जाओ, चेला बनाओ, बप्तिस्मा देओ र सिकाओ

October 19, 2011 | Articles  

गत वर्ष भएको नेइम परिषद् बैठकको निर्णयअनुसार सन् २०१० साल (२०६६/६७) लाई नेइमले मिशन वर्षका रूपमा मनाउनेभएको छ। यसको अर्थ २०१० मा मात्र मिशन कार्य गर्ने नभई २०१० देखि मिशन कार्यलाई बढाउँदै लैजाने भन्ने उपयुक्त हुनेछ। यसको लागि हामीले  शब्दको अर्थ बुझ्नु आवश्यक छ। “मिशन” अङ्ग्रेजी शब्द “कमिशन” बाट आएको हो। कमिशनको अर्थ कुनै निश्चित कामप्रतिबद्धताका साथ पूरा गर्नु हो। येशू ख्रीष्टलाई राजीखुसी आफ्नो मुक्तिदाता र प्रभु भनी विश्वासका साथ ग्रहण गरी इसाई भइसकेकाहरूलाई उहाँले एउटा कमिशन दिनुभएको छः

मत्ती २८:१८–२०: येशूले तिनीहरूलाई भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ। यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ। मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ, हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।”

प्रभु येशूले मानिसहरूको मुक्तिको निमित्त आफ्ना परमेश्वर पिताको आज्ञा अनुरुप क्रूसको मृत्यु भोग्नुभयो
(फिलिप्पी २:८) र मुक्तिको कार्य समाप्त गरी पुनरुत्थान हुनुभयो। त्यसपछि परमेश्वरले प्रभु येशूलाई उहाँको पहिलेको अधिकार दिनुभयो। यसैकारण प्रभु येशूले “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ” भन्नुभयो।

उहाँले सुरु गर्नुभएको काम पूरा गर्न तपाईं र मलाई अर्थात् उहाँका चेलाहरूलाई वारिसनामा दिनुभएको
छ। मण्डली वा संगतिका अगुवा अथवा पढेलेखेका व्यक्तिहरू मात्र नभई यो काम गर्ने जिम्मा प्रत्येक विश्वासीलाई दिनुभएको छ। प्रभु येशूले दिनुभएको जिम्मालाई माथि उल्लेखित धर्मशास्त्रको खण्डको आधारमा चारवटा  कृयाहरू छन्ः जाओ, चेला बनाओ, बप्तिस्मा देओ र सिकाओ।

१. जाओः यो शब्दले गतिशीलता बोध गराउँछ। जाने काम परिवारदेखि मण्डली, समाज, देश र अन्य देशमा समेत हुन सक्छ। जहाँ हामी जान्छौं अथवा छौं, त्यहीँ नै यी तलका कामहरू हुनुपर्छ।

२. चेला बनाओः जुन स्थानमा छौं, त्यहाँका मानिसहरूलाई प्रभु येशू र उहाँको राज्यको विषयमा जान्ने “विद्यार्थी” बनाउनु हाम्रो अर्को काम हो। कर र बलले कसैलाई विद्यार्थी बनाउन सकिन्न। साँचो विद्यार्थी बन्न तिर्खा, उत्सुकता र जान्ने इच्छा चाहिन्छ। तिर्खा तथा उत्सुकता जगाउन र उहाँलाई पछ्याउने बनाउन तपाईं र मेरा मुखका शब्दहरू तथा जीवनको साक्षी चाहिन्छ। “जसको विषयमा सुनेकै छैनन्, उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने?” रोमी १०:१४।

३. बप्तिस्मा देओः प्रभु येशूको विषयमा सुनेर वा जानेर उहाँलाई आफ्नो मुक्तिदाता र प्रभु भनी विश्वाससाथ ग्रहण गर्ने कुनै पनि व्यक्तिले उद्धार पाउँछ। यो कार्य पूरा गर्न तथा म प्रभु येशूलाई मेरो प्रभु र मुक्तिदाता मान्छु भनी संसारलाई साक्षी दिन पानीको बप्तिस्मा लिनुपर्दछ। यो बप्तिस्मा त्रिएक परमेश्वर– “पिता र पुत्र र पवित्र आत्माको” नाउँमा लिइन्छ। मण्डली स्थापना भएपछि यो कार्य वा विधि मण्डलीका अभिषिक्त व्यक्तिले गर्दछन्। प्रभुलाई ग्रहण गर्नु भनेको परमेश्वरलाई आफ्नो बनाउनु हो भने बप्तिस्मा लिनु म येशूको हुँ भनी संसारलाई साक्षी दिनु हो।

४. सिकाओः बप्तिस्मा अन्त्य होइन। प्रभु येशूले यो जिम्मा दिनुभयो― “मैले आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ।”प्रभु येशूको सबै आज्ञा पालन गर्नुको अर्थ ख्रीष्टियान जीवन जिउनु हो। प्रभु येशूको आज्ञा सिकाउन र पालन गर्न सहयता गर्ने हाम्रो जिम्मा हो। यो काम निरन्तर गरिरहनुपर्दछ।

प्रभु येशूले यी सबै हाम्रो जिम्मामा मात्र छोड्नुभएको छैन। उहाँको प्रतिज्ञा यस्तो छ, “म युगको अन्त्यसम्म सधँै तिमीहरूका साथमा छु।” यी सबै गर्नलाई उहाँले पितासँग प्रार्थना गरी पवित्र आत्मा पठाइदिनुभएको छ। पवित्र आत्मा हामीसँग सधैँभरि रहनुहुन्छ र हामीलाई साथ दिनुहुन्छ।

प्रभु येशूले हामीलाई सुम्पनुभएको काम म एउटै अथवा हामी एकदुई जनाले मात्र होइन तर सबैले मिलेर सम्पन्न गर्नुपर्नेछ। यसैले प्रभु येशूले आफ्नो जीवनकालमा चेलाहरू छान्नुभयो। उहाँको स्वर्गारोहणपछि यो जिम्मा उहाँमाथि विश्वास गर्ने हामी प्रत्येकलाई सुम्पनुभएको छ।

यसर्थ आजैदेखि आफ्नो परिवारमा, मण्डलीमा, समाजमा, देशमा वा देशदेखि बाहिर प्रभु येशूको सुसमाचार उहाँले देखाउनुभएको तथा उहाँले दिनुभएको क्षमताअनुसार हामीले पाएका जिम्मा पूरा गर्न सुरू गरौं। यो महत्वपूर्ण जिम्मा आफ्नै कोसिसमा होइन तर पवित्र आत्माको प्रेरणामा उत्साह र जोशसित गरौं।

–पास्टर डाक्टर राजेन्द्र कुमार रोङगोङ्