन मानिसहरूले कसरी प्रचार गर्ने ? जस्तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर ।” नसुनिकन कसैले थाहा नै पाउँदैनन् । थाहा पाएपछि मात्र विश्वास गर्ने हो । त्यसैले सुसमाचार सुनाउनै पर्छ । त्यसैले दोस्रो जन्म लिनु आवश्यक छ । कसैले नयाँ जन्म पाउँछन् भने सन्तान सुखको रूपमा किन नलिने ? हामीले सित्तैंमा पाएको कुरा सित्तैंमा किन नदिने ?

हामीहरू संसारका नून हौं – एल्डर घन श्याम दाहाल

May 6, 2016 | Articles  

येशू ख्रीष्टले मत्ती पाँच अध्यायमा आफ्ना चेलाहरूलाई मात्रै डाँडामा बोलाउनुभई उपदेश दिनुभएको छ । पाँच अध्यायको शुरूमा शीर्षक पनि डाँडाको उपदेश भनेर दिएको छ ।

यहूदी चलनअनुसार येशूले बसेर आफ्ना चेलाहरूलाई उपदेश दिनुभयो । येशू ख्रीष्टले यही उपदेश दिनुहुँदा चेलाहरूको जिम्मेवारीको बारेमा बताउनुभयो जुनचाहिँ मत्ती ५ः१३–१६ मा हामीले अध्ययन गर्न सक्छौं । यस खण्डमा येशूले चेलाहरूलाई जिम्मेवारीको विषयमा बुझाउनलाई नून र ज्योतिको प्रयोग गर्नुभएको छ ।

यहाँ चेलाहरूलाई जिम्मेवारीको विषयमा बताउनलाई किन नून लिनुभयो ? यसको अर्थ बुझ्नलाई परमेश्वरको वचनबाट केही कुराहरू हेर्नेछौं ।

परमेश्वरको वचनमा पुरानो करार र नयाँ करार दुवै खण्डमा नूनको महत्व विशेष प्रकारको पाइन्छ । पहिलो शताब्दीतिर पनि यहूदी समाजमा नूनको विशेष महत्व थियो । यसकारण येशूले आफ्ना चेलाहरूलाई तोकेर नै भन्नुभयो, “तिमीहरू पृथ्वीका नून हौ” । नून र ज्योति बाइबलका अलंकारिक शब्दको रूपमा प्रयोग भएका छन् ।

नून एउटा ठोस पदार्थ हो । नून दुईवटा तत्वहरू मिलेर बनेको हुन्छ । जसमा ठोस सोडियम र झोल क्लोरिन मिलेर खाने नून सोडियम क्लोराइड बन्दछ ।

यस खण्डमा चेलाहरूको आत्मिक जिम्मेवारीको बारेमा स्पष्टसँग बताउनलाई नूनको प्रयोग गरिएको छ ।

१. चेलाहरूको पहिलो जिम्मेवारीः नूनले स्वाद ल्याउने काम गर्दछ । यो आफै बिलाउँछ, त्यसपछि त्यसको नूनिलोपना थाहा पाउन सकिन्छ । नून नबिलाएसम्म त्यसले अलिनोलाई नूनिलो बनाउन सक्दैन । नून देख्दा साधारण छ तर यसको काम भने असाधारण छ । त्यस बेलाको यहूदी समाजमा नून नभएको अचारजस्तै खल्लो, निरासले भरिएको समाज, बेचैनी, चिन्ता, फिक्रीले ग्रस्त समाजलाई आत्मिक आशाको खाँचो थियो । निरासमा डुबेको समाजलाई आशा आवश्यकता थियो । त्यसैले येशूले चेलाहरूलाई यो जिम्मेवारी दिनुभएको थियो ।

२. चेलाहरूको दोस्रो जिम्मेवारीः नूनले तिर्खा जगाउने काम गर्दछ । भौतिक शरीरमा नूनको सेवन गर्नाले शरीरलाई तिर्खा जागेर आएजस्तै निरास र बेचैनी समाजलाई परमेश्वरप्रति तिर्खा जगाउनको लागि चेलाहरूको जीवन नूनजस्तै हुनुपर्दछ भन्ने बुझिन्छ । चेलाहरूको जीवन शैली देखेर ख्रीष्टबिहीन समाजलाई ख्रीष्ट येशूप्रतिको आत्मिक तिर्खा जगाउनका निम्ति येशूले चेलाहरूलाई यो जिम्मेवारी दिनुभयो ।
३. चेलाहरूको तेस्रो जिम्मेवारीः नूनले संरक्षण गर्ने काम गर्दछ । नून राख्नाले अचार लगायतका अन्य खानाहरूलाई कुहिन, सड्नबाट संरक्षण गरेर राखेजस्तै त्यस बेलाको यहूदी समाज पनि अन्याय, अत्याचार, लोभ, रीस झैँ–झगडा आदिले ग्रस्त समाजमा छुट्काराको आवश्यकता थियो । असल कुराहरूको संरक्षण र खराब कुराहरूको अन्त गर्नु आवश्यक थियो । यो चेलाहरूलाई दिएको तेस्रो जिम्मेवारी थियो । आज हामीहरूको समाजमा पनि हाम्रो जिम्मेवारी असल कुराको संरक्षण र खराब कुराको निर्मूल गर्नु हो ।

४. चेलाहरूको चौथो जिम्मेवारीः नूनले निको पार्ने काम गर्दछ । भौतिक शरीरको कुनै पनि भाग सुनिएको अवस्थामा भौतिक शरीरलाई नूनको प्रयोगले निको पारे जस्तै आत्मिक बिरामी अवस्थाबाट स्वतन्त्र गर्न चेलाहरूलाई दिइएको जिम्मेवारी हो । आज हाम्रो समाज पनि आत्मिक रोगले ग्रस्त छ, यसलाई छुट्काराको आवश्यकता छ र सो जिम्मेवारी येशू ख्रीष्टले हामीहरूलाई दिनुभएको छ ।

५.चेलाहरूको पाँचौं जिम्मेवारीः नूनले शुद्धिकरण गर्ने काम गर्दछ । पुरानो करारमा नूनलाई शुद्धिकरण गर्ने काममा प्रयोग गरिन्थ्यो । नूनले शुद्धता र पवित्रताको काम पनि गर्दथ्यो भन्ने कुरा हामी पुरानो करारमा पाउँछौं (इजकिएल १६ः४, प्रस्थान ३०ः३५) । त्यस बेलाको यहूदी समाजमा शुद्धता र पवित्रता थिएन । त्यसकारण येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू शुद्धता र पवित्रताको नमूना बन्नु पर्दछ” ।

आज हामीहरूले येशू ख्रीष्टलाई विश्वास गरी समर्पण गरेर उहाँलाई पछ्याएका छौं भने हामीहरू उहाँका चेलाहरू हौं । यदि हामी उहाँका चेलाहरू हौं भने उहाँले दिनुभएको जिम्मेवारीलाई पूर्ण रूपमा पालन गर्न प्रतिवद्ध हुनुपर्दछ । चेलाहरूलाई भन्नुभएको जिम्मेवारी उहाँलाई पछ्याउने सबैको जिम्मेवारी हो । उहाँले हामीहरूलाई भन्नुभयो, “तिमीहरू पृथ्वीका नून हौ” । यदि नून साँचो नून भएन भने त्यो बिलाउँदैन, त्यसले केही परिवर्तन गर्न सक्दैन । यो खाने नून २ वटा तत्वहरू सोडियम धातु र क्लोरिन मिलेर खाने नून जसलाई सोडियम क्लोराइड भनिन्छ । यो खाने नूनलाई विद्युतको उपकरणद्वारा विच्छेदन गरी छुट्याएको खण्डमा सोडियम धातु एकतिर जम्मा हुन्छ भने अर्कोतिर क्लोरिन ग्याँस जम्मा हुन जान्छ । सोडियम धातु चिसोमा र पानीमा जल्ने भएकोले सोडियमलाई मट्टीतेलमा डुबाएर राखिन्छ । त्यस्तै क्लोरिन ग्याँस जुन जम्मा हुन्छ, त्यो अति नै विषालु ग्याँस बन्दछ । यो मानिसलाई लठ्याउने, चिरफार गर्ने काममा प्रयोग गरिन्छ । अर्कोतिर सोडियम धातु पानी र चिसोमा जल्ने भएकोले आफू पनि जल्छ र अरूलाई पनि जल्न मद्दत गर्दछ । आज हामी कस्तो प्रकारको येशूको चेला चेली बनेका छौं ?
आज समाजमा हाम्रो असर संसारलाई परेको छ कि समाजको असर हामीलाई परेको छ ? समाज रोगी, चिन्ताले भरिएको, भ्रस्ट, व्यभिचार, झूट, असत्य, दुर्गन्धले भरिएको छ भने हामीहरूबाट के ख्रीष्टको सुगन्ध फैलिँदै छ ? आफैले आफैलाई मूल्याङ्कन गर्नु जरूरी देखिन्छ ।

के आज हामीहरू येशू ख्रीष्टले दिनुभएको जिम्मेवारी, साँचो चेला चेलीको रूपमा पूरा गरिरहेका छौं ? कि हामी जलनसील सोडियम धातु जस्तै आफै पनि जल्ने र अरूलाई पनि जल्न मद्दत गरिरहेका छौं ? कि हामी विषालु क्लोरिन ग्याँस जस्तै भएका छौं ?

येशू ख्रीष्टले दिनुभएको जिम्मेवारी, समाजलाई संरक्षण गर्नु र येशू ख्रीष्टको सुबास्ना फैलाउनु, शान्ति, मेलमिलाप सृजना गर्नु, परमेश्वरप्रति मानिसहरूलाई तिर्खा जगाई परमेश्वरको बाटोमा डोर्‍याउने काममा प्रयोग हुुन आउँछ । परमेश्वरले हामीहरूलाई अनुग्रह गरून् कि हामीहरूको जीवनद्वारा हामीहरू रहेको समाज असल, स्वच्छ, स्वस्थ, शान्ति र मेलमिलापमा रहनलाई हामीहरू नून जस्तै प्रयोग हुन सकौं र परमेश्वरको महिमा गर्दै जीवन जिउनेहरू बनौं ।

परमेश्वरको आवाज सुन्नु – एल्डर गोपी राई

April 4, 2016 | Articles  

परमप्रभुले अब्रामलाई भन्नुभयो, तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा । म तँबाट ठूलो जाति खडा गर्नेछु र तँलाई आशिष् दिनेछु । म तेरो नाउँ प्रसिद्ध गराउनेछु र तँ आशिष्को मूल हुनेछस् । तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु। तँद्वारा नै पृथ्वीका सबै कूलले आशिष् पाउनेछन् । यसैकारण परमप्रभुले भन्नुभएबमोजिम अब्राम गइहाले र लोत पनि तिनीसँग गए । हारानबाट निस्केर जाँदा अब्राम पचहत्तर वर्षका थिए । अब्राम, तिनका पत्नी साराई र तिनका भतिजा लोत र तिनीहरूले जम्मा गरेका सबै धनसम्पत्ति र हारानमा प्राप्त गरेका मानिसहरूलाई लिएर कनान देशमा जानलाई निस्के र त्यहाँ पुगे । (उत्पत्ति १२ः१–५)

अब्रामसँग परमेश्वरले ३ वटा कुरा छोड्न भन्नुभयो ।

(१) तेरो देश छोड् । अब्राम बस्ने देश कल्दीहरूको देश ऊर थियो । त्यहाँ बस्ने जाति पनि मूर्तिपूजक थियो । परमेश्वर मूर्तिपूजालाई घृणा गर्नुहुन्छ । परमेश्वर अब्रामलाई मूर्तिपूजकहरूबाट अलग बनाउन चाहनुहुन्थ्यो । मूर्तिपूजाबाट अलग हुनको लागि त्यो ठाउँ छोड्नु पथ्र्यो । त्यो ठाउँ नछोडेसम्म अब्रामले परमेश्वरले उनलाई र उनको सन्तानलाई दिन लाग्नुभएको आशिष् उपभोग गर्न पाउने थिएन किनकि त्यहाँ मूर्तिपूजाको बन्धन थियो, जहाँबाट उनी तनिस्कनुपथ्र्यो ।

(२) दोस्रो कुरा अब्रामलाई परमेश्वरले कुटुम्ब, नातेदार छोड् भन्नुभयो । किनकि उनका नातेदार, आफन्त र कुटुम्बहरू पनि स्वाभाविक रूपमा मूर्तिपूजकहरू थिए । आफन्त र नातेदारहरूको कारणले पनि अब्राहाम मूर्तिपूजाबाट अछुतो रहन गाह्रो थियो । त्यसैले परमेश्वरले अब्रामलाई आफन्त, नातेदार र कुटुम्बहरूको प्रभावबाट छुटाउन चाहनुहुन्थ्यो । आफन्त र कुटुम्बहरूको प्रभाव बाहिर अब्रामको लागि परमेश्वरले ठूलो आशिष् राखिदिनुभएको थियो ।

(३) तेस्रो कुरा तेरो घर छोड् भन्नुभयो । घर छोड्न धेरै गाह्रो कुरा हो । किनकि घरमा धेरै सुविधा हुन्छन् । केही साह्रो–गाह्रो पर्‍यो कि घरकाहरूले सहायता गर्छन् । दाजुभाइ, दिदीबहिनी, काकाकाकी, भतिजा, भतिजीहरूले सहयोग गर्छन् । हेरचाह गर्छन् । ठीक–ठीक समयमा खाना पाइन्छ । घरबाहिर ती सबै कुरा सम्भव हुँदैन । थकाई लाग्छ । भोक लाग्छ । आमा बाबुको माया त्याग्नुपर्छ । सुख सुविधा त्याग्नुपर्छ ।

घरमा भएसम्म त्यहाँ गरिने रीतिविधि, परम्परा, चलन र संस्कार अनुसार नै गर्नुपर्छ । घर छोड्यो भने आफन्त स्वतः छोडिन्छ । परमेश्वरले अब्रामलाई ऊ बसेको ठाउँबाट टाढा जानको लागि भन्नुभयो । अब्राम आज्ञाकारी भएर त्यहाँबाट गइहाले । उनले म कोसँग जाने ? कसरी जाने ? के के बोक्ने ? भनेर सोधेनन् । जब उनले परमेश्वर बोलेको सुने, उनले परमेश्वर नै बोल्नुभएको हो भनेर भरोसा गरे । भरोसा मात्र गरेनन्, उनले विश्वासमा कदम पनि चाले ।

हामी कति जनालाई परमेश्वर बोल्नुहुन्छ भन्ने थाहा पनि हुँदैन । त्यो हदसम्मको भक्तिमा उनीहरू पुगेका हुँदैनन् । कति जनाचाहिँ परमेश्वर बोल्नुभयो भने के भनेर बोल्ने हो बरू नबोलेकै राम्रो भनेर परमेश्वरलाई बोल्नबाट रोक्छन् । परमेश्वरसँग घनिष्ठतामा पुग्न चाहँदैनन् । अर्को वर्गका मानिसहरूचाहिँ आफूलाई मनपर्ने कुरा हो भने स्वीकार्ने र आफूलाई आर्थिक, भौतिक फाइदा नहुने कुरालाई बेवास्ता गर्छन् र भन्छन् यस्तो पनि हुन्छ र ? यसले त मलाई घाटा लाग्छ, नोक्सानी पुर्‍याउँछ । त्यसैले यो परमेश्वर बोलेको होइन भनेर हल्का रूपमा लिन्छन् । उनीहरूको जीवनमा आज्ञापालन हुँदैन । अनि उनीहरू परमेश्वरलाई एउटा नोकर जस्तो गरी काम अह्राउँछन् र भन्छन् यस्तो गर्नुहोस् उस्तो गर्नुहोस्। आशिष् दिनुहोस् । आशिष् त आज्ञापालनमा छ । अब्राहाम गइहाले। आफ्नी श्रीमती साराई, भतिजा लोत र आफूले प्राप्त गरेका नोकरहरू लिएर निस्के । त्यहाँ पुगेपछि परमेश्वरले भन्नुभयो, म यो देश तेरो सन्तानलाई दिनेछु । परमेश्वरले अब्राहामलाई त्यस ठाउँमा पुगेपछि निश्चयता दिनुभयो । तब उनले परमप्रभुको लागि वेदी बनाए । परमेश्वरलाई आदर गरे ।

अब्राम निस्कने बेलामा ७५ वर्षका थिए । एउटा सन्तान पनि थिएन । त्यसपछि त्यो ठाउँमा पुगेर पनि अब्रामले २५ वर्ष पर्र्खनुपर्‍यो । त्यहाँ पनि उनले धेरै उतार चढाव सामना गरे । अनिकालमा पर्‍यो र मिश्रतिर जानुपर्‍यो । तर मिश्रतिर जाँदा श्रीमतीबाट अलगिनु पर्‍यो । डरमा जिउनुपर्‍यो । तर परमेश्वरको योजना अर्कै थियो । उहाँले उत्पत्ति १२ः३ मा प्रतिज्ञा गर्नुभएको “तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु र तँलाई सराप दिनेलाई सराप दिनेछु ।” यसको अर्थ सुरक्षा हो । यहाँ परमेश्वरले सुरक्षाको प्रत्याभूति (ग्यारेन्टी) दिनुभएको हो । फारोले साराईलाई लग्यो । तर परमेश्वरले त्यसको कारणले फारोको घरानामा विपत्ति ल्याउनुभयो । जसको कारणले फारोले साराईलाई कुनै हानी गर्न पाएन । परमेश्वरले आफ्नो भय फारोकहाँ पुर्‍याउन चाहनुहुन्थ्यो । फारोले साराईको खातिर नोकर चाकर, गाईवस्तु, भेडा, गधा र ऊँटहरू दिए । पछिबाट साराई पनि फिर्ता गरिदिए । परमेश्वरलाई प्रेम गर्ने र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति परमेश्वरले सबै कुरा मिलाएर भलाई नै उत्पन्न गर्नुहुन्छ (रोमी ८ः२८) ।

अब्रामको साथ लागेर लोतले पनि प्रशस्त आशिष् पाए । उत्पत्ति १३ः५–१८ सम्म हेर्‍यौं भने अब्राम मात्र धनाढ्य भएको होइन । तर लोतले पनि प्रशस्त आशिष् पाएको देख्छौं । अब्रामले आफ्ना भतिजा लोतलाई दुवैका भेडा बाख्रा र गाईवस्तुको सम्पत्ति प्रशस्त भएकोले छुट्टिने सल्लाह दिन्छन् । किनकि काका भतिजाका गोठालाहरूका बीचमा झगडा भैसकेको थियो (७ पद) । अब्रामलाई गोठालाहरूका कारणले काका भतिजाको बीचमा नै झगडा होला कि भन्ने डर थियो । अब्रामले आफ्नो लोतलाई भन्छन्, “सारा देश तिम्रो अगि छ । तिमी मबाट अलग होऊ । तिमीलाई जता मन लाग्छ, छानेर लेऊ । तिमी देब्रे गए म दाहिने लागुँला, तिमी दाहिने लागे म देब्रे लागुँला ।”

लोतले आफ्ना आँखा उठाएर हेर्दा यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैंचाजस्तै चारैतिर पानीले भिजेको थियो । लोतले यर्दनको जम्मै बेँसी रोजेर पूर्वतिर लागे । त्यसपछि परमेश्वरले अब्रामलाई भन्नुभयो, अब तेरा आँखा उठाएर तँ भएको ठाउँबाट पूर्व, पश्चिम, उत्तर, दक्षिणतिर हेर् । तैंले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई सधैँका लागि दिनेछु । तेरा सन्तानलाई पृथ्वीको धुलोसरह बढाउनेछु। उठ्, देशको चारैतिर जा । अब्रामले परमेश्वरको आदरस्वरूप वेदी बनाएको हामी देख्छौं । परमेश्वरले अब्रामलाई भन्नुभयो, चारैतिर आँखा उठाएर हेर् । तर पूर्वतिरका ठाउँ लोतले छानेर लगिसकेको थियो । बूढेसकालसम्म एउटा सन्तान पनि थिएन । तर तेरो सन्तान धुलो सरह बढाउनेछु । अब्रामको लागि उत्तर, दक्षिण र पश्चिम नै प्रशस्त थियो । फेरि परमेश्वरले कुन सन्तानको कुरा गर्नुभएको होला ? इसहाकको जन्म भैसकेको थिएन । झण्डै २५ वर्षको प्रतिक्षापछि मात्र इसहाक जन्मेका हुन् । परमेश्वरले अब्रामलाई प्रतिज्ञा गरेर दिन्छु भन्नुभएको देश कनान हो । जहाँ दूध र मह बग्ने उल्लेख छ । जुन देश अब्रामका नाति याकूब अर्थात इस्राएलका छोराहरू १२ कूललाई मिश्र अर्थात् दासत्वको मुलुकबाट निकालेर ल्याउनुभयो । मोशाको नेतृत्वमा मिश्रबाट निकालेर ल्याउनुभयो र यहोशूको नेतृत्वमा त्यहाँ पुर्‍याउनुभयो ।

धेरै मिशनरीहरूले घर छोडेका छन् । धेरै टाढा जानु पर्दैन । हाम्रै पाष्टर गुरुबा रोबर्ट कार्थकले परमेश्वरको आवाज सुन्नुभयो र देश छोड्नुभयो । नातेदार, कुटुम्ब र आफन्त छोड्नुभयो । घर छोड्नुभयो। अरूलाई आफ्नो बनाउनुभयो । तर उहाँका आफन्तहरू जत्तिकै माया गर्नेहरू मण्डलीमा धेरै जना छन् । कति जनाले अझ बढी माया गर्दा हुन् । जसले गर्दा हामीहरूले परमेश्वरलाई चिन्न पायौं ।

हाम्रो लागि पनि परमेश्वरले आशिष् राखिदिनुभएको छ । तर के हामीले परमेश्वरको आवाज सुनेका छौं ? परमेश्वरको भरोसा गरेका छौं ? परमेश्वरको भरोसामा कदम चालेका छौं ?

परमेश्वरले छोड् भन्नुभएको पुरानो जीवन छोडेका छौं ? पुरानो बानी, व्यहोरा, जीवनशैली, घमण्ड, इष्र्या, पाप गर्न छोडेका छौं ? परमेश्वर भन्नुहुन्छ, “रोग, बिमारी, पाप, अधर्म छोडेर आइज ।” के हामी तयार छौं त ?

आजको आवश्यकता–परमेश्वरलाई चिन्ने पुस्ताको निश्चयता – डिकन अर्जुन ढकाल

March 3, 2016 | Articles  

मानिसहरूले आफ्ना बाल–बालिकाहरूलाई येशूले छोइदिऊन् भन्ने उद्देश्यले उहाँकहाँ ल्याए, वास्तवमा यो निकै नै असल कुरो हो । तर दुःखको कुराचाहिँ के भने चेलाहरूले तिनीहरूलाई हकारे अथवा बाल–बालिकाहरूलाई येशूकहाँ आउनबाट रोक्न खोजे । यो व्यवहार प्रभु येशूलाई मन परेन र उहाँले भन्नुभयो, “साना बाल– बालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक ।” उहाँले बाल–बालिकाहरूलाई छुनु मात्र भएन तर काखमा लिनुभयो, आफ्ना हात राख्नुभयो र आशीर्वाद दिनुभयो । यो कुराबाट हामी स्पष्ट हुन सक्छौं कि बाल–बालिकाहरूप्रति येशूको प्रेम निकै ठूलो थियो । मानिसहरूले बाल–बालिकाहरूलाई झन्झटिला सोचे तापनि येशूले उनीहरूलाई प्रेम दर्शाउनुभयो (मर्कूस १०ः१३–१६) । उहाँले भन्नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक । किनभने परमेश्वरको राज्य यस्तैहरूको हो । साँच्चै म तिमीहरूलाई भन्दछु, जसले एउटा बालकले जस्तै परमेश्वरको राज्यलाई ग्रहण गर्दैन, त्यो कुनै रीतिले त्यसभित्र प्रवेश गर्नेछैन ।”

केही समय अगाडि इराक देशमा घटेको एउटा घटना स्मरणयोग्य छ । जब विद्रोहीहरूले आफ्ना कब्जामा रहेका ख्रीष्टियान बाल–बालिकाहरूलाई तिमीहरू येशूलाई इन्कार गर, हामी केही गर्दैनौं भने, मृत्यु निश्चित भइसकेको अवस्थामा पनि निकै साहसका साथ उनीहरूले आफूहरू येशूलाई प्रेम गर्ने भएकाले उहाँलाई त्याग्न नसक्ने बताए । आज ती बाल–बालिकाहरूको त्यो साहस सारा संसारभरका इसाईहरूका निम्ति उत्साह र चुनौति बनेको छ । आत्मिकी कुराहरूभन्दा सांसारिक कुराहरूको व्यापकता भएको यस संसारमा हाम्रा बाल–बालिकाहरूलाई येशूकहाँ ल्याउनु, उहाँबाटको मार्ग निर्देशन खोज्ने बनाउनु अपरिहार्य छ । “बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन” हितोपदेश २२ः६ । हामी बाबुआमा तथा अभिभावकहरूले हाम्रो घर वा मण्डलीका बाल–बालिकाहरूलाई प्रभुको वचनअनुरुप हिँड्न सिकाउनु परेको छ । व्यवस्था ६ः७ मा उल्लेख गरेझैँ “ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ । घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर ।” यदि हाम्रो घर ख्रीष्ट–केन्द्रित घर हुने हो भने हाम्रो घरमा ख्रीष्टको चर्चा हुनु जरुरी छ । आज हाम्रो घरमा चर्चाको विषय के बनेको छ ?

बाबुआमा/अभिभावक आफै उदाहरण बनेर प्रभुलाई प्रेम गर्न र उहाँका आज्ञापालन गर्न बाल–बालिकाहरूलाई सिकाउनुपर्छ । हामीले बाल–बालिकाहरूका आत्मिक जीवनका बारेमा पनि ख्याल गर्नु अपरिहार्य छ । मण्डलीमा बालसंगति भइरहेको छ अनि कतिपटक हाम्रा बाल–बालिकाहरू बालसंगतिमा हुनुपर्ने हो तर बाहिर नै हुन्छन्, यस विषयमा पनि हामीले चासो राख्नु जरुरी छ । खाना खाऊ, पढ, लेख, सुत, उठ, विद्यालय जाऊ भन्ने मात्रै नभएर अभिभावकहरूले उनीहरूलाई बाइबल पढ्ने, प्रार्थना गर्ने, बालसंगतिमा पठाउने, भजन गाउने अनि सबै कुराहरूमा परमेश्वरलाई धन्यवाद दिनेजस्ता आत्मिकी कुराहरू पनि सम्झाउनु/सिकाउनु आवश्यक छ । उनीहरूलाई हामीले यो पनि भन्न सक्नुपर्छ, “मेरो अनुकरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुकरण गर्दछु” १ कोरिन्थी ११ः१ ।

अभिभावकहरूको अर्को जिम्मेवारी बाल–बालिकाहरूलाई नचिढ्याउनु अर्थात् रीस नउठाउनु तर उनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काउनु हो (एफिसी ६ः४) । बाबुआमाले निरन्तर प्रार्थनाको साथमा बाइबलीय शिक्षा र सिद्धान्तमा आधारित व्यवहार दर्शाउने हो भने बाल–बालिकाहरूलाई ख्रीष्ट–केन्द्रित बन्न सहायता पुग्छ । उनीहरूलाई हाम्रो आकांक्षामा नभएर आत्माको अगुवाइमा चल्न र प्रभुको भरोसामा हिंड्न सिकाउनुपर्छ । थुप्रै त्यस्ता बाबुआमाहरूका उदाहरण हामी देख्न सक्छौं जसले बाल–बालिकाहरूलाई आफ्नो इच्छामा हिंड्न कर लगाएर प्रभुको अभिप्रायलाई गुमाएका छन् । हन्नाले झैं हामीलेत हाम्रा बालबालिकाहरूलाई परमप्रभुमा अर्पण गर्नुपर्दछ
(१ शमूएल १ः२२,२८) । बालबालिकाहरूले पनि सदैव आफ्ना बाबुआमाको आज्ञापालन गर्नुपर्छ । प्रभुको वचनले भन्दछ, “छोराछोरी हो, प्रत्येक कुरामा आफ्ना आमा–बाबुको आज्ञापालन गर । किनकि यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ” कलस्सी ३ः२० ।

आफ्ना परिवार एक असल परिवार होस् भन्ने चाहना कसको हुँदैन र ? यदि त्यसो हो भने, सर्वप्रथम हामीले आफ्नो हृदय परमेश्वरतर्फ फर्किएको छ कि छैन सो जाँच्नुपर्छ । कसैले भनेका छन् कि ख्रीष्ट–केन्द्रित परिवार स्वर्गको एक आभाष् पनि हो । हामीहरूको एकआपसको सम्बन्धले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई प्रतिबिम्बित गर्छ । जहाँ ख्रीष्ट–केन्द्रित श्रीमान् प्रभुको अधीनतामा, ख्रीष्ट–केन्द्रित श्रीमती श्रीमानको अधीनतामा, ख्रीष्ट–केन्द्रित बाल–बालिका आमाबाबु/अभिभावकको आज्ञाकारीतामा रहन्छन् – जुन एक असल ख्रीष्टिय परिवारको चित्रण हो । यसरी एकअर्काको अधीनतामा रहेको परिवार असल परिवार हुन्छ । यहोशूले भने, “…म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं” यहोशू २४ः१५ । के आज हामीले यो संकल्प गरेका छौं ? कतिपटक यो अवस्था सार्थक नबन्नुको कारण बाबुआमा वा अभिभावकले आफ्नो घरमा ख्रीष्ट–केन्द्रित वातावरण सृजना गर्न नसक्नु हो ।

पुस्ता–अन्तर (Generation Gap) हाम्रो लागि नयाँ विषय होइन, हामीले धेरै पटक सुनेको विषय हो । के हामी परमेश्वरलाई प्रेम गर्ने पुस्ता देख्न चाहदैनौं र ? हो, हामी सबैजनाको उत्कट इच्छा छ कि सबै व्यक्ति तथा पुस्ताले परमेश्वरलाई प्रेम गरोस् ! व्यक्ति वा पुस्ता निर्माण प्रक्रियामा प्रत्येक परिवारको उल्लेख्य भूमिका रहेको हुन्छ । परिवार निर्माण भन्ने वित्तिकै तपाईंको विचारमा कस्तो प्रकारको चित्र आउँछ ? सायद हामी सबैलाई परिवारका हरेक सदस्य एकसाथ् अघि बढेको मन पर्छ, होइन त ? परिवारका सबै सदस्यहरू मिलिजुली काम गर्नु निकै असल कुरा हो । अझैँ एउटा ख्रीष्टियान परिवारका ड्डनिम्ति त यो झनै अपरिहार्य कुरा नै हो !

विविध कारणले बाल–बालिकालाई सांसारिक कुराहरूले बढी प्रभाव पारेको हुन्छ, यदि यही कुराको विकास हुँदै गयो भने हामीले परमेश्वरलाई प्रेम गर्ने पुस्ता गुमाउँछौं । “पछि एउटा अर्को पुस्ता आयो जसले परमप्रभुलाई चिन्दैनथ्यो नता उहाँले इस्राएलको निम्ति गर्नुभएको कामलाई पनि जान्दथ्यो” न्यायकर्ता २ः१० । यहोशूको मृत्युपछि एउटा यस्तो पुस्ता आयो जसले परमप्रभुको दृष्टिमा जे खराब थियो त्यही गर्न लाग्यो । “एउटा पुस्ताले रूख रोप्छ र अर्को पुस्ताले त्यसको छायाँ पाउँछ” यो चीन देशको प्राचीन भनाई हो । “हामीले आज कस्तो रूख रोप्दैछौं ?” ज्वलन्त प्रश्न हाम्रो अघि छ । आज यदि हामीले पनि आफूले घरका, मण्डली तथा समाजका बाल–बालिकाहरूको निम्ति निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गरेनौं भने आउँदो पुस्ता कस्तो होला ! “धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ” गलाती ६ः७ ।

यस्तो विषम परिस्थितिमा हाम्रा छोराछोरी, मण्डलीका बाल–बालिका तथा सम्पूर्ण बाल–बालिकाहरूको निम्ति हाम्रो प्राथमिकता के छ ? के हामी प्रभुलाई प्रेम गर्ने पुस्ता तयारीमा अग्रसर हुँदैछौं ? आज हामीले प्रभुलाई प्रेम गर्ने पुस्ता तयार गर्न आ–आफ्नो क्षेत्रबाट उल्लेख्य भूमिका निर्वाह गर्नुपरेको छ । हाम्रा बालबालिकाहरू सर्वाङ्गिण (मानसिक, शारीरिक, आत्मिकी र सामाजिक) रुपमा अघि बढेको दृष्य–अवलोकन हामीले गर्न सक्नुपर्छ जसरी “येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दै जानुभयो” लूका २ः५२ । प्रार्थनासहित् हामी यो चुनौति लिएर भन्न सकौं, “म मेरो घरको छोराछोरी, मण्डलीका बाल–बालिका तथा मेरो वरपर रहेका बाल–बालिकाहरूलाई प्रभुलाई प्रेम गर्ने पुस्ता हुन भरमग्दुर सहायता गर्नेछु ।” प्रभुले हाम्रो यो समर्पणतामा सहायता गरून् !

परमेश्वरले खोज्नुभएको हृदय – डिकन सिमोन पाठक

February 9, 2016 | Articles  

तपाईंले पानीको मूल फुटेको ठाउँ देख्नुभएको छ ? नूहको जलप्रलयको समयमा अगाधका सब मूलहरू फुटे र आकाशकाद्वारहरू खुलेको कारण सारा पृथ्वी पानीले जलमग्न भएको थियो । बाइबलले मानिसको हृदयलाई सारा जीवनको मूलहो भनी चित्रण गरेको छ । हाम्रो दैनिक जीवनका क्रियाकलापहरू हृदयसँग सम्बन्धित छन् । विगतमा हामीले हृदयमा संकलन गरेका कुराहरू नै आज हामी दैनिक जीवनमा पोखाइराखेका छौं । मानिस जन्मँदा खाली हृदय लिएर जन्मेको हुन्छ । जन्मेको दिन देखि वा आमाको गर्भमा आएको दिनदेखि उसले जे सुन्छ त्यही कुरा नै उसको मन मस्तिष्कमा भरिँदै जान्छ । हामीले आज देखाइराखेको आनीबानी, व्यवहार, रहनसहन, बोलीवचन सानो देखि हाम्रो मनमा भरिएका कुराहरू नै हुन् ।

कति मानिसहरू हिंसक बनेका छन्, अरूलाई दुव्र्यवहार गर्नेहरू भएका छन् । किन उनीहरू आज त्यस्ता भएका छन् ? अनुसन्धानले देखाए अनुसार हिंसक र दुव्र्यवहार परिवारमा हुर्केकाहरू नै आज अरूलाई हिंसा गरिराखेका छन्, अरूलाई दुव्र्यवहार गरिराखेका छन् । उनीहरू त्यसरीनै हुर्केको कारण उनीहरूको मन मस्तिष्कमा पनि आफू ठूलो भएपछि त्यस्तै गर्नेहरू भएका छन् । किन आर्मी र प्रहरीहरूमा हुनेहरूले आफू भन्दा तल भएकाहरूलाई तथानामशब्दहरू बोल्ने, गालीगर्ने, हेप्ने गर्दछन् ? किनकि ऊ पनि तल्लो दर्जामा हुँदा ऊ भन्दा माथिकाहरूले उसलाई त्यस्तै व्यवहार गरेका थिए, त्यसकारण आफू माथिल्लो दर्जामा पुगेपछि तल्लो दर्जामा हुनेहरूलाई त्यस्तै व्यवहार गर्ने सोच उसमा विकास भइसकेको हुन्छ । जुन मानिसको हृदय डर, असुरक्षा, छल, दुष्टता, खराब, अशुद्ध, कठोर, शंकालु, स्वार्थी आदि कुराहरूले भरिएको छ, उसले अरू मानिसहरूलाई पनि त्यस्तै नजरले हेरिराखेको हुन्छ  । किनकि उसले आफ्नो हृदयमा भएको कुराहरू नै अरूहरूमा प्रतिबिम्ब गरिराखेको हुन्छ ।

बाइबलले मानिसको हृदयलाई विशेष गरी दुई किसिमले चिरफार गरिदिएको छ । सकारात्मक हृदय र नकारात्मक हृदय ।

बाइबलले चित्रण गरेको नकारात्मक ह्दयः

·   परमेश्वरबाट तर्किएको हृदय (यर्मिया १७ः५)
·   ढुंगाको हृदय (इजकिएल ११ः१९)
·   कठोर हृदय (हिब्रू ३ः८, रोमी २ः५)
·   छली हृदय (यर्मिया १७ः९)
·   दुष्टताले भरिएको हृदय (लूका ६ः४५)
·    अशुद्धहृदय (मत्ती १५ः१८–१९, २३ः२७–३८,     मर्कूस ७ः२०–२३)
·    स्वःधर्मी ठहराउने हृदय (लूका १६ः१५)
·   अपश्चत्तापी हृदय (रोमी २ः५)
·   बेठीक हृदय (प्रेरित ८ः२१)

नकारात्मक हृदयको विषयमा धर्मशास्त्रमा खोज्दै गयौं भने अझैँ धेरै कुराहरू पाउन सक्छौं । जलप्रलय हुनुअघि मानिसका विचारहरू खराबहुँदै गएका थिए । यदि हाम्रो हृदय नकारात्मक कुराहरूले भरिएको छ भने कसरी सकारात्मक काम, सकारात्मक बोलीवचन, सकारात्मक व्यवहार, सकारात्मक हेराइ, सकारात्मक सेवागर्न सक्छौं ? हामीले चाहे तापनि हृदय अशुद्ध वा दुष्ट छ भने असल बोलीवचन वा कामहरू प्रकट हुन सक्दैन । प्रभु येशूले भन्नुभयो, “ए सर्पका बच्चा हो ! तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन् । असल मानिसले आफूभित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ” (मत्ती १२ः३४–३५) ।

परमेश्वरले हामीलाई हरेक दिन नयाँ दिन दिनुहुन्छ । हामीले पाएको नयाँ दिन वा नयाँ वर्षमा नयाँ काम गर्नु हो भने सबैभन्दा पहिला हाम्रो हृदय नयाँ हुनु आवश्यक छ । परमेश्वरले गर्नुहुने कामको शुरूवात् शरीरबाट प्राणमा, प्राणबाट आत्मामा नभएर, आत्माबाट प्राणमा, प्राणबाट शरीरमा प्रष्फुटन हुँदछ । फलले रूखको परिचय दिएको जस्तै हाम्रो शरीरबाट भइराखेका वा गरिराखेका कामहरूले हाम्रो हृदय कस्तो छ, त्यसको परिचय दिइराखेको हुन्छ । यदि हामी अरूलाई लडाउने, गिराउने, चोट पुर्‍याउने, बाहिर चूनपोतेको चिहानजस्तै धर्मी भएको टोपलेर भित्र चाहिँ कुहेको चिहानजस्तो हृदय बनाइराखेका छौं भने त्यही अनुसारको कटनी पनि गर्नेछौं ।

बाइबलले चित्रण गरेको सकारात्मकह्दयः

·    नयाँ हृदय (इजकिएल ३६ः२६)
·    मासुको हृदय (इजकिएल ३६ः२६)
·    चूर्ण हृदय (भजनसंग्रह ३८ः१८)
·    सेवागर्ने हृदय (१ इतिहास २८ः९, १ शमूएल १२ः२०)
·    खुशी वा आनन्दित हृदय (भजनसंग्रह १०५ः३,  १ इतिहास २८ः९)
·    परमेश्वरलाई खोज्ने हृदय (भजनसंग्रह १०५ः३)
·    शुद्ध हृदय (भजनसंग्रह ५१ः१०, ७३ः१, मत्ती ५ः८)
·    पूर्ण हृदय (१ शमूएल १२ः२४)
·    पश्चात्तापी हृदय (भजनसंगह ५१ः१७)
·    प्रेमगर्ने हृदय (व्यवस्था ६ः४–५, मर्कूस १२ः३०–३१)
·    सत्य हृदय (भजनसंग्रह ५१ः६)
·    असलथोकले भरिएको हृदय (लूका ६ः४५)
·    विभक्तनहुने हृदय (इजकिएल ११ः१९)
·    परमेश्वरमा भरोसा राख्ने हृदय (यर्मिया १७ः७–८)
·    खतनागरिएको हृदय (रोमी २ः२९)
·    सुरक्षितहृदय (हितोपदेश ४ः२३)
·    परमेश्वरबाट प्रशंसा पाउने हृदय (रोमी २ः२९)
·    परमेश्वरबाट काम अनुसारको इनामपाउने हृदय  (यर्मिया १७ः१०)

नकारात्मक हृदयले नकारात्मक विश्वास पैदा गराउँछ भने सकारात्मक हृदयले सकारात्म कविश्वास पैदा गराउँदछ । परमेश्वरले प्रत्येक मानिसमा सकारात्मक हृदय खोज्नुहुन्छ । किनकि सकारात्मक हृदय भएकाहरूको जीवनबाट मात्र जीवनको मूल फुटेर निस्कदछ । हामी हाम्रो पढाईमा, परिवारमा, काममा, व्यवसायमा, सेवामा, मण्डली वृद्धिमा, उन्नति, आशिष् देख्न चाहन्छौं भने सकारात्मक हृदयको विकास गर्नु आवश्यक छ । सकारात्मक हृदयको विकासगर्न चाहनेहरूले आफ्नो बोलीवचनमा परिवर्तन गर्नुपर्दछ । मानिसलाई गोलीहान्ने बोलीबोलेर हाम्रो हृदय सकारात्मक हुन सक्दैन । येशूको रगतले धोइएर शुद्ध भएको हृदयलाई दुषित् पार्ने काम नकारात्मक सोचविचार, नकारात्मक हेराइ, नकारात्मक बोलीवचन र पापका कामहरू नै हुन् । पापबाट शुद्ध हुनलाई येशूको रगतको आवश्यकता पर्दछ भने नकारात्मक व्यवहारबाट शुद्ध हुन हृदय ठीक हुनु पर्दछ ।

हामीले आफ्नो विषयमा, परिवारको विषयमा साथै एक अर्काको विषयमा सकारात्मक सोचहरू राखेर जीवन जिउन थाल्यौं भने हाम्रो हृदय असल थोकहरूको भण्डार हुनपुग्नेछ जसद्वारा आशिष् र उन्नतिको कटनी गर्न सक्नेछौं । मानिसको हृदय जीवनको मूलभएको कारण हृदयलाई सुरक्षित राख्नु प्रत्येक व्यक्तिको दायित्वहो । हाम्रो हृदय कस्तो छ ? “परमप्रभुले मानिसले झैँ हेर्नुहुन्न । मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ” (१ शमूएल १६ः७) ।

अगाडि राखिएको निशानामा पुग्न अतीतलाई नहेरौं – पाष्टर रोबर्ट कार्थक

January 1, 2016 | Articles  

‘परमप्रभुले हामीलाई यहाँसम्म सहायतागर्नुभएको हो’ भनी एबेनएजेरको स्मारकको कोशे ढुङ्गो यहाँ गाडौं । हामीले अब सन् २०१६ सालको नौलो क्षेत्रमापाइलो टेकेका छौं ।

हामीलाई यहाँसम्म डोर्‍याउनुहुने परमेश्वरले भविष्यका दिनहरूमा पनि त्यसरी नै डोर्‍याउनु हुनेछ भन्ने हामीलाई पूरा विश्वास छ । इस्राएलीहरूको निम्ति डेरा हाल्ने ठाउँ खोज्न र तिनीहरू जानुपर्ने बाटो देखाउन रातीआगो र दिउँसो बादलमा यात्राभरि अगि अगि जानुहुने परमेश्वर आज पनि आफ्नो पवित्र आत्माद्वारा हामीलाई डोर्‍याउँदै हुनुहुन्छ ।

हाम्रा अतीतका सबै नमीठा, तीता कुराहरू बिर्से तापनि हामीले परमप्रभुका सबै उपकारहरू बिर्सनुहुन्न, हामी स्वभावैले भुल्ने प्राणीहरू हौं । उत्तम दानहरू पाए पछि दिने दातालाई चाहिँ सजिलै बिर्सने हाम्रो स्वभाव छ । पाएका असल कुरामा नै ध्यान मग्न भएर ती कुराहरू दिनुहुने परमेश्वर पितालाई हामी ‘धन्यवाद’भन्नपनि बिर्सन्छौं । यो पनि राम्रो कुरो होइन । दाऊद आफ्नो मनलाई भन्दछन्, ‘हे मेरो मन, परमप्रभुलाई धन्यभन्, उहाँका सबै उपकारहरूलाई नबिर्सी’ (भजनसंग्रह १०३ः२) ।

“लूतकी स्वास्नीलाई सम्झ” (लूका १७ः३२) । सदोमबाट भागेर जाँदा स्वर्गदूतले नहेर्नू भनेर दिएको आज्ञा नमानेर पछि छोडिराखेका धन सम्पत्तिको लोभले गर्दा उसले पछिल्तिर फर्केर हेरी र ऊ नूनको खाँबो भई (उत्पत्ति १९ः२६) । प्रभु भन्नुहुन्छ, “आफ्नो हात हलोमा लगाएर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरको राज्यको योग्य हुँदैन” (लूका ९ः६२) । हामी पुग्नुपर्ने ठाउँ अघिल्तिर भएको हुनाले चाँडै नै पुग्नलाई पछि फर्केर हेरिरहन केही आवश्यकता छैन ।

यदि अब्राहाम र साराले पछिल्तिर हेरेका भए तिनीहरूले अघि राखिएका उत्तम आशिष्हरू सबै गुमाउने थिए । हिब्रू ११ः१५–१६ मा लेखिएको छ, “जुन देशबाट तिनहरू निस्केर गएकाथिए, यदि तिनीहरूले त्यही देशका विषयमा सोचेका भए तिनीहरूलाई फर्की जाने मौकामिल्ने थियो तर तिनीहरू अझ उत्तम देश, अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन् । यसैकारण परमेश्वर तिनीहरूका परमेश्वर भनी पुकारिनु, शर्माउनु हुन्न, किनभने उहाँले तिनीहरूका निम्ति एउट सहर तयार पारिदिनुभएको छ ।” अब्राहाम र तिनका साथमा भएकाहरूले तिनीहरूले पछि छाडिराखेका देशका विषयमा सोचेनन्, तिनीहरूले बिर्सिदिए र तिनीहरू अझउत्तम देशमापुग्न सके ।

अतीतका कुराहरूले नै हामीलाई अघि बढ्ने क्रममा धेरै बाधा दिन्छन् । बितेका कुराहरूको सम्झनाले कि त हामीलाई अभिमानी बढाउँछ वा त हतोत्सह गराउँछ । हामीले पाएको सफलतामा हामी आफै घमण्ड गर्न लाग्छौं । अनि परमेश्वरकै सेवामा यो कामगरिसिध्यायौं भनेर कतिचोटि हामीले केही गरेर देखायौं भन्ने लाग्छौं भने हामी सबै श्रेय आफै लिन्छौं अनि परमेश्वरलाई दिनुपर्ने पूरा महिमा उहाँलाई दिँदैनौं साथै हामी आफैलाई सफल ठान्न लाग्छौं र अरूलाई चाहिँ हेलाको दृष्टिले हेर्न लाग्छौं । हाम्रो उपलब्धीकम रह्यो भने हामी आफैलाई असफल सम्झन लाग्छौं अनि आत्माग्लानीले हामीलाई पिरोल्न थाल्छ । हामी आफैलाई दोष दिन लाग्छौं । अयोग्य, बेकामे ठान्न थाल्छौं । हामीमा हीनताबोध बढेर आउँछ र हामीमा भएको जोश, उत्साह सेलाएर जान्छ । यसैले होला यशैया ४३ः१८–१९ मा परमेश्वर भन्नुहुन्छ, “बितेका कुराहरूलाई नसम्झ, उहिलेका कुराहरूलाई विचार नगर । हेर, म एउटा नयाँ कुरा गर्नेछु ।
२ पत्रुस १ः३ ले भन्दछ, “…परमेश्वरको ईश्वरीय शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले हामीलाई दिनुभएको छ ।” तर १ कोरिन्थी ३ः२१–२३ अनुसार हामीलाई दिइएको सबै थोक हाम्रो वत्र्तमान र हाम्रो भविष्यमा पनि भेटाउनेछौं तर हाम्रो भुल वा अतीत भेटाउँदैनौं । किन होला? हुन सक्छ, परमेश्वर पिताले हाम्रो आउँदो जीवनको सफलताको निम्तिबितेको जीवनको विशेष् आवश्यकता पर्दैन भनेर नै हामीलाई नदिनुभएको होला!
रोमी ८ः३८–३९ मापावल भन्दछन्, “म यो पक्का गरी जान्दछु, कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वत्र्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वाशक्तिहरूले, उचाइले वागहिराइले, वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलगगर्न सक्ने छैन ।” यहाँ पावल बताउन चाहन्छन् कि परमेश्वरको अटल प्रेम कहिल्यै पनि टल्दैन । उहाँले हामीलाई अनन्तको, बिनाशर्तको, पवित्र, चोखो, प्रेमले प्रेम गर्नुभएको छ । हामी प्रेम गरिने योग्यको भएर होइन तर उहाँ स्वयं प्रेम हुनुभएकोले हामी अयोग्यहरूलाई पनि उहाँले ख्रीष्टमा प्रेम गर्नुहुन्छ । तर माथि दिइएको रोमी ८ः३८–३९ को सूचीमा पनि वर्तमानका कुराहरू वा पछि हुने कुराहरू मात्र भेटाउँछौं तर अतीतका कुराहरू त्यहाँ भेटाउँदैनौं, किनहोला?

दौडको बारेमा फिलिप्पी ३ः१२–१४ पदहरूमा पावल बताउँछन्, “… म एउटा काम गर्दछु कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोडसँग लम्कदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर जोडसँग अगि बढ्दछु ।” यहाँ पछाडिका कुराहरू भनेको चाहिँ बितेको जीवन, अथवा अतीतका कुराहरू हुन् । पछाडिका कुराहरू किन बिर्सने ? कारण २ कोरिन्थी ५ः१७मा पावल बताउँछन्, “यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर, नयाँआएको छ ।”
भर्खरै जन्मेको बालकको अतीत नभएको जस्तै ख्रीष्टमा विश्वास गर्ने व्यक्तिको पुरानो जीवन पनि सिद्धिसक्यो । पुरानो कुराहरू बितिसके, अब सबै कुरा नयाँभएका छन् । यसैले हामीले बितेका जीवनको कुरातिर हेरि बस्नु आवश्यकता छैन । निशाना अगाडि छ, पछाडि होइन, यसकारण अगाडि बढ्दै जाऔं, अतीतलाई नहेरौं ।

येशूको जन्ममा पूरा भएका दिव्य भविष्यवाणीहरू – डिकन सिमोन पाठक

December 14, 2015 | Articles  

येशू ख्रीष्टको जन्म मानिसको जन्मभन्दा फरक किसिमले भएको थियो । उहाँको जन्म, उहाँले जिउनुहुने जीवन र उहाँले मानिस जातिको निम्ति गर्नुहुने पवित्र बलिदान र पुनरूत्थान आदिको विषयमा उहाँ जन्मनु भन्दा हजारौं वर्ष अघि देखि अगमवक्ताहरूद्वारा विभिन्न समयमा भविष्यवाणी गरिएको थियो । उहाँको विषयमा गरिएका सबै भविष्यवाणीहरू एउटा पनि बिन्दु तल माथि नभई सबै पूरा भएका छन् । येशूको जन्मको सम्बन्धमा गरिएका दिव्य भविष्यवाणीहरू बाइबल धर्मशास्त्रमा यसरी लिपिबद्ध गरिएका छन्ः

येशू स्त्रीको सन्तान बनेर जन्मनुहुनेछ

सृष्टिको शुरूको मानव आदम र हव्वाले पाप गरिसकेपछि स्त्रीको सन्तान र शैतानको बीचमा दुश्मनी शुरू भयो उत्पत्ति ३ः१५) । मानिस र शैतानको बीचमा दुश्मनी हुनेछ र स्त्रीको सन्तानले तेरो शिर कुच्च्याउनेछ भनी गरिएको वाणीले येशूको जन्मलाई संकेत गरिएको कुरा पावलले गलातीहरूलाई लेखिएको पत्रद्वारा पुष्टि हुँदछ । समयको पूर्णतामा येशू स्त्रीको सन्तान बनेर जन्मनुभयो (गलाती ४ः४–५) । स्त्रीको सन्तानले तेरो शिर कुच्च्याउनेछ भनी हजारौं वर्ष अघि गरिएको भविष्यवाणी क्रूसको मृत्यु र पुनरूत्थानमा पूरा भयो ।

येशू इस्राएलबाट जन्मनुहुनेछ

येशू जन्मनुभन्दा करीब पन्ध्र सय वर्ष अघि उहाँ इस्राएलबाट आउनुहुनेछ भनी भविष्यवाणी गरिएको थियो (गन्ती २४ः१७–१९)। यो भविष्यवाणी मुताविक नै उहाँ अब्राहाम, इसहाक, याकूब अर्थात् इस्राएलको वंशबाट हुँदै जन्मनुभयो र उक्त भविष्यवाणी पनिशत् प्रतिशत पूरा भयो (मत्ती १ः१–१७) ।

येशू कन्या स्त्रीबाट जन्मनुहुनेछ

यशैया अगमवक्ताले येशूको जन्म कन्याद्वारा हुनेछ भनी येशू जन्मनु भन्दा करिब साँढे सात सय वर्षअघि भविष्यवाणी गरेकाथिए (यशैया ७ः१४) । उहाँ कन्या मरियमको कोखमा पवित्र आत्माको शक्तिद्वारा गर्भधारण हुनुभयो । मरियमले सोधेको प्रश्नको जवाफमा स्वर्गदूतले यसरी भनेका थिए, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छायाँ तिमीमाथि पर्नेछ । यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ” (लूका १ः३५–३६) ।
येशूको जन्म कन्या मरियमको कोखबाट हुनु पवित्रआत्माको काम थियो (मत्ती १ः१८–२५) । यशैया अगमवक्ताले गरेको भविष्यवाणी करिब साँढे सात सय वर्षपछि जस्ताको तस्तै पूरा भयो (लूका १ः२६–३३; मत्ती १ः२०–२३ ) ।

येशू बेथलेहममा जन्मनुहुनेछ

मीका अगमवक्ताले येशूको जन्म बेथलेहेममा हुनेछ भनी करिब सात सय पचास देखि छ सय छयासी ख्रीष्टपूर्वमा भविष्यवाणी गरेका थिए (मीका ५ः२) । मीका अगमवक्ताले येशूको जन्मको विषयमा गरेको भविष्यवाणी सत् प्रतिशत पूरा भयो
(लूका२ः४–७,११,१५–१६;मत्ती२ः१–६,८–९;यूहन्ना७ः४२) ।

येशू दाऊदको घराना, यहूदाको कुलमा जन्मनुहुनेछ

येशू दाऊदको घराना, यहूदाको कुलबाट जन्मनुहुनेछ भनी भविष्यवाणी भएको थियो (उत्पत्ति ४९ः१०; यशैया ११ः१–५; लूका १ः३१–३३; यर्मिया २३ः५–६, ३३ः१४–१६) । योसेफ र मरियम दुवै जना दाऊदको घरानाका थिए (मत्ती १ः६,१६) । योसेफ कानूनीतवरले येशूका पिता हुन् र मरियम शारीरिक तवरले येशूकी आमा हुन् र दुवै जना दाऊदको वंशका थिए । मत्ती एक अध्याय र लूका ३ अध्यायमा उल्लेख गरिएको वंशावलीलाई केलाउँदै जाँदा योसेफ र मरियम यरूबाबेलको वंशमा पर्दछन् (मत्ती १ः१२; लूका ३ः२७) । यरूबाबेल दाऊदको वंशका थिए (मत्ती १ः६,१२) । मत्ती र लूकामा उल्लेख गरिएको वंशावलीलाई अध्ययनगर्दा येशू दाऊदको घरानाबाट जन्मनुभएको पुष्टि हुन्छ । यसरी येशू दाऊदको घराना, यहूदाको कुलमा जन्मनुहुनेछ भनी गरिएको भविष्यवाणी पनि शत् प्रतिशत पूरा भयो ।

येशूले सदासर्वदै राज्य गर्नुहुनेछ

यशैयाले येशू सदासर्वदै राज्य गर्नुहुनेछ भनी उहाँ जन्मनु भन्दा करिब साँढे सात सय वर्ष अघि भविष्यवाणी गरेकाथिए (यशैया ९ः६–७) । स्वर्गदूतले येशूको जन्म र उहाँ कस्तो व्यक्ति हुनुहुनेछ भन्ने विषयमा मरियमलाई भनेको वाणी र यशैयाले गरेको भविष्यवाणी मिल्दोजुल्दो छ (लूका १ः३२–३३) । येशू सदासर्वदै राज्य गर्नुहुने राजा हुनुहुन्छ । उहाँ स्वर्गको सिंहासनमा आज पनि राज्य गरिराख्नुभएको छ । उहाँ एक दिन मण्डलीलाई लिन आउनुहुनेछ र हामी पनि उहाँसँगै राज्य गर्नेछौं ।

येशूको जन्म मात्र होइन उहाँको मृत्यु र पुनरूत्थान वा फेरि जीवित हुने विषयमा गरिएको भविष्यवाणी पनि सबै पूरा भएका छन् । उहाँमा विश्वास गर्नेहरूलाई एकदिन लिन आउनुहुनेछ भनी येशू मृत्युबाट जीवित हुनुभएको चालिस दिनपछि जैतून डाँडाबाट स्वर्ग उचालिनुहुँदै गर्दा स्वर्गदूतद्वारा गरिएको भविष्यवाणी पनि एक दिन शत् प्रतिशत् पूरा हुने नै छ (प्रेरित १ः११) । यदि उहाँको विषयमा गरिएका भविष्यवाणीहरू पूरा नभएको भए दोस्रो आगमन र उहाँ माथि विश्वास गर्नेहरूले मुक्ति पाउने कुरामा शंका हुने थियो तर उहाँको विषयमा गरिएको भविष्यवाणी शत् प्रतिशत् पूरा भएको हुनाले उहाँमाथि विश्वास गर्नेहरूले मृत्युपछि मुक्ति पाउने कुरा पनिशत् प्रतिशत् निश्चित छ ।

उहाँको जन्मले अन्धकारमा रूमल्लिएका संसारका सारा मानव जातिलाई मुक्ति, शान्ति, मिलाप आदिको सन्देश दिएको छ, यो सन्देश छर्दै ख्रीष्ट जन्मोत्सवको वास्तविकतालाई सार्थक बनाउनु नै साँचो ख्रीष्टमस मनाउनु हो । देशको प्रतिकूल परिस्थितिले हाम्रो घरको चूल्हो निभे पनि हृदयको दियो जलिरहोस् र अन्धकारमा भएका मानिसहरूलाई ज्योति, मुक्ति, शान्ति र मिलापको सन्देश सुनाउँदै यो वर्षको ख्रीष्टमसलाई उज्ज्वल गराऔं !

« Previous PageNext Page »