“परमेश्वोरमा हाम्रो समर्पण” – डिकन घनश्याम दाहाल

November 12, 2013 | Articles  

रोमीको पुस्तकको छोटो परिचयः
यो पत्र पावलले रोममा बसोबास गरी बस्ने सन्त ख्रीष्टियानहरूलाई मात्र नभई सम्पूर्ण यहूदी र अन्यजातिहरूलाई समेत कोरिन्थबाट लेखिएको पत्र हो (रोमी १:१) । यो पत्र इ.सं. ५५–५८ तिर लेखिएको थियो । यस पत्रमा फिवीको नाम पावलले सिफारिस गरेका छन् ।
रोम शहरचाहिँ चारैतिरको मुख्य व्यापारिक केन्द्र थियो । उक्त शहरमा विभिन्न मत मान्ने यहूदीहरू बसोबास गर्दथे । पावल आफै यहूदीहरूका धार्मिक गुरु थिए ।
यस पत्रको मुख्य उद्देश्य स्पेन र एन्टिओकमा परमेश्वरको सेवकाइ गर्ने पावलको व्यक्तिगत वास्ता साथै रोममा पनि विशेष वास्ता थियो भन्ने कुरा हो । एन्टिओक पावलको पुर्खौली घर थियो । मुक्ति र उद्धार भन्ने कुरा येशूमा बाहेक अरू कुनैमा पनि छैन भन्ने कुरा साथै विश्वासद्वारा धर्मी ठहरिने कुरा, मुक्तिको निश्चयता, उद्धार, मिलाप र इसाई जीवनको आचरण आदि अझ अरू धेरै कुराहरू हामी यस पत्रबाट सिक्न पाउँछौं । यस व्यक्तिगत पत्रद्वारा पावलको हृदयमा रोमीहरूप्रति विशेष वास्ता थियो भन्ने कुरा साबित हुन्छ । पावलको विशेष रोमीहरूको उद्धारको लागि चासो थियो तर पावल यरुशलेमको यात्रा गर्दा थाहा पाए कि यदि अहिले उनी रोममा गए भने उनलाई मार्ने षड्यन्त्र भैरहेको छ भन्ने कुरा थाहा पाएर उनले प्रार्थनाको लागि बिन्ती गरेका छन् (रोमी १५:३०–३१) । रोममा रहेका मण्डलीहरू, पावलको व्यक्तिगत रूपमा घनिष्टता थियो । रोममा रहेका मण्डलीहरूको जग नै अकिला र प्रिश्किला हुन् (रोमी १६:३, प्रेरित १८:२–३, रोमी १६:१३, मर्कुस १५:२१) । रोममा सुसमाचार ल्याउनेहरू सर्वसाधारण नै थिए । पावलको मुख्य लक्ष्य नै सर्व साधारणद्वारा नै परमेश्वरको राज्यको फैलावट र वृद्धि ल्याउने थियो ।
ख्रीष्टियान विश्वास यहूदीजातिबाट आएको हो । त्यसैले यहूदीहरू आदरका योग्य छन् (रोमी ११:१८) । यस अर्थ रोमचाहिँ एउटा परमेश्वरको सर्वव्यापी योजनामा पर्दछ ।
एकपटक एकजना दाई आराधना सेवामा ढिलो आउनुभयो र असरिङ्ग गर्ने (बस्ने ठाउँ मिलाउने दिदी) लाई सोध्नुभयो, “आजको आराधना सेवा सकियो ?” असरिङ्ग गर्ने दिदीले जवाफ दिनुभयो, “प्रचारचाहिँ सकियो तर सेवाचाहिँ अब शुरू हुन्छ ।”
रोमी १–११ अध्यायसम्म परमेश्वरको धार्मिकता, विश्वास, मिलाप, मुक्तिको निश्चयता, ख्रीष्टिय जीवनसम्बन्धी सैद्धान्तिक आधारभूत शिक्षाको बारेमा उल्लेख गरेको पाइन्छ । रोमी १२ अध्यायको शुरूको पहिलो वाक्य नै ‘यसकारण’ बाट शुरू भएको छ । यो वाक्यबाट नै व्यवहारिक शिक्षा शुरू हुन्छ । ‘यसकारण’ उक्त वाक्यले ११ अध्यायलाई जोड्ने काम गरेको छ । पूरै रोमी १२
अध्यायले व्यवहारिक वmुरा गर्नलाई आज्ञा गरेको छ । यो पूरै १२ अध्याय वर्तमान कालमा लेखेको छ । रोमी १२ अध्यायलाई चार भागमा बाँड्न सकिन्छः
१) परमेश्वर र मानिसको बीचको सम्बन्ध (परमेश्वरमा विश्वासीहरूको समर्पण) रोमी १२:१–२
२) पवित्र आत्माका वरदानहरूको सम्बन्धमा रोमी १२:३–८
३) विश्वासी दाजुभाइ र दिदीबहिनीहरू बीचको सम्बन्धमा रोमी १२:९–१३
४) विश्वासी र विश्वासमा नआएकाहरूको सम्बन्धमा (रोमी १२:१४–२१)
आजको पाठमा हामी परमेश्वरमा हाम्रो समर्पण र सम्बन्धको बारेमा हेर्न जान लागिरहेका छौं । रोमी १२:१–२ लाई पढ्नेछौं ।
१) परमेश्वर र मानिसको बीचको सम्बन्ध (परमेश्वरमा विश्वासीहरूको समर्पण) हिब्रू र ग्रीकहरूका अनुसार हाम्रो शरीरचाहिँ भौतिक पदार्थले मिलेर बनेको हुन्छ । परमेश्वरले बनाउनुभएको सबै कुरा असल थियो । मानिसले त्यसलाई कसरी चलाउँछ, व्यक्तिमा भर पर्दछ । उत्पत्ति १:३१ परमेश्वरमा हाम्रो सम्बन्ध स्थापित गर्नका लागि र र परमेश्वरमा समर्पण गर्न पवित्रकरणको आवश्यक पर्दछ । यो हाम्रो कोशिषले हुने कुरा होइनन, यसको लागि पवित्र आत्माको भरपूरी चाहिन्छ । पवित्र आत्माले मात्र हामीलाई पवित्र बन्दै जानका लागि सहायता गर्नुहुन्छ । पवित्रता भन्ने कुरा एच्छिक होइन, अनिवार्य हो (हिबू् १२:१४) । पवित्रताको निम्ति तीब्र इच्छा गर, संसारका खराब इच्छातिर नलाग तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ । परमेश्वर पवित्र हुनुहुन्छ, तिमीहरू पनि पवित्र होओ (१ पत्रुस १:१४–१६) ।
कलस्सी ३:५,८, १ पत्रुस १–२, याकुब १:२१ अनुसार यी खण्डहरूमा पनि ‘यसकारण’ भन्ने वाक्यबाट शुरू भएको छ । समस्त हाम्रो शरीरमा भएका स्वभावलाई मार, त्याग, छोड, नलाग, नचल आदि । यसकारण संसारिक स्वभावका कुराहरूलाई मारः व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा, लोभ आदि । त्यसै गरी सबै कुरा त्यागः रिस, क्रोध, डाहा, निन्दा, मुखबाट निस्कने फोहोर बोली, झुट आदि । यसकारण सबै दुष्टता, सबै छल र कपट र इश्र्या सबै निन्दाहरूलाई त्याग । यी सबै कुरा त्याग्नका लागि आज हामी आफैले कोशिश गरिरहेका छौं, त्यसकारण हामीले हार खानु परेको छ तर हामीलाई हाम्रो शरीर र प्राणको उद्धार हुँदै र यी शरीरका स्वभावबाट छुट्कारा दिनका लागि एकजना व्यक्ति पवित्र आत्मा परमेश्वर (सल्लाहकार) येशूले हामीमा पठाइदिनुभएको छ जसद्वारा हामी पवित्र बन्दै जान सक्छौं अनि मात्र परमेश्वरलाई मनपर्ने ग्रहणयोग्य बलिदान बन्न सक्छौं । अंग्रेजी बाइबलमा प्रयोग भएको शब्द (“Transformed”) Rom12:2, लाई मूल भाषा (ग्रीक)Metamorphousthe भनिन्छ, जसको अर्थ हुन्छ एक तहबाट अर्को तहमा पूरै बदलिनु (भित्रिय र बाहिरिय) परिवर्तन । पवित्र आत्माले हामीलाई अर्कै मानिस (बदलिएको) बनाउनुहुन्छ । यसरी हामी एउटा महिमादेखि अर्को महिमामा रूपान्तरित हुँदै जान्छौं (२ कोरिन्थी ३:१८) ।
येशू ख्रीष्ट हाम्रो लागि एक नमूना हुनुहुन्छ । उहाँले आफैलाई यस संसारको दुष्ट युग र सबै दुष्टता र पापबाट हामीलाई छुट्कारा दिनलाई आफैलाई अर्पण गर्नुभयो (गलाती १:४) ।
के आज हाम्रो लागि येशूले गर्नुभएको समर्पणको खातिर हामी आफैलाई परमेश्वरमा अर्पण गर्न तयार छौं ? हाम्रो इसाई जीवनको हिँडाई पवित्र र निर्दोष छ ? उत्पत्ति ९:६, १ कोरिन्थी १:३०
हामी एका दोश्राको लागि अर्पण गर्न र संसारबाट निर्दोष राख्न तयार छौं ? याकुब १:२७
के आज हामी आत्मामा नियन्त्रित छौं रोमी ८:९
पावलको विचारअनुसार शरीर प्रभुको लागि र प्रभु शरीरको लागि हो (१ कोरिन्थी ६:१३) । हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो, र हामीले हाम्रो शरीरद्वारा करले होइन रहरले ख्रीष्टको महिमा गर्नुपर्दछ । रोमी ६:१३ अनुसार हाम्रा शरीरका अंगहरूलाई पाप गर्नलाई होइन तर परमेश्वरको धार्मिकताको लागि समर्पण गरौं । अब हामी व्यवस्थाको अधीनमा छैनौं तर अनुग्रहको अधीनमा छौं (रोमी ६:१४) । हामीहरूको शरीरलाई परमेश्वरको इच्छामा अर्पण गर्नुपर्दछ । हाम्रो आँखाले असल कुराहरू देख्नुपर्दछ (मत्ती ६:२२–२३) । हाम्रो कानले पवित्र आत्माको आवाज सुन्नुपर्दछ । हाम्रो जिब्रोलाई अरूहरूका लागि आशिषको लागि मात्र प्रयोग गर्नु पर्दछ (याकुब ३:३–१२) हाम्रा हातहरू अरूहरूका लागि सहायता गर्ने र बचाउने हुनुपर्दछ र हाम्रा खुट्टाहरू धार्मिकता र मेलमिलाप गराउने काममा सरिक हुनुपर्दछ ।
रोमी १२ अध्यायको पहिलो खण्डमा पावलले विश्वासीहरूलाई परमेश्वरको सेवामा पूर्ण रूपमा अर्पण गरी दिइहाल्नको लागि विशेष रूपमा आग्रह गरेको छ । यहाँ विशेष गरी वर्तमान समयलाई जोड दिएको छ । हामी यहाँ यो पनि स्पष्ट बुझ्न सक्छौं । इसाई जीवन हाम्रो कोशिषले जिउने जीवन नभएर पवित्र आत्माको भरपूरीमा जिउने जीवन हो । यसकारण हामी दिनहुँ पवित्र आत्माले भरिरहनु जरूरी छ । यसरी भरिरहन्छौं भने हामी पोखिन थाल्छौं । त्यसपछि बग्न थाल्छौं । यसको मतलब हामी पवित्रकरण हुँदै जान्छौं । हामीहरूको जीवन ख्रीष्ट केन्द्रित हुनु जरूरी छ । हामीहरूका सम्पूर्ण जीवनका आचरणले परमेश्वरको प्रेमलाई प्रदर्शन गर्ने हुनुपर्दछ र उहाँको इच्छा पूरा गर्नु नै हाम्रो लक्ष्य हुनुपर्दछ । हामी सबैलाई पवित्र आत्माले पूर्ण समर्पित हुन शक्ति दिऊन् र हामी आज्ञाकारी बन्न सकौं ।