ख्रीष्टमा सराप-मुक्त एवं आशिष प्राप्त जीवन

March 5, 2012 | Articles  

पुरानो करारअनुसार व्यवस्था पालन गर्नेहरूले परमेश्वरबाट आशिष् पाउँथे, नगर्नेहरूले सराप पाउँथे । सबै मानिसहरू श्रापित नै ठहर्दथे कारण कसैले पनि व्यवस्था पालन गर्न सक्तैनथ्यो । व्यवस्था पालन गर्नेले पूरा पूरा पालन गर्नु पर्दथ्यो । व्यवस्था पूरा पालन गरेर पनि खालि एउटैमा मात्र चुक्यो भने पनि ऊ पूरै व्यवस्था–उलङ्घनको दोषी ठहर्दथ्यो । मोशाले व्यवस्था ६:२५ मा भन्दछ, ‘उहाँका आदेशबमोजिम उहाँका दृष्टिअगि परमप्रभु हाम्रा परमेश्वरका यी सबै आज्ञा पालन गर्‍यौं भने त्यही नै हाम्रो धार्मिकता हुनेछ ।’ उनीहरूको धार्मिकता उनीहरूको आज्ञापालनमा निर्भर गर्दथ्यो । गलाती ३:१० मा पनि लेखिएको छ, ‘व्यवस्थाका कामहरूमाथि भर पर्ने सबै श्रापित छन्, किनकि धर्मशास्त्रमा यसो लेखिएको छ, व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुरामा नरहने र ती पालन नगर्ने हरेक श्रापित हुन्छ ।’ याकूब २:१०–११ ले पनि भन्दछ, ‘किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एउटै कुरामा चुक्छ भने व्यवस्थाका सबै कुरामा त्यो दोषी ठहरिएको हुन्छ । किनकि जसले “व्यभिचार नगर्” भन्नुभयो उहाँले ‘हत्या नगर्’ पनि भन्नुभयो । तसर्थ यदि तिमी व्यभिचार गर्दैनौ तर हत्या गर्दछौ भने तिमी व्यवस्थाका अपराधी भएका छौ ।’ पुरानो करारमा सबै मानिसहरू परमेश्वरको सामु दोषी ठहरिएथे कारण कसैले पनि व्यवस्था पूरा पालन गर्न सकेनन् । पुरानो करारको व्यवस्थामा परमेश्वरका आज्ञाहरू “यो गर्, यो नगर्” मात्र थियो । आज्ञा पालन गर्न नसक्ने दोषी ठहराइन्थे, श्रापित हुन्थे, दण्डको योग्य गनिन्थे ।
दोषी ठहरिएका श्रापित पापीहरूको यो दयनीय अवस्था देखेर प्रेम गर्ने परमेश्वरले मानिसहरूसँग एउटा नयाँ करार बाँध्नुभयो । व्यवस्था पालन गर्न नसक्ने भएकोले हामी पनि उहाँको दृष्टिमा श्रापित बनेका थियौं । हामी पनि दण्ड–योग्य भएका थियौं । परमेश्वरले हाम्रा सबै पापको दण्ड ख्रीष्ट येशूलाई भोग्न लाउनुभयो । उहाँलाई हाम्रो निम्ति सराप बनाउनुभयो, श्रापित बनाउनुभयो (गलाती ३:१३, व्यवस्था २१:२३) । उत्पत्ति ३:१८ अनुसार आदमको पापको कारण जमीन श्रापित भयो र काँडा र सिउँडीहरू उमार्न लाग्यो । काँडाको मुकुट लगाएर ख्रीष्ट प्रभुले क्रुसमा सम्पूर्ण आदम जातिको सराप आफैमाथि बोक्नुभयो । येशूले त कहिल्यै पाप गर्नुभएको थिएन, उहाँमा पाप थिएन, उहाँले पापलाई चिन्नुभएको पनि थिएन । उहाँलाई नै परमेश्वरले हाम्रो निम्ति पाप बनाउनुभयो । उहाँ आफैले सराप बनी हामीलाई व्यवस्था–उलङ्घनको सरापको दण्डबाट मोल तिरेर मुक्त गरिदिनुभयो । उहाँले हाम्रो दण्ड भोगिदिनुभयो । हामीले मर्नुपर्ने मृत्यु मरिदिनुभयो, हामीले भोग्नुपर्ने दण्ड भोगिदिनुभयो । हामीले तिर्नुपर्ने ऋण तिरिदिनुभयो । अब हामीले त्यो मृत्यु मर्नु पर्दैन, त्यो दण्ड भोग्न पर्दैन, त्यो ऋण तिर्नुपर्दैन कारण येशू आफैले हाम्रो निम्ति सबै कुरा गरिदिनुभएको छ । रोमी १०:४ ले भन्दछ, ‘किनभने विश्वास गर्ने हरेकको निम्ति धार्मिकताको लागि ख्रीष्टनै व्यवस्थाको अन्त्य हुनुहुन्छ ।’ पुरानो करारअनुसार मानिसहरू व्यवस्था पालन गरेर आफ्नै धार्मिकता कमाउने कोशिष गर्थे, अब नयाँ करारअनुसार मानिसहरू ख्रीष्ट येशूको क्रुसको महा पवित्र बलिदानमा विश्वास गरेर परमेश्वरको धार्मिकता सित्तैंमा प्राप्त गर्छन् । आफ्नै धार्मिकता कमाउनलाई पुरानो करारका आज्ञाहरू अब हामीले पालन गर्नुपर्ने आवश्यकता छैन । खाली ख्रीष्ट येशूले हाम्रो निम्ति क्रुसमा गरिदिनुभएको कुरामा विश्वास गरे पुग्छ । जो कुरा ख्रीष्ट प्रभुले हाम्रो निम्ति गरिसक्नुभएको छ, त्यो हामीले फेरि दोहोर्‍याएर गर्नुपर्ने आवश्यकता छैन । अब उहाँले हाम्रो निम्ति क्रुसमा गरिदिनुभएको कुरोमा विश्वास मात्र गरे पनि पुग्छ । यूहन्ना ६:२८–२९ मा मानिसहरूले येशू प्रभुलाई सोधेथे, ‘परमेश्वरको काम गर्नलाई हामीले के गर्नुपर्छ ? प्रभुले भन्नुभएथ्यो, परमेश्वरको काम यही हो, जसलाई उहाँले पठाउनुभयो, उहाँमाथि विश्वास गर ।’ रोमी ८:१–२ मा लेखिएको छ, “यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन । पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनको आत्माको व्यवस्थाले ख्रीष्ट येशूमा मुक्त पारेको छ ।” हामी ख्रीष्ट येशूमा भएकाहरू अब दण्ड–मुक्त भएका छौं, सराप–मुक्त भएका छौं । कसैले अब हामीलाई दोषी ठहराउन सक्दैन । रोमी ८:३३–३४ ले भन्दछ, ‘परमेश्वरका चुनिएकाहरूका विरूद्धमा कसले अभियोग लाउने ? धर्मी ठहराउनुहुने परमेश्वर नै हुनुहुन्छ । दण्डको आज्ञा दिने को हो ? मर्ने त ख्रीष्ट येशू हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ ।’
“जुन प्राणीले पाप गर्छ त्यो मर्छ” भन्ने न्याय परायण एकमात्र सत्य परमेश्वरले आफ्नो कुरा बदलेर पाप गर्ने पापी मानिसहरूलाई प्रेम गरी सित्तैंमा मुक्ति दिँदा परमेश्वरको सत्यवादितामा कुनै प्रकारको आँच पर्न जाँदैन र भन्ने प्रश्न उठ्न सक्छ । पाप गर्ने पापीले पापको दण्ड त पाउनैपर्ने हो । दया–माया गरेर उसलाई त्यसै छोडिदिनु कतिसम्म न्यायोचित ठहर्छ ? त्यस अवस्थामा परमेश्वरको विरूद्धमा कसैले दण्डहीनताको दोष लाउन सक्दैन र ?
यदि पापी मानिसहरूलाई माया गरेर, टिठाएर परमेश्वरले तिनीहरूलाई त्यसै क्षमा गरिदिनुभएको भए त्यो कुरा अत्यन्तै अनुचित ठहर्ने थियो तर परमेश्वरले त्यसो गर्नुभएन । उहाँले पापी मानिसहरूको पापको दण्ड उहाँको निर्दोष निष्पाप पुत्रलाई भोग्न लाउनुभयो । येशू प्रभुले त पापै गर्नुभएको थिएन, उहाँमा पाप थिएन, उहाँले पापलाई चिन्नु पनि भएको थिएन । उहाँलाई नै परमेश्वरले हाम्रो पापको सम्पूर्ण दण्ड भोग्न लाउनुभयो । उहाँ निष्पाप हुनुहुन्थ्यो, नत्रता उहाँले आफ्नै पापको दण्ड भोग्न पर्नेथ्यो, अरूहरूको पापको दण्ड भोगिदिन सक्नुहुने थिएन । हाम्रो मुक्तिदाता बन्न सक्नुहुने थिएन । यसर्थ परमेश्वरलाई कसैले दण्डहीनताको दोष लाउन पाउँदैन । उहाँले आफ्नो कुरा बद्लनु भएन । उहाँले दण्ड दिनुभयो । हामीलाई होइन, प्रभु येशूलाई । येशू प्रभुलाई हाम्रो पापको दण्ड भोग्न लाएपछि उहाँले हामीलाई फेरि हाम्रो पापको दण्ड भोग्न लाउनुहुन्न । हाम्रो मुक्ति सित्तैंको मुक्ति हो, तर सस्तो किसिमको होइन । परमेश्वर पिताले आफ्नो एकमात्र प्यारो पुत्रलाई बलिदान दिएर ठूलो मूल्य चुकाउनु पर्‍यो । येशू प्रभुले पनि आफ्ना सर्वस्व नै त्याग्नुभयो । आफ्नो प्राण नै दिनुभयो । सित्तैंमा पाइने मुक्ति सस्तो थिएन । पुरानो करारका सबै सरापहरूले अब हामी विश्वासीहरूलाई दुःख दिन पाउँदैनन् किनकि येशू प्रभुले सराप बनेर हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभएको छ । गलाती ३:१४ ले भन्दछ, “उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो
ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा अन्यजातिहरूमा आओस् र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं । परमेश्वरले अब्राहामलाई भन्नुभएको थियो, “तँमा नै सबै जातिले आशिष् पाउनेछन् ।” अब्राहामको आशिष् पाउनलाई हामी सबै पहिले अब्राहामको
सन्तान हुनु पर्नेथ्यो । गलाती ३:७ मा लेखिएको छ, “यसकारण तिमीहरूले यो जान कि जस–जसले विश्वास गर्छन् तिनीहरू नै अब्राहामका सन्तान हुन् ।” गलाती ३:९ अनुसार विश्वास गर्ने मानिसहरूले विश्वासी अब्राहामसँगै आशिष् पाएका छन् । फेरि गलाती ३:२९ पदले भन्दछ, ‘यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका सन्तान हौ र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ ।’ यसरी नै ख्रीष्ट येशूले हाम्रा निम्ति सराप बनेर हामीलाई व्यवस्थाका सरापबाट मोल तिरेर छुटाउनु मात्र भएन तर हामी अन्यजातिहरूलाई विश्वासद्वारा अब्राहामको सन्तान बनाई अब्राहामको आशिष्को भागिदार पनि बनाउनुभएको छ । हामीले विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा पनि प्राप्त गरेका छौं । अब हामी विश्वासीहरू ख्रीष्टमा सराप–मुक्त भएका छौं साथै आशिष–प्राप्त पनि बनेका छौं । पुरानो करारका सबै सबै सरापहरूले अब हामी ख्रीष्टमा भएकाहरूलाई छुन पनि पाउँदैन साथै हामी ख्रीष्टमा विश्वास गर्ने सबैलाई अब्राहामको आशिषहरूको भागिदार बन्ने सौभाग्य प्राप्त भएको छ । त्यति मात्र होइन, हामीले प्रतिज्ञा गरिएको पवित्र आत्माको छाप, पवित्र आत्माको बप्तिस्मा, पवित्र आत्माको अभिषेक र पवित्र आत्माको भरपूरी पनि पाएका छौं । परमप्रभु परमेश्वरलाई धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!

– पाष्टर रोबर्ट कार्थक