झुटा शिक्षाबाट होसियार!

July 4, 2011 | Articles  

मण्डली ख्रीष्ट येशू प्रभुको हो । मण्डलीको लागि नै उहाँले आफ्नो प्राण क्रुशमा दिनुभयो । यसैले मण्डली उहाँको निम्ति अति प्यारो र बहुमूल्य छ । उहाँ आफ्नो मण्डलीलाई स्वर्गमा लैजानको लागि दोस्रो पल्ट फेरि आउँदै हुनुहुन्छ (यूहन्ना १४:३, मर्कूस १३:२६–२७, प्रेरित १:९–११, १ थेसलोनिकी ४:१५–१७) ।

ख्रीष्ट येशू प्रभुले उहाँको मण्डली यस संसारमा पवित्र आत्माको अगुवाइमा वृद्धि हुँदै, फैलँदै, पवित्र हुँदै, अधिकार गर्दै गएको साथै सारा आदर, भक्ति र महिमा उहाँलाई दिँदै उहाँको दोस्रो आगमनसम्म स्थिर र सुरक्षित रहेको चाहनुहुन्छ । यसैले प्रभु आँफैले  पनि मण्डलीलाई दुष्टबाट सुरक्षित रहून् भनी पितासँग बिन्ती गर्नुभएको कुरा बाइबलमा लेखिएका छ (यूहन्ना १७:१५–१९) ।

ख्रीष्ट येशूको चाहाना अनुसार मण्डली फैलँदै जान नदिनलाई शैतानले धेरै प्रकारले मण्डलीलाई झुटा कुराहरू गरी बहकाउने, मण्डलीको शिक्षाको विरोध गर्ने, विश्वासमा बाधा ल्याउने गर्छ, किनकि त्यो झुटको पिता हो (यूहन्ना ८:४४) । यसैले त्यो बिगार्न, नाश गर्न र मार्नलाई मात्र आउँछ (यूहन्ना १०:१०) ।

अहिलेको वर्तमान संसारमा झुटो शिक्षाहरू प्रशस्त मात्रामा आइसकेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर साथै देशको अन्य ठाउँहरूमा पनि यस्ता समूहका मानिसहरू विश्वासीहरूको घर–घरमा आउन थालेका छन् । सुरूका मण्डलीहरूमा पनि यस्ता झुटो शिक्षा र शिक्षकहरूले दुःख दिएका थिए । विश्वासीहरूलाई बहकाउने काम गरी मण्डलीमा फाटो, गडबडी ल्याएका थिए (गलाती १:६–९) । यी विश्वासीहरूको जीवन देखेर पावल आँफै पनि छक्क परेका थिए, किनकि त्यस समयका विश्वासीहरू सत्य सुसमाचारदेखि सजिलै झुटा कुराहरूतिर बहकिएर गएका थिए ।

प्रेरित २०:२८–३१ अनुसार पावलले एफिसस्का अगुवा र मण्डलीहरूलाई पनि यस्तै कुराहरूबाट होसियारी हुन चेतावनी दिइएका छन् भने कलस्सी १:२२–२३ मा कलस्सीको मण्डलीलाई पनि चेतावनी दिइएका छन्, किनकि पावललाई मण्डलीको निम्ति साँचो बोझ, वास्ता, फिक्री थियो (२ कोरिन्थी ११:२–४) ।

झुटो शिक्षा के हो
परमेश्वरको वचनबाट केही पद मात्र लिई त्यसलाई ठूलो विषय बनाएर वचनलाई बङगाएर निकालिएको सिद्धान्त र शिक्षा नै झुटो शिक्षा हो (२ पत्रुस ३:१६–१७) । झुटो शिक्षा सिकाउनेहरूले
वचनलाई आफ्नै तरिकाले ब्याख्या गरि आफ्नै सिद्धान्त बनाई शिक्षा दिने काम गर्छन् । तिनीहरूले आफ्नो कुरा राख्ने काममा सम्पूर्ण बाइबल चलाउँदैनन् । झुटो शिक्षा सिकाउनेहरुले के गर्छन् ?
झुटो शिक्षा सिकाउनेहरू कतिले निस्तार चाड मान्नुपर्छ भनी जोड दिन्छन्, पानीको बप्तिस्मा फेरि लिन कर लगाउँछन, ख्रीष्टमस मान्नु हुँदैन भनी शिक्षा दिन्छन्, पवित्र आत्माको विरोध गर्छन, विवाह गर्नु हुँदैन भन्छन्, पितालाई होइन मातालाई मान्नुपर्छ भन्छन् ।

यस्ता मानिसहरू अन्य मानिसहरूकहाँ गएर सुसमाचार सुनाउँदैनन् तर विश्वासीहरूको घर खोजी खोजी आउने गर्छन् र धेरै कुराहरू गरेर प्रलोभन देखाउँछन् साथै हामीले पाएको उद्धार, मुक्ति र शिक्षाको विरोध गर्छन् र हाम्रो शिक्षालाई झुटो हो भन्छन् । हाम्रो विश्वास र शिक्षाको विषयमा तर्क बितर्क गरी हाम्रो विश्वासलाई खलबल्याउन खोज्छन् । मण्डलीका अगुवाहरूको विरूद्धमा बोल्छन् । आराधना सेवामा आएर विश्वासीहरूलाई बहकाउँछन्, भड्काउँछन् र उनीहरूको झुण्डमा फकाएर लान कोशिष् गर्छन् ।

तिनीहरुलाई कसरी चिन्ने
मत्ती ७:१५–१६ भन्दछ “झुटा अगमबक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेडाको भेसमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरू जस्ता हुन्छन् । तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ । के काँढाका बोटबाट अंगूर अथवा सिउँडीबाट अञ्जीर टिपिन्छ र ?”

वचनले झुटो शिक्षा सिकाउनेहरुको सम्बन्धमा के भन्छ ?
२ पत्रुस २:१–३ ले भन्दछ “जसरी इस्राइलीहरूका माझमा झुटा अगम्वक्ताहरू थिए, त्यसरी नै तिमीहरूको माझमा झुटा शिक्षकहरू खडा हुनेछन् । यिनीहरूले गुप्त रुपले विनाशकारी झुटा शिक्षाहरू ल्याउनेछन्, यहाँ सम्म कि तिनीहरूलाई उद्धार गर्नुहुने स्वामीलाई पनि तिनीहरूले इन्कार गर्नेछन् र आँफैमाथि विनाश ल्याउनेछन् र धेरै जनाले तिनीहरूका विलाषी आचरणको अनुसरण गर्नेछन्, र तिनीहरूको कारण सत्यका मार्गको बदनामी हुनेछ । लोभको बसमा परेर तिनीहरूले झुटा कुरा बनाएर तिमीहरूबाट फाइदा उठाउनेछन् । तिनीहरूका दण्डको कुरा अघिबाटै निर्णय भइसकेकोछ, र तिनीहरूका विनाशको कुरा जागै छ ।” यसरी नै मत्ती २४:५ ले भन्छः किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ’ भन्दै आउनेछन् र धेरैलाई बहकाउनेछन् ।

वचनले हामी मण्डलीलाई के भन्छ
१ यूहन्ना ४:१–३ ले भन्दछ “प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर किनभने धेरै झुटा अगमवक्ताहरू यस संसारमा निस्किआएका छन् । यसैबाट तिमीहरू परमेश्वरको आत्मालाई चिन्छौः हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाट हो । येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा ‘त्यो आउँछ’ भन्ने तिमीहरूले सुनेका छौ । अब त्यो यस संसारमा आइसकेको छ ।” २ पत्रुस ३:१७ ले भन्दछ “यसकारण प्रिय हो, अघिबाटै यी कुरा जानेर होशियार रहो, दुष्ट मानिसहरूको भूल कुरामा अलमलिएर आफ्नो स्थिरता नगुमाओ ।”

मण्डलीको जिम्मेवारी
परमेश्वरले मलाई यस मण्डलीमा राख्नुभएको हो भनी जानेर मण्डलीको शिक्षा र अगुवाहरूको अधिनमा हामी रहनुपर्छ । यसैले हामीलाई बहकाउने, लोभलालच देखाएर मण्डलीबाट अलग गराउनेहरूसँग होसियार रहनुपर्छ । साथै मण्डलीका अरू दाजुभाई तथा दिदी बहिनीहरूलाई पनि यस्ता मानिसहरूबाट जोगाउनुपर्छ । २ यूहन्ना १० ले भन्दछ “यदि कोही तिमीकहाँ आएर यो सिद्धान्त ल्याएन भने त्यसलाई घरमा स्वागत नगर्नू । त्यसलाई अभिवादन पनि नगर्नू ।”

अगुवाहरुको जिम्मेवारी
प्रेरित २०:२८–२९ ले भन्दछ “तपाईंहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस् ।
पवित्र आत्माले तपाईंहरूलाई बगालको जिम्मावाल बनाउनुभएको हुनाले उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हेरचाह तपाईंहरू गर्नुहोस् किनभने मलाई थाहा छ, कि म गएपछि डरलाग्दा ब्वाँसाहरू तिमीहरूका माझमा पस्नेछन्, जसले बगाललाई बाँकी राख्ने छैनन् ।” यसैले मण्डलीको अगुवाहरूको अझ ठूलो जिम्मेवारी छ किनकि यस्ता झुटा शिक्षा र शिक्षकहरूबाट मण्डलीलाई जोगाउन मण्डलीका विश्वासीहरूको राम्रोसँग हेरचार गर्न र वास्ता पुयाउनको लागि परमेश्वरले अगुवाहरूलाई मण्डलीमा राख्नुभएको छ ।