कठिन समय नै चम्कने समय

October 9, 2018 | Articles  

– पाष्टर बर्णबास श्रेष्ठ

 आज नेपालमा धर्मात्तरण धेरै ठूलो बहसको विषय बनेको छ । यो विषय, नेपालको संविधानमा दण्डित गर्ने गरी पास भएको छ र हालसालैदेखि लागु हुने गरी कानून पनि बनेर आएको छ । धेरै इसाईहरूका्े लागि यो चुनौती बनेको छ भने कतिको लागि अन्यौलको विषय बनेको छ ।

यदि कोही व्यक्तिले लोभको कारणले वा केही आर्थिकी लाभको कारण इसाई धर्म अपनाएका छन् वा त्यतिकैमा, कसैको लहैलहैैमा लागेर अर्को धर्म अपनाएका छन् भने त्यो अवश्य पनि गलत हो । कसैले कसैलाई धर्म परिवर्तन गर्न कर वा जबरजस्ती गर्छ भने त्यो पनि गलत हो र त्यस्ता जबरजस्त गर्नेहरूलाई कार्यवाही पनि हुनुपर्छ । तर कसैले परमेश्वरको वचन सुनेर अर्थात् सुसमाचार सुनेर परमेश्वरलाई विश्वास गर्छन् भने त्यो आस्थाको विषय हो । आस्थाको विषयलाई लिएर व्यक्तिलाई दण्डित गरेर, निषेधित गरेर रोक्न सकिँदैन कारण यो भित्रबाट आउँछ । यदि दण्डित गरेर रोक्न सकिने भए आजका दिनमा येशूमा विश्वास गर्नेहरू एक जना पनि बाँकी रहने थिएनन् कारण इतिहासले बताउँछ विभिन्न कालखण्डमा विश्वको धेरै देशमा धेरै ठूलाठूला सतावटहरू आए, इसाईहरूलाई निमिट्यान्न पार्ने प्रयासहरू भए, तर त्यही ठाउँहरूमा इसाईहरूको संख्या बढेर गयो र विश्वास गर्नेहरूको विश्वास अझ बलियो भएर गयो । इसाईहरूको इतिहास हेर्ने हो भने पनि थाहा हुन्छ । यस्ता प्रयास आहाब राजाको समयमा ईजेबेल रानीले गरेको सतावटको घटनादेखि अहिलेसम्म दिनहुँ कहीँ न कहीँ ठूला साना सतावट त भइरहेकै छ तर पनि ख्रीष्ट येशूलाई विश्वास गर्ने विश्वासीको संख्या घटेर गएको छैन बरू दिनानु दिन बढ्दै गएको छ र ख्रीष्ट विश्वासीहरूलाई झनै बलियो बनाएको छ । तर जुन जुन देशमा धार्मिक स्वतन्त्रता छ त्यही देशहरूमा मानिसहरूले ख्रीष्टसँगको सम्बन्धका कुरालाई धर्मको रूपमा मात्र लिएको कारण ख्रीष्टलाई विश्वास गर्ने कुरालाई हल्का रूपमा लिइन्छ र ख्रीष्ट विश्वासीको संख्या घटेर गइरहेको छ । जसरी सुनलाई निखार्दा सुन आगोबाट भएर जान आवश्यक छ त्यसरी नै असल ख्रीष्ट विश्वासी चिनिनको लागि हामीलाई पनि यस्तै किसिमका समय भएर जानपर्ने हुन्छ । सजिलो समयमा सबैले पछ्याउँछन् तर गार्‍हो समयमा पनि स्थिर रहनेहरू इनामको भागीदार हुनेछन् । “सबैले तिमीहरूलाई मेरो नाउँको कारण घृणा गर्नेछन् तर अन्तसम्म स्थिर रहनेले उद्धार पाउने छ ।” यसैले ख्रीष्टलाई विश्वास गर्नेहरूको विरोध हुने कुरा नयाँ र अनौठो होइन कारण वचनमा लेखिएकै छ (यूहन्ना १५ः१८, १९) “यदि यस संसारले तिमीहरूलाई हेला गर्दछ भने तिमीहरू यो जान कि तिनीहरूले पहिले मलाई हेला गरेका हुन् । तिमीहरू यस संसारको हुँदा हौ त यस संसारले आफ्नाहरूलाई माया गर्ने थियो तर मैले तिमीहरूलाई यस संसारबाट छानेको छु र यस संसारले तिमीहरूलाई घृणा गर्नेछ ।” यो पनि सत्य हो कि जसले हामीलाई विश्वास गरेकै कारणले मात्र हेला वा निन्दा गर्दछन् भने त्यो हाम्रो वा हामीलाई निन्दा वा हेला गरेको  होइन तर हाम्रा प्रभु येशूलाई गरिएको हो । त्यसैले हामी ती मानिसहरू प्रति रिसाउनु वा नकारात्मक प्रतिक्रिया जनाउनु आवश्यक छैन् । येशू प्रभुले उहाँको खेदो गर्नेहरूलाई कहिल्यै सराप्नु भएन । रोमी १२ ः १४ ले भन्दछ “तिमीहरूलाई सताउनेहरूलाई आशिष् देओ नसराप ।”

हो समय र परिस्थिति बदलिँदो छ । असहज परिस्थितिहरू अगाडि छन् । त्यसो भन्दैमा सत्यलाई पछ्याउन नै छोड्न सकिन्छ त ? कदापि त्यसो गर्न सकिँदैन । यस्तो परिस्थितिमा हामीहरूले अझ बढी ख्रीष्टमा भक्तिको जीवन जिउन आवश्यक छ । कष्ट आउँला तर त्यो त बाइबलमा लेखिएको कुरा पूरा हुनको लागि हो । किनकि लेखिएको छ (१ तिमोथी ३ः१२) “ख्रीष्ट येशूमा भक्तिको जीवन जिउन इच्छा गर्नेहरू खेदोमा पर्ने नै छन् ।” यसैले यो नयाँ कुरा होइन । बाइबलमा लेखिएको कुरा हाम्रो जीवनमा पूरा हुँदै छ भनेता यसमा खुशी नै हुनुपर्छ । मत्ती ५ः१० ले भन्दछ, “धन्य धार्मिकताका लागि सताइनेहरू, स्वर्गको राज्य तिनीहरूको नै हो ।” बाइबलमा यो पनि लेखिएको छ, “कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ ? सतावटले, खेदोले, अनिकालले ………..केही कुराले हामीलाई अलग गर्न सक्दैन ।” (रोमी ८ः३५) । सूर्यको प्रकाशलाई हातले छेक्न सकिँदैन ।

अर्को हामी सबैले बुझ्नै पर्ने कुरा धर्मको परिवर्तन गर्ने तर जीवनको परिवर्तन नभएकाहरूसँग हामी मण्डली धेरै सतर्क हुनुपर्छ कारण त्यस्तै व्यक्तिहरूको कारण मण्डलीले धेरैै क्षति बेहोर्नुपर्छ । तर धर्मको परिवर्तन भन्दा पनि जीवनको परिवर्तन

थाहा पाएका वा प्रभुमा मुक्ति, शान्ति, आनन्द, प्रेम अनुभव गरेका, उहाँलाई व्यक्तिगत रूपले चिनेकाहरूलाई कुनै पनि व्यवस्था वा कानून बने पनि केही फरक पर्दैन कारण उनीहरू सबै अवस्थामा परमेश्वरलाई पछ्याउँछन्, अधर्म गरेर, अपराध गरेर जेल पर्नु अवश्य नराम्रो कुरा हो, तर म खराबीको बाटो छोड्छु , झैँ–झगडा गर्दिन, नशालु पदार्थ या जाँड रक्सी पिएर बेइज्जती गर्दै हिँड्दिन, सहयोगी, दयालु र प्रेमिलो व्यक्ति हुन्छु , परिश्रमी भएर कमाउँछु र सहयोगी बन्छु, छिमेकीलाई प्रेम गर्छु, असल पति वा पत्नी, असल छोरा वा छोरी, असल बुवा वा आमा भएर जिउन चाहन्छु, सरकारको लागि प्रार्थना गर्छु, राज्यलाई कर तिर्ने इमान्दार नागरिक बन्छु र अरूलाई पनि त्यही बाटो सिकाउँछु भन्दा अवहेलित हुनुपर्छ या त जेल सजाय भोग्नुपर्छ भने यसमा लाज मान्नु पर्ने या शिर निहुराउन आवश्यक छैन, बरू यसमा गर्व गर्न सकिन्छ कारण हामी पनि ख्रीष्टको कष्टमा सहभागी हुने अवसर उहाँले हामीलाई दिनुभएको छ । यसैले यो कानून् र त्यो कानूनले परमेश्वरको वचनअनुसार जिउने ख्रीष्टियनहरूको लागि केही फरक पार्दैन । अब समय आएको छ, हामी समाजमा सकारात्मक प्रभाव पार्ने असल ख्रीष्टियन भएर जिउने, हाम्रो बोली वचन, व्यवहार, आचरण र व्यक्तित्वमा ख्रीष्टलाई झल्काउने गरी जिउने अब समय आएको छ । कसैले भनेका छन्, “जति अँध्यारो बढ्दै जान्छ , त्यतिनै धेरै बत्तीको आवश्यकता पर्छ र घोर अन्धकारमा सानो भन्दा सानो बत्ती पनि अझ धेरै चहकिलो हुन्छ” यो समयमा हामीबाट ख्रीष्टको ज्योति चम्कियोस् ।