एक–अर्काप्रतिको प्रेम – पाष्टर रोबर्ट कार्थक

August 9, 2012 | Articles  

(यूहन्ना १३:३४–३५÷१ यूहन्ना २:७–११÷१ यूहन्ना ४:१९–५:२)
एकपल्ट पवित्र आत्माको बप्तिस्मा पाएकाहरूले फेरि पवित्र आत्माको बप्तिस्मा लिन पर्दैन तर तिनीहरूले आत्माको ताजा भरपूरी हर समय लिइराख्नुपर्छ । हामी जतिले पवित्र आत्माको बप्तिस्मा पाएका छौं, परमेश्वर पिताले हामीलाई ‘प्रेमको बप्तिस्मा’ पनि दिनुभएको छ । “तपाइंको गम्भीर प्रेमको सागरमा डुबेँ प्रभु म” भनेर हामी भजन गाउँछौं । ख्रीष्टको रगतले चोख्याइएका रित्ता भाँडाहरू परमेश्वरको प्रेमको सागरमा डुबाइएर निकालिएपछि परमेश्वरको प्रेमले भरिएका हुन्छन् । यसरी डुबाइनु नै बप्तिस्मा पाउनु भनेको हो । हामी सधैँ परमेश्वरको प्रेमले भरिएको हुनुपर्छ र मात्र हामीबाट यो प्रेम अरूहरूतर्फ बगेर जान सक्छ । येशू प्रभुले आफ्ना चेलाहरूलाई भन्नुभयो, “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदैछु, तिमीहरू आपसमा प्रेम गर जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर । यदि तिमीहरूले आपसमा प्रेम गर्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्” (यूहन्ना १३:३४–३५) । ‘आपसमा प्रेम गर’ भन्ने यो आज्ञा नयाँ आज्ञा होइन, पुरानै हो । “जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु”– यो थपनीले यस पुरानो आज्ञालाई नयाँ रूप दिँदछ । म परमेश्वर पितालाई प्रेम गर्छु भन्नेहरूले परमेश्वर पिताका छोराछोरीहरूलाई पनि प्रेम गर्नुपर्छ । पितालाई मात्र प्रेम गर्ने तर उहाँका छोराछोरीहरूलाई चाहिँ प्रेम नगर्ने यस्तो कुरो हुनै सक्दैन (१ यूहन्ना ४:२१) । परमेश्वरलाई आज दुःख लागेको कुरो यही हो, हामी परमेश्वर पितालाई प्रेम गर्छौं भनी भन्छौं तर उहाँका प्यारा छोराछोरीहरू, हाम्रा आफ्नै दाज्यू–भाइ, दिदी–बहिनीहरूलाई घृणा गर्छौं । कतिचोटि परमेश्वर भन्नुहुन्छ होला, यो धोका मात्र हो कारण जुन मानिसहरूलाई मैले आफ्नो एकमात्र प्यारो पुत्रको बलिदानद्वारा आफ्ना छोराछोरी बनाएको छु, तिनीहरूलाई चाहिँ घृणा गरेर ‘हामी परमेश्वर पितालाई प्रेम गर्छौं’ भनेर धाक पिट्नेहरूको यो कपटीपना हो, बहाना हो, धोखाबाजी हो । मेरा छोराछोरीहरूलाई प्रेम नगर्नेले मलाई पनि साँचो प्रेम गर्न सक्दैन किनकि तिनीहरूले मेरो चित्त दुखाइराखेका हुन्छन् । परमेश्वर पितालाई प्रेम गर्नेले आफ्नै परिवारका दाज्यू–भाइ, दिदी–बहिनीहरूलाई पनि प्रेम गर्नुपर्छ (१ यूहन्ना ४:२०–५:२) ।
मण्डलीलाई चाहिएको प्रेमको बप्तिस्मा यही हो । प्रेमले छिमेकीको खराबी गर्दैन । प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो कारण समस्त व्यवस्था एउटै वाक्यमा पूरा भएको छ, “तैंले आफ्नो छिमेकीलाई आफुलाई झैं प्रेम गर्” (गलाती ५:१४) । हामीले प्रभुमा हाम्रा भाइ–बहिनीहरूलाई चिन्नुपर्छ र तिनीहरूलाई प्रेम गर्नुपर्छ । शुरूको मण्डलीलाई हेरेर मानिसहरूले भन्ने गर्थे, “हेर त, तिनीहरूले एका–अर्कालाई कति धेरै प्रेम गर्छन् ।” आज त्यो प्रेम मण्डलीमा देखिँदैन । विश्वासीहरू मुखले प्रेम बोले तापनि हृदयमा दुश्मनी, बेमेल, इष्र्या, क्रोध राख्छन् । कसैलाई कसैको वास्ता छैन । पवित्र आत्मा पाएका मानिसहरूको जीवनमा प्रेमको फल सधैँ फलिरहनुपर्ने हो कारण पवित्र आत्माको फल नै प्रेम हो (गलाती ५:२२) । परमेश्वरले उहाँको आफ्नै ईश्वरीय अगापे प्रेम पवित्र आत्माद्वारा हाम्रो हृदयमा खन्याउनुभएको छ (रोमी ५:५) ।
परमेश्वरको प्रेम अचम्मको छ । उहाँको प्रेम अटल छ, जो कहिल्यै पनि टल्दैन । त्यो अनन्तको प्रेम हो जसको कहिल्यै अन्त्य हुँदैन । यर्मिया ३१:३ मा उहाँ भन्नुहुन्छ, “अनन्त प्रेमले मैले तँलाई प्रेम गरेको छु । यसैकारण तँप्रति मैले मेरो विश्वासयोग्यता कायम राखेको छु ।” कति अवस्थामा हामी सोच्ने गर्छौं, यदि हामीले पाप गरिहाल्यौं भने परमेश्वर हामीलाई प्रेम गर्नुहुन्न तर परमेश्वरको प्रेम विना शर्तको प्रेम हो । हामीले पाप अपराध गरिहाल्यौं भने पनि उहाँले हामीलाई प्रेम गरिरहनुहुन्छ । हामी असल भएको कारणले नै उहाँले हामीलाई प्रेम गर्नुभएको होइन । रोमी ५:८ ले भन्दछ, “तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो ।” हामी जस्तै खराब अवस्थामा भएपनि हामीलाई उहाँले प्रेम गरिरहनुहुन्छ कारण ख्रीष्ट येशूलाई ग्रहण गरेर हामीलाई उहाँका सन्तान, उहाँका छोराछोरी हुने सौभाग्य मिलेको छ ।
असल काम गर्‍यौं भने धेरै प्रेम पाउँछौं, खराब काम गर्‍यौं भने कम्ति प्रेम पाउँछौं भन्ने डर हामीले राख्न पर्दैन कारण उहाँको प्रेम विना शर्तको प्रेम हो, उहाँले सधैँ हामीलाई एकैनासको अनन्तको प्रेमले प्रेम गरिरहनुहुन्छ । हामीले हाम्रा भाइ–बहिनीहरूलाई पनि त्यसरी नै प्रेम गरिरहनुपर्छ । तिनीहरूले हाम्रा विरूद्धमा जानी–जानी वा अजानमा केही खराब गरिहाले तापनि पिताले हामीलाई प्रेम गरिराख्नुभए जस्तै हामीले पनि तिनीहरूलाई प्रेम गरिरहनुपर्छ । यो कुरो हाम्रो मानवी प्रेमद्वारा हुन नसक्ने भएकोले नै परमेश्वरले आफ्नै अनन्तको अटल, विना शर्तको पवित्र ईश्वरीय अगापे प्रेम पवित्र आत्माद्वारा हाम्रो हृदयमा खन्याइदिनुभएको छ (रोमी ५:५) ।
‘आफ्ना शत्रुहरूलाई प्रेम गर’ भन्ने आदेश दिनुहुने प्रभुले धोखाबाजी गरेर उहाँलाई तीस रूपैँयामा बेच्ने यहूदा इस्करयोतीको पनि खुट्टा धुनुभयो । निर्दयतासाथ उहाँलाई क्रूसमा चढाउनेहरूका निम्ति “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्” भनी प्रार्थना गरिदिनुभयो ।
उहाँ आज हामीलाई भन्दैहुनुहुन्छ , “……………….. तिमीहरू आपसमा प्रेम गर जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर” (यूहन्ना १३:३४) ।