माथिका कुरामा मन लगाओ

May 11, 2011 | Articles  

पास्टर रोबर्ट कार्थक

ख्रीष्टियानहरू दुई किसिमका हुन्छन् – शरीरअनुसार जिउनेहरू र आत्माअनुसार जिउनेहरू । शरीरअनुसार जिउनेहरू शारीरिक हुन्, आत्माअनुसार जिउनेहरू आत्मिक हुन् । ख्रीष्ट येशूमाथि विश्वास गरी उहाँलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रुपमा ग्रहण गरेर हामीले पाप क्षमा पायौं, नयाँ जन्म पायौं, मुक्ति पायौं । हामी विश्वासी बन्यौं । त्यसपछि पिता, पुत्र, पवित्र आत्माको नाउँमा आफ्नो राजीखुशीले पानीको बप्तिस्मा लिई आफ्नो जीवन उहाँमा समर्पण गर्दै हामी ख्रीष्टका अनुयायी ख्रीष्टियान बन्यौं । अब प्रश्न उठ्छ, हामी कस्ता ख्रीष्टियान ? आत्माअनुसार जिउने आत्मिक ख्रीष्टियान कि शरीरअनुसार जिउने शारीरिक ख्रीष्टियान ? हाम्रो जीवनमा आत्माले राज्य गर्दैछ कि शरीरले ? हामी आत्माका कुराको बढी वास्ता गर्छौं कि शरीरका कुराको ? हामी आत्माको कुरामा धेरै मन लगाउँछौं कि शरीरका कुरामा ? रोमी ८:५ ले भन्दछ, “…शरीरअनुसार चल्नेहरूले शरीरका कुरामा तर आत्माअनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन् । रोमी  ८:८  अनुसार शरीरका कुरामा मन लगाउनेहरू तथा शारीरिकताको वशमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्तैनन् । शरीरका कुरामा मन लगाउनु भनेको चाहिँ खाली आफ्नो शरीरका मागहरू पूरा गर्नालाई स्वार्थको लागि मात्र जिउनु हो । केवल खाने, पिउने, लाउने, रुपैंया–पैसा धन–दौलत थुपार्ने, मनमोजमा समय बिताउने, सम्पत्ति खर्च गर्ने–शरीरअनुसार जिउनु भनेको यही हो ।

परमेश्वर पिता र ख्रीष्ट प्रभुलाई धन्यवाद चढाउँदै उहाँहरूको स्तुति प्रशंसा गर्ने, बाइबल पढ्ने, प्रार्थना गर्ने, प्रभुका जनहरूसँग संगतिमा रहने– आत्मा अनुसार जिउनु भनेको यही हो ।

‘नयाँ जन्म पाएको छु’ भनेर दाबी गर्ने धेरै ख्रीष्टियानहरू अझै पनि पुरानै जीवन जिइरहेका छन् । अझै पनि उनीहरू संसार, शरीर, स्वार्थकै पछि दौडिरहेका छन् । बाइबलको शिक्षाअनुसार माथिका स्वर्गीय कुराको खोजी गर्नाका सट्टामा तलका सांसारिक कुराहरू नै खोजिरहेका छन् (कलस्सी ३:१–२) । ईश्वरको राज्य र उहाँको धार्मिकता पहिले खोज्नेहरूलाई अरू सबै सांसारिक आवश्यक कुराहरू थपनीस्वरुप मिल्नेछ भन्ने कुरो उनीहरूलाई थाहा छैन । घमाइलो स्वर्गीय स्थानहरूमा रहेका माथिका स्वर्गीय आशिषहरू बटुल्नलाई सधैँ सूर्यतिर आँखा गाडेर माथि–माथि बेग हान्ने उकाब पंक्षीझैँ  हामी हुनुपर्ने । कुखुरा पोथीझैँ  सधैँ पृथ्वीतिर तल नजर झुकाएर फोहोर– कसिंगरबीच चारो खोजिहिँड्ने सांसारिक मानिस जस्तो हुनुभएन । उत्तम आशिषहरू माथि स्वर्गीय स्थानहरूमा राखिएका छन् । मैला–कुचैला फालिने फोहोर संसारमा होइन । यसैले हामीले माथिका कुराहरू खोज्नुपर्छ, संसारको होइन ।

१ यूहन्ना २: १५–१७ मा लेखिएको छ, ‘संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर । यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन । किनकि संसारमा भएका सबै थोक अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन् तर संसारबाट आएका हुन् । संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितिजान्छ तर परमेश्वरको इच्छा पूरा गर्नेचाहि सधैको निम्ति रहन्छ ।’

याकूब ४:४ ले पनि भन्दछ, “हे व्यभिचारी हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन ? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ ।”

परमेश्वरको पुत्र ख्रीष्टलाई निर्दयतासाथ क्रुसमा टाँग्ने संसारलाई आफ्नो मित्र बनाउन खोज्ने व्यक्तिले आफैलाई परमेश्वरको शत्रु बनाउँछ । रोमी ८:७ मा पनि लेखिएको छ, ‘पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्वप्रति शत्रुता हो ।’

आत्मा र शरीरको बीच चलिरहेको संघर्षबारे हामी गलाती ५: १६–१७ मा पढ्न पाउँछौं । सांसारिक मानिसहरूको हृदयभित्र यो संघर्ष हुँदैन कारण उनीहरूमा पाप–स्वभावले मात्र राज्य गरेको हुन्छ । पवित्र आत्मा उनीहरूमा अझ प्रवेश गर्न पाउनुभएको हुँदैन । ख्रीष्ट येशूलाई ग्रहण गरेको दिनदेखि नै पवित्र आत्मा हामीमा आउनुभएको छ । अब पाप–स्वभाव वा शारीरिकताले हामीमा अघिझैँ  आफ्नो खुशी खुशी मनमानी गर्न पाउँदैन । पवित्र आत्माले त्यसको विरोध गर्नुहुन्छ र संघर्ष शुरू हुन्छ । ‘शरीरले आत्माको विरूद्धमा लालसा गर्दछ र आत्माले शरीरको विरूद्धमा’ (गलाती ५: १७) । यहाँ शरीर भनेको देह होइन, शारीरिकता हो । बाइबल नयाँ संस्करणमा यसलाई पाप–स्वभाव भनेर लेखिएको छ । पाप दुई थरिका हुन्छन् : एउटा कर्म–पाप, अर्को पाप–स्वभाव ।

पाप–कर्मको क्षमाको लागि येशू प्रभुको रगत चाहिन्छ तर पाप–स्वभावबाट छुटकाराको लागि येशू प्रभुको क्रुस चाहिन्छ । प्रभु येशूको रगतले हामीलाई हाम्रा पापबाट शुद्ध पार्न सक्छ (१ यूहन्ना १:७) । तर हाम्रा पाप–स्वभावबाट हामीलाई छुटकारा दिन सक्तैन । हाम्रा पाप–स्वभाव प्रभु येशूको क्रुसमा टाँगेर मात्र हामी त्यसको बन्धनबाट मुक्त हुन सक्छौं । खुशीको कुरो, पाप–स्वभावबाट छुटकारा प्राप्त गर्नलाई हाम्रो पाप–स्वभाव हामीले फेरि क्रुसमा टाँग्नु पर्दैन कारण ख्रीष्ट येशू क्रुसमा चढाइएको दिननै त्यो उहाँसँग क्रुसमा टाँगिएको छ । रोमी ६:६ ले भन्दछ, ‘पापको शरीर रद्दी तुल्याउन हाम्रो मनुष्यत्व उहाँसँग क्रुसमा टाँगिएको जानेर हामी फेरि पापको बन्धनमा नहोऔं ।’ यो कुरो हामीले राम्ररी जानेको हुनुपर्छ नत्र हामी फेरि घरि घरि पाप–स्वभावबाट मुक्त हुनलाई कोशिष गरिरहनेछौं । रोमी ६:११ मा लेखिएको छ, ‘यसैगरी तिमीहरूले पनि आफु आफुलाई पापको लेखि मरेको तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएको ठान्नुपर्छ ।’

पाप–स्वभावबाट छुटकारा पाउनलाई आफैले कोशिष गरेर होइन तर हाम्रो पाप–स्वभाव ख्रीष्ट येशूसँगै क्रूसमा टाँगिएको छ भन्ने जानेर, ठानेर हामी विश्वासद्वारा नै मुक्त हुन सकौं ।
गलाती ५:१६–१७ मा बताइएको आत्मा र शरीरको बीचको संघर्षबारे राम्ररी बुझाउनलाई कसैले यस्तो उपमा दिएका छन् । हरेक ख्रीष्टियानले उसको हृदयमा दुईटा कुकुर पालेको हुन्छ, एउटा सेतो, अर्को कालो । सेतो कुकुरलाई उसले बढी प्यार गर्यो भने उसले त्यसलाई राम्रो खाना दिन्छ, राम्ररी स्याहार्छ, राम्ररी हेरचाह गर्छ, त्यससँग धेरै समय बिताउँछ । त्यो सेतो कुकुर बलियो हुन्छ, स्वस्थ्य हुन्छ, मनपर्दो हुन्छ । तर कालो कुकुरको उसले केही वास्ता गर्दैन । त्यो हाड र छालामात्र भएको लुते, घीनलाग्दो कुकुर बन्दछ । तर यदि उसले कालो कुकुरलाई धेरै माया गर्यो भने उसले त्यससँग राम्रो व्यवहार गर्छ, त्यसको बढी वास्ता गर्छ, त्यसलाई पोष्याउँछ । सेतो कुकुरको उसले वास्तै गर्दैन । झगडा गर्दा ती दुईमध्ये कसलाई जिताउने हो सो मालिकमाथि नै निर्भर गर्दछ । सेतो कुकुर आत्मा हो, कालो कुकुर शरीर हो । तपाईं कुन कुकुरको बढी वास्ता गर्नुहुन्छ ? कुन कुकुरलाई जिताउन चाहनुहुन्छ ?

गलाती ४:२२–२३ ले भन्दछ, ‘किनभने लेखिएको छ, अब्राहामका दुई छोराहरू थिए, कमारीतर्फबाट एक, अर्का चाहिँ स्वतन्त्र स्त्रीबाट । कमारीको छोरोचाहिँ शरीरअनुसार जन्मेको थियो तर स्वतन्त्र स्त्रीबाट जन्मेको छोरो प्रतिज्ञाद्वारा ।’ कमारी हागारबाट जन्मेको छोरो इस्माएल थियो र स्वतन्त्र स्त्री साराहबाट जन्मेको छोरो इसहाक ।

गलाती ४:२८–३१ “अब हे भाइ हो, इसहाक जस्तै हामी पनि प्रतिज्ञाका सन्तान हौं । तर त्यसबेला जसरी शरीरअनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सताउँदथ्यो, अहिले पनि त्यस्तै छ । तर धर्मशास्त्रले के भन्दछ, “कमारी र त्यसको छोरालाई निकालिदेऊ किनभने दासी–पुत्र स्वतन्त्र स्त्रीको छोरासँग उत्तराधिकारी हुने छैन । यसकारण, भाइ हो, हामी कमारीका होइनौं तर स्वतन्त्र स्त्रीका सन्तान हौं ।”

आत्माअनुसार जन्मेको इसहाक हो, शरीरअनुसार जन्मेको इस्माएल हो । उत्तराधिकारी इसहाक हुन सक्छ, इस्माएल होइन ।

“धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ । जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्तछ त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्दछ । तर जसले आत्माको निम्ति रोप्तछ त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ” (गलाती ६:७–८) ।

यसर्थ माथिका कुरामा मन लगाओ, पृथ्वीमा भएका कुरामा होइन ।