नेइम ललितपुर चर्च बसन्त सम्मेलन २०१४ एक झलक – प्रस्तोता: एल्डर दिल थापा

May 5, 2014 | Articles  

२०१४ सालको मार्च महिनामा यस वर्ष पनि नेइम ललितपुरमा १ दिवसीय बसन्त सम्मेलन आयोजना गरिएको थियो ।
प्रचवनका दुई सेवा राखिएका थिए भने सांस्कृतिक मुठ्ठाहरू पनि उक्त कार्यक्रममा समावेश गरिएका थिए ।
प्रवचनका क्रममा आदरणीय पाष्टर गुरुबा रोबर्ट कार्थकले अब बसाइको अन्त भयो, उठ्ने बेला आएको छ भनी मण्डलीलाई सचेत गराउनुभएको थियो ।
पवित्र आत्माको भरपूरी हामी विश्वासीहरूको लागि अपरिहार्य छ भन्दै येशूले प्रतिज्ञा गर्नुभएको पवित्र आत्मा हामीमा हुनुहुन्छ भन्ने कुरामा जोड पनि गुरुबाले दिनुभयो । उहाँले अगाडि भन्नुभयो, हामीमा जति सास छ त्यति मात्र हल्लेलूयाह भन्न सक्छौं, सास नै प्राण हो सास सिद्धियो भने हामी मर्छौं । जिब्रोमा भएको वचन विचार मात्र हो जब बाहिर निस्कन्छ तब आवाज बन्छ । परमेश्वर बोल्नुभयो र सबैथोक हुन आए । वचनमा शक्ति छ । त्रिएक परमेश्वर सबै समान हुनुहुन्छ । पवित्र आत्माको विरुद्धमा बोलिएको कुरा ईश्वर निन्दा हो र यो पाप क्षमा हुँदैन । येशूले पनि पवित्र आत्माको शक्तिले नै आश्चर्य कर्महरू गर्नुभयो । ३० वर्षको उमेर अघि उहाँले कुनै आश्चर्य कर्म गर्नुभएन तर पवित्र आत्मा उहाँमाथि आउनुभएपछि मात्र । पवित्र आत्माको अभिषेकले शक्ति प्रदान गर्दछ र त्यही शक्तिमा येशूले अन्धाहरूलाई देख्न सक्ने, लङ्गडाहरू हिँड्न सक्ने र मरेकाहरूलाई समेत जीवित तुल्याउनुभयो । पवित्र आत्माको शक्तिबिना येशूले परमेश्वरको राज्यबारे प्रचार पनि गर्नुभएन ।
गुरुबाले भन्नुभयो, येशूले हामीलाई प्रेम गर्नुहुन्छ । हामी जस्तो सुकै भए पनि उहाँले हामीलाई प्रेम गरिरहनुहुन्छ । हामीलाई प्रेम गरेका कारणले नै येशू हाम्रा लागि क्रुससम्मै जानुभयो, अनमोल रगत बगाउनुभयो र हामीलाई श्राप मुक्त पार्नु भएर अब्राहामको आशिषको भागिदार बनाउनुभयो (गलाती ३:१५–१७) । अब हामी श्राप पाएकाहरू होइन तर आशिष पाएकाहरू हौं । हाम्रा लागि येशू श्राप बन्नुभयो ताकि उहाँमा हामीले धार्मिकता प्राप्त गर्न सकौं । गुरुबाले भन्नुभयो, पवित्र आत्माले नै हामीलाई ख्रीष्टका बनाउनुभएको छ । हामीमा पवित्र आत्मा नहुनु हुँदो हो ता, हामी ख्रीष्टका पनि हुनै सक्ने थिएनौं । पवित्र आत्मा हामीमा बास गर्नुहुन्छ, गलाती ४:६ जसरी उहाँ ख्रीष्टमा पनि हुनुहुन्थ्यो (लूका ३:२२; ४:१; १४:१४;४:१७–१९) ।
सेवा गर्नको लागि येशूलाई पनि पवित्र आत्माको दरकार पर्‍यो भने झन् कति बढ्ता गरेर परमेश्वरको सेवा गर्नलाई हामीलाई पवित्र आत्मा चाहिन्छ भन्ने विषयमा गुरुबाले जोड दिनुभएको थियो ।
पवित्र आत्माको बप्तिस्मा हामीलाई चाहिन्छ, हामीले पवित्र आत्माको बप्तिस्मा पाएका छैनौ भने माग्नुपर्छ र पिताले हामीलाई दिनुहुन्छ ।
गुरुबाले एफिसी १ अध्यायबाट पनि भन्दै हुनुहुन्थ्यो कि पहिलेको सृष्टि सजिलै हुन आयो तर नयाँ सृष्टिका लागि येशूले मूल्य चुकाउनुपर्‍यो क्रुसको मृत्युको मूल्य । शैतान चाहँदैनथ्यो कि येशू क्रुसमा मरून् किनकि येशूको मृत्युमा नै मानिसको जीवन थियो । यो नै नयाँ जीवन हो जुन जीवनमा पवित्र आत्माको शक्ति छ र त्यही शक्तिमा सबै कुरा गर्न सकिन्छ ।
अर्को प्रवचनमा गुरुबाले दाखको बोट र हाँगाहरू बीचको सम्बन्धबारे बताउँदै हुनुहुन्थ्यो । हाँगा बोटमा रहेन भने सुकिहाल्छ । फल फलाउनका लागि हाँगा बोटमा नै रहिरहनुपर्छ । अझ बढी फल फलाउनका लागि उहाँले हामीलाई छाँट्नु पनि हुन्छ । यूहन्ना १५:२ हामीलाई बढी फलदायी बनाउनलाई हामीमा भएको सबै फोहोर उहाँले हटाउनुहुन्छ ।
परमेश्वरको चाहना हाम्रो जीवन आषिमय होस् । सलहले खाएका वर्षहरू उहाँले हामीलाई फिर्ता दिनुहुन्छ । अब उहाँले यहूदी र अन्य जातिबीच कुनै भेदभाव राख्नुहुन्न । येशूमा सबै एकै छौं । हाम्रो काम उहाँमा रहिरहनु हो ।
वचनको सेवकाइका लागि हामीले गुरुबालाई धन्यवाद ज्ञापन गर्‍यौं ।
वर्षेनी कमसेकम २ दिन आयोजना गरिने बसन्त सम्मेलन यस वर्षचाहिँ केवल एक दिनका लागि मात्र हुन सक्यो । तर पनि आफ्नो वचन आफ्नो दासद्वारा हामीसँग बोल्नुभयो र हामी सबैले प्रशस्त आशिष पायौं ।
यस वर्षको सम्मेलनमा पहिले कुनै बेला तय गरिएको कार्यशालाको निचोडबारे पनि चर्चा गरिएको थियो । त्यो थियो म नेपाली ख्रीष्टियनले के के नेपाली चलन मान्न सक्छु र के के मान्न सक्दिनँ साथै कुनै पनि अन्ध विश्वासका कुराहरू हामीले मान्नु हुँदैन भन्ने पनि सम्मेलनका सहभागीमाझ चर्चा गरिएको थियो । समग्रमा भन्ने हो भने सम्मेलन अति आशिषमय थियो । प्रभुलाई धन्यवाद होस् ।