परमेश्वोरले प्राकृतिक विपत्तिहरु किन आउन दिनुहुन्छ ? – पाष्टर महेश थाँजु
November 2, 2012 | Articles
मैले यो लेखको प्रारम्भ गर्दा आषाढको तेश्रो हप्ता भएको र मनसुन वर्षा शुरू भइसकेको थियो । खबरहरू घरिघरि आउन लागेका थिए कि बाढीका कारण, पहिरोका कारण, कटानका कारण मानिसहरूको मृत्यू हुँदैछ, मानिसहरू र वस्तीहरू जोखिममा परेका छन् आदि ईत्यादि । हामी सबैको एउटा साझा जिज्ञासा यही हो कि परमेश्वरले प्राकृतिक विपत्तिहरू जस्तै बाढी पहिरो, भूकम्प, सुनामी, विनाशकारी आँधी हुरी–बतास किन आउन दिनुहुन्छ ? हालसालैका, यातायात क्षेत्रका दुर्घटनाहरू अत्यन्तै हृदयविदारक र सबैलाई शोकित गराउने खालको थियो । सीता एअरको ड्रोनियर विमान गत महिना दुर्घटनाग्रस्त हुँदा हामी सबैलाई यसले दुखित तुल्याएको थियो । विभिन्न लेखहरू र पुस्तकहरूलाई आधार बनाएर तयार पारिएको यो छोटो लेखद्वारा हामी सबैले चिनेका परमेश्वरको चरित्रको एउटा अर्को पाटो थाहा गर्न हामीलाई मदत मिल्नेछ ।
विगतका अत्यन्तै विनाशकारी विपत्तिहरू सन् २००४ मा भएको सुनामी, सन् २००५ को “कट्रीना” आँधी, सन् २००८ मा बर्मामा आएको विनाशकारी हुरी–बतास, हेइटीमा सन् २०१० मा आएको महाभूकम्प आदिले “परमेश्वर कहाँ हुनुहुन्थ्यो” भनेर सोध्ने अवस्थामा मानिसहरूलाई पुर्याइदियो । के परमेश्वर यति साह्रो निष्ठूर हुनुहुन्छ ? के हामीलाई उहाँले प्रेम गर्न छोड्नुभयो ? नेपालमा मानिसहरू भन्ने गर्छन्, “देउता रिसायो” ।
परमप्रभु परमेश्वर नै सारा जगतका सृष्टिकर्ता हुनुहुन्छ । सम्पूर्ण सृष्टिका थोकहरूमाथि लागु हुने प्राकृतिक नियमहरू उहाँले नै स्थापित गर्नुभएको हो । प्रायजसो प्राकृतिक प्रकोपहरू यी नै नियमहरू कार्यान्वयन हुने क्रममा घट्ने गर्दछन् । आँधी, हुरी–बतासहरू, फिलिपीन्स देशमा आउने “टाइफून्” र सँ.रा.अमेरिकामा आउने भनेर सुनिएको “हरिकेन्” अनि “टोर्नेडोहरू” (विनाशकारी आँधी, तुफान) थरिथरिका प्रतिकूल मौसमहरूबीचको टक्करको परिणाम हो । भुकम्पहरूचाहिँ पृथ्वीको भित्री भागहरूमा भएको भूभागहरू अडिएर बसेको संरचना यताउता सर्कंदा आउने गर्दछन् । समुद्रतलमा आएको भुकम्पका कारण सुनामी हुने गर्दछ ।
(कलस्सी १:१६–१७) सृष्टिका सबै थोकहरू येशू ख्रीष्टमा नै अडिएर (गाँसिएर) रहेका छन् । के परमेश्वरले प्राकृतिक विपत्तिहरू रोक्न सक्नुहुन्छ ? जरुर सक्नुहुन्छ ! के परमेश्वरले कहिलेकाहीँ मौसमहरूमा दखलअन्दाजी गर्नुहुन्छ ? हो, गर्नुहुन्छ, जसरी हामी याकूब ५:१७–१८ र व्यवस्था ११:१६–१७ मा पढ्दछौं ।
यस्तो देखिन्छ कि परमप्रभु परमेश्वरले कहिलेकाहीँ पापको विरुद्धमा इन्साफ गर्नका खातिर प्राकृतिक विपत्तिहरू हुन दिनुहुन्छ (गन्ती १६:३०–३४) । प्रकाशको पुस्तकमा, अध्यायहरू ६, ८, र १६ का घटनाहरू निश्चय नै प्राकृतिक विपत्तिजस्तै देखिन्छन् । के हरेक प्राकृतिक विपत्तिका घटनाहरू परमेश्वरले मानिसहरूलाई दण्ड दिनका लागि पठाउनुभएको हो त ? निश्चय होइन !
दुष्ट मानिसहरूले दुष्ट्याईं गर्दै हिँड्छन् । तितो पानीको मूलबाट मीठो पानी निस्कँदैन । यसैकारण, पापले सृष्टिका थोकहरूलाई पनि भ्रष्ट पारेको हुनाले यही कुरो विभिन्न प्राकृतिक प्रकोपहरूको माध्यमद्वारा यस संसारमा प्रकट हुने गर्दछ । पापको कारण पृथ्वी कुरुप भएको छ, विनाशशील भएको छ । “सृष्टि बडो उत्कण्ठाले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको प्रतिक्षा गर्छ । सृष्टि व्यर्थताको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो, यसै आशामा, कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ ।” (रोमी ८:१९–२१) पापको कारण मानिसको पतनको असर सबथोकमाथि परेको छ – हामी बसोबास गर्ने धरतीमाथि पनि । सब सृष्टि व्यर्थता र अधोगतिको वशमा पारियो । मृत्यु, रोग–बिमार, महामारी, दुःख–सङ्कष्ट आदि प्राकृतिक विपत्तिहरूको प्रमुख कारण पनि पाप नै हो ।
प्राकृतिक विपत्तिका घटनाहरू किन हुन्छन् सो हामी जान्न सक्छौं, तर परमेश्वरले ती किन हुन दिनुहुन्छ, सो हामी जान्दैनौं । के साँच्चिकै, परमेश्वरले नै २,२५,००० ज्यान जानेगरी सुनामी आउन दिनुभएको हो त ? हजारौंको घर बर्बाद हुनेगरी “कट्रीना” आँधी के परमेश्वरले नै आउन दिनुभएको हो ? भयानक प्राकृतिक विपत्तिहरूका परिणामस्वरूप मानिसहरूले यस जीवनको आशा गुमाउने र ईश्वर अनि धार्मिक आस्थाका कुराहरूमा रुची देखाउने गरेका घटनाहरू आ–आफ्ना ठाउँमा छँदैछन् । मानिसहरू धमाधम चर्च जान थालेका र बाइबल किनेर पढ्न थालेका समाचारहरू पनि हामीले त्यतिखेर पढ्यौं । परमेश्वरले निश्चय नै आफ्ना सृष्टिलाई प्रेम गर्न र भलाई गर्न छोड्नुभएको छैन ।
धरानको प्रार्थना सम्मेलनका बखत कतिजनाको ज्यान गयो होइन, कतिजनाको ज्यान जोगियो, त्यतातिर ध्यान दिऔं र इसाईहरूलाई खिसी गर्नेहरूलाई पनि यही जवाफ दिऔं ।