अन्तरविन्तिको प्रार्थना

June 9, 2011 | Articles  

पाष्टर सामुएल कार्थक

आफ्नो लागि र आफ्नो व्यक्तिगत आवश्यकताहरूको लागि साथै यो अरूहरूको आवश्यकताको लागि गर्ने प्रार्थना होइन । अन्तरविन्तिको प्रार्थना कसैको विशेष आवश्यकतामा परमेश्वर स्वयम उत्रनु हुनेछ र काम गर्नु हुनेछ भन्ने पूर्ण आशामा गरिने प्रार्थना हो । यो चाहिँ हामीले चाहे जस्तै तरिकाले वा हामीले भनेको समयमा नभए तापनि परमेश्वरले काम गर्नु हुन्छ भनी भरोसा गरेर गर्ने प्रार्थना हो ।

पुरानो करारमा धेरै मानिसहरूले अरूहरूको लागि प्रार्थना गर्दै परमेश्वरको अघि उभिएको हामी पाउँदछौं । जस्तैः अब्राहामले आफ्नो छिमेकमा रहेको सदोम र त्यसका वरपरका क्षेत्रहरूको लागि प्रार्थना गर्नलाई परमेश्वरको अघि आउनलाई कदम चालेका थिए । यस काम गर्नलाई उनी होसियारी बने कारण उनलाई यो कुरा थाहा थियो की सदोम अत्ति नै दुष्टताले भरिएको थियो र त्यस प्रति परमेश्वर अत्ति नै क्रोधित हुनुभएको थियो । यसैले अब्राहामले परमेश्वरसँग बोल्दा होसियारी अनपानएको यस कुराले देखाउँछ (उत्पत्ति १८:२६–३३) । यसरी नै परमेश्वर रिसाउनु भएको बेला मोशाले पनि परमेश्वरको अघि आउने कदम चालेका थिए । उनी परमेश्वर र मानिसहरूको वीचमा उभिएर आफ्नो जीवन नै परमेश्वरका मानिसहरूको लागि दिन तयार भए (प्रस्थान ३२:३०–३१) । पर्खाल बनाउने नहेम्याहले यरूशलेम र परमेश्वरका मानिसहरूको लागि प्रार्थना गरे । जसै उनले तिनीहरूको आवश्यकता परमेश्वरको अघि लगे, यी सबै कुराको पछि रहेको प्रेरणा चाहिँ विश्वासका महान व्यक्तिहरूमा रहेको टिठालुपन थियो । तिनीहरूले ती मानिसहरूलाई, तिनीहरूका सस्कृतिलाई र तिनीहरूको विश्वासलाई परमेश्वरले जस्तै प्रेम गरेर, त्यस प्रेमको जोशले जलेर तिनीहरूको पक्षमा परमेश्वरसँग बोल्नलाई आँट गरे ।

नयाँ करारमा पनि हामी अन्तरविन्ति गरिएको घटनाहरू पाउँछौं । यसरी अन्तरविन्ति गर्नेहरूमा मुख्य उदाहरण येशू हुनुहुन्छ । उहाँले पितासँग उहाँका चेलाहरूलाई आशिष दिन र सुरक्षित राख्नको लागि प्रार्थना गर्नुभयो (यूहन्ना १७:६–१७) । यसरी नै उहाँले क्रुसबाट प्रार्थना गर्नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन् ।” (लूका २३:३४) । साँच्चै उहाँ जन्मनुको कारण र जिउनुको कारण एक जीवित अन्तरविन्ति गर्ने हुनको लागि थियो । यसरी नै स्तिफनसले पनि येशूको नमुनालाई पछ्याए । उनको अन्तिम वाक्य पनि येशूको प्रार्थना जस्तै नै थियो । उनले पनि आफुलाई ढुङ्गा हानेर मार्नेहरूको लागि अन्तरविन्तिको प्रार्थना गरेका थिए (प्रेरित ७:५९–६०) ।

नयाँ करारका सुरुका मण्डलीहरूले पनि अन्तरविन्तीको प्रार्थना गरेको हामी पाउँछौं । कतिले यात्राको लागि, निको हुवाई र स्वास्थको लागि साथै परमेश्वरबाटको बुद्धिको लागि अन्तरविन्ति गरेका छन् भने कतिले ख्रीष्ट येशूलाई चिन्न सकुन भनेर प्रार्थना गरेका छन् । अरूहरूले राजनैतिक नेताहरूका लागि जसले उनीहरूलाई मार्न चाहेका थिए, उनीहरूको लागि अन्तरविन्ति चढाएका छन् ।

आज अन्तरविन्तीको प्रार्थना तपाई र मबाट सुरू हुनु परेको छ । कसैले अरूकसैको लागि अन्तरविन्तिको प्रार्थनाद्वारा परमेश्वरको अघि गइरहेको सुन्दा हामीलाई खुशी लाग्छ तर परमेश्वरले तपाई र मलाई पनि त्यस्तै गरेको चाहानु हुन्छ । हाम्रो व्यक्तिगत भक्ति खाली आफ्नो फाइदाको लागि मात्र हुनु हुँदैन । यदि परमेश्वरको प्रेमले हामी भित्र काम गरि रहेको छ भने हामी अरूहरूको लागि प्रार्थना गर्न लाग्दछौं र यसले हामीलाई उच्च शक्तिको, चङ्गाईको र प्रेमको श्रोत कहाँ पुरायाउँछ । जसै हामी अन्तरविन्तीको प्रार्थना गर्दछौं, हामीले यो जान्नु पर्छ की यसमा हामी एक्लै छैनौं । कारण जब हामी परमेश्वरको प्रेममा अरू कसैको लागि प्रार्थना गरिरहेका हुन्छौं तब पवित्र आत्माले पनि हामीसँग प्रार्थना गर्नु हुन्छ । हामीले हाम्रो प्रार्थना परमेश्वर पितालाई, पुत्र येशूको नाममा पवित्र आत्माको शक्तिमा गर्नु पर्छ ।

अहिले नेपालको लागि विश्वव्यापी चालिस दिने प्रार्थना भइरहेको छ । हाम्रो देशको हालको अवस्थामा परमेश्वर स्वयं उत्रनु हुनेछ र आफ्नो शक्तिमा काम गर्नुहुनेछ भन्ने पूर्ण विश्वासमा प्रार्थना गर्नुपर्छ । यसैले हामी पनि परमेश्वरको अघि उभिएर प्रार्थना गर्ने उहाँका दासहरूझैँ प्रेमको जोशमा जोशिलो भएर नेपालको लागि अन्तरविन्तिको प्रार्थना गरौं ।