म र मेरो परिवार – पाष्टर डा राजेन्द्र रोंगोंग

September 10, 2014 | Articles  

म एक स्वतन्त्र व्यक्ति हुँ ता पनि म एउटा परिवारको सदस्य हुँ । एफिसी ५:२२–२९, ६:१–९ अनुसार परिवार एउटै घरमा बस्ने श्रीमान– श्रीमती; छोरा–छोरी, मालिक–सेवकले बनेको हुन्छ ।
बाइबलमा परिवारसम्बन्धी छुट्टै वा विशेष रूपमा व्याख्या नगरिएता पनि, परिवारबारे अनेकौंं संदर्भहरू पाइन्छन् । ती मध्ये केही सम्बन्धित संदर्भको चर्चा गरिएको छः
परिवारबाट परमेश्वर के चाहनुहुन्छ ?
१. पृथ्वीमा पहिलो परिवार परमेश्वरले सृष्टि गर्नुभयो । आदम र हव्वा (श्रीमान र श्रीमती) लाई आफ्नै स्वरूपमा सृष्टि पृथ्वी र त्यसमा भएका सबै कुराहरू उनीहरूको अधिकारमा दिनुभयो
(उत्पत्ति १:२७–३०) ।
परमप्रभु परमेश्वरले परिवारबाट उहाँले सृष्टि गर्नुभएको सबै कुराहरूको सेवा र हेरचाह गर्ने अपेक्षा राख्नुभएको थियो ।
यहोशूले यो तथ्यलाई राम्ररी बुझेका थिए । उनले आफुसँग मिश्रबाट छुट्कारा पाइआएका इस्राएलीहरूलाई चुनौती दिँदै यो भनेका थिए, “…तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं” (यहोशू २४:१५) ।
यसैले परमेश्वरमाथि विश्वास गर्ने, उहाँसित व्यक्तिगत सम्बन्ध भएका प्रत्येक परिवारबाट परमेश्वरको महिमा र उहाँले सृष्टि गरी मानिसहरूलाई अधिकार दिनुभएको कुराहरूको ठीक हेरचाह अथवा व्यवस्थापन गरेको चाहनुहुन्छ ।
परिवार बलियो हुनुपर्छ
परमेश्वरको इच्छा पूरा गर्नलाई परिवारलाई बलियो हुनुपर्ने अति आवश्यक छ । परमेश्वरलाई विरोध गर्ने शैतानलाई यो थाहा छ यसैले शुरूदेखि नै त्यसले परिवारलाई कमजोर पार्ने कोशिष गर्दै आएको छ ।
परिवारलाई कमजोर गर्ने वा नाश गर्ने त्यसको सशक्त प्रयास जारी छ । अहिले यो समयमा सायदै यस्ता परिवार होला जहाँ शैतानको आक्रमण भएको छैन । त्यसलाई यो थाहा छ कि परिवारहरूले परमेश्वरको सेवा गरेमा परमेश्वरको राज्यको विस्तार हुन्छ र साथै बलियो पनि ।
यसैले शैतानले परिवारमाथि आक्रमण गरेको छ र परमेश्वरको राज्यको वृद्धिअनुसार त्यसले आफ्नो आक्रमणलाई तीव्र पार्दै लगेको छ । त्यसको आक्रमण देखिने रूपमा वा उग्र रूपमा नआउला तर अत्यन्त चलाखीपूर्ण अर्थात् हामीलाइ थाहै नहुने गरी परिवारमाथि निरन्तर हमला गरिरहेछ ।
परिवार कसरी बलियो हुन्छ ?
परिवारलाई बलियो बनाउने तत्व प्रेम हो । परमेश्वर प्रेम हुनुहुन्छ (१ यूहन्ना ४:८), यसैले उहाँका सबै कामको आधार प्रेम नै हुनुहुन्छ । उहाँले पहिलो परिवार सृष्टि गर्नुभयो, त्यो प्रेममा आधारित थियो । एफिसी ५ अध्यायमा श्रीमान–श्रीमती, बाबु–आमा, छोरा–छोरी, मालिक–सेवक सबैको सम्बन्ध प्रेममा आधारित हुनुपर्ने जोड दिएको छ । परिवारको सम्बन्ध बलियो हुनु र नहुनुमा परिवारलाई बाँध्ने तत्व प्रेममा भर पर्दछ ।
यस्तो प्रेम मानिसको कोशिषबाट हुन सक्दैन । मानिसबाट उपज भएको प्रेम धोकापूर्ण छ । धर्म शास्त्रअनुसार “मानिसको मन (हृदय) सबैभन्दा छली हुन्छ” (यर्मिया १७:९) । हाम्रो परिवारलाई बलियो बनाइराख्न “…पवित्र आत्माद्वारा हाम्रो हृदयमा खन्याइएको प्रेम” (रोमी ५:५) चाहिन्छ । यो प्रेमको वर्णन १ कोरिन्थी १३:४–८ मा प्रष्ट पारिएको छ ।
आपसी प्रेमका साथै परिवारको वेदी पनि बलियो हुनुपर्छ । वेदी भनेको त्यो ठाउँ जहाँ हामी परमेश्वरसित भेट्छौं । यसको लागि कुनै विशेष स्थान चाहिँदैन । सुत्ने कोठा, चूल्हा, बार्दली जहाँ सँगै बसेर परमेश्वरसँग संगति गर्न सक्छौं त्यही नै वेदी बन्दछ । संगतिको अर्थ परमप्रभुसँग समय बिताउनु हो । पहिले स्तुति प्रशंसा, बाइबल पढाइ अनि प्रार्थना अर्थात् शनिबारको दिन मण्डली भवनमा गरिने सबै कुरा जस्तै गर्नुपर्छ भन्ने होइन ।
माथिको भनाइबाट यी सबै कुरा गर्नु हुँदैन भनेको होइन । तर प्रभुको वेदीमा जानुको अर्थ परमेश्वरसँग भेट गर्नु हो, उहाँको स्तुति–प्रशंसा गर्नु हो, उहाँको वचन सुन्नु हो, आफ्ना बिन्तीहरू राख्नु हो । यी सबैले हामीलाई परमेश्वरको नजीक राख्दछ । जब हामी परमेश्वरको नजीक रहन्छौं शैतानले हामीलाई आक्रमण गर्न सत्तैन ।
नहेम्याह र बेबिलोनको कैदबाट फर्केका इस्राएली कैदीहरूले मुक्त भएर यरूशलेममा परमेश्वरको मन्दिर मर्मत गर्न लागेका थिए, शत्रुहरूले उनीहरूको काममा बाधा दिन थाले । नहेम्याह उनीहरूका अगुवा थिए । उनी परमेश्वरका भय मान्ने व्यक्ति थिए । उनीहरू संख्यामा थोरै थिए, शत्रु धेरै र शक्तिशाली तर उनी डराएनन् किनकि उनी परमेश्वरमा विश्वास गर्थे ।
नहेम्याहले के गरे हेरौं
“…तब उठेर मैले ती सबको निरीक्षण गरेँ र भारदारहरू, अधिकृतहरू र सबै मानिसलाई यसो भने, उनीहरूसँग नडराओ महान र भययोग्य परमप्रभुको सम्झना गर, र आफ्ना दाज्यू–भाइ, छोरा–छोरी, पत्नी र घरहरूका निम्ति युद्ध गर” (नहेम्याह ४:१४) ।
यही नै उनीहरूको सफलताको आधार भयो उनीहरूले आफ्नो काम, जो परमेश्वरको इच्छाअनुसार थियो, पूरा गरे ।
हामी पनि लडाईंमा छौं । हाम्रो लडाईं सांसारिक लडाईं होइन “हामीहरूको शरीर र रगतको विरूद्ध होइन, तर प्रधानताहरूका र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याईंका आत्मिक सेनाहरूको विरूद्ध हो” (एफिसी ६:१२) । यही हो शैतानको आक्रमण र हाम्रो लडाईं । यस लडाईंको निमित्त परमेश्वरले सबै कुरा तयार गरिदिनुभएको छ । हामीले ती जानेर आज्ञा पालन गर्नु मात्र आवश्यक छ । अन्य सबै कुरा उहाँले गर्नुहुनेछ ।
यसैले परिवारका एक एक सदस्यले आफ्नो परिवार निर्माण वा सुधारको निमित्त के गर्नुपर्छ विचार गरौं र काम गरौं । यो मेरो विचारले मात्र हुँदैन, पवित्र आत्मा हामीलाइ सहायता गर्न सधैँ तयार हुनुहुन्छ । मागौं उहाँले दिनुहुन्छ ।