सफलता र विश्वासयोग्यतामा के छान्ने ?

March 4, 2019 | Articles  

– पाष्टर बर्णबास श्रेष्ठ

सफलता र विश्वासयोग्यतामा के छान्ने ? सबै मानिस सफल बन्न चाहन्छन् । संसार भरिनै सफलताको लागि होडबाजी छ । सफलता प्राप्त गर्नु असल हो तर जसरी पनि सफल हुनुपर्छ भन्ने मानसिकता चाहिँ ठीक होइन । पहिले पहिले एस.एल.सी. पास गर्नु धेरै ठूलो कुरा थियो । चीट चोरेर पास गर्ने एउटा कला जस्तै थियो । कसरी चोर्ने सो एकले अर्कोलाई सिकाइन्थ्यो । आजको दिनहरूमा चीट चोराउन विभिन्न प्रविधिहरूको प्रयोग भएको सुन्न पाइन्छ । जसरी पनि पास हुनुपर्छ, प्रमाण—पत्र पनि चोरेर पास गरेर होस् या किनेर योग्यता देखाउनै पर्ने समयमा हामी जिइराखेका छौं । यो केवल पढाइ वा अध्ययनको क्षेत्रमा मात्र होइन तर व्यापारको क्षेत्रमा, उद्योगको क्षेत्रमा, कृषिको क्षेत्रमा सबै क्षेत्रमा व्यापक छ । परिश्रम बिनाका, कम परिश्रममा, कम लगानीमा धेरै उत्पादनको लागि नक्कली, अस्वस्थ्यकर, हानीकारक, जे जस्तै भए पनि कमाउनको लागि कति पनि नहिचकिचाइ सबै प्रकारको सम्झौता गर्न तयार छन् । आफू सफल हुन अरूलाई होच्याएर, खसालेर, अरूमाथि टेकेर, सबै गर्न तयार हुन्छन् । आफ्नो स्वार्थको लागि परिवार, समाज वा राष्ट्रलाई नै घात गर्न केही जस्तो नमान्ने समयमा हामी जिइराखेका छौं ।

विश्वासयोग्यता वा इमान्दारितालाई कसैले पनि नकार्न सक्दैन । बेठीक छ कसैले पनि भन्दैन । आवश्यक छ, सबैले भन्दछौं तर व्यवहारिकतामा जिउन प्रयत्न गर्नेहरूको संख्या (तुलनात्मक रूपमा) कमै पाइन्छ । जति हामी आवश्यक छ भन्छौं । व्यवहारिकतामा सजिलो पनि छैन । तर हामी इसाईहरूको लागि यो अत्यन्त जरूरी विषय हो ।

हामी नेइमका विश्वासीहरूको लागि विश्वासयोग्यता र इमान्दारिता गर्ने वा नगर्ने भनेर छान्ने विषय नै होइन कारण हाम्रो मण्डलीको नारा नै “ख्रीष्ट जस्तो बनाउन ख्रीष्ट जस्तो बन्ने” भन्ने छ । यो बिषयको सम्बन्धमा ख्रीष्टको उदाहरण हेर्ने हो भने अहिलेको सोचाइअनुसार त ख्रीष्ट एक सफल व्यक्ति हुनुहुन्न । विशेष् गरी उहाँको क्रूसको कष्ट भोगाई र मृत्युको समयको कुरा गर्ने हो भने, संसारको दृष्टिमा उहाँ एक असफल व्यक्ति नै देखिनुहुन्छ ।

जब मृत्युको समय नजीक आइपुगेको थियो उहाँका चेलाहरुले धेरै प्रश्न गर्न थालेका थिए । “तपाईं कहाँ जाँदै हुनुहुन्छ ?”

(युहन्ना १३ः२६) तपाईं मर्ने ? यो हुनै सक्दैन, “परमेश्वरले यस्तो कहिल्यै नगरून्” (मत्ती १६ः२२) । येशू किन आउनुभएको भन्ने कुरामा नै उनीहरू अलमलिएका थिए । एउटा चेलाले धोका दियो (मर्कूस १४ः१० मत्ती २६ः १४ देखि १६) । पत्रुसले इन्कार गरे (मत्ती २७ः७०,७२,७५), सबै चेलाहरू उहाँलाई छोडेर गए (मर्कूस १४ः५०), उहाँलाई अपराधीहरूसँगै क्रूसमा टाँगियो (लूका २३ः४९) मानिसहरूले उहाँको खिस्सी गरे (मत्ती

२७ः४०, भजन १०९ः२५) एक अपराधीले क्रूसमा टाँगिएको समयमा पनि खिस्सी गरेर भन्यो “के तिमी ख्रीष्ट होइनौ, तिमी आफैलाई र हामीलाई पनि बचाऊ” (लूका २३ः३९) । मानिसहरूले येशूमा जुन आशा गरेका थिए त्यो सबै कुरा उहाँ क्रूसमा टाँगिनुभएपछि गुमाएका थिए (लूका २४ः२१) ।

यस प्रकारले हेर्दा त क्रूसमा टाँगिनुभएको समयको दृष्यले उहाँ एक असफल व्यक्ति देखिनुहुन्छ । के उहाँ असफल हुनुभयो ? यो मानिसको विचार मात्र थियो । उहाँ पूर्ण सफल सिद्ध हुनुहुन्छ । हामीहरूको दृष्टिको सफलता र परमेश्वरको दृष्टिको सफलतामा फरक छ ।  वचनमा यो पनि लेखिएको छ “जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्छ” (मत्ती ५ः४८) ।

आज हामीहरूको लागि चुनौतीचाहिँ यही हो, के हामी साँच्चै इमान्दार छौं ? हामीले धेरै पटक उठेर, हात उठाएर परमेश्वरको उपस्थितिमा विभिन्न प्रतिज्ञा गरेका छौं । के हामीले गरेका ती प्रतिज्ञाहरूमा इमान्दार छौं ? मण्डलीको सामु समर्पण गर्दा हामीले गर्दछौं भनेका प्रतिज्ञामा हामी व्यवहारिक रूपमा गरेका छौं ? विवाह गर्दा परमेश्वरको उपस्थितिमा र मण्डलीको सामुन्ने गरेका प्रतिज्ञामा हामीले इमान्दारीताको साथ पालन गरेका छौं ?

हामीले हाम्रो आफ्नो इच्छा र सफलताको लागि मात्र धेरै समय खर्चेका छौं तर उहाँप्रतिको इमान्दारितामा चुकेका छौं भने हामी ख्रीष्ट जस्तै बन्ने विषयबाट टाढा छौं ।

“जो थोरै कुरामा इमान्दार हुन्छ, त्यो धेरैमा पनि इमान्दार हुन्छ, र जो अति सानो कुरामा बेइमान हुन्छ, त्यो धेरैमा पनि बेइमान हुन्छ (लूका १६ः१०) ।

“विश्वासी र बुद्धिमान् नोकर को हो, जसलाई त्यसको मालिकले आफ्ना परिवारका चाकरहरूलाई ठीक–ठीक समयका खान देओस् भनि खटाएको हुन्छ ? त्यो नोकर धन्य हो, जसलाई मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ (मत्ती २४ः४५–४६) ।

“मालिकले त्यसलाई भने, स्याबास, असल र विश्वासी नोकर ! तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु । तँ आफ्ना मालिकको खुशीमा सहभागी हो” (मत्ती २५ः२१) ।

“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ (मत्ती ७ः२१) ।