मिसन यात्रा २०६८/२०११

October 10, 2011 | Articles  

परमेश्वरको इच्छा भए यो वर्षको शरद सम्मेलनमा उपत्यकास्थित नेपाली इसाई मण्डली (नेइम) बाट देशभर छरिएर रहेका नेइम आवद्ध, शाखा मण्डलीहरूमा विश्वासीहरू जाँदैछन् । यसबारे पोहोर सालदेखि नै जानकारी गराउँदै आएको छ र हालसालैदेखि सूचना प्रवाहका साथै जानेहरूका नाम संकलन पनि भइरहेको सबैलाई थाहै छ । यी सबै के का लागि गरिँदैछ ? किन जाने ? गएर के गर्ने ? र यस्ता अरू कति प्रश्नहरू छन्, स्पष्ट हुनु आवश्यक छ ।
यो कार्यक्रम सम्बन्धी परमेश्वरसँग प्रार्थना चढाइहनेछौं । प्रभुले कति कुराहरू हामीलाई देखाउनुभएको छ, ती मध्ये केहीको चर्चा गर्ने कोशिष् गरिएको छ । हाम्रा मुक्तिदाता प्रभु येशूले आफु संसारमा आउनुभएको मुख्य कारण यसरी बताउनुभयो, “…म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ ।” (यूहन्ना १०:१०) मानिसहरूले उनीहरूको पूर्ण जीवन –आत्मा, प्राण र शरीरमा प्रशस्तता पाऊन् भन्ने उहाँको इच्छा हो । सिकर्मी परिवारमा जन्मनुभयो । परमेश्वरको इच्छा अनुसार उहाँको बोलावट बमोजिम सेवकाईमा प्रवेश नगरूञ्जेल उहाँले आफ्नो बुवा र परिवारको सहायता गर्दै रहनुभयो भनी हामी अनुमान गर्न सक्छौं । लूका २:५१ अनुसार उहाँ “तिनीहरूसँग (आमा बाबुसँग) नासरतमा जानुभयो र तिनीहरूका आज्ञाकारी भई बस्नुभयो ।”
३० वर्षपछि आफ्नो पिता परमप्रभु परमेश्वरबाट पाउनुभएको बोलावट अनुसार सेवकाईका लागि बाहिर संसारमा निस्कनुभयो । उहाँ मानिस हुनुहुन्थ्यो र मानिसले झै पानी र पवित्र आत्माको बप्तिस्मा लिनु–भयो । पवित्र आत्माले डोर्‍याउनु भएअनुसार उहाँले आफ्नो संसारको साढेँ ३३ वर्षको जीवन बिताउनुभयो । परमेश्वरले उहाँको निम्ति ठहराउनुभएको काम गर्न निस्कने क्रममा शैतानले मानिस येशूलाई रोक्ने प्रयास गर्‍यो । तर येशूले मानिसकै रूपमा त्यसको सामना गर्नुभयो र विजयी हुनुभयो । यी सबैमा पवित्र आत्मा उहाँसँग हुनु–हुन्थ्यो । त्यसपछि, “येशू पवित्र आत्माको शक्तिमा गालीलमा फर्कनुभयो …” (लूका ४:१४) । उहाँले त्यहाँ शिक्षा दिने काम शुरू गर्नुभयो अनि त्यहाँबाट नासरतमा आउनुभयो र त्यहाँको सभा घरमा आफुले गर्ने कामको घोषणा गर्नुभयो (लूका ४:१८–१९) ।
प्रभुले दिनुहुने प्रशस्तताको जीवन हाम्रो सम्पूर्ण जीवनको निमित्त हो अर्थात् हाम्रो आत्मा, प्राण र शरीर (१ थेसलोनिकी ५:२३) को लागि हो । प्रभु येशूले घोषणा गर्नुभएको सुसमाचारद्वारा विश्वास गर्नेहरूको परमेश्वरसित नयाँ सम्बन्ध कायम मात्र हुने होइन, तर उनीहरू नयाँ र फरक मानिस बन्दछन् । यो तथ्य थेसलोनिकी मण्डलीमा पूरा भयो । थेसलोनिकी मण्डलीका विशवासीहरूको जीवनमा क्रमिक रूपान्तरण उनीहरूको जीवनको सबै पक्षमा भएको थियो । पावल आफ्नो पत्रमा यसरी लेख्छन्:
–हाम्रा परमेश्वर पिताको सामुन्ने हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूका विश्वासका काम, प्रेमको परिश्रम र आशाको धैर्य निरन्तर सम्झन्छौं । १ थेसलोनिकी १:३
–भाइ हो, तिनीहरूका निम्ति परमेश्वरलाई सधैँ धन्यवाद चढाउन हामी बाध्य छौं । यो योग्य पनि छ, किनकि तिमीहरूको विश्वास प्रशस्त गरी वृद्धि भइरहेछ, र एकअर्काप्रति तिमीहरूको प्रेम बढिरहेछ । २ थेसलोनिकी १:३
थेसलोनिकी मण्डलीमा झै प्रभु येशूमाथिको विश्वासले विश्वासीहरू, उनीहरूको परिवार र मण्डलीमा रूपान्तरण ल्याउँदछ । हाम्रो प्रार्थना, परमेश्वरको वचन, हाम्रो विश्वासद्वारा पवित्र आत्मा प्रभु यो रूपान्तरण हामीमा ल्याउनुहुन्छ ।
माथिका साक्षी बाँड्नु हाम्रो मिशन यात्राको प्रमुख उद्देश्य हो । हामीले भ्रमण गर्ने मण्डलीका भाइबहिनीहरूले दूरीको, शिक्षाको कमि अथवा यस्तै कति कठिनाइका कारण हामीले उपभोग गर्न पाएका आशिषहरू अनुभव गर्न नसकेको हुनसक्छ । हामी “त्यहाँ” जान्छौं प्रभुको आशिष बाँड्छौं – यो आशिष माथि भने जस्तै हाम्रो आत्मिक जीवनसित मात्र सम्बन्धित छैन । हाम्रा जीवनका शारीरिक, भौतिक, मानसिक, भावनात्मक, सामाजिक आदि पक्षसित पनि सम्बन्धित छन् । एउटा भूल नगरौं– “हामी जान्ने भएर नजान्नेहरूलाई दिन वा सिकाउन गएका होइनौ ।” हामी आशिष बाँड्न गएका हौं । हामीबाट उनीहरू सिक्छन् भने हामी पनि उनीहरूबाट सिक्न सक्छौं । पोहोर साल गएकाहरूका साक्षी यही थियो –“त्यहाँका मण्डलीको संगतिबाट हामीहरूले धेरै आशिष पायौं ।”
हालैमा राष्ट्रभरका नेपालीहरूले ‘नेपालको वर्तमान अवस्थालाई हृदयङ्गम गरी नेपाली जनताको भलाइको लागि परमेश्वरको प्रेम र प्रेरणाबाट उनीहरूले भोगेका सवालहरूलाई सामूहिक रूपमा छलफल र सहकार्यद्वारा समाधानको दिशामा अघि बढ्ने महान लक्ष्यका साथ नयाँ नेपाल निर्माणमा ख्रीष्टियन प्रतिवद्धता अभियान २०६७ कार्तिकबाट सुरू भएको छ । यस कार्यक्रममा नेइम पनि संलग्न छ ।
विभिन्न मण्डलीका प्रतिनिधि तथा अगुवाहरूले विभिन्न जिल्लाहरूमा भेला भई नेपालीहरूले भोगिरहेका सवाल (मुद्दा) हरूको पहिचान गरेको छ । यस्ता सवालहरू दुई सयभन्दा बढी छन् । ती सबैलाई एकैचोटि समाधान गर्न असम्भव छ । यसैले हाललाई तीमध्ये निम्न मुद्दाहरूलाई चयन गरिएको छः बेरोजगारी, जातीय विभेद, भ्रष्टाचार, लैङ्गिक विभेद, महिला हिंसा, अशिक्षा ।
माथिका सवालको समाधान मण्डली मात्र नसक्ला यसैले परिस्थिति र समय हेरी अन्य संघसंस्था वा निकाय तथा व्यक्तिहरूसित मिलेर काम गर्नु पर्नेछ । यसको लागि पहिले त मण्डली आफू बलियो हुनुपर्‍यो । यसको लागि प्रार्थना र वचनद्वारा बलियो हुनुपर्ने आवश्यकता छ साथै माथि उल्लेखित सवालहरू त हामीले (मानिसहरूले) बनाएका वा चयन गरेका समस्या हुन् । हामीलाई सर्वज्ञानी परमेश्वरको अगुवाई खोज्नुपर्नेछ । यसैले हामीलाई ठीक मार्ग निर्देशन गर्नेछ । प्रभु गरून् मिशन यात्रा २०११ बाट नेइम (आवद्ध लगायत) सबै मण्डलीले परमेश्वरको रूपान्तरण गर्ने आशिष पाऊन् ।