ख्रीष्टमा – मरेको र फेरी बौरी उठेको जीवन
April 17, 2012 | Articles
रोमी ४:२५ मा ख्रीष्ट येशू प्रभुको मृत्यु र पुनरुत्थानको बारेमा यसरी लेखिएको छ, ‘उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो ।’ ख्रीष्ट येशूलाई मरेकाहरूबाट जीवित नपारेसम्म हामीलाई परमेश्वरले धर्मी ठहराउन सक्नुहुने थिएन र उहाँको क्रूसको मृत्यु पनि अर्थहीन बन्नेथ्यो ।
१ कोरिन्थी १५:१४ मा पावल लेख्तछन्, ‘यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ ।’ १७ पदमा त उनी अझ जोड दिएर लेख्दछन्, ‘ख्रीष्ट पुनर्जीवित पारिनुभएको होइन भने तिमीहरूको विश्वास व्यर्थ छ र तिमीहरू अझसम्म आफ्ना पापमा नै छौ ।’ ख्रीष्ट मरेको मरेकै हुनुभएको भए, उहाँ मरेकाहरूबाट फेरि नबिउँताइनुभएको भए, उहाँको क्रूसको मृत्यु एउटा शहीदको मृत्यु जस्तो मात्र हुने थियो । उहाँलाई पुनर्जीवित पारेर नै परमेश्वरले उहाँको मृत्युलाई एउटा विजयी मुक्तिदाताको मृत्युमा परिवर्तन गरिदिनुभयो । उहाँको पुनरुत्थानद्वारा नै परमेश्वरले ख्रीष्टको पवित्र बलिदान ग्रहण गर्नुभएको कुरो प्रमाणित गर्नुभयो र हामीलाई धर्मी ठहराउनुभयो । यसैले ख्रीष्ट येशूको पुनरुत्थानद्वारा नै उहाँको क्रूसको मृत्यु अर्थपूर्ण बन्न गएको छ र यो कुरो हाम्रो मुक्तिको निम्ति पनि अत्यन्तै महत्वपूर्ण ठहरिएको छ ।
रोमी ५:१२ मा लेखिएको छ, ‘एकजना मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु । यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो ।’ यही एकजना मानिसको विषयमा त्यस अध्यायका अरू कति पदहरूले पनि यसरी भन्दछन् :—
१५ पद – ‘एक जना मानिसको अपराधले गर्दा धेरै मरे’
१७ पद – ‘एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो’,
१८ पद – ‘एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने,
१९ पद – ‘एउटै मानिसको अनाज्ञाकारिताले धेरैजना पापी बनाइए ।’
त्यो एउटै मानिसचाहिँ आदम थियो । त्यही एकजनाले पाप गरेकोले सबै मानव–जातिमा नै यस्तो डरलाग्दो नराम्रो असर पर्न गयो । आदमको सबै सन्तान पापी भए, दोषी ठहरिए, श्रापित भए, मृत्यु–दण्डको योग्य गनिए । पहिलो आदमको अनाज्ञाकारिताको कारण पाप संसारमा आयो र पापबाट मृत्यु आयो, त्यसरी नै अन्तिम आदम ख्रीष्टको आज्ञाकारिताको कारण पाप–क्षमा आयो र त्यसको फलस्वरूप जीवन आयो । पहिलो आदममा हामी सबै मरेका थियौं, अन्तिम आदम ख्रीष्ट येशूमा विश्वास गरेर हामी विश्वासीहरू फेरि जीवित पारिएका छौं । येशू प्रभुलाई मुक्तिदाता र प्रभु गरी ग्रहण गरेर पाएको यो जीवन नै हाम्रो नयाँ जीवन हो ।
रोमी ५:१८–१९ ले पनि भन्दछ, “यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिस दण्डका भागिदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसलाई धर्मी ठहराउने जीवन ल्यायो । किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरैजना पापी ठहराइए, त्यसै गरी एकैजनाको आज्ञाकारिताद्वारा धेरैजना धार्मिक ठहराइनेछन् ।
ख्रीष्टिय जीवनचाहिँ मरेर फेरि बौरी उठेको जीवन हो । हामी आफ्ना अपराध र पापहरूद्वारा मरेका थियौं, परमेश्वरले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो । अब हामीहरू ख्रीष्टमा जीवित प्राणीहरू भएका छौं । हामीले उहाँमा नयाँ जीवन पाएका छौं । हामी पाप र अपराधको कारण एक समयमा मरेका भएता पनि ख्रीष्ट हाम्रो निम्ति पुनर्जीवित बन्नुभयो अनि हामी पनि उहाँसँगै पुनर्जीवित भएका छौं । (एफिसी २:१,५) धर्मशास्त्रले भन्दछ, हामीले अब आफैलाई ‘जिउँदै–मरेको’ त होइन तर ‘मरेर फेरि जिउँदै’ भएको ठान्नुपर्छ । रोमी ६:११ मा पावल भन्दछन्, “त्यसै गरी तिमीहरूले पनि आफू–आफूलाई पापको लेखि मरेका तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नुपर्छ ।” १ पत्रुस २:२४ मा पत्रुस पनि भन्दछन्, “हामी पापको लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले त्रूmसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो । उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ ।” येशू प्रभुको पछि आउन चाहने व्यक्तिले आफ्नो क्रूस बोकेर उहाँलाई पछ्याउनुपर्छ भनेर प्रभु आफैले भन्नुभएको छ
(मत्ती १६:२४) । पावलले पनि गलाती २:२० मा लेख्छन्, ‘म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु तैपनि म जिउँछु । त्यसो भएता पनि मता होइन तर ख्रीष्ट ममा जिउनुहुन्छ ।’ रोमी ६:५ अनुसार ख्रीष्टको मृत्युमा हामी उहाँसँग एउटै भएको हुनाले उहाँको पुनरुत्थानमा पनि उहाँसँग एउटै हुनेछौं भन्ने कुरो निश्चय छ । ८ पदमा पावल लेख्छन्, ‘यदि हामी ख्रीष्टसँग मरेका छौं भनेता उहाँसँग जिउने पनि छौं भन्ने विश्वास गर्दछौं ।’
२ कोरिन्थी ५:१४ मा लेखिएको छ, “…किनभने हामीलाई यो निश्चय छ कि सबैको निम्ति एकजना मर्नुभएको हुनाले सबै मरे ।” ख्रीष्ट येशू हामी सबैको निम्ति, हाम्रो सट्टामा, हाम्रो बदलीमा, हाम्रो ठाउँमा हाम्रो प्रतिनिधि भई मर्नुभएको हुनाले हामी पनि उहाँसँगै मरेको बराबर
भयो । अब हामीले फेरि हाम्रो प्रतिनिधिले मरिदिएको मृत्यु मर्नु पर्दैन ।
२ कोरिन्थी ५:१५ ले भन्दछ, ‘उहाँ सबैका निम्ति मर्नुभयो ताकि बाँच्नेहरू अब उसो आफ्नै निम्ति बाँच्ने होइन तर उहाँको निम्ति बाँचून् जो तिनीहरूका खातिर मर्नुभयो र फेरि जीवित पारी उठाइनुभयो । ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो । अब हामी उहाँमा विश्वास गरेर बाँच्नेहरू उहाँको निम्ति बाँच्नुपर्छ । २० पदले भन्दछ, ‘हामी ख्रीष्टका राजदूतहरू हौं ।’ आफ्नो राज्य छाडेर राजा स्वयं जान नसक्ने अर्को राज्यमा राजाको प्रतिनिधिको रूपमा राजाको सट्टामा गएर बस्ने व्यक्ति राजदूत कहलाइन्छ । मृत्यु–दण्ड पाएका मानिसहरूलाई बचाउनलाई तिनीहरूको प्रतिनिधि भई क्रूसमा मर्नुहुने ख्रीष्ट येशू प्रभु अब हामीलाई उहाँका राजदूतको रूपमा उहाँको प्रतिनिधित्व गर्दै उहाँको सट्टामा यस संसारमा जिउन लाउन चाहनुहुन्छ ।
उहाँले हाम्रो मृत्यु मर्नुभयो, अब हामीले उहाँको जीवन जिउनुपर्छ । जसरी राजाका राजदूत भई राजाको प्रतिनिधित्व गर्ने राजदूतले आफैलाई मनपर्ने आफ्नै इच्छानुसारको जीवन जिउन पाउँदैन, त्यसरी हामी ख्रीष्टका राजदूतहरूले पनि हामी आफैले चाहे जस्तै आफ्नै खुशी खुशी जिउन मिल्दैन । ख्रीष्ट प्रभुका राजदूत भई उहाँको नाउँमा बदनामी ल्याउने जीवन हामी जिउन पाउँदैनौं । त्यसो गरेमा हामी अयोग्य ठहरिनेछौं र राजदूतको पद हामीबाट खोसिनेछ ।
पापको लेखि मरेको तथा धार्मिकताको लेखि जिएको यो जीवन हामी आफैले आफ्नो कोशिषद्वारा जिउन सक्तैनौं । यसैले गलाती २:२० मा पावल भन्दछन्, ‘म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, तै पनि म जिउँछु । त्यसो भएता पनि म ता होइन तर ख्रीष्ट ममा जिउनुहुन्छ, र जुन जीवनमा अहिले म शरीरमा जिउँछु परमेश्वरको पुत्रको विश्वासमा जिउँछु, जसलेमलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफैलाई समर्पण गर्नुभयो ।’
पवित्र आत्माद्वारा नै ख्रीष्ट येशू हामीमा यो जीवन जिउनुहुन्छ । रोमी ८:११ मा पावल भन्दछन्, ‘यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने, ख्रीष्ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनु हुनेछ ।
– पास्टर रोबर्ट कार्थक