जागा बसौं र प्रार्थना गरौं

August 5, 2009 | Articles  

धर्मशास्त्र बाइबल परमेश्वरको वचनले के भन्छ ?

व्यवस्था ४:७, यर्मिया ३३:३, १ शमूएल १२:२३, २ इतिहास ७:१४, भजनसंग्रह ६२:८, ६५:२, हितोपदेश ३:५-६, मत्ती ७:७-८, मर्कूस १४:३८, लूका २१:३६, रोमी १२:१२, कलस्सी ४:२, फिलिप्पी ४:६, १ थिस्सोलोनिकी ५:१७, याकूब ५:१६

प्रार्थनाबिना इसाई जीवनको यात्रा अघि बढ्न सक्दैन । प्रार्थना इसाई जीवनको केन्द्र (मुटु) नै हो । यसैले प्रार्थना गर्नु पर्छ, गरिरहनुपर्छ र प्रार्थना गर्न रोकिनुहुँदैन । हामी परमेश्वरका छोराछोरीहरुलाई बाइबल धर्मशास्त्रमानै जागा रहो, प्रार्थना गर, निरन्तर प्रार्थना गर, तिमीहरुको प्रार्थना नरोकिओस्, समय वा बेसमय सधँ जागा बस (लूका २१:३४-३६) भनी प्रार्थनाको लागि जोड दिनुभएको छ । यसैले पनि हाम्रो प्रार्थनाको जीवन हुनुपर्छ । प्रार्थनाबिनाको जीवन हामी कसैको पनि हुनुहुँदैन किनकि हामी साना, ठूला, पाको सबैले गर्न सकिने काम पनि प्रार्थनानै हो । ख्रीष्ट येशू आफै पनि परमेश्वर पितासँग एकान्तमा प्रार्थनामा धेरै समय बिताउनु हुन्थ्यो (लूका ६:१२) साथै उहाँ आफैले पनि हाम्रो निम्ति पितासँग प्रार्थना गर्नु हुन्छ । उहाँले कहिल्यै पनि विश्राम लिनुहुन्न (भजनसंग्रह १२१:३-४, हिब्रू ७:२४-२५) ।

हामीले संसारको अवस्था देखिरहेका छौं । देश संकष्टको अवस्थाबाट गुज्रीरहेको छ । चारैतिर अशान्ति, अधर्म, असुरक्षा जस्ता निरासाजनक कुराहरु मात्र देखिरहेका छौं । मण्डलीमा नै आइरहेको धम्की, डर, त्रास, असुरक्षा जस्ता कुराहरुबाट स्थिर, सुरक्षित रही मण्डली अझै बलियो हुँदै जान सकोस् भनी प्रार्थना गर्नुपर्ने भएको छ । एफिसी ५:१४-१७ मा भनिएको छ, जागा बस, समयलाई विचार गर, मूर्ख नहोऊ किनकि समय खराब छ । योना जहाजको तल्लो तल्लामा सुतेझैं हामी नसुतौं (योना १:६) । तपाईं र मेरो, मण्डलीलाई, देशलाई प्रार्थनाको धेरै खाँचो छ । यदि हामी जीवित परमेश्वरका छोराछोरीहरु नै सुस्त भयौं भने अवस्था अझै बिग्रेर जानेछ (१ थेसलोनिकी ५:५-७) । सायद यी सबै परिस्थितिहरुद्वारा नै परमेश्वरले मण्डलीलाई धेरै कुराहरु सिकाउन चाहनुहुन्छ कि? अझ खार्न चाहनुभएको हो कि? यसैले पनि प्रार्थनामा जागा बसी मण्डली सबै प्रार्थना गर्नेहरु हुन सकौं ।

प्रार्थनाको प्रकारः
आफ्नो लागि गरिने प्रार्थना अर्जबिन्तीको प्रार्थना हो भने अरुहरुको लागि गरिने प्रार्थना अन्तरबिन्तीको प्रार्थना हो । उहाँले दिनुभएका प्रतिज्ञाहरुलाई सम्झेर धन्यवादको प्रार्थना चढाउन पनि सक्छौं साथै सुरक्षात्मक प्रार्थना मात्रै होइन तर आक्रमक प्रार्थना पनि गर्न सक्छौं  (२ कोरिन्थी १०:३-५, मत्ती १८:१८) ।

कसको नाउँमा ?
येशूको नाउँमा प्रार्थना गर्ने अधिकार पाएका छौं र गरिनुपर्छ (यूहन्ना १४:१३-१४) । परमेश्वरले ख्रीष्ट येशूमा दिनुभएको अधिकार हो (यूहन्ना १६:२३-२४) ।

प्रार्थना के हो ?
१. परमेश्वरसँगको कुराकानी (बातचीत) को समय हो
२. स्वर्गको भण्डार खोल्ने साँचो (चाबी) हो ।
३. परमेश्वरको उपस्थितिमा चूपचाप बसी बिताउने समय हो ।
४. परमेश्वरको इच्छा बुझ्ने र अगुवाई खोज्ने माध्यम हो ।
५. परमेश्वरमाथि भर पर्नु (भरोसा गर्नु) हो ।
६. अन्धकारको विरुद्धमा खडा हुने अधिकार र शक्ति हो ।
७. परमेश्वरको प्रतिज्ञाहरुलाई दाबी गर्दै उहाँको सामु जाने समय हो ।
८. आत्मिक जीवनको स्रोत र शक्ति हो ।
९. मण्डलीलाई जीवित र सुरक्षित राख्ने शक्ति हो ।

प्रार्थना के होइन ?
१. प्रार्थना भनेको परमेश्वरसँग माग्नु मात्र होइन एकतर्फी बोल्नु मात्र होइन साथै तयार गरेर लगेका विषयहरु परमेश्वरको अगि राख्नु मात्र पनि होइन तर पर्खनु सुन्नु र उहाँको उपस्थितिमा चूपचाप बसी समय बिताउनु पनि हो ।
२. उहाँको उपस्थितिमा रही धन्यवाद दिनु र प्रशंसा गर्नु पनि हो ।
३. मागेको कुरा पाउनैपर्छ भन्ने होइन । परमेश्वरले जस्तो उत्तर दिनुहुन्छ त्यसलाई स्वीकार गर्नु हो । जस्तैः परमेश्वरले पर्खन लगाउनुहुन्छ । होइन भन्नुहुन्छ साथै अझै प्रार्थना गर्नू भन्नुहुन्छ ।
४. प्रार्थना भनेको आफ्नो लागि माग्नु मात्र होइन तर अरुहरुको लागि पनि प्रार्थना गर्नु हो ।

प्रार्थना कसरी गर्ने ?
१. एक्लै एकान्तमा । (मर्कूस १:३५), बाटोमा हिँड्दा, ढल्कँदा, बस्दा, मनमनै (रोमी १२:१२, १ थेसलोनिकी ५:१७)
२. दुईजना मिलेर (एकै मनको भएर) (मत्ती १८:१९-२०) ।
३. सानो झुण्ड वा ठूलो समूहमा सामूहिक मिलेर । (प्रेरित १२:१२)
४. पवित्र आत्माको बप्तिस्मा पाएकाहरुले अन्य भाषामा पनि प्रार्थना गर्न सक्छौं (१ कोरिन्थी १४:२-४, रोमी ८:२६) ।
५. प्रार्थनाको हिँडाई (Prayer Walk) २ जना वा ३ जनाको समूहमा गरी टोल, गाउँ, शहर कुनै क्षेत्रलाई लिएर पनि प्रार्थना गर्न सकिन्छ ।

प्रार्थना किन गर्ने ?
यो परमेश्वरको आज्ञा हो । हामी परमेश्वरका छोराछोरी भएको हुनाले उहाँसँग माग्ने अधिकार हामीलाई छ (गलाती ४:६) । प्रार्थना इसाई जीवनमा स्वासप्रस्वास गरेझैं हो, परमेश्वरसँगको सम्बन्धमा रहिरहनको लागि मुख्य माध्यम पनि हो । जसले हामीहरुलाई परमेश्वरको नजीकमा सधैँ राख्दछ (हिब्रू ४:१६) । तपाईं र मेरो प्रार्थनाको धेरै खाँचो छ (याकूब ५:१६ ख) ।

प्रार्थना गर्नु अघि जान्नुपर्ने कुरा
मैले कसको अघि वा कोसँग माग्दछु (प्रार्थना गर्दैछु) र उहाँ को हुनुहुन्छ भनी जान्नुपर्छ (यशैया ४३:१०-१३, भजनसंग्रह १४५:१८, व्यवस्था ४:७, एफिसी १:२०-२१) ।

प्रार्थना गरिनको लागि
१. विश्वास चाहिन्छ (विश्वास हुनुपर्छ) । हिब्रू ११:१-६ र मर्कूस ११:२४
२. आज्ञाकारीता चाहिन्छ । यूहन्ना १५:७
३. प्रेममा गरिनुपर्छ । मत्ती ६:१४-१५
४. नम्रतामा गरिनुपर्छ । लूका १८:९-१४
५. इमान्दारीता पनि हुनुपर्छ । मत्ती ६:१, ५-६
६. परमेश्वरको इच्छा पनि खोज्नुपर्छ । १ यूहन्ना ५:१४, लूका ११:१-४
७. पवित्रतामा गरिनुपर्छ । भजनसंग्रह ६६:१८, मत्ती २१:१२-१३

प्रार्थनाको लागि ध्यान दिनुपर्ने कुराहरु:
प्रार्थना मन्दिरमा गएर घण्टी बजाएजस्तो हुनुहुँदैन । अरुको प्रार्थनामा मात्र पनि जिउनु हुँदैन । आफैले पनि प्रार्थना गर्ने बानी बसाल्नुपर्छ । प्रार्थना गर्न थाक्नु हुँदैन साथै प्रार्थना स्वार्थमा पनि गरिनु हुँदैन । मण्डलीको सेवा संगती सभाहरुमा प्रार्थनाको अगुवाई गर्दा मण्डलीको कुन सेवा संगति हो त्यसअनुसार प्रार्थना गर्नुपर्छ । जस्तैः शुरुको प्रार्थना गर्दा सो सेवाको लागि आशिष अगुवाई उपस्थिति माग्नुपर्छ । तर शुरुदेखि आखिरीसम्मको कार्यक्रमको लागि प्रार्थना गरेर सिध्याउनु हुँदैन । झुण्ड वा समूहमा प्रार्थना गर्दा सबैले सुन्ने गरी प्रार्थना गर्नुपर्छ जसले गर्दा सबैले आमेन् भन्न सकोस् । मण्डलीको प्रार्थना सभाहरुमा अगुवाई गर्ने व्यक्तिले प्रार्थनाको समय अरु धेरै कुराहरुको विषयमा बोलेर समय बिताउनुहुँदैन । प्रार्थनाको समय प्रार्थनामानै बिताउनुपर्छ । कसैले प्रार्थनाको अगुवाई गर्दै हुनुहुन्छ भने सो प्रार्थना सुन्नुपर्छ अनि अन्तमा सबैले आमेन् भन्नुपर्छ । तर सबैले समूहमा सामूहिक प्रार्थना गरौं भन्यो भने मात्र सबै मिलेर प्रार्थना गर्नुपर्छ । हामीले अरुको निम्ति साँचो बोझ लिएर जब प्रार्थना गर्छौं भने सम्बन्धित व्यक्तिले मात्र होइन आशिष हामीले पनि पाउँछौं । प्रार्थनाको उत्तर पर्खन पनि सिक्नु पर्छ । अनि उत्तर पाएपछि धन्यवादी पनि हुनुपर्छ । यसैले व्यक्तिगत, पारिवारिक र मण्डलीसँगको प्रार्थनाको क्षेत्रमा अझ मूल्य चुकाउन लागिपरौं साथै एकअर्कालाई पनि उत्साहित गराऔं ।

– पाष्टर अशोक मुखिया