कन्या गर्भवती भएर जन्मिनुभएका येशू

December 6, 2011 | Articles  

सुसमाचारका पुस्तकहरूमा उल्लेख भएअनुसार परमेश्वरको अलौकिक बन्दोबस्तद्वारा येशू मरियमको गर्भमा आउनुभएको थियो । लूका १:२६–३५ अनुसार अघिबाटै गब्रिएल स्वर्गदूत कन्ये मरियमकहाँ देखा परेर “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छायाँ तिमीमाथि पर्नेछ ।” भनीकन बताएका थिए साथै मत्ती १:१८ ले भन्छ, “…मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो ।”
मरियम गर्भवती हुँदा योसेफसँग तिनको मगनी भइसकेको थियो तर विवाह भएको थिएन । विवाहअघि नै गर्भवती भएको घटनाका कारण योसेफले मरियमलाई त्याग्ने इच्छा गरेका थिए । तथापि सपनामा परमप्रभुका दूत देखा परेर भनेका थिए, “…जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ ।” मत्ती १:२४ र २५ मा लेखिएको छ, “योसेफ निद्राबाट ब्यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे । मरियमले पुत्र नजन्माउञ्जेल योसेफले तिनीसँग सहवास गरेनन्…।”
येशू साँच्चैकै कन्या गर्भवती भएर जन्मनुभएको हो । धर्मशास्त्रको वृत्तान्तबाट यो कुरा स्पष्ट देखिन्छ । त्यसबेलाका यहूदी कन्ये–केटीहरू १२ अथवा १३ वर्ष उमेरको छँदा नै प्राय तिनीहरूको मगनी हुने गर्दथ्यो । त्यतिखेरको कानूनअनुसार मगनीचाहिँ विवाहको पहिलो खुड्किलो हुने गर्दथ्यो र अन्दाजी १ वर्ष जति बाबुआमासितै रहेपश्चात् केटीहरूको विवाह हुन्थ्यो र आफ्ना पतिसित रहनका लागि जान्थे । उक्त अवधिअघि नै यदि केटी गर्भवती भएमा तिनको निम्ति यो ठूलो सार्वजनिक बेइज्जतीको कुरा हुन्थ्यो र कानून कडाई गरेका अवस्थामा एउटी व्यभिचारिणीले पाउने मृत्युदण्ड पाउने अवस्था पनि आउन सक्थ्यो । मरियमलाई त्याग्ने योसेफको निर्णय सार्वजनिक भएको अवस्थामा यसले मरियमलाई ठूलो आपत्मा पार्न सक्दथ्यो । शायद, मरियमलाई केही समय समानबाट लुकेर बस्नुपर्ने आवश्यकता पनि भएको हुन सक्दछ किनकि लूका १:३९,४० र ५६ अनुसार आफु गर्भवती भएपश्चात् मरियमले ३ महिना जति आफ्ना नातेदार यहूदियाकी एलिशिबाकहाँ बिताएकी थिइन् ।
सन्त अगस्तस् तथा अन्य कतिपय शुरूका इसाई विद्वान र लेखकहरूकाअनुसार येशूको जन्मका समयमा मरियमलाई कुनै पनि प्रसव वेदना भएको थिएन । यिनीहरूको भनाइमा प्रसव वेदनाचाहिँ एउटा श्रापको रूप थियो जुन अदनको बगैंचामा भएको हव्वाको गलत आचरणका कारण परमेश्वरले स्त्री जातिहरूमाथि राखिदिनुभएको थियो (उत्पत्ति ३:१६) । परमेश्वरको अलौकिक उपायद्वारा येशू मरियमको गर्भमा आउनुभएको कारण मरियमचाहिँ उक्त श्रापको प्रभावबाट बाहिर परेकी थिइन् र तिनलाई कुनै प्रसव वेदना भएको थिएन । येशूको जन्म मरियमका खातिर व्यथारहित जन्म थियो ।
इसाई धर्मसित सम्बन्धित कुनै समूहले मरियम जीवनपर्यन्त नै कन्ये नै रहिन् भनीकन विश्वास गर्दछन् । तथापी मत्ती १३:५५–५६ अनि मर्कूस ६:३ जस्ता धर्मशास्त्रका अंशहरूले येशूका ४ भाइहरू कम्तिमा पनि २ बहिनीहरू थिए भनेर बताएको हामी पाउँदछौं । यिनीहरू येशूपश्चात् जन्मेका योसेफ र मरियमका प्राकृतिक सन्तानहरू हुन् भनी बहू संख्यक बाइबलका विद्वानहरू विश्वास गर्दछन् । लूका २:७ ले पनि यही संकेत गरेर भनेको छ, “तिनले आफ्नो छोरो जन्माइन् …।”
यशैया ७:१४ को भविष्यवाणी एउटी कन्ये–केटी गर्भवती भएर छोरो जन्माउने भविष्यवाणी हो । यो भविष्यवाणी येशूमा आएर पूरा भएको छ । मत्ती १:२०–२१ मा परमप्रभुका दूतद्वारा येशूको जन्मको घोषणा लगत्तै यी कुरा यशैया अगमवक्ताद्वारा गरिएको भविष्यवाणीको पूर्णता हो भन्ने कुरा जनाउन मत्तीले यशैया ७:१४ उद्धृत गरेका छन् । तिनले “इम्मानुएल” शब्द पनि दोहोर्‍याएका छन् । यशैया ७:१४ ले भनेको कन्ये–केटी अरू कोही होइन, मरियमनै हुन् । येशूको जन्मको घोषणा लिएर आएका स्वर्गदूतलाई “यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ” भनीकन मरियमले जवाफ दिएकी थिइन् । स्वर्गदूतको प्रतिक्रिया थियो, “…परमेश्वरका निम्ति कुनै कुरा असम्भव छैन ।”
– पास्टर महेश थान्जु