“ख्रीष्टमा – हामी बिजयीहरुभन्दा पनि अझ बढी छौं ।” – पाष्टर रोबर्ट कार्थक

August 6, 2013 | Articles  

ख्रीष्टमा विश्वास गर्नेहरूको निम्ति विजय एउटा वरदान हो, इनाम होइन । १ कोरिन्थी १५:५७ ले भन्दछ, ‘परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ ।’ व्यवस्था २०:४ मा पनि लेखिएको छ, ‘किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका शत्रुहरूका विरुद्धमा लडेर तिमीहरूलाई विजय दिनलाई तिमीहरूका साथसाथै जानुहुन्छ ।’ यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ ? परमेश्वर स्वयं हाम्रो पक्षमा हाम्रा शत्रुहरूका विरुद्धमा लडिदिनुहुन्छ । उहाँले नै हाम्रा शत्रुहरूमाथि विजय प्राप्त गर्नुहुन्छ । त्यो विजय हामीलाई वरदानस्वरूप सिंत्तैमा दिनुहुन्छ । हामी आफैले हाम्रा शत्रुहरूलाई जितेर विजय प्राप्त गर्न पर्दैन । यसैले विजय चाहिँ हाम्रो निम्ति परमेश्वरबाट विश्वासद्वारा थाप्ने एउटा वरदान हो, आफैले शत्रुलाई जितेर पाउने इनाम होइन । २ शमूएल ८:६ र १४ मा हामी यही कुरो दुई पल्ट पढ्छौं, ‘…दाऊद जहाँ जहाँ गए त्यहाँ त्यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो ।’ परमप्रभुले आफ्ना मानिसहरू– लाई तिनीहरूका शत्रुहरूमाथि विजय दिनुभएको कुरा बाइबलमा अरू ठाउँहरूमा पनि लेखिएको हामी भेट्टाउँछौं ।
हाम्रो विजय कोशिषद्वारा कमाउने इनाम होइन, विश्वासद्वारा थाप्ने वरदान हो । १ यूहन्ना ५:४ ले भन्दछ, ‘किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो ।’
२ इतिहास २० अध्यायमा हामी यहूदाका राजा यहोशापातमाथि मोआबी, अम्मोनी र मिनुईहरूले आक्रमण गरेको कथा पढ्छौं । एउटा ठूलो सैन्यदल तिनको विरुद्धमा युद्ध गर्नलाई आउँदैछ भन्ने खबर पाएपछि राजा यहोशापात र तिनका सबै अफिसरहरू आत्तिए । राजा यहोशापातले देशभरिनै उपवास–प्रार्थनाको निम्ति घोषणा गरे । एकजना लेवी यहजीएलमाथि परमप्रभुको आत्मा उत्रनुभयो र तिनले अगमवाणी गरे, “परमप्रभु तपाईंहरूलाई यही भन्नुहुन्छ, ‘नडराओ, यस ठूलो सैन्यदलदेखि नआत्तिऔ । किनभने लडाईं परमप्रभुको हातमा छ, तिमीहरूको हातमा होइन । …यो लडाईं तिमीहरूले लड्नेछैनौ । दृढ भएर पर्खिबस । परमप्रभुले तिमीहरूको उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ । नडराओ, नआत्तिऔ किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुन्छ ।’

(२ इतिहास २०:१५–१७ पद) यहजीएलको वचनअनुसार नै सबै कुरा हुन आयो । २ इतिहास २०:२४ पदमा लेखिएको छ, ‘जब उजाड–स्थानमा भएको पहरा राखेको धरहरामा आइपुगेर यहूदाले शत्रुको सैन्यदललाई हेरे, तब त्यहाँ तिनीहरूले उनीहरूलाई भूईंमा मारिएर पडिरहेको देखे अनि उनीहरू एउटै पनि उम्केको थिएन ।’ त्यो लडाईं यहोशापात र तिनका मानिसहरूले लड्न परेन । परमप्रभु आफै तिनीहरूको पक्षमा लडिदिनुभयो अनि तिनीहरूलाई विजय दिनुभयो । यस्ता घटनाबारे बाइबलमा हामी धेरै ठाउँमा पढ्न पाउँछौं ।
येशू प्रभुले आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘मैले तिमीहरूलाई यी कुराहरू यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस् । संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु (यूहन्ना १६:३३) । येशू प्रभुको यो वचनमाथि विश्वास गर्ने व्यक्तिले थाहा पाउँछ — येशू प्रभुले संसारलाई जित्नुभएको छ, संसार हारिसकेको छ, र त्यसलाई फेरि हराइरहने आवश्यकता छैन । त्यसले हाम्रा विरुद्धमा ल्याउने सबै किसिमका रोग–बिमार, चिन्ता–फिक्री, घटी–अभाव, समस्याहरूका माझमा पनि हामी त्यसलाई भन्न सक्छौं, ‘हाम्रा प्रभुले तँमाथि जय पाइसक्नुभएको छ, तँ हारेको शत्रु होस् ।’ आफ्नो विश्वासमा स्थिर भएर त्यसलाई त्यति भने पुग्छ । १ यूहन्ना ५:४ को ‘संसारलाई जित्ने विजय हाम्रो विश्वास हो’ भन्ने कुरोको अर्थ यो पनि हो । फुटबलको खेल–मैदानमा हामी आफैले नखेले पनि हामीले साथ दिएको हाम्रा टीमका एघार खेलाडीहरूले त्यो म्याच जिते भने, “हामीले जित्यौं, हामीले जित्यौं” भन्दै खुशीले कराउँदै चिच्याउँदै हामी जयको नारा लगाउँछौं । ख्रीष्ट प्रभुको विजयनै हाम्रो विजय हो कारण हामी उहाँका मानिसहरू हौं ।
१ यूहन्ना ४:४ ले भन्दछ, ‘मेरा साना बालकहरू, तिमीहरूचाहिँ परमेश्वका हौ, र तिनीहरूमाथि विजयी भएका छौ । किनभने जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान हुनहुन्छ ।’ १ यूहन्ना २:१३–१४ मा पनि यही कुरो दुईपल्ट दोहोर्‍याइएको छ, ‘युवकहरू, म तिमीहरूलाई लेखिरहेछु …किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ ।’ हामी विश्वासीहरू ख्रीष्टमा छौं, यसैले उहाँले पाउनुभएको उहाँको विजय नै हाम्रो विजय हो । विश्वासद्वारा यो विजय हामीले आफ्नो बनाउँदै जानुपर्छ ।
ख्रीष्ट प्रभुले संसारमाथि मात्र होइन तर शैतान, शरीर, पाप, मृत्यु, तथा अरू सबै शत्रुहरूमाथि पनि विजय पाइसक्नुभएको छ । हिब्रू २:१४ ले भन्दछ, ‘छोराछोरीहरू रगत र मासुको सहभागी भएका हुनाले, उहाँ पनि मृत्युको सामथ्र्य भएको शैतानलाई मृत्युद्वारा रद्दी पार्नालाई यिनैको सहभागी हुनुभयो । १ यूहन्ना ३:९ मा लेखिएको छ, …शैतानका कामहरू नष्ट पार्नालाई नै परमेश्वरको पुत्र प्रकट हुनुभएको हो ।’ बाइबलमा यसरी पनि लेखिएको छ, ‘उहाँले प्रधानताहरू र शक्तिहरूलाई निःशस्त्र पारी ती सबैमाथि विजय प्राप्त गर्नुभयो,र तिनलाई खुल्लमखुल्ला तमाशा बनाइदिनुभयो (कलस्सी २:१५) ।
हामीले विश्वासद्वारा प्रभुबाट वरदानस्वरुप विजय प्राप्त गर्न सक्छौं भनेको चाहिँ हामीले युद्धनै लड्नु पर्दैन भनेको होइन । युद्धनै नलडे त विजय कसरी पाउने ? हामीले जान्नपर्ने कुरोचाहिँ हाम्रो विजय निश्चित छ कारण प्रभुले हाम्रा शत्रुहरूमाथि विजय पाइसक्नुभएको छ ।
अब हामी विजयको निम्ति लड्दैनौं, हामी विजयको ठाउँबाट लड्छौं । वास्तवमा अब हामीले जय पाउनालाई शत्रुसँग लडिरहनु पर्दैन । त्यस दुष्टलाई हामी भन्न सक्छौं, ‘तँ हारेको शत्रु होस् । हाम्रा प्रभुले उहाँको क्रुशको मृत्यु र जयवन्त बौरी उठाइद्वारा तँमाथि जय पाइसक्नुभएको छ । उहाँसँगै हामी पनि तँमाथि विजयी भइसकेका छौं ।’ त्यससँग तर्क–वितर्क गरेर नै त्यसलाई हराउने कोशिष गर्न पर्दैन कारण त्यो तर्क गर्नमा साह्रै बाठो छ । त्यसको सामना गर्दा येशू प्रभुले गरेझैँ, ‘परमेश्वरको वचनमा लेखिएको’ भन्दै त्यसका झुठा कुराहरूलाई वचनको सत्यताद्वारा खण्डन गर्दै जानमा नै हाम्रो विजय रहन्छ ।
एफिसी ६:१०–१७ अनुसार हाम्रो युद्ध सांसारिक वा शारीरिक होइन । हाम्रा युद्धका सारा हात–हतियारहरू –सत्यको पटुका, धार्मिकताको छाती–पाता, सुसमाचारका जुत्ता, विश्वासको ढाल, मुक्तिको टोप सबै हाम्रो सुरक्षाको निम्ति मात्र हुन् खाली आत्माको तरवार ‘परमेश्वरको वचन’ शत्रुको विरुद्धमा चलाउने हतियार हो । हामीले यो हतियार चलाउन पर्छ । यो युद्ध मानिसहरूको विरुद्धमा होइन तर प्रधानताहरू, अधिकारहरू, यस अन्धकारका सांसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्ट्याईंका आत्मिक सेनाहरूका विरुद्धमा हो । यसैले हाम्रा युद्धका हतियार पनि शारीरिक होइनन् । (२ कोरिन्थी १०:४) परमेश्वरका सारा हात–हतियार धारण गरेर शत्रुका सामने खडा रहनलाई पावल विश्वासीहरूलाई आदेश दिन्छन् । सारा हात–हतियारले सुसज्जित भएर शत्रुको सामने खडा रहने कुरो पावल एफिसी ६:११, १३–१४ पदमा तीन पल्ट बताउँछन् कारण आत्मिक युद्धमा खडा रहने कुरो अत्यन्तै महत्वपूर्ण छ । शत्रुको विरोध गर्नु भनेको नै त्यसको विरुद्धमा खडा हुनु भनेको हो । येशू प्रभुले शैतान, संसार, शरीर, पाप, मृत्यु तथा सबै शत्रुहरूमाथि जय पाइसक्नुभएको छ भन्ने कुराको घोषणा गर्दै आफ्नो विश्वासमा खडा रहनमा नै हाम्रो विजय छ ।
रोमी ८:३७ मा पावल लेख्तछन्, ‘…हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजयीहरूभन्दा पनि अझ बढी छौं ।’ ‘बढी हुनेछौं’ भन्ने भविष्यको आशा होइन, ‘बढी छौं’ भन्ने वत्र्तमानको विश्वास हो ।
‘परमेश्वरलाई धन्यवाद होस्, उहाँले हामीलाई ख्रीष्टमा सधैँ विजयको निम्ति डो¥याउनुहुन्छ’ (२ कोरिन्थी २:१४) ।