प्रभुलाई पछ्याउनु

February 9, 2011 | Articles  

माघ ८ गते/जनवरी २२ ता. शनिबार ज्ञानेश्वर मण्डलीको आराधना सेवामा पाष्टर महेश थाँजुले बोल्नुभएको वचनको सार संक्षेपः
प्रस्तुति- लेखनाथ पौडेल

यी दिनहरूमा काठमाडौं सहरमा एउटा विशेष घटना भइरहेको छ। मानिसहरूले कहिल्यै नदेखेका कुराहरू देख्न थालेका छन् र कहिल्यै नसुनेका कुराहरू सुन्न थालेका छन्। काठमाडौं सहरमा अचम्भको हलचल भइरहेको छ। परमेश्वरले यो राष्ट्रमा ठूलो काम गर्न चाहनुहुन्छ। त्यो उहाँले काठमाडौं उपत्यकाबाट सुरू गर्न लाग्नुभएको छ।

प्रेरितको पुस्तक ३ अध्यायमा प्रभु येशूका चेलाहरूले जोडतोडका साथ परमेश्वरको काम गरिरहेको देख्न पाउँछौं। उनीहरूले गरेको कामको कारण संसारमा उलटपुलट भएको थियो। यहाँसम्म कि पावल र सिलासलाई फिलिप्पी भन्ने शहरका मानिसहरूले भनेका थिए “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन्।” –प्रेरित १७ः६। त्यति बेलूका विश्वासीहरू साधारण विश्वासीहरू थिएनन्। उनीहरू जस्तोसुकै परिस्थितिमा वा कष्टमा पनि प्रभुलाई छान्थे र पछ्याउँथे। यदि हामी पनि यो राष्ट्रमा उलटपुलट भएको देख्न चाहन्छौं भने जुनसुकै परिस्थितिमा पनि प्रभुलाई पछ्याउनेहरू हुनुपर्छ।

हामी सबै हरेक सेवा संगतिहरूमा जान्छौं। प्रार्थना सेवा, घरेलु संगति, बाइबल अध्ययन र मणडलीको आराधना सेवा सबैमा हामी गइरहेका छौं। सबै ठाउँमा हाम्रो हाजिरी पुगेको छ। तर हाम्रो लागि अझ एउटा कुरा बाँकी छ। प्रभु भन्नुहुन्छ, “तिमीलाई अझ एउटा कुराको अभाव छ। … आऊ र मेरो पछि लाग” –लूका १८ः२२। मणडली आएर मात्र हामीलाई पुग्दैन मुख्य कुराचाहिँ हामीले साँचो हृदयले प्रभुलाई पछ्याउनु पर्छ। मणडलीका सबै गतिविधिहरूमा सहभागी भए तापनि हामीले गर्नुपर्ने एकदमै मुख्य कुरा प्रभुलाई पछ्याउनु हो।

लूकाको पुस्तकमा प्रभुलाई पछ्याउन नसकेका तीनजना व्यक्तिहरूको घटना हामी पाउँछौं। यी ती नै मानिसहरू थिए जसले प्रभुलाई पछ्याउन चाहन्थे तर उनीहरूको परिस्थिति र बहाना उनीहरूको लागि बाधाको कारण बन्न पुग्यो। पहिलो घटना, लूका १८ः१८–२२ मा एउटा धनी शासकको बारेमा लेखिएको छ। यहाँ त्यो मानिसलाई प्रभुको पछि लाग्न गाह्रो भयो। किनकि उसित धेरै धन–सम्पत्ति थियो। उसले प्रभुलाई छान्न सकेन तर उसित भएको धन–सम्पत्तिलाई नै मुख्य कुरा सम्झेर छान्यो। उसले आफूसित भएको धनलाई छान्छ कि प्रभुलाई छान्छ भनी प्रभु येशूले त्यो मानिसको हृदय जाँच गर्दैहुनुहुन्थ्यो। तर उसले धन छान्यो। उसित भएको धनले प्रभुको पछि लाग्न उसलाई बाधा दियो। दोस्रो घटना, लूका ९ः ५७–६० मा एकजना मानिसले प्रभुलाई भन्यो, “हे प्रभु, तपाईं जता जानुहुन्छ म तपाईंको पछि लाग्नेछु” पद ५७ तर “पहिले मेरा बाबुलाई गाड्न जान दिनुहोस्” पद ५९। यहाँ उसले प्रभुलाई भन्दा परिवार, छिमेकी, समाज र परम्परालाई बढी प्रेम गर्‍यो। उसमा प्रभुप्रतिको प्रेम भन्दा पनि समाजको डर बढी भयो। यसैकारण उसले प्रभुलाई पछ्याउन सकेन। तेस्रो घटना, लूका ९ः६१,६२ मा अर्को एकजनाले भन्यो, “प्रभु, म तपाईंको पछि लाग्नेछु, तर पहिले आफ्नो घरमा हुनेहरूबाट मलाई बिदा लिन दिनुहोस्” पद ६१। तर येशूले त्यसलाई भन्नुभयो, “आफ्नो हात हलोमा लगाएर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरको राज्यको योग्य हुँदैन” पद ६२। यहाँ उक्त मानिसको भनाइको तात्पर्य थियो, ‘म पहिले गएर परिवारसित सरसल्लाह गर्छु यदि परिवारले अनुमति दियो भने म तपाईंको पछि लागुँला नत्रभए म आउने छैन, किनकि म परिवारलाई बेखुशी तुल्याउन चाहन्न‘। उसले पनि आफ्नो परिवारबाट आउने डर र बाधाको कारण प्रभुको पछि लाग्न सकेन।

प्रभु येशू स्वयं इसाईहरूको जीवन कस्तो हुनुपर्छ भन्ने कुरामा नमूना हुनुहुन्थ्यो। उहाँको स्वर्गारोहणको समय नजिकै भएको बेलामा उहाँ सामरीयाको बाटो भएर यरूशलेमतिर जान लाग्नुभएको थियो तर सामरीयाका मानिसहरूले उहाँलाई उनीहरूको गाउँमा बास बस्न दिएनन्। यसै समयमा एकजना आएर जब उहाँलाई पछ्याउन चाहने कुरा बतायो, प्रभु येशूले भन्नुभयो, “स्यालका दुला छन्, र आकाशका चराचुरुङ्गीहरूका गूडँ, तर मानिसको पुत्रको त शिर राख्ने ठाउँ पनि छैन” –लूका ९ः५८। प्रभुले यहाँ भन्न खोज्नुभएको कुरा यही हो कि जब हामीले प्रभुलाई साँच्चै पछ्याउने बेला आउँछ त्यो समयमा हामीले आफँसँग भएको धेरै प्यारो मूल्यवान कुराहरू गुमाउनुपर्ने हुन्छ। प्रभुले त्यो मानिसलाई छान्न दिनुभयो, ‘तिम्रो घरको सुविधा, आराम, न्यानोपन, सुरक्षा वा प्रभु को छान्ने?’। जस्तोसुकै अवस्थामा पनि प्रभुलाई पछ्याउनुचाहिँ प्रभुलाई छान्नु हो। प्रभु येशूले भन्नुभयो, “यदि कोही मकहाँ आउँछ, र आफ्ना बुवा, आमा, पत्नी, छोरा–छोरीहरू र दाजुभाइ, दिदी–बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन। जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन” –लूका १४ः२६,२७। ‘हामीले सह्यौं भने हामी पनि उहाँसँगै राज्य गर्नेछौं, हामीले उहाँलाई इन्कार गर्‍यौं भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ‘ –२ तिमोथी २ः१२, मत्ती १०ः३२–३३। प्रभुलाई पछ्याउनु भनेको चाहिँ जस्तो सुकै अप्ठ्यारो र गाह्रो परेको बेलामा पनि उहाँलाई इन्कार नगर्नु वा नछोड्नु हो। पूर्ण तवरले पछ्याउनु हो।

यदि हामी मणडली र संगतिहरूमा मात्रै जाने तर प्रभुको पछि लाग्नेहरू भएनौं भने गाह्रो, अप्ठ्यारो परिस्थितिमा प्रभुदेखि टाढा हुन्छौं साथै प्रभुलाई बिर्सन पनि पुग्छौं। मणडली र संगतिहरूमा पनि आउन छोड्छौं। प्रभु येशूलाई पछ्याउन मूल्य चुकाउनुपर्छ। तर यदि साँचो प्रकारले उहाँलाई पछ्याउँछौं भने त्यसको साटोमा परमेश्वरले स्वर्ग र यसै पृथ्वीमा समेत प्रशस्त इनाम दिनुहुन्छ। त्यति मात्रै नभई हामीले उहाँलाई साँचोरुपमा पछ्याएको कारण यो राष्ट्र समेत उलटपुलट हनेछ। जस्तोसुकै परिस्थितिमा पनि उहाँलाई पछ्याउँछु भन्नेहरूद्वारा नै परमेश्वरले यो राष्ट्रमा उथलपुथल ल्याउनुहुन्छ।