आजको गहिराइले भोलिको उचाइ निर्धारित गर्दछ – पाष्टर रोबर्ट कार्थक

May 9, 2013 | Articles  

जग बलियो भयो भने घर बलियो हुन्छ । ठूला–ठूला उच्च भवनहरू गगनचुम्बी अट्टालिकाहरूको जग पनि गहिरो गएको हुनुपर्छ र मात्र ती घरहरू अग्लो जान सक्छन् । हुनलाई घरको जगचाहिँ जमीनभित्र लुकेर रहने भाग मात्र हो तर घरको निम्ति त्यो महत्त्वपूर्ण हुन्छ । बाहिरबाट कसैले नदेखे तापनि त्यसले नै घरलाई ठीक ठाउँमा थामिराखेको हुन्छ । बलियो जग नभएको घर जत्तिकै भव्य, असल, बलियो देखिए तापनि त्यो अत्यन्तै कच्चा हुन्छ र चाँडै नै भत्कन सक्छ । यसैले बुद्धिमान मानिसले आफ्नो घर चट्टानमाथि बनायो । लूका ६:४८ मा प्रभुले घर बनाउने एकजना बुद्धिमान मानिसको बारेमा बताउनुभएको छ, जसले गहिरो खनेर चट्टानमाथि घर बसाल्यो । लूका ६:४९ पदमा उहाँले घर बनाउने अर्को मूर्ख मानिसको बारेमा पनि बताउनुभएको छ, जसले जमीनमाथि जगबिनाको घर बनायो । एकजनाले गहिरो खनेर चट्टानमाथि घर बसाल्यो, अर्कोले अलिअलि मात्र खनेर बालुवामाथि घर बनायो । पहिलो मानिसले धेरै परिश्रम गर्‍यो, धेरै पसिना बगायो, धेरै पैसा खर्च गर्‍यो, धेरै समय लगायो, उसको घर धेरै महँगो भयो । दोस्रो मानिसले थोरै परिश्रम गर्‍यो, थोरै पसिना बगायो, पैसा र समय पनि थोरै खर्च गर्‍यो, उसको घर धेरै सस्तो भयो । दोस्रो मानिसले भन्दा कम्ती समय, कम्ती खर्च, कम्ती परिश्रममा पहिलो मानिसको जस्तै देखिने असल दामी घर बनाएकोले संसारको दृष्टिमा दोस्रो घर बनाउने मानिस पहिलो मानिसभन्दा धेरै ज्ञानी, धेरै सिपालु, धेरै जान्ने ठहरियो । संसारले उसलाई पहिलो मानिसभन्दा बुद्धिमान ठहर्‍यायो । पछि पानी पर्‍यो, बाढी आयो, हुरी चल्यो । त्यसपछि मात्र वास्तवमा कुनचाहिँ मानिस बुद्धिमान रहेछ भन्ने कुरा प्रमाणित भयो । बालुवामाथिको घर भत्केर नाश भयो, चट्टानमाथि बनिएको घर मात्र अडेर बस्यो ।
सबै कुरा सजिलै, छिट्टै, प्रशस्तै खोज्ने युगमा हामी जिइरहेका छौं । इन्स्ट्यान्ट टी, इन्स्ट्यान्ट कफी, दुई मिनटको तैयारी चाऊ चाऊ, भात–तरकारी खानेकुराहरू सबै एकैक्षणमा तैयार हुने, फास्ट–फुड सेन्टरमा चाँडै खानेकुरा पाइने, माइक्रो–वेभ–ओभनमा एक दुई मिनटमै खाना तात्तिने, यो सुविधै–सुविधाको जमाना । कम्प्यूटर, इन्टरनेट, मोबाइलको युग हो यो । टाढा टाढाको खबर पनि मिनट मिनटमा प्राप्त हुने, साथै एस.एम.एस. गरेर झट्टै अरूलाई सुसमाचार पठाउन सक्ने सजिलो समयमा हामी जिइराखेका छौं । मण्डली निर्माण काममा पनि हत्तार–हत्तार सबै कुरा चाँडै–चाँडै सजिलैसँग, बिना झंझट, बिना प्रार्थना, बिना उपवास सिध्याउने विचार हाम्रो हुन सक्छ ।
एकजना कविले भनेका छन्,
‘Errors like bubbles on the surface flow,
He that searches pearls must dive below.’
‘भूल कुराहरू पानीका फोकाहरूझैँ धरातलमै तैरिरहन्छन्, मोती खोज्ने मानिसले चाहिँ तल डुबुल्की मार्नुपर्छ ।’ पानीका फोकाहरू त हावा मात्र हुन्, धरातलमै तैरिरहने । सक्कली मोतीचाहिँ समुद्रको गहिराइमा सिप्पीभित्र मात्र पाइन्छ । मोतीखोरहरूले समुद्रको फेदीसम्म गएर ती बटुलेर ल्याउँछन् । मण्डली–निर्माण तथा आफ्नै चरित्र–निर्माणको काममा पनि हत्तार गरेर काम बिगार्नको सट्टामा धैर्यसाथ प्रभुको समय तालिकाअनुसार पवित्र आत्माको निर्देशन र नियन्त्रणमा अघि बढ्दै जानु असल हुन्छ । १ कोरिन्थी ३:१०–१५ मा बताएअनुसार बसालिएको जग ख्रीष्टमाथि काठ, घाँस र परालको होइन तर सुन, चाँदी तथा बहुमूल्य पत्थरको असल पक्की घर बनाउनुपर्छ । हामीले समय लगाएर राम्ररी ध्यानपूर्वक गर्नु असल हुन्छ । परिपक्वता एकै रातमा आउँदैन । माथि माथिका हावाका फोकाहरू मात्र खोज्नेहरूले समुद्रको तहमा लुकेर रहेका बहुमूल्य मोतीहरू भेटाउन सक्तैनन् ।
किनारामा रहेर सजिलैसँग थुप्रै माछा पक्रने सपना देख्ने मछुवाहरूलाई प्रभु भन्नुहुन्छ, “गहिरोतिर लगेर माछा पक्रनलाई आफ्नो जाल हान” (लूका ५:४) । किनारामा सुविधा हुन्छ, सुरक्षा हुन्छ, सजिलो हुन्छ । पौडन पनि पर्दैन, पानीमा हिँडे पुग्छ । गहिरोमा गाह्रो हुन्छ, सजिलो हुँदैन, सुविस्ता हुँदैन, ज्यानको खतरा पनि हुन सक्छ । तर माछा पक्रने हो भने हामीले आँट पनि गर्नुपर्छ, मूल्य चुकाउन पनि तैयार हुनुपर्छ । किनारामा उभेर गहिरोमा जाने आँट नगर्ने मछुवाहरूले रातभरि जाल हाने तापनि ठूला–ठूला माछा पक्रन सक्तैनन् ।
एफिसी ४:९–१० मा येशू ख्रीष्ट प्रभुको बारेमा लेखिएको छ, “अब यो ‘उच्चमा चढिजानुभयो’ भनेको चाहिँ के हो ? केबल यही कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो । उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्वर्गहरूभन्दा धेरैमाथि चढिजानुभयो …।” उहाँ पहिले ओर्लनुभयो त्यसपछि मात्र उच्चमा चढिजानुभयो । उहाँ होच्याइनुभएको र उच्च पारिनुभएको कुरो फिलिप्पी २:६–११ मा पनि राम्ररी बताइएको छ । परमेश्वरको स्वरूपमा भएर पनि उहाँले आफैलाई होच्याउनुभयो, उहाँ मानिस बन्नुभयो, कमारो बन्नुभयो, त्यसपछि बलिदान हुनुभयो र अन्त्यमा मुर्दा पनि बन्नुभयो । उहाँले आफैलाई यस प्रकारले होच्याउनु–
भयो । “त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो ।”
याकूब ४:१० मा लेखिएको छ, “प्रभुको सामने आफैलाई विनम्र तुल्याओ (‘होचो पार’), उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ ।” यो कुरो १ पत्रुस ५:६ मा पनि लेखिएको छ । आफैलाई होच्याउने काम हाम्रो हो, हामीलाई उच्च पार्ने काम परमेश्वरको हो । लूका १८:१४ ले भन्दछ, “…किनभने हरेक जसले आफूलाई उच्च पार्दछ, त्यो होच्याइनेछ, तर जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ ।” प्रधानदूत लुसिफरले पनि आफैलाई परमेश्वरको सामने उच्च पार्न चाहेको थियो तर त्यो होच्याइयो (यशैया १४:१२–१५) । येशू प्रभुले आफैलाई होच्याउनुभयो अनि उहाँ उचालिनुभयो । मानिस जति तल होच्याइन्छ उति माथि उचालिन्छ ।
परमेश्वरले आफ्ना मानिसहरूको विषयमा यसरी भन्नुभयो, “यहूदाका कुलबाट बचेर रहेकाहरूले चाहिँ फेरि तलतिर जरा हाल्नेछन् अनि माथि फल फलाउनेछन्” (यशैया ३७:३१) ।
जराले रूखलाई स्थिर गरी खडा राख्ने काम मात्र गर्दैन तर त्यसलाई फलवन्त पनि बनाउँछ । रूखका जराहरू खोलाको किनारसम्म फैलिएको छ भने चर्को घाम लाग्दा पनि त्यो रूख डराउँदैन किनभने त्यसका पातहरू सधैँ हरियै रहन्छन्, खडेरी पर्दा त्यसलाई केही चिन्ता हुँदैन किनभने त्यसले फल फलाउन थाम्दैन (यर्मिया १७:८) । जुन मानिसले आफ्नो जरा पवित्र आत्माको बगिरहेको जिउँदो पानीसम्म पुर्‍याएको हुन्छ त्यसलाई पानीको अभाव कहिल्यै हुँदैन । चर्को घाम लाग्दा वा वृष्टि नभएर खडेरी पर्दा पनि त्यसका पातहरू हरियै रहन्छन् अनि त्यसले फल फलाइरहन्छ (भजनसंग्रह १:३) ।
प्रभुसँग हाम्रो संगतिको जरा जति तलतिर जान्छ, बोट उति माथितिर बढ्छ । फल जमीनमाथि बोटमा फल्छ, खनेर निकाल्नुपर्ने माटोमुनिको तरूल वा कन्दमूल जस्तो होइन । जरा बोटको लुकेको अभिन्न भाग हो, गुप्त भाग हो । यो कसैले नदेख्ने भाग हो । आत्मिक अर्थमा यो परमेश्वरको संगतिमा बिताइने प्रार्थनाको गुप्त जीवन, परमेश्वरको वचन पढ्ने र मनन गर्ने गुप्त जीवन, परमेश्वरको ध्यानमा बिताइने गुप्त जीवन हो । यो जीवन गुप्तमा रहन्छ, अरू कसैले पनि यो जीवन देख्न सक्तैन । यही जीवनले हामीलाई जस्तै अप्ठ्यारो समयमा पनि स्थिर रहनसक्ने बनाउँछ साथै फलवन्त बनाउँछ । जरा जति गहिरो गएको हुन्छ बोट उतिनै स्थिर रहन्छ र फलवन्त हुन्छ । तर गहिरो जरा नभएका रूखहरू हुरी बतासले सजिलै ढाल्न सक्छ । मत्ती १५:१३ मा प्रभुले भन्नुभएको छ, “मेरा पिताले नरोपेको हरेक चाहिँ उखेलिने छ ।”
बीउ छर्नेको उखानमा भनेझैँ थोरै मात्र माटो भएको चट्टानमाथिको जमीन त्यो मान्छे जस्तो हो जसले वचन सुनेर खुशीसित वचन ग्रहण गरे तापनि जरा नहुनाले केही समय त विश्वास गर्छ तर परीक्षाको बेलामा पछि हटिहाल्छ (लूका ८:१३) । जरा नहुने बोट वचनको खातिर आउने परीक्षाहरूमा स्थिर रहन सक्तैन । जरा नहुने रूखहरू ती ख्रीष्टमस–ट्रीहरू जस्ता हुन्छन् । जसले केही सोच्न नसक्ने साना–साना निर्बोध बाल–बालिकाहरूलाई झुक्याउनलाई राता–रात, राम्रा–राम्रा उपहारहरूका फल फलाउँछन् । ती रूखहरूले फलाएका फल सक्कली होइनन् । आमा–बाबुहरूले स–साना छोराछोरीहरूलाई भुलाउन जरै नभएका रूखहरूमा झुण्ड्याएर बाल–बालिकासरह आफ्ना भरखर प्रभुमा बढ्न लागेका भाइ–बहिनीहरूलाई हामीले धोखामा राख्नु हुँदैन । असल सक्कली फल फलाउनलाई प्रार्थना, स्तुति प्रशंसा, वचन–पाठ, संगतिका विभिन्न क्षेत्रमा गहिरो गरी जरा गाड्नुपर्छ । प्रभुसँगको गहिरो गुप्त सम्बन्धमा हामी अझ गहिरिएर जानुपर्छ । हामीले प्रभुमा तलतिर जरा हाल्नुपर्छ र मात्र हामी उहाँको निम्ति माथितिर फल फलाउन सक्नेछौं ।