“ख्रीष्टमा – सदैवको लागि पुरा पुरा उद्धार” – पाष्टर रोबर्ट कार्थक

September 11, 2013 | Articles  

हिब्रू ७:२५ मा लेखिएको छ, ‘यसैकारण ख्रीष्टद्वारा परमेश्वरको नजीक आउनेहरूलाई उहाँले सम्पूर्ण उद्धार गर्न सक्नुहुन्छ, किनभने तिनीहरूका निम्ति अन्तरबिन्ती गर्नलाई उहाँ सधँभरि रहनुहुन्छ ।’ १ थेसलोनिकी ५:२३ मा पावल लेख्तछन्, ‘शान्तिका परमेश्वर आफैले सम्पूर्णरूपले तिमीहरूलाई चोखा तुल्याऊन् र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलङ्क रहून् ।’
हिब्रू ७:२५ को सम्पूर्ण उद्धार गर्न सक्ने कुरो र १ थेसलोनिकी ५:२३ को सम्पूर्ण रूपले चोखो तुल्याउने कुरोले एउटै कुरो बुझाउँछ । ख्रीष्ट येशूले दिनुहुने मुक्ति हाम्रो आत्मा, प्राण, शरीर अर्थात् हाम्रो सम्पूर्ण व्यक्तित्वको निम्ति हो । उहाँले क्रुशमा हाम्रो निम्ति आफैलाई बलिदान दिनुभयो । उहाँले हामीलाई पापको दण्डबाट, पापको शक्तिबाट अनि पापको उपस्थितिबाट उद्धार गर्नुहुन्छ । उहाँले क्रुशमा हाम्रो समस्त पापको दण्ड हाम्रो निम्ति भोगिदिनुभयो र हाम्रो आत्माको उद्धारको काम पूरा गरिदिनुभयो । अहिले वर्तमानमा हाम्रो प्राणलाई पापको शक्तिबाट उद्धार दिँदै हुनुहुन्छ र पछि भविष्यमा हाम्रो शरीरलाई पनि पापको उपस्थितिबाट पूरापूरा उद्धार गर्नुहुनेछ ।’ फिलिप्पी १:६ मा पावल लेख्तछन्, ‘मलाई यो दृढ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नुभयो उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ । हाम्रो सम्पूर्ण व्यक्तित्वको उद्धारको काम उहाँले टुङ्गो लगाउनु नै हुनेछ, अधकल्चो छोड्नुहुने छैन । यहूदा २४ अनुसार उहाँले हामीलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ र आनन्दसहित उहाँकै महिमाको सामने निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ । हामीलाई पापको दण्डबाट उद्धार गर्नलाई उहाँ क्रुशमा मर्नुभयो, पापको शक्तिबाट उद्धार गर्नलाई उहाँ मरेकोबाट बिउँतनुभयो र आत्मामा हामीभित्र जिउनु हुँदैछ र पापको उपस्थितिबाट उद्धार गर्नलाई फेरि दोस्रो पल्ट प्रकट हुनुहुनेछ । रोमी ५:१८–१९ ले भन्दछ, ‘यसैले जसरी एउटै अपराधद्वारा सबै मानिसलाई दोषी ठहराउनलाई इन्साफ आइलाग्यो । त्यसैगरी धार्मिकताको एउटै कामद्वारा सबै मानिसलाई जीवनको निम्ति धर्मी ठहराउनलाई अनुग्रहको वरदान आयो किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी ठहरिए त्यसैगरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक ठहरिनेछन् ।’ आदमको अनाज्ञाकारिताले गर्दा हामी सबै पापी भयौं । ख्रीष्टको आज्ञाकारिताले हामी उहाँमा विश्वास गर्ने सबै धर्मी ठहरिएका छौं । हामीले पाएको यो धार्मिकता हामीले व्यवस्था पालन गरेर आफैले गरेको धर्म–कर्मद्वारा कमाएको धार्मिकता होइन । तर ख्रीष्ट येशू प्रभुले हाम्रो निम्ति चढाइदिनुभएको क्रूशको महापवित्र बलिदानमा गरेको विश्वासको कारणले हो । यो धार्मिकता हाम्रो कोशिशद्वारा आफैले कमाएको इनाम होइन, यो ख्रीष्टको क्रूशको बलिदानमा विश्वासद्वारा सित्तैंमा पाएको परमेश्वरको वरदान हो ।
हाम्रो पुरानो बाइबलको हिब्रू ७:२५ मा लेखिएको ‘सम्पूर्ण उद्धार’ को सट्टामा नयाँ संस्करणमा ‘सदैवको उद्धार’ भन्ने लेखिएको छ । ख्रीष्ट येशूमा हामीले पाउने उद्धारले हाम्रो जीवनको सबै काललाई समेट्ने
हुनाले यसलाई ‘सदैवको उद्धार’ भनिएको हो । भूतकालका सबै पापको दण्डबाट ख्रीष्टको क्रूशको मृत्युद्वारा उद्धार पाइसवmेका छौं । वर्तमान कालमा पापको शक्तिबाट अहिले उहाँको बौरिउठाइको जीवनद्वारा उद्धार पाउँदै जाँदैछौं अनि भविष्यमा पापको उपस्थितिबाट पनि उद्धार पाउनेछौं ।
एफिसी २:८ को ‘किनभने अनुग्रहबाट विश्वासद्वारा उद्धार पाएका छौं’ ले हाम्रो पापको दण्डबाटको उद्धार बोध गर्छ भने कोरिन्थी १:१८ को ‘क्रूशको सन्देश हामी उद्धार पाइरहेकाहरूको निम्ति परमेश्वरको शक्ति’ ले हामीले हालै पाइरहेको पापको शक्तिबाटको उद्धार र
१ पत्रुस १:५ को ‘आखिर समयमा प्रकट हुन आँटेको मुक्ति’ ले पापको उपस्थितिबाट पनि पछि हाम्रो शरीरले पाउने उद्धारलाई संकेत गर्छ । यसर्थ हामीलाई हाम्रा प्रभु ख्रीष्ट येशूबाट प्राप्त भएको, प्राप्त हुँदै गरेको र प्राप्त हुन आँटेको ‘सम्पूर्ण उद्धार’ ‘सदैवको उद्धार’ भनिएको हो । पापको दण्ड, पापको शक्ति र पापको उपस्थितिबाट पाइने हाम्रो आत्मा, प्राण र शरीरको सम्पूर्ण उद्धार हाम्रो भूत, वर्तमान, भविष्यको निम्ति सदैवको उद्धार हो ।
२ कोरिन्थी ५:१७ मा पावल लेख्छन्, ‘यसरी कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हुन्छ पुराना कुराहरू बितिसके, हेर, ती नयाँ भइसकेका छन् ।’ जुन दिन हामीले ख्रीष्ट येशू प्रभुलाई आफ्ना मुक्तिदाता गरी ग्रहण गर्‍यौं उहाँको अनमोल रगतले हाम्रा सबै पापहरू परमेश्वर पिताले सधैँको लागि मेटाइदिनुभयो । उहाँले हाम्रा सबै पाप–अपराधहरू क्षमा गरिदिनुभयो । उहाँले हामीलाई नयाँ बनाउनुभयो । ख्रीष्टमा हामी नयाँ सृष्टि भयौं । अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन कारण हाम्रा सबै पाप–अपराधहरूको दण्ड ख्रीष्ट येशूले हाम्रो सट्टामा भोगिदिनुभयो । उहाँले पाप गर्नुभएको थिएन, उहाँमा पाप थिएन, उहाँले पाप चिन्नु पनि भएको थिएन । परमेश्वर पिताले उहाँलाई हाम्रो निम्ति पाप बनाउनुभयो र उहाँमा अब हामी परमेश्वरका धार्मिकता बनेका छौं (२ कोरिन्थी ५:२१) ।
परमेश्वरले हामीलाई धर्मी ठहराउनुभएको मात्र होइन, उहाँको आफ्नै धार्मिकता बनाउनुभएको छ । ख्रीष्ट प्रभुमा हामीसँग बाँध्नुभएको नयाँ करारबारे उहाँ हिब्रू ८:८–१३ र हिबू्र १०:१६–१७ मा यसरी भन्नुहुन्छ, “तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु र तिनीहरूका पाप फेरि कहिल्यै सम्झने छैन, तिनीहरूका पाप र तिनीहरूका दुष्कर्महरू म फेरि सम्झने छैन ।” परमेश्वर पिताले येशू प्रभुको क्रूशको बलिदानद्वारा हाम्रा सबै पाप–अपराधहरू क्षमा गर्नुभएको छ । त्यति मात्र होइन, उहाँले ती सबै पाप–अपराधहरू बिर्सिदिनुभएको छ ।
२ कोरिन्थी ५:१७ अनुसार हामी ख्रीष्टमा भएकाहरू नयाँ सृष्टि हौं । हाम्रा आत्मालाई उहाँले पूरो तवरले नयाँ बनाइसक्नुभएको छ ।
१ कोरिन्थी ६:१७ ले भन्दछ, ‘जो प्रभुसँग एक हुन्छ त्यो उहाँसँग आत्मामा एउटै हुनेछ ।’ एउटै किसिमको होइन तर एउटै । यसैकारण १ यूहन्ना ४:१७ अनुसार उहाँ अहिले जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै छौं । पछि स्वर्गमा हुनेछौं होइन, यस संसारमा अहिले नै छौं किनकि आत्मामा हामी उहाँसँग एउटै भएका छौं । यी बाइबलका
कुराहरू हामी ख्रीष्ट येशूसँग आत्मामा एउटै भएका विश्वासीहरूका सम्बन्धमा नै लेखिएका हुन् ।
१ यूहन्ना २:१३–१४ – ‘तिमीहरूले दुष्टलाई जितेका छौ ।’
१ यूहन्ना ४:४ – ‘तिमीहरूचाहिँ परमेश्वरका हौ र तिनीहरूमाथि
विजयी भएका छौ ।’
१ यूहन्ना २:२० – ‘तिमीहरू सबै कुरा जान्दछौ ।’
१ यूहन्ना २:२७ – ‘तिमीहरूलाई कसैले सिकाउनुपर्ने आवश्यकता
पर्दैन तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराहरूका विषयमा सिकाउनुहुनेछ ।’
यूहन्ना ३:९ ‘जो परमेश्वरबाट जन्मेको छ त्यसले पाप गर्दैन, त्यसले पाप गर्नै सक्तैन किनभने त्यो परमेश्वरबाट जन्मेको हुन्छ ।’
१ यूहन्ना ३:१४ ‘हामी जान्दछौं कि हामी त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौं ।’
यी सबै कुराहरू ख्रीष्टमा नयाँ सृष्टि गरिएका हाम्रा आत्माका सम्बन्धमा लेखिएका हुन् । हाम्रा प्राण र शरीरका सम्बन्धमा यी कुराहरू पूरा भइसकेका छैनन्, अधुरै छन् । अझैँ पनि हाम्रो मनले रीस गर्छ, लोभ गर्छ, लालच गर्छ, अशुद्ध कुरा सोच्छ, घमण्ड गर्छ, आरिस गर्छ । अझैँ पनि हाम्रो शरीरले झुठ बोल्छ, चोरी गर्छ, अशुद्ध बोल्छ, झगडा गर्छ, नखानुपर्ने कुरा खान्छ, नपिउनुपर्ने कुरा पिउँछ,
व्यभिचार गर्छ । तर यी सबै गर्ने हाम्रो मन र शरीर नै हुन् । हाम्रो आत्माले ती सब गर्न सक्तैन कारण त्यो परमेश्वरबाट जन्मेको छ (१ यूहन्ना ३:९) । यी पापहरू हाम्रो मन र शरीरले गरिरहन्छन् कारण यिनीहरू अझ पनि पूरो तवरले ख्रीष्टमा नयाँ भइसकेका छैनन् । हाम्रो आत्मा ख्रीष्टमा नयाँ भइसकेको छ, हाम्रो मन र शरीरचाहिँ नयाँ हुँदै जाँदैछ, नयाँ हुनेछ । आत्मामा हामी ख्रीष्टमा जो छौं, प्राण र शरीरमा पनि बन्दै जाँदैछौं ।
रोमी ८:२९ मा लेखिएझैँ हामीलाई ख्रीष्टको रूपमा बनाउने परमेश्वरको अभिप्राय एकदिन उहाँले पूरा गर्नुनै हुनेछ । संसारसित एकै चालको नभएर हाम्रो मनको परिवर्तनले हामी दिन–दिनै बदलँदै जानुपर्छ (रोमी १२:२) । मनको परिवर्तन परमेश्वरको वचन पाठ गरेर र त्यसमा ध्यान गरेर मात्र हुन सक्छ । परमेश्वरको वचन पढ्ने, मनन गर्ने, ध्यान दिने, पालन गर्ने व्यक्तिले मात्र संसारसित एकै चालको नभएर आफ्नो जीवनमा परिवर्तन देख्न पाउँछ । हामी सबै जना नढाकेको मोहडाले प्रभुको तेजलाई देखाएर त्यही रूपमा एक तेजबाट अर्को तेजतिर बदलँदै जानुपर्छ (२ कोरिन्थी ३:१८) । यसैले प्रभुको सामने प्रार्थनामा उहाँलाई हेर्दै उहाँको अघि आराधनामा समय बिताउन हाम्रो निम्ति अति नै अनिवार्य छ । तब मात्र हामी उहाँले तयार गर्नुभएको सदैवको पूरा पूरा उद्धारको अनुभवमा प्रवेश गर्दै परमेश्वर पिताको अनन्तको योजना पूरा भएको देख्न पाउनेछौं । हामीले पूरा पूरा उद्धार पाउनेछौं । हामी पूरो तवरले ख्रीष्ट जस्तै हुनेछौं ।