ख्रीष्ट बिनाको ख्रीष्टमसको कुनै अर्थ हुँदैन – डि सिमोन पाठक

November 30, 2012 | Articles  

विश्वमा डिसेम्बर २५ तारिखका दिन करोडौंको संख्यामा येशू ख्रीष्टमा विश्वास गर्ने इसाईहरूले ख्रीष्टमस मनाउँछन् । नेपालमा पनि हिजो आज ख्रीष्टमस धुमधामसँग मनाउन थालिएको छ । बाइबलमा येशू जन्मनुभएपछि मानिस जातिलाई स्वर्गदूतले दिएको पहिलो सन्देश नै “नडराऊ” भन्ने थियो । तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ ।” किन नडराऊ ? किनकि मुक्तिदाताको जन्म भएको छ । मुक्तिदाताको जन्मसँगै परमेश्वरले शान्ति पनि पठाइदिनुभएको छ (लूका २:१०, १४) । त्यो शान्ति तिनीहरूले मात्र प्राप्त गर्न सक्छन् जसले परमेश्वर पिताले दिनुभएको अवर्णनीय उपहार येशू ख्रीष्टलाई ग्रहण गर्छन् र आफ्नो हृदयमा राज्य गर्न दिन्छन् । तिनीहरूको जीवनमा परमेश्वरले शान्तिको पनि घोषणा गर्नुभएको छ । ख्रीष्टमसको यो वास्तविकता हुँदाहुँदै पनि मैले यस लेखमा ख्रीष्टमसको तीतो सत्यतालाई कोट्याउँदै ख्रीष्टमसको यथार्थलाई प्रस्तुत गर्ने जमर्को गरेको छु ।
ख्रीष्टमस विरोधी तत्वहरू
ख्रीष्टमसको यथार्थ हुँदा हुँदै पनि येशू ख्रीष्टको जन्मदिनको वास्तविकतालाई बङ्ग्याएर आ–आफ्नै दर्शन शास्त्रको विकास गरेर सोझा साझा विश्वासीहरूको विश्वासलाई प्रहार गर्ने झुण्डहरू नेपालमा देखा परेका छन् । तिनीहरू सुट बूट लगाएर, पवित्र शास्त्र बाइबल च्यापेर ख्रीष्टियनहरूको घर दैलोमा गएर येशू ख्रीष्टको जन्मदिनको विरोध गर्छन् । तिनीहरूलाई ख्रीष्ट विरोधी नभनेर अब के भन्ने ?
बाइबल धर्मशास्त्रले सुसमाचार सुनाएर विनासको बाटोमा हिँडेका मानिसहरूलाई स्वर्गको बाटोतर्फ फर्काउन र येशूको चेला बनाउनलाई आज्ञा गरेको छ । तर यी दिनहरूमा सृष्टिकर्ता परमेश्वरसँग मिलाप गराउने उद्देश्यले मानिसहरूको घर–दैलोमा पुग्नुपर्ने ठाउँमा परमेश्वरसँग मिलाप भएकाहरूलाई विछोड गराउने लक्ष्य राखेर ख्रीष्ट जन्मोत्सवको विरोध गर्नेहरू ख्रीष्टियनहरूको घर–दैलो कार्यक्रममा जुटेका छन् त्यस्ता व्यक्तिहरूदेखि होसियार ! बाइबलले त्यस्ता व्यक्तिहरूलाई घरमा स्वागत पनि नगर्नु भन्ने कडा आज्ञा दिएको छ । यसकारण ख्रीष्टमस विरोधी तत्वहरूदेखि होशियार !

ख्रीष्ट बिनाको ख्रीष्टमस
विश्वमा शहर बजारमा बढी झिलिमिली हुने, होटेल, रेष्टुराँहरूमा बढी चहलपहल हुने र सबैभन्दा बढी व्यापार हुने समय पनि ख्रीष्टमस नै हो । नेपालमा पनि केही वर्षदेखि ख्रीष्टमसको समयमा होटेल रेष्टुराहरू सिंगार्ने, ह्याप्पी ख्रीष्टमसका तुलहरू टाँग्ने, शहरका मुख्य भागहरूमा झिलिमिली पार्ने र ख्रीष्टमस पार्टीको नाममा वियर र भोड्काका बोतलहरू हातमा लिएर ख्रीष्टमस मनाउने युवा पुस्ता पनि नेपालमा देखिन थालेका छन् । यसरी ख्रीष्टमस मनाउनेहरूले येशू को हुनुहुन्छ ? किन पृथ्वीमा जन्मनु भयो ? किन क्रूसमा मारिनुभयो ? चर्च भनेको के हो ? मुक्ति कसरी पाइन्छ भन्ने विषयमा उनीहरूले बुझेका पनि हुँदैनन् । तर पनि उनीहरू ख्रीष्टमस मनाइराखेका छन् । यस किसिमले ख्रीष्टमस मनाउनुको कुनै अर्थ छैन ।
ख्रीष्ट बिनाको ख्रीष्टमसले मानिसको जीवनमा कुनै पनि परिवर्तन ल्याउँदैन । ख्रीष्ट बिनाको ख्रीष्टमस मनाउनेहरूको जीवनबाट परमेश्वर खुशी हुन सक्नुहुन्न । यदि कुनै परिवारमा बालकको जन्मदिनको अवसरमा घरमा धुमधामसँग नाचगान र खानपिन भइराखेको छ तर जुन बालकको जन्मदिन मनाइराखेको हो त्यो बालकचाहिँ घरको ढोका बाहिर जाडोमा कठ्याङ्ग्रिदै रोइराखेको छ, ऊ घरभित्र आउन चाहन्छ तर ढोका बन्द गरेर त्यस बालकलाई बेवास्ता गर्दै त्यही बालकको जन्मदिनमा घरभित्र नाचगान गर्दै खानपिन गरेर जन्म दिवस मनाइन्छ भने त्यसको के अर्थ रहन्छ र ? मानिसले ख्रीष्टलाई आफ्नो हृदयको ढोका बन्द गरेर ख्रीष्ट बिनाको ख्रीष्टमस होइन तर येशू प्रभुलाई आफ्नो हृदयमा ग्रहण गरेर मनाएको ख्रीष्टमसको मात्र साँचो अर्थ रहन्छ । हामी ख्रीष्ट बिनाको ख्रीष्टमस मनाउनेहरू नबनौं ।
ख्रीष्टमस मनाउनुको कारण
प्रभु येशू ख्रीष्टको जन्मदिनको उपलक्ष्यमा ख्रीष्टियनहरूले ख्रीष्टमस मनाउँछन् । बाइबलमा ख्रीष्टमस मनाउनु भनेर लेखिएको छैन । येशू ख्रीष्ट डिसेम्बर २५ तारिखमा जन्मनुभएको हो भनेर पनि बाइबलमा उल्लेख गरिएको छैन । त्यसो भए किन हामीले ख्रीष्टमस मनाउने ?
हामीहरू ख्रीष्टमस मनाउँछौं । हो, हामीलाई येशूको जन्मदिनको पक्का मिति थाहा छैन कारण बाइबलमा लेखिएको छैन तर येशूको जन्मदिनको समयमा गोठालाहरू, ज्योतिषीहरू, हेरोद राजा, आदिको पनि बाइबलमा येशूको जन्मसँगै वर्णन गरिएको छ । येशूको जन्म भएको समय निर्धारण गर्नलाई सजिलो माध्यम भनेको सिजर अगष्टस्को उर्दी पनि एक हो । त्यस समयमा सबै मानिसहरू आ–आफ्नो शहरमा नाम दर्ता गराउन गएका थिए । “योसेफ पनि गालिलको नासरतबाट यहूदियाको बेथलेहेम भन्ने दाऊदको शहरमा गए किनभने तिनी दाऊदका कुटुम्ब र वंशका थिए” (लूका २:४) । सिजर अगष्टसको जनगणनाको समयमा येशूको जन्म बेथलेहेममा भएको हुनाले उहाँको जन्मदिनको समय अवधिलाई इतिहासले पनि पुष्टी गरेको छ ।
येशूको जन्मको समय अवधिभन्दा पनि महत्वपूर्ण कुरा उहाँको जन्म हुनु नै हो । एक्काइसौं शताब्दीअघि येशू यहूदियाको बेथलेहेममा जन्मनुभयो । नासरत शहरमा हुर्कनुभयो । तीस वर्षको उमेरमा पानीको बप्तिस्मापछि पवित्र आत्मा उहाँमाथि ढुकुरको रूपमा ओर्लनुभयो । शैतानको परीक्षामाथि विजय भएपछि आत्माको शक्तिमा गालीलमा फर्कनुभयो । उहाँले धेरैलाई आँखा देख्ने, हिँड्न सक्ने, रोगहरूबाट निको हुवाइ र शैतानबाट पेलिएकाहरू स्वतन्त्र पार्ने काम गर्नुभयो । अन्तमा पापी मानिसको उद्धार गर्न क्रूसमा बलि हुनुभयो र मृत्युको तेस्रो दिनमा फेरि जीवित हुनुभयो र चालीस दिनपछि स्वर्ग उचालिनुभयो । एकदिन येशू फेरि यस पृथ्वीमा आउनुहुनेछ तर त्यो दिन पृथ्वीको अन्त्य हुनेछ भन्ने विषयमा बाइबलमा प्रस्टसँग उल्लेख गरिएको छ र हामीलाई यस विषयमा बाइबलले स्पष्टसँग बताएको छ । येशूको जन्मको विषयमा सयौं वर्ष अघिदेखि उहाँको जन्म, मृत्यु र पुनरुत्थानको विषयमा गरिएको भविष्यवाणी सत्प्रतिशत पहिलो शताब्दीमा पूरा भयो । येशूको जन्म नभएको भए क्रूसको मृत्यु पनि हुन सक्ने थिएन र मृत्यु नभएको भए जीवित अर्थात् पुनरूत्थान पनि हुन सक्ने थिएन । यसकारण हामी ख्रीष्टमस मनाउँछौं ।
साँचो खीष्टमस
येशूको जन्मदिनलाई मानिसको जन्मदिन जस्तै खाने, पिउने, नयाँ कपडा लगाउने, रमाइलो गर्नेमा मात्र परिणत गरियो भने साँचो ख्रीष्टमस हुन सक्दैन । यो त एउटा धर्म मानेको जस्तो वा चाडपर्व मानेको जस्तो मात्र हुन जान्छ ।
ख्रीष्टमस एउटा यस्तो अवसर हो अन्धकारमा भएका मानिसलाई उज्यालोमा ल्याउने र नरकको बाटोमा हिँडिराखेका पापी मानिसलाई स्वर्गको बाटोतर्फ डोर्‍याउने । अशान्तिमा जीवन जिइराखेकाहरूलाई शान्तिको सन्देश छरेर शान्तिदाता येशू ख्रीष्टसँग मिलाप गराउने । यदि नेपालका मण्डलीले यो वास्तविकतालाई बुझेर ख्रीष्टमस मनाउन सके भने त्यो नै साँचो ख्रीष्टमस हुनेछ । प्रभु येशूले प्रत्येक ख्रीष्टियनबाट चाहनुभएको साँचो ख्रीष्टमस उपहार नै पापी मानिसलाई येशू चिनाउनु हो । योभन्दा बहुमूल्य उपहार प्रभु येशूको निम्ति अर्को कुनै उपहार नै छैन । साँचो ख्रीष्टमस हुनका निम्ति प्रत्येक दिन, हप्ता, महिना र वर्षमा जिब्रो र जीवनको साक्षीद्वारा आत्मा बचाइनु पर्दछ र परमेश्वरको महिमाको निम्ति प्रत्येक दिन जीवन जिउनुपर्दछ । यो नै साँचो ख्रीष्टमस हो । तपाईंको निम्ति यो वर्षको ख्रीष्टमस यथार्थ बनोस्, यही नै प्रार्थना तथा शुभकामना छ ।