डरले भरिएको संसारमा मुक्तिदाताको जन्म – डिकन सिमोन पाठक

December 17, 2013 | Articles  

संसार आज डरले भरिएको छ । डरको तरङ जताततै फैलिएको छ । धनी र विकसित राष्ट्रहरूलाई आफुभन्दा माथि अर्को राष्ट्र पुग्ने हो कि भन्ने डर छ । कम विकसित राष्ट्रहरूलाई शक्तिशाली राष्ट्रहरूले थिचोमिचो गर्ने हुन् कि भन्ने डर छ । धनी मानिसहरूलाई पैसा कहा लगानी गर्ने, बैंक डुब्ने पो हो कि, चोरी हुने हो कि भन्ने डर छ । देशको राजनीतिक अवस्था बिग्रदो छ, फेरि पनि संविधान नबन्ने हो कि भन्ने डर छ । नेपालका युवा पुस्तालाई आफ्नो भविष्यको डर छ । देशमा भएका कल कारखानाहरू बन्द हुदैछन् । नेपाल देशमा आफ्नो भविष्य सुरक्षित नदेखेको कारण आफ्नो भविष्य निर्माण गर्न विदेश पलायन हुनेहरूको संख्या बढ्दो छ, किनकि सबैलाई भविष्यको डर छ ।
आमा–बुबाहरूलाई आफ्नो हुर्कदै गरेका छोराछोरीहरू बिग्रने हुन् कि, गलत बाटोमा लाग्ने हुन् कि भन्ने डर छ भने पढ्दै गरेका विद्यार्थीहरूलाई पढाईमा राम्रो गर्न नसक्ने हुन् कि भन्ने डर छ भने कक्षामा प्रथम भइराखेकाहरूलाई अर्को साथीले मैलेभन्दा बढी नम्बर ल्याएर मलाई जित्ने हो कि भन्ने डर छ । जागिरमा भएकाहरूलाई कुनै कारण जागिरबाट निष्कासित हुने हुन् कि भन्ने डर छ भने व्यापार–व्यवसाय गरिराखेकाहरूलाई आफ्नो लगानी डुब्ने हो कि भन्ने डर छ । उमेर पाका हुदै गएकाहरूलाई बुढेसकालमा दुःख पाइने पो हो कि भन्ने डर छ । विवाहको उमेर पुगेकाहरूलाई राम्रो जीवन साथी नपाउने हुन् कि भन्ने डर छ भने विवाह भएकाहरूलाई आफ्नो घर बिग्रने हो कि भन्ने डर छ । डरको तरङ्ग संसारका सबै वर्ग, समाज र मानिसहरूमा फैलिएको छ । डरले सानो बालकदेखि वृद्ध कसैलाई पनि छोडेको छैन ।
ख्रीष्टमस डरबाट स्वतन्त्र हुने समय
डरले भरिएको संसारमा ख्रीष्टमसले दिने पहिलो सन्देश हो “नडराओ” । प्रेरित लूकाले माननीय थियोलिफसलाई सम्बोधन गरेर लेखेको पत्रमा यसरी लेखेका छन् “तब स्वर्गदूतले तिनीहरूलाई भने; “नडराओ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउ“छु, जो सबै मानिसहरूका निम्ति हुनेछ । आज दाऊदको शहरमा तिमीहरूका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ” (लूका २:१०–११) । लूकाले लूकाको पत्र र प्रेरित गरेर दुईवटा पुस्तकहरू लेखेका छन् । दुवै पुस्तकमा उनले थियोफिलसलाई सम्बोधन गरेर लेखेका छन् । उनी को थिए भन्ने कुरा पक्का गरी भन्नलाई गार्‍हो छ । तर बाइबलका विद्धानहरूले बताएअनुसार थियोफिलस येशूको विषयमा चासो राख्ने, येशू ख्रीष्टको विषयमा केही ज्ञान पाएका साथै उनी नया मार्गको विषयमा जान्न चाहने व्यक्ति थिए । लूकाले माननिय थियोफिलस भनेर सम्बोधन गरेका छन्, हुनसक्छ उनी रोमी अधिकृत थिए । त्यहीकारण लूकाले ख्रीष्टियन गतिविधिको इतिहासको विषयमा विस्तृत रूपमा जानकारी गराउने उद्देश्यले यो पत्र लेखेका थिए । उनले येशूको जन्मको खबरसगै डरबाट स्वतन्त्र हुने सन्देश पनि मानव जातिलाई दिएका छन् ।
ख्रीष्टमस आनन्दको समय
लूकाले येशूको जन्म कहिले र कहाँ भयो भन्ने ऐतिहासिक कुरा उल्लेख गरेका छन् (लूका २:१–७) । येशूको जन्मको मितिको सम्बन्धलाई लिएर प्रश्न गर्ने र ख्रीष्टमसको वास्तविकतालाई स्वीकार गर्न नसक्नेहरूको निम्ति लूकाको पत्र अध्ययन गर्नु अति महत्वपूर्ण छ । ख्रीष्टमस मनाउनु भनेर बाइबलमा कहाँ लेखिएको छ ? येशूको जन्म डिसेम्बर २५ तारिख नै भएको हो भनेर कहाँ लेखिएको छ ? आदि प्रश्नहरू तेर्साएर सोझा–साझा विश्वासीहरूलाई अल्मलाउन खोज्ने समुदायहरू पनि नेपालमा फाट्टफुट्ट भेट्टाइन थालेका छन् । येशूको जन्मको पक्का मिति थाहा नभएतापनि येशू जन्मनुभएको, क्रूसमा टाँगिनुभएको र मृत्युपछि तेस्रो दिनमा जीवित भई स्वर्ग उचालिनुभएको प्रशस्त प्रमाणहरू बाइबलमा पाउन सक्दछौं, यी तथ्यहरूले गर्दा हामी येशूको जन्ममा आनन्द मनाउन सक्छौं ।
प्रेरित लूकाले येशूको जन्म कैसर अगस्टस्ले देशको जनगणना लिनलाई उर्दी जारी गरेको समयमा भएको कुरालाई उल्लेख गरेका छन् । कैसर अगस्टस् ख्रीष्ट पूर्व ३१ देखि इ.सं. १४ सम्म रोमी साम्राज्यका सम्राट थिए । रोमी साम्राज्यको राजधानी रोम थियो । उनको राज्यकालमा सिरियाका हाकिम कुरेनियस थिए । उनको समयकालमा जनगणना भएको यो पहिलो थियो । सरकारको उर्दीअनुसार यूसुफ मरियमलाई लिएर बेथलेहेममा गए । मरियमले बालक जन्माउने समय आइपुगेको हुनाले संसारको मुक्तिदाताको जन्म बेथलेहेममा भयो । यूसुफ र मरियम गालीलको नासरतका बासिन्दा थिए । तर किन बेथलेहेममा नै येशूको जन्म भयो ? किनकि मीका अगमवक्ताले येशूको जन्म बेथलेहेममा हुनेछ भनेर उहाँ जन्मनुभन्दा करिब ७५०–६८६ ई.पू. को बीचमा अगमवाणी गरेका थिए (मीका ५:२) । मीकाले गरेको अगमवाणी पूरा हुनको निम्ति उहाँको जन्म बेथलेहेममा नै भएको थियो । येशूको जन्मको पहिलो खबर पाउने सौभाग्य गोठालाहरूलाई मिल्यो । गोठालाहरूको बालक येशूसँग भेट भएपछि डरले भरिएको ह्दय आनन्द र खुशीले भरिन पुग्दछ । येशूको जन्ममा आनन्दसँग परमेश्वरको स्तुतिका गीतहरू गाउने पहिलो साङ्गितिक झुण्ड स्वर्गदूतहरूपछि गोठालाहरू नै थिए (लूका २:१३–२० ) ।
ख्रीष्टमस आशाको समय
मानिसको ह्दय निरासले भरिएको छ । परमेश्वरले डर, अशान्ति र निरासाको सृष्टि गर्नुभएको थिएन तर मानिस यी कुराहरूको वशमा परेको छ । बेथलेहममा गोठालाहरू पनि स्वर्गदूतलाई देख्नासाथ डराएका थिए । तर मुक्तिदातास“गको भेटले उनीहरूमा भएको डर बिलाएर गयो । उनीहरूले नयाँ आशा पाएका थिए । ख्रीष्टमसचाहिँ अशान्ति र आशाविहिन भएकाहरूको निम्ति आनन्द र आशाको समय हो । आदम र हव्वाको पापले डर, चिन्ता, फिक्री, निरास, अशान्ति र मृत्युको जन्म भएको थियो तर मुक्तिदाता येशूको जन्मले शान्ति, आनन्द, मुक्ति, छुटकारा, आशा र अनन्त जीवनको जन्म भएको छ । मुक्तिदाताको जन्मसँगै मानव जीवनमा आशाको उदय भएको छ । आशा नभएकाहरूको निम्ति येशू ख्रीष्ट आशा हुनुहुन्छ । मुक्ति खोजिराखेकाहरूको निम्ति येशू ख्रीष्ट मुक्ति हुनुहुन्छ अनि आनन्द र शान्ति खोजिराखेकाहरूको निम्ति येशू ख्रीष्ट शान्ति र आनन्दको स्रोत हुनुहुन्छ । अन्धकार र डरले भरिएको संसारमा ज्योतिको उदय भएको छ । त्यो ज्योति येशू हुनुहुन्छ अनि उहाँको पछि लाग्नेहरू अन्धकारमा हिँडडुल गर्नु पर्नेछैन ।
ख्रीष्टमस मुक्तिको समय
गोठालाहरूको बालक येशूसँग भेट भएपछि सबै डरहरू हटेर गएको थियो । उनीहरूले रमाहटसँग मुक्तिदाताको जन्मको विषयमा मानिसहरूलाई बताएका थिए (लूका २:१७) । गोठालाहरूले सुनाएको सन्देश नौलो भएको कारण मानिसहरू आश्चर्यचकित भएका थिए (लूका २:१८) । ख्रीष्टमसको सन्देश नसुनेकाहरूको निम्ति पहिलो पटक सुन्दा आश्चर्यचकित हुनु स्वभाविकै हो । किनकि येशूको जन्ममा धर्म होइन मुक्ति र अनन्त जीवनको सन्देश लुकेको छ । यो सन्देश सुनेर ग्रहण गर्नेहरूको जीवन रूपान्तरण हुँदछ ।
गोठालाहरूले येशूको जन्मको सन्देश सुनेको अनुसार देखे अनि विश्वास गरेको हुनाले उनीहरूको जीवन रूपान्तरण भयो । डरले भरिएको ह्दय आनन्दले भरिन पुग्यो । यदि हामीलाई भविष्यको डर छ, व्यापार–व्यवसायको डर छ, कामको डर छ, रोग बिमारको डर छ, मृत्युको डर लगायत अन्य कुनै पनि कुराको डर छ भने ख्रीष्टमसको सन्देश छ ‘नडराओ’ मुक्तिदाताको जन्म भएको छ । हाम्रो ह्दय कुनै कुराले डराइराखेको छ भने प्रभु येशूलाई राज्य गर्न दिऔं र डरबाट स्वतन्त्र हौं । डरले भरिएका, आशा गुमाएका, अशान्तिमा जीवन जिइरहेका र मुक्ति खोजिराखेका मानिसहरूलाई ख्रीष्टमसको सन्देश सुनाउँदै दुई हजार तेह सालको ख्रीष्टमसको उत्सव मनाऔं, किनकि डरले भरिएको संसारमा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ ।