झुटा शिक्षाबाट होसियार!

July 4, 2011 | Articles  

मण्डली ख्रीष्ट येशू प्रभुको हो । मण्डलीको लागि नै उहाँले आफ्नो प्राण क्रुशमा दिनुभयो । यसैले मण्डली उहाँको निम्ति अति प्यारो र बहुमूल्य छ । उहाँ आफ्नो मण्डलीलाई स्वर्गमा लैजानको लागि दोस्रो पल्ट फेरि आउँदै हुनुहुन्छ (यूहन्ना १४:३, मर्कूस १३:२६–२७, प्रेरित १:९–११, १ थेसलोनिकी ४:१५–१७) ।

ख्रीष्ट येशू प्रभुले उहाँको मण्डली यस संसारमा पवित्र आत्माको अगुवाइमा वृद्धि हुँदै, फैलँदै, पवित्र हुँदै, अधिकार गर्दै गएको साथै सारा आदर, भक्ति र महिमा उहाँलाई दिँदै उहाँको दोस्रो आगमनसम्म स्थिर र सुरक्षित रहेको चाहनुहुन्छ । यसैले प्रभु आँफैले  पनि मण्डलीलाई दुष्टबाट सुरक्षित रहून् भनी पितासँग बिन्ती गर्नुभएको कुरा बाइबलमा लेखिएका छ (यूहन्ना १७:१५–१९) ।

ख्रीष्ट येशूको चाहाना अनुसार मण्डली फैलँदै जान नदिनलाई शैतानले धेरै प्रकारले मण्डलीलाई झुटा कुराहरू गरी बहकाउने, मण्डलीको शिक्षाको विरोध गर्ने, विश्वासमा बाधा ल्याउने गर्छ, किनकि त्यो झुटको पिता हो (यूहन्ना ८:४४) । यसैले त्यो बिगार्न, नाश गर्न र मार्नलाई मात्र आउँछ (यूहन्ना १०:१०) ।

अहिलेको वर्तमान संसारमा झुटो शिक्षाहरू प्रशस्त मात्रामा आइसकेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर साथै देशको अन्य ठाउँहरूमा पनि यस्ता समूहका मानिसहरू विश्वासीहरूको घर–घरमा आउन थालेका छन् । सुरूका मण्डलीहरूमा पनि यस्ता झुटो शिक्षा र शिक्षकहरूले दुःख दिएका थिए । विश्वासीहरूलाई बहकाउने काम गरी मण्डलीमा फाटो, गडबडी ल्याएका थिए (गलाती १:६–९) । यी विश्वासीहरूको जीवन देखेर पावल आँफै पनि छक्क परेका थिए, किनकि त्यस समयका विश्वासीहरू सत्य सुसमाचारदेखि सजिलै झुटा कुराहरूतिर बहकिएर गएका थिए ।

प्रेरित २०:२८–३१ अनुसार पावलले एफिसस्का अगुवा र मण्डलीहरूलाई पनि यस्तै कुराहरूबाट होसियारी हुन चेतावनी दिइएका छन् भने कलस्सी १:२२–२३ मा कलस्सीको मण्डलीलाई पनि चेतावनी दिइएका छन्, किनकि पावललाई मण्डलीको निम्ति साँचो बोझ, वास्ता, फिक्री थियो (२ कोरिन्थी ११:२–४) ।

झुटो शिक्षा के हो
परमेश्वरको वचनबाट केही पद मात्र लिई त्यसलाई ठूलो विषय बनाएर वचनलाई बङगाएर निकालिएको सिद्धान्त र शिक्षा नै झुटो शिक्षा हो (२ पत्रुस ३:१६–१७) । झुटो शिक्षा सिकाउनेहरूले
वचनलाई आफ्नै तरिकाले ब्याख्या गरि आफ्नै सिद्धान्त बनाई शिक्षा दिने काम गर्छन् । तिनीहरूले आफ्नो कुरा राख्ने काममा सम्पूर्ण बाइबल चलाउँदैनन् । झुटो शिक्षा सिकाउनेहरुले के गर्छन् ?
झुटो शिक्षा सिकाउनेहरू कतिले निस्तार चाड मान्नुपर्छ भनी जोड दिन्छन्, पानीको बप्तिस्मा फेरि लिन कर लगाउँछन, ख्रीष्टमस मान्नु हुँदैन भनी शिक्षा दिन्छन्, पवित्र आत्माको विरोध गर्छन, विवाह गर्नु हुँदैन भन्छन्, पितालाई होइन मातालाई मान्नुपर्छ भन्छन् ।

यस्ता मानिसहरू अन्य मानिसहरूकहाँ गएर सुसमाचार सुनाउँदैनन् तर विश्वासीहरूको घर खोजी खोजी आउने गर्छन् र धेरै कुराहरू गरेर प्रलोभन देखाउँछन् साथै हामीले पाएको उद्धार, मुक्ति र शिक्षाको विरोध गर्छन् र हाम्रो शिक्षालाई झुटो हो भन्छन् । हाम्रो विश्वास र शिक्षाको विषयमा तर्क बितर्क गरी हाम्रो विश्वासलाई खलबल्याउन खोज्छन् । मण्डलीका अगुवाहरूको विरूद्धमा बोल्छन् । आराधना सेवामा आएर विश्वासीहरूलाई बहकाउँछन्, भड्काउँछन् र उनीहरूको झुण्डमा फकाएर लान कोशिष् गर्छन् ।

तिनीहरुलाई कसरी चिन्ने
मत्ती ७:१५–१६ भन्दछ “झुटा अगमबक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेडाको भेसमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरू जस्ता हुन्छन् । तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ । के काँढाका बोटबाट अंगूर अथवा सिउँडीबाट अञ्जीर टिपिन्छ र ?”

वचनले झुटो शिक्षा सिकाउनेहरुको सम्बन्धमा के भन्छ ?
२ पत्रुस २:१–३ ले भन्दछ “जसरी इस्राइलीहरूका माझमा झुटा अगम्वक्ताहरू थिए, त्यसरी नै तिमीहरूको माझमा झुटा शिक्षकहरू खडा हुनेछन् । यिनीहरूले गुप्त रुपले विनाशकारी झुटा शिक्षाहरू ल्याउनेछन्, यहाँ सम्म कि तिनीहरूलाई उद्धार गर्नुहुने स्वामीलाई पनि तिनीहरूले इन्कार गर्नेछन् र आँफैमाथि विनाश ल्याउनेछन् र धेरै जनाले तिनीहरूका विलाषी आचरणको अनुसरण गर्नेछन्, र तिनीहरूको कारण सत्यका मार्गको बदनामी हुनेछ । लोभको बसमा परेर तिनीहरूले झुटा कुरा बनाएर तिमीहरूबाट फाइदा उठाउनेछन् । तिनीहरूका दण्डको कुरा अघिबाटै निर्णय भइसकेकोछ, र तिनीहरूका विनाशको कुरा जागै छ ।” यसरी नै मत्ती २४:५ ले भन्छः किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ’ भन्दै आउनेछन् र धेरैलाई बहकाउनेछन् ।

वचनले हामी मण्डलीलाई के भन्छ
१ यूहन्ना ४:१–३ ले भन्दछ “प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर किनभने धेरै झुटा अगमवक्ताहरू यस संसारमा निस्किआएका छन् । यसैबाट तिमीहरू परमेश्वरको आत्मालाई चिन्छौः हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाट हो । येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा ‘त्यो आउँछ’ भन्ने तिमीहरूले सुनेका छौ । अब त्यो यस संसारमा आइसकेको छ ।” २ पत्रुस ३:१७ ले भन्दछ “यसकारण प्रिय हो, अघिबाटै यी कुरा जानेर होशियार रहो, दुष्ट मानिसहरूको भूल कुरामा अलमलिएर आफ्नो स्थिरता नगुमाओ ।”

मण्डलीको जिम्मेवारी
परमेश्वरले मलाई यस मण्डलीमा राख्नुभएको हो भनी जानेर मण्डलीको शिक्षा र अगुवाहरूको अधिनमा हामी रहनुपर्छ । यसैले हामीलाई बहकाउने, लोभलालच देखाएर मण्डलीबाट अलग गराउनेहरूसँग होसियार रहनुपर्छ । साथै मण्डलीका अरू दाजुभाई तथा दिदी बहिनीहरूलाई पनि यस्ता मानिसहरूबाट जोगाउनुपर्छ । २ यूहन्ना १० ले भन्दछ “यदि कोही तिमीकहाँ आएर यो सिद्धान्त ल्याएन भने त्यसलाई घरमा स्वागत नगर्नू । त्यसलाई अभिवादन पनि नगर्नू ।”

अगुवाहरुको जिम्मेवारी
प्रेरित २०:२८–२९ ले भन्दछ “तपाईंहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस् ।
पवित्र आत्माले तपाईंहरूलाई बगालको जिम्मावाल बनाउनुभएको हुनाले उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हेरचाह तपाईंहरू गर्नुहोस् किनभने मलाई थाहा छ, कि म गएपछि डरलाग्दा ब्वाँसाहरू तिमीहरूका माझमा पस्नेछन्, जसले बगाललाई बाँकी राख्ने छैनन् ।” यसैले मण्डलीको अगुवाहरूको अझ ठूलो जिम्मेवारी छ किनकि यस्ता झुटा शिक्षा र शिक्षकहरूबाट मण्डलीलाई जोगाउन मण्डलीका विश्वासीहरूको राम्रोसँग हेरचार गर्न र वास्ता पुयाउनको लागि परमेश्वरले अगुवाहरूलाई मण्डलीमा राख्नुभएको छ ।

अन्तरविन्तिको प्रार्थना

June 9, 2011 | Articles  

पाष्टर सामुएल कार्थक

आफ्नो लागि र आफ्नो व्यक्तिगत आवश्यकताहरूको लागि साथै यो अरूहरूको आवश्यकताको लागि गर्ने प्रार्थना होइन । अन्तरविन्तिको प्रार्थना कसैको विशेष आवश्यकतामा परमेश्वर स्वयम उत्रनु हुनेछ र काम गर्नु हुनेछ भन्ने पूर्ण आशामा गरिने प्रार्थना हो । यो चाहिँ हामीले चाहे जस्तै तरिकाले वा हामीले भनेको समयमा नभए तापनि परमेश्वरले काम गर्नु हुन्छ भनी भरोसा गरेर गर्ने प्रार्थना हो ।

पुरानो करारमा धेरै मानिसहरूले अरूहरूको लागि प्रार्थना गर्दै परमेश्वरको अघि उभिएको हामी पाउँदछौं । जस्तैः अब्राहामले आफ्नो छिमेकमा रहेको सदोम र त्यसका वरपरका क्षेत्रहरूको लागि प्रार्थना गर्नलाई परमेश्वरको अघि आउनलाई कदम चालेका थिए । यस काम गर्नलाई उनी होसियारी बने कारण उनलाई यो कुरा थाहा थियो की सदोम अत्ति नै दुष्टताले भरिएको थियो र त्यस प्रति परमेश्वर अत्ति नै क्रोधित हुनुभएको थियो । यसैले अब्राहामले परमेश्वरसँग बोल्दा होसियारी अनपानएको यस कुराले देखाउँछ (उत्पत्ति १८:२६–३३) । यसरी नै परमेश्वर रिसाउनु भएको बेला मोशाले पनि परमेश्वरको अघि आउने कदम चालेका थिए । उनी परमेश्वर र मानिसहरूको वीचमा उभिएर आफ्नो जीवन नै परमेश्वरका मानिसहरूको लागि दिन तयार भए (प्रस्थान ३२:३०–३१) । पर्खाल बनाउने नहेम्याहले यरूशलेम र परमेश्वरका मानिसहरूको लागि प्रार्थना गरे । जसै उनले तिनीहरूको आवश्यकता परमेश्वरको अघि लगे, यी सबै कुराको पछि रहेको प्रेरणा चाहिँ विश्वासका महान व्यक्तिहरूमा रहेको टिठालुपन थियो । तिनीहरूले ती मानिसहरूलाई, तिनीहरूका सस्कृतिलाई र तिनीहरूको विश्वासलाई परमेश्वरले जस्तै प्रेम गरेर, त्यस प्रेमको जोशले जलेर तिनीहरूको पक्षमा परमेश्वरसँग बोल्नलाई आँट गरे । Read more

माथिका कुरामा मन लगाओ

May 11, 2011 | Articles  

पास्टर रोबर्ट कार्थक

ख्रीष्टियानहरू दुई किसिमका हुन्छन् – शरीरअनुसार जिउनेहरू र आत्माअनुसार जिउनेहरू । शरीरअनुसार जिउनेहरू शारीरिक हुन्, आत्माअनुसार जिउनेहरू आत्मिक हुन् । ख्रीष्ट येशूमाथि विश्वास गरी उहाँलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रुपमा ग्रहण गरेर हामीले पाप क्षमा पायौं, नयाँ जन्म पायौं, मुक्ति पायौं । हामी विश्वासी बन्यौं । त्यसपछि पिता, पुत्र, पवित्र आत्माको नाउँमा आफ्नो राजीखुशीले पानीको बप्तिस्मा लिई आफ्नो जीवन उहाँमा समर्पण गर्दै हामी ख्रीष्टका अनुयायी ख्रीष्टियान बन्यौं । अब प्रश्न उठ्छ, हामी कस्ता ख्रीष्टियान ? आत्माअनुसार जिउने आत्मिक ख्रीष्टियान कि शरीरअनुसार जिउने शारीरिक ख्रीष्टियान ? हाम्रो जीवनमा आत्माले राज्य गर्दैछ कि शरीरले ? हामी आत्माका कुराको बढी वास्ता गर्छौं कि शरीरका कुराको ? हामी आत्माको कुरामा धेरै मन लगाउँछौं कि शरीरका कुरामा ? रोमी ८:५ ले भन्दछ, “…शरीरअनुसार चल्नेहरूले शरीरका कुरामा तर आत्माअनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन् । रोमी  ८:८  अनुसार शरीरका कुरामा मन लगाउनेहरू तथा शारीरिकताको वशमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्तैनन् । शरीरका कुरामा मन लगाउनु भनेको चाहिँ खाली आफ्नो शरीरका मागहरू पूरा गर्नालाई स्वार्थको लागि मात्र जिउनु हो । केवल खाने, पिउने, लाउने, रुपैंया–पैसा धन–दौलत थुपार्ने, मनमोजमा समय बिताउने, सम्पत्ति खर्च गर्ने–शरीरअनुसार जिउनु भनेको यही हो । Read more

प्रभुलाई पछ्याउनु

February 9, 2011 | Articles  

माघ ८ गते/जनवरी २२ ता. शनिबार ज्ञानेश्वर मण्डलीको आराधना सेवामा पाष्टर महेश थाँजुले बोल्नुभएको वचनको सार संक्षेपः
प्रस्तुति- लेखनाथ पौडेल

यी दिनहरूमा काठमाडौं सहरमा एउटा विशेष घटना भइरहेको छ। मानिसहरूले कहिल्यै नदेखेका कुराहरू देख्न थालेका छन् र कहिल्यै नसुनेका कुराहरू सुन्न थालेका छन्। काठमाडौं सहरमा अचम्भको हलचल भइरहेको छ। परमेश्वरले यो राष्ट्रमा ठूलो काम गर्न चाहनुहुन्छ। त्यो उहाँले काठमाडौं उपत्यकाबाट सुरू गर्न लाग्नुभएको छ।

प्रेरितको पुस्तक ३ अध्यायमा प्रभु येशूका चेलाहरूले जोडतोडका साथ परमेश्वरको काम गरिरहेको देख्न पाउँछौं। उनीहरूले गरेको कामको कारण संसारमा उलटपुलट भएको थियो। यहाँसम्म कि पावल र सिलासलाई फिलिप्पी भन्ने शहरका मानिसहरूले भनेका थिए “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन्।” –प्रेरित १७ः६। त्यति बेलूका विश्वासीहरू साधारण विश्वासीहरू थिएनन्। उनीहरू जस्तोसुकै परिस्थितिमा वा कष्टमा पनि प्रभुलाई छान्थे र पछ्याउँथे। यदि हामी पनि यो राष्ट्रमा उलटपुलट भएको देख्न चाहन्छौं भने जुनसुकै परिस्थितिमा पनि प्रभुलाई पछ्याउनेहरू हुनुपर्छ। Read more

जागा बसौं र प्रार्थना गरौं

August 5, 2009 | Articles  

धर्मशास्त्र बाइबल परमेश्वरको वचनले के भन्छ ?

व्यवस्था ४:७, यर्मिया ३३:३, १ शमूएल १२:२३, २ इतिहास ७:१४, भजनसंग्रह ६२:८, ६५:२, हितोपदेश ३:५-६, मत्ती ७:७-८, मर्कूस १४:३८, लूका २१:३६, रोमी १२:१२, कलस्सी ४:२, फिलिप्पी ४:६, १ थिस्सोलोनिकी ५:१७, याकूब ५:१६

प्रार्थनाबिना इसाई जीवनको यात्रा अघि बढ्न सक्दैन । प्रार्थना इसाई जीवनको केन्द्र (मुटु) नै हो । यसैले प्रार्थना गर्नु पर्छ, गरिरहनुपर्छ र प्रार्थना गर्न रोकिनुहुँदैन । हामी परमेश्वरका छोराछोरीहरुलाई बाइबल धर्मशास्त्रमानै जागा रहो, प्रार्थना गर, निरन्तर प्रार्थना गर, तिमीहरुको प्रार्थना नरोकिओस्, समय वा बेसमय सधँ जागा बस (लूका २१:३४-३६) भनी प्रार्थनाको लागि जोड दिनुभएको छ । यसैले पनि हाम्रो प्रार्थनाको जीवन हुनुपर्छ । प्रार्थनाबिनाको जीवन हामी कसैको पनि हुनुहुँदैन किनकि हामी साना, ठूला, पाको सबैले गर्न सकिने काम पनि प्रार्थनानै हो । ख्रीष्ट येशू आफै पनि परमेश्वर पितासँग एकान्तमा प्रार्थनामा धेरै समय बिताउनु हुन्थ्यो (लूका ६:१२) साथै उहाँ आफैले पनि हाम्रो निम्ति पितासँग प्रार्थना गर्नु हुन्छ । उहाँले कहिल्यै पनि विश्राम लिनुहुन्न (भजनसंग्रह १२१:३-४, हिब्रू ७:२४-२५) । Read more

मिशनको बिस्तार र यसको चुनौतीहरु

July 14, 2009 | Articles  

[singlepic id=142 w=320 h=240 float=right]… “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ । यसकारण जाओ र सबै देशका जातिहरुलाई चेला बनाओ पिता र पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ मैले तिमीहरुलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरुलाई सिकाओ । हेर म युगको अन्त्यसम्म सधैं  तिमीहरुका साथमा छु” (मत्ती २८:१८-२०) । यो प्रभुको महान आज्ञा हो । यसै आज्ञालाई पालन गर्दै नेपाली इसाई मण्डलीले सकृय रुपमा काम गर्दै आइरहेको छ । नेपालका २१ जिल्लाका करिब ७०-८० ठाउँहरुमा हाल नेइमको शाखा-आवद्ध मण्डलीहरुमा नियमित रुपमा साप्ताहिक तथा दैनिक सेवा संगतिहरु भइरहेका छन् । ठाउँ-ठाउँमा रहेका शाखा-आवद्ध मण्डली तथा संगतिहरुमा साप्ताहिक सयौंको संख्यामा प्रभुलाई ग्रहण गरिरहेका छन् भने हजारौं मानिसहरुलाई सुसमाचार प्रचार गरिँदै छ । साप्ताहिक दर्जनौं ठाउँहरुमा सुसमाचारिय झुण्डहरु जाने गरेका छन् भने मासिक १-२ ठाउँमा नयाँ संगति शुरु हुन थालेका छन् । त्यस्तै नेइमका विभिन्न स्थानीय मण्डलीहरुबाट ठाउँ-ठाउँमा आउट-रीच संगतिहरु भइरहेका छन् । Read more

« Previous Page