२१ औ शताब्दीमा परिवर्तन आउनको लागि पेन्तिकोसको आवश्यकता – डिकन सिमोन पाठक

August 31, 2012 | Articles  

नेपालमा आज सबैले परिवर्तन खोजिराखेका छन् । नयाँ बिहानी देख्ने चाहना सबैले गरिराखेका छन् । नेपालको राजनीतिमा कहिले परिवर्तन आउँला भनेर हामी आशा गरिराखेका छौं । हामीमध्ये कतिले आफ्नो परिवारमा भएको समस्याहरूमा परिवर्तन खोजिराखेका छौं होला । कतिले श्रीमानको जीवनमा परिवर्तन देख्नको लागि प्रार्थना गरिराख्नुभएको होला भने अर्को तर्फ श्रीमानले श्रीमतीको जीवनमा परिवर्तन आओस् भनेर प्रार्थना गर्दै हुनुहुन्छ होला । कतिले छोराछोरीको जीवनमा परिवर्तन साथै आफ्नै जीवनमा परिवर्तन खोजिराख्नुभएको होला । हामी परिवर्तन चाहने मानिसहरू हौं तर हामीले चाहेको परिवर्तन देख्न सकिराखेका छैनौं होला । हाम्रो आफ्नै प्रयासद्वारा हामीले परिवर्तन देख्न गाह्रो छ । त्यसैकारण नै हामीलाई पेन्तिकोसको आवश्यक छ ।
यहूदीहरूले तीनवटा चाडहरू भव्यसँग मनाउँथेः भेट हुने पालको चाड (पवित्र वासस्थानको चाड), निस्तार चाड र पेन्तिकोसको चाड । पेन्तिकोसको चाड निस्तार चाड मनाएको पचास दिनपछि मनाइन्थ्यो । यी तीन चाडहरू मनाउने समयमा रोम र पर्सियामा छरिएर रहेका सबै यहूदीहरू यरूशलेममा जम्मा हुने गर्दथिए । पेन्तिकोसलाई बाइबलमा साताहरूको चाड, अन्न भित्र्याउने चाड र अगौटे फलको चाडको नामले पनि चिनिन्थ्यो (प्रस्थान ३४:२२, व्यवस्था १६:१६, २ इतिहास ८:१३, प्रेरित २०:१६, १ कोरिन्थी १६:८, याकूब १:१८) । पेन्तिकोसको समयचाहिँ खुशी हुँदै धन्यवाद दिने र गहुँको कटनी गरेर अगौटे फलको अन्न भेटी चढाउने समय हो ।
येशूका चेलाहरू पेन्तिकोसको चाड मनाउने दिनमा यरूशलेमको एउटा घरको माथिल्लो तलामा प्रार्थना गरिराखेका थिए । येशूले भन्नुभएको थियो, “पवित्र आत्मा नपाएसम्म यरूशलेमबाट कतै नजाओ”
(प्रेरित १:४) । प्रेरित १:१४ अनुसार चेलाहरू एकैमनका भएर निरन्तर प्रार्थना गरिरहन्थे । उनीहरू पवित्र आत्माको पर्खाइमा थिए । नवौं दिनसम्म प्रार्थना गरिरहेका थिए । उत्तर आएको थिएन तर दशौं दिनका दिन अर्थात् पेन्तिकोसको चाड मनाउने दिनमा “स्वर्गबाट अचानक बतास आयो र तिनीहरू बसेको पूरा घरै भरिदियो… अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिए र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे” (प्रेरित २:२ –४) अन्य भाषामा तिनीहरू बोलेर परमेश्वरको प्रशंसा गर्न थाले ।
परिवर्तनको लागि पेन्तिकोसको आवश्यकता किन ? चार प्रमुख कारणहरूः
१. हामी सधै पवित्र आत्माले भरिपूर्ण हुनलाई (प्रेरित २:४) ।
हामी पवित्र आत्माले भरिपूर्ण भएनौं भने हामी संसारिकताले भरिन्छौं । हामी एक तेजबाट अर्को तेजमा बनिँदै जान सक्दैनौं । प्रेरित २:४
अनुसार सबैजना पवित्र आत्माले भरिए । पवित्र आत्माले भरिपूर्ण भएपछि मानिसहरू अन्य भाषाहरूमा बोल्न लागे । यहाँ भाषाहरू भनेर बहुवचनमा लेखिएको छ । यसले यो कुराको पुष्टि हुन्छ कि त्यहाँ एकभन्दा बढी भाषाहरूमा मानिसहरू परमेश्वरको प्रशंसा गरिराखेका थिए । तिनीहरूमध्ये कतिले बोलेको अन्य भाषा बोल्नेहरूको लागि नजानिएको तर संसारको कुनै ठाउँमा बोलिने भाषा थियो भने कतिले बोलेको अन्य भाषा संसारमा कहीँ पनि नबोलिने भाषा थियो जसलाई हामी स्वर्गीय भाषा पनि भन्छौं । हामीले बोलेको अन्य भाषा संसारमा भएका भाषाहरूमध्येको कुनै एक भाषा होस् या त संसारमा हुँदै नभएको स्वर्गीय भाषा होस् त्यो मुख्य होइन । महत्वपूर्ण कुराचाहिँ हामी अन्यभाषामा बोल्नु हो । जब हामी विश्वासद्वारा बोल्न लाग्छौं, त्यहाँ आत्मिक वृद्धि हुँदछ (१ कोरिन्थी १४:२ र ४) । हामीले आफ्नो वृद्धि वा सुधार नगरी मण्डलीको उन्नति गर्न सक्दैनौं । दोस्रो कारणः
२. हामी सधै साहसी बन्नलाई (प्रेरित २:१४–३८) ।
पत्रुस पेन्तिकोसको आशिष् पाउनुअगाडि डरपोक व्यक्ति थियो । डरको कारणले नै ५० दिनअघि येशू क्रुसमा चढाइनुभएको समयमा तीन पटक इन्कार गरेको थियो तर पेन्तिकोसको घट्नाले उसको जीवनमा ठूलो परिवर्तन ल्याइदियो । उसमा भएको लाज, डर सबै हटेर गयो । ऊ साहसी व्यक्ति बन्यो । खुल्लमखुल्ला येशूको नाउँको घोषणा गर्‍यो । हामीलाई कतिपटक मानिसको अगाडि ख्रीष्टको साक्षी दिन डर लाग्छ तर पेन्तिकोसको आशिष्ले हामीलाई साहसी बनाउँदछ । यदि हामीलाई सुसमाचार सुनाउन लाज लाग्छ, डर लाग्छ भने हाम्रो जीवनमा पेन्तिकोसको खाँचो छ । पहिलो शताब्दीका विश्वासीहरू पवित्र आत्माले भरिएपछि त्यो समयको संसारलाई उलटपुलट पारेका थिए । त्यसकारण नै परिवर्तन आउनको लागि पेन्तिकोसको आवश्यकता छ । तेस्रो कारणः
३. हामी सधै मेलमिलापमा रहनलाई (प्रेरित २:४२) ।
पेन्तिकोसले पहिलो शताब्दीको मण्डलीमा ल्याएको ठूलो परिवर्तनचाहिँ मेलमिलाप पनि हो । पेन्तिकोस अगाडिसम्म १२० जना प्रेरितहरू र तीन हजार मानिसहरूको बीचमा ठूलो खाडल थियो । तीन हजार मानिसहरूले १२० जना विश्वासीहरूलाई खिल्ली उडाइराखेका थिए तर पेन्तिकोसको घट्नाले उनीहरूमा ठूलो परिवर्तन ल्याइदियो । अघिका शत्रुहरू अब मित्रहरू बने । ख्रीष्टमा दाजुभाइ दिदीबहिनीहरू बन्न सके । खुशी र शुद्ध हृदयले मिलीजुली एकै ठाउँमा बसेर खान थाले ।
यस किसिमको परिवर्तन मानिसको प्रयासबाट धेरै नै कठिन छ तर पेन्तिकोसको दिनमा स्वर्गबाट पृथ्वीमा ओर्लनुभएको पवित्र आत्मा जब मण्डलीमा खन्याइनुहुन्छ तब मण्डलीले संसारलाई पविर्तन गर्ने शक्ति प्राप्त गर्नेछ । पेन्तिकोसको आशिषपछि पहिलो शताब्दीका विश्वासीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्थे । के आज हाम्रो समाजलाई चाहिएको कुरा यही होइन र ?
नेपालमा जाति–जातिहरू एकै ठाउँमा बसेर खाने अवस्था छैन । मिलापको सट्टा जाति–जातिहरू लडाईं गर्ने अवस्था भइराखेको छ । मानिसमा साँचो परिवर्तन ल्याउन दर्शन–शास्त्रले सक्दैन, धर्महरूले सक्दैन, कुनै सिद्धान्तले सक्दैन, तरवारहरूले सकिँदैन । परिवर्तन ल्याए पनि त्यो क्षणिक हुन्छ तर पेन्तिकोसले मानिसले चाहेको दीर्घकालीन परिवर्तन ल्याउन सक्छ ।
यी दिनहरूमा मण्डलीहरूमा फुट छ, किन? धेरै कारणहरू मध्ये एउटा प्रमुख कारण मण्डलीहरूले पेन्तिकोसले ल्याउने परिवर्तनलाई बेवास्ता गरेका छन् । नेपालका मण्डलीहरूले पेन्तिकोसको परिवर्तन गर्ने शक्तिलाई आफ्नो जीवनमा काम गर्न दिए भने हामीमा मेलमिलाप सम्भव छ । यदि हाम्रो परिवारमा मेलमिलाप छैन, झगडा छ भने पेन्तिकोसको परिवर्तन गर्ने शक्तिलाई हाम्रो जीवनमा काम गर्न दिऔं । चौथो र अन्तिम कारणः
४. हामी सधै प्रशंसा गर्ने मानिसहरू बन्नलाई (प्रेरित २:११,४७) ।
पेन्तिकोसको घट्नाले पहिलो शताब्दीका विश्वासीहरूलाई परमेश्वरको प्रशंसा गर्ने मानिसहरू बनायो । पद ११ मा भीडले दिएको साक्षी पाउँछौं, “क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौं, अनि हामी आ–आफ्ना भाषामा परमेश्वरका महान कार्यको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौं ।” परमेश्वरको प्रशंसाले मानिसहरू प्रभुतिर खिचिन्छन् साथै मण्डलीको वृद्धि हुँदछ । पहिलो शताब्दीमा एकैदिनमा तीन हजारले विश्वास गरे । प्रशंसाले भीडमा ठूलो हलचल ल्यायो भने प्रचारले मानिसहरूलाई मुक्तिको बाटोमा डोर्‍यायो ।
हाम्रा मण्डलीहरूले पहिलो शताब्दीको प्रेरितहरूले गरेको प्रशंसालाई नमूना बनाउनुपर्दछ । स्तुति प्रशंसाको समयमा परमेश्वरले गर्नुभएको महान कार्यहरूको चर्चा गर्नुपर्दछ । परमेश्वरले तपाईंको जीवनमा के गर्नुभयो त्यो कुराको घोषणा गर्नुपर्दछ । यदि हामी छेउको साथी करायो म पनि कराउनुपर्छ भनेर स्तुति प्रशंसाको समयमा कराइराखेका छौं भने त्यसले तपाईं र मेरो जीवनमा कुनै परिवर्तन ल्याउन सक्दैन । मानिसहरू हाम्रो प्रशंसाले प्रभुतिर अकार्षित हुन सक्दैनन् किनकि जहाँ आत्मा र सत्यतामा प्रशंसा हुन्छ, त्यहाँ मात्र नयाँ मानिसहरू मुक्तिमा डो¥याउने काम पनि हुन्छ ।
पेन्तिकोसको दिनमा यरूशलेममा भीड भएका मानिसहरूले परमेश्वरको महान कार्यहरूको चर्चा सुने जस्तै हाम्रो छर–छिमेकहरूले, आफन्तहरूले, समाजले परमेश्वरको महान कार्यको वर्णन हामीबाट सुन्नु परेको छ । हाम्रा मण्डलीहरू हल्ला गर्ने मण्डली भनेर होइन तर परमेश्वरको प्रशंसा गर्ने मण्डली भनेर चिन्नुपर्दछ । प्रशंसा गर्ने मण्डली भनेर चिनिनको लागि मण्डलीले परमेश्वरको महान कार्यको घोषणा गर्नु पर्दछ । प्रशंसा भनेको नै परमेश्वर को हुनुहुन्छ र उहाँले हाम्रो जीवनमा के गर्नुभयो ? त्यसको घोषणा गर्नु हो ।
साँचो प्रशंसाले मण्डलीमा वृद्धि ल्याउँदछ साथै मानिसहरूबाट शुभेच्छा पनि पाउँदछन् (प्रेरित २:४७) । के नेपालका मण्डलीहरूले खोजेका कुरा यही होइन र ? हाम्रा मण्डलीहरूमा साँचो परिवर्तन आउनको लागि पेन्तिकोसको परिवर्तन गर्ने शक्तिलाई स्वागत गरौं र प्रभुको महिमा गर्नेहरू बनौं ।