म हुँ भन्ने येशूलाई चिन्नु नै जीवन पाउनु – डिकन सिमोन पाठक

August 4, 2014 | Articles  

वचनको सत्यताको ज्ञान नै छैन भने कसरी परिपक्वतातिर बढ्दै जाने ? आत्मिक परिपक्वता वचनको सत्यतामा जिउनुको परिणाम हो । परमेश्वरको वचनको गहिरो अध्ययन र वचनको प्रकाशले आत्मामा बलियो र परिपक्व बन्नलाई मदत मिल्दछ । कुनैपनि मण्डली प्रभावशाली हुनु हो भने हरेक हप्ता पुलपिटबाट प्रचारिने प्रवचनको गुदी ठोस हुनुपर्छ साथै हप्ताको बीचमा हुने संगतिहरूमा वचनको गहिरो अध्ययन हुनुपर्दछ । नेइममा हप्ताको बीचमा हुने घरेलु संगतिहरूमा यूहन्नाको पुस्तकबाट अध्ययन गर्ने निर्णय सँगै पाठबाट हेर्न शुरू भएको छ ।
नेइमले ५७ बसन्त पार गर्न लागेको छ । मण्डली वृद्धिसँगै मण्डलीलाई अगुवाइ गर्ने अगुवाहरूको पनि वृद्धि भएको छ । ५७ वर्षको अन्तरालमा अगुवाहरूको धर्मशास्त्र बुझाई र आत्मिकी तहको अन्तराल पनि ठूलो छ । त्यसकारण सबैलाई चित्त बुझ्ने पाठ तयार गर्नु चुनौतिपूर्ण कार्य हो । सबै तहका अगुवाहरूलाई मध्यनजर गरेर घरेलु संगतिको पाठ तयार गरिएको छ । पाठ तयारीमा परमेश्वरबाटको बुद्धि र वचनको प्रकाशको ज्ञानको निम्ति मण्डली परिवारको प्रार्थना अपरिहार्य छ ।
यूहन्नाको पुस्तकलाई समग्रमा हेर्दाः यूहन्नाको पुस्तकका लेखक येशूले अति नै प्रेम गर्नुहुने चेला यूहन्ना हुन् । उनले यो पत्र इ.सं. ७० देखि ९० को बीचमा एफिससबाट लेखेका थिए । मत्ती, मर्कूस, लूकाको सुसमाचार लेखिएको धेरै समयपछि मानिसहरूमा एउटा प्रश्न उठ्न थाल्यो । के परमेश्वर मानिस बन्न सक्नुहुन्छ ? परमेश्वर असल हुनुहुन्छ तर मानिस खराब छ । तब कसरी असल परमेश्वर खराब मानिस बन्न सक्नुहुन्छ ? यसरी मानिसहरूले येशू परमेश्वर हुनुहुन्छ भन्ने कुरामा नै शंका गर्न थाले । यही शंकालाई हटाउन र येशू परमेश्वर भएर पनि मानिस बन्नुभयो भन्ने सत्यतालाई बुझाउन यूहन्नाले यो सुसमाचारको पुस्तक लेखेका हुन् ।
यूहन्नाको पुस्तकलाई विशेष गरी दुई खण्डमा विभाजित गरेर अध्ययन गर्न सकिन्छ । पहिलो भागमा येशूको सार्वजनिक वा बाहिरी सेवकाइलाई जोड दिएको पाइन्छ (१–१२ अध्यायसम्म) । दोस्रो भागमा येशूको व्यक्तिगत सेवकाइलाई जोड् दिएको पाइन्छ (१३–२१ अध्यायसम्म) । “…तिमीहरुले येशू परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर, र विश्वासद्वारा उहाँको नाउँमा तिमीहरुलाई जीवन प्राप्त होस्” भन्ने यो पुस्तकको मुख्य उद्देश्य हो (यूहन्ना २०:३०, ३१) । यूहन्नाले येशूलाई ‘वचन’ शब्दद्वारा वर्णन गरेका छन् (यूहन्ना १:१) । त्यही वचन नै देहधारी हुनुभयो जो येशू ख्रीष्ट हुनुहुन्छ (यूहन्ना १:१४) । उहाँ नै परमेश्वर हुनुहुन्छ । उहाँ बाहेक अरू कुनै परमेश्वर छैन भन्ने कुरालाई बुझाउनु नै उनको मुख्य उद्देश्य हो ।
यूहन्नाको सुसमाचारमा अन्ठानब्बे (९८) पटकभन्दा बढी ‘विश्वास’ शब्द उल्लेख गरेको पाइन्छ । यो पुस्तकको मुख्य शब्द ‘विश्वास’ नै हो । विश्वासको निम्ति प्रयोग गरिएको ग्रीक शब्द ‘पिष्ट्यूओे’ (Pisteuo)हो । यो शब्द प्रायजसो वर्तमान कालमा प्रयोग गरिएको छ । यूहन्नाले येशूमा विश्वास गर्ने र उहाँमा भरोसा गर्ने कुरालाई क्रियाशिल र निरन्तर हुनुपर्छ भन्ने कुरामा जोड् दिएका छन् । उनले यस पुस्तकमा येशूको मृत्यु र पुनरूत्थानलाई सुसमाचारको केन्द्र बनाएका छन् ।
सात आश्चर्यकर्महरूः येशू पृथ्वीमा हुनुहुँदा धेरै संख्यामा चिन्ह र आश्चर्यकर्महरु गर्नुभयो (यूहन्ना २०:३०. २१:२५) । उहाँले प्रत्येक आश्चर्यकर्मको पछाडि केही न केही सन्देश वा उहाँ को हुनुहुन्छ सो प्रकट गर्नुभएको छ । पाँच हजारलाई खुवाउनुभएपछि जीवनको रोटी म नै हुँ भनी बुझाउनुभयो (यूहन्ना ६:११–१३. ३५) । जन्मैदेखिको अन्धोलाई दृष्टि दिनुभएपछि आत्मिक अन्धोपनको विषयमा शिक्षा दिनुभयो (यूहन्ना ९:६–७. ३५–४१) । पुनरुत्थान र जीवन म नै हुँ भन्ने शिक्षा दिनुभएपछि लाजरसलाई मृत्युबाट जीवित पार्नुभयो (यूहन्ना ११:२५–२६. ४३–४४) ।
यूहन्नाले येशूले गर्नुभएका सातवटा आश्चर्यकर्महरु अथवा चिन्हहरू यस पुस्तकमा उल्लेख गरेका छन् (यूहन्ना २:१–१२:५०) । यी सबै चिन्हहरूद्वारा उहाँ मसीह, परमेश्वरको पुत्र ख्रीष्ट हुनुहुन्छ भनी उहाँको ईश्वरत्वलाई बुझाइएको छ । यूहन्नाको पत्रमा उल्लेख भएका सात विशेष आश्चर्यकर्महरूः पानीलाई दाखमद्यमा परिणत गर्नुभएकोे, उच्च अधिकारीको छोरा निको पारिएको, पक्षघाती निको पारिएको, पाँच हजारलाई खुवाउनुभएको, पानीमाथि हिँडनुभएको, जन्मैदेखिको अन्धो मानिस निको पारिएको, लाजरसलाई मृतकबाट बौरी उठाउनुभएको ।
येशूले गर्नुभएका सातवटा आश्चर्यकर्महरूद्वारा पितामा भएको महिमा पुत्रमा प्रकट गरिएको छ । पुत्र ईश्वरत्वको एक व्यक्ति हुनुहुन्छ । उहाँ परमेश्वर नै हुनुहुन्छ । उहाँमा विश्वास गर्नेहरूले धोका खाने छैनन् तर जीवन पाउनेछन् भनी बुझाउनको निम्ति यूहन्नाले येशूले गर्नुभएका अनगन्ती आश्चर्यकर्महरू मध्येबाट सातवटा आश्चर्य कर्महरूलाई आफ्नो लेखमा उल्लेख गरेका छन् ।
सातवटा “म हुँ” वाक्यांशहरूः यूहन्नाको पुस्तकमा सात पटक “म हुँ” भन्ने वाक्यांशहरू उल्लेख गरिएको छ । येशू नै परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई उहाँले बोल्नुभएका “म हुँ” भन्ने वाक्यांशहरूद्वारा प्रष्ट पारिएको छ । यूहन्नाको पुस्तकमा उल्लेख गरिएका सातवटा “म हुँ” भन्ने वाक्यांशहरूः जीवनको रोटी म हुँ (यूहन्ना ६:३५), म संसारको ज्योति हुँ (यूहन्ना ८:१२), ढोका म नै हुँ (यूहन्ना १०:७–९), म असल गोठालो हुँ (यूहन्ना १०:११), पुनरूत्थान र जीवन म नै हुँ (यूहन्ना ११:२५), बाटो, सत्य र जीवन म नै हुँ (यूहन्ना १४:६), साँचो दाखको बोट म हुँ (यूहन्ना १५:१, ५) ।
येशूले भन्नुभएको “म हुँ” वाक्यांशहरू र प्रस्थान ३:१४. प्रकाश १:४, ८ र प्रकाश २२:१३ पदहरूलाई दाँजेर अध्ययन गर्दा मोशालाई “म हुँ” भन्नुहुने यहोवे परमेश्वर र येशू समान हुनुहुन्छ । येशूले भन्नुभयो “पिता र म एक हौं” (यूहन्ना १०:३०) । यदि कसैले येशूलाई पिताभन्दा दोस्रो दर्जामा राखेर शिक्षा दिन्छ र उहाँको आज्ञाहरू तोड्छ भने तिनीहरूले अनन्त जीवनको सट्टा अनन्त दण्ड पाउनेछन् (यूहन्ना ३:३६) । हामीले पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वरलाई ठूलो र सानो गरेर दर्जाको श्रेणीमा राख्न मिल्दैन । हामी सबै यूहन्नाको पुस्तक अध्ययन गरौं र “म हुँ” भन्ने येशूलाई गहिरोसँग चिन्दै र उहाँको महिमा गर्दै ख्रीष्टियन जीवन बिताऔं ।
(सन्दर्भ सामग्रीः यूहन्ना सम्बन्धी लेखिएका विभिन्न पुस्तक–पुस्तिकाहरू)