म र मेरो परिवार (“म”भन्नाले परिवारको कुनै पनि सदस्यहुन सक्छ ।) – पाष्टर डा. राजेन्द्र रोंगोंग

October 6, 2014 | Articles  

अघिल्लो सूचना पत्रमा म र मेरो परिवार शीर्षक अन्तर्गत केही चर्चा भएको थियो । त्यहाँ हामीले परिवारका सदस्यहरू श्रीमान्–श्रीमती, छोराछोरी, मालिक–सेवक हुन्छन् भनी हेरेका थियौं । हामीले यो पनि हेर्‍यौं कि परमेश्वरले नै परिवारको सृजना गर्नुभएको हो र परिवारको विशेष उद्देश्य परमेश्वरको महिमा र उहाँको सृष्टिको हेरविचार गर्नु हो ।

उक्त लेखमा परिवारबारे छोटकरी व्याख्या मात्र गर्न सकिएको  थियो । यो विषयअतिगहन छ र यस बारे अनेकौं पुस्तकहरू लेखिएका छन् र लेखिने छन् । परिवारका अनेकौं पक्ष छन् र आजको संसारमा यसलाई हेर्ने, पढ्ने विभिन्न दृष्टिकोण छन् । तर हामी इसाईहरूको निम्ति एउटै दृष्टिकोण वा एउटै आधार छ, त्यो हो बाइबल ।

हामी अन्यजातिहरूका निम्ति परमेश्वरका सेवक पावलले  प्रभु येशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता र प्रभु भनी विश्वास  गरेर बप्तिस्मा लिएकाहरूलाई हामी परमेश्वरद्वारा नयाँ बनाइएका छौं भनी बारम्बार स्मरण गराइरहन्छन् र त्यसको आचरणमा जिउनलाई उत्साह दिन्छन् र इसाई परिवार सम्बन्धी पनि यसै अनुरूप शिक्षा दिन्छन् । एफिसी ५:२२—२३ उनले स्पष्टरूपमा परिवार सम्बन्धी आचरणको व्याख्या गरेका छन् । पहिले उनी इसाई श्रीमतीहरूलाई भन्छन्ः “पत्नीहो, प्रभुको अधीनमा रहे जस्तै आ—आफ्ना पतिको अधीनमा बस ।” यस अघि  एफिसी ५:२१ मा अधीनताको आधरभूत सिद्धान्त उल्लेख गर्छन् । “ख्रीष्टको श्रद्धामा एक—अर्काको अधीनमा बस ।” त्यस पछि सबै इसाई पत्नी-श्रीमतीहरूलाई “अधीनता सम्बन्धी”अर्ती दिन्छन् । यो अर्ती सबै पत्नीहरूको निम्ति हो । श्रीमतीहरू श्रीमान्भन्दा बढी पढेलेखेका, क्षमतावान, धर्मशास्त्रको ज्ञान भएका र अन्य गुण भएकाहरू भएता पनि उनीहरू श्रीमान्को अधीनमा रहनुपर्छ । यसको अर्थ श्रीमान्ले हुकुमीशासन चलाएर श्रीमतीलाई अधीनमा राख्नु भनेको कदापी होइन । यसको वास्तविक अर्थ श्रीमतीले खुशी साथ स्वेच्छा पूर्वक आफूलाई प्रेममा समर्पण गर्नु हो । “आ—आफ्नो पति”वाक्यांशले यो अधीनता एउटै पुरुषतर्फ हुनुपर्छ जसलाई परमेश्वरले पत्नीको शिर हुनलाई दिनुभएको छ ।

आत्माले भरिएकी श्रीमतीले आफ्नो पतिलाई परिवारको शिर परमेश्वरद्वारा निर्धारण गरिएको हो भनी बुझ्नुका साथै,त्यस भन्दा बढी ख्रीष्ट मण्डली रूपी दुलहीको शिर रहनु भएअनुसार पति शिर हुन् भनी बुझ्छिन् र विश्वास गर्छिन् । पतिहरूको निम्ति अझ अर्ती छन्ः परिवारमा पतिलाई अधिकारको स्थानमा राखिएको छ तर यो अधिकार सँगै आफ्नी श्रीमती प्रति गहन जिम्मेवारी दिइएको छ । पतिहरूले पत्नीहरूलाई ख्रीष्टले  झैँ बलिदानरूपी प्रेम गर्नुपर्छ । ख्रीष्टले मण्डलीको लागि आफूलाई रित्याइकन आफ्नो प्राण दिनुभएको थियो । इसाई पतिले आफ्नी पत्नीलाई दिनुपर्ने मापदण्ड यहीहो ।

परमेश्वरले पति–पत्नी दुवैलाई  स्पष्ट निर्देशन दिनुभएको छ । उनीहरू बीच आइपर्ने बाधा–अड्चन, समस्या समाधानका निमित्त दुवै तर्फबाट परमेश्वरले दिनुभएको मार्ग निर्देशनलाई पछ्याउनुपर्छ ।

यी सबै सम्भव हुन्छन् जब श्रीमान् र श्रीमती दुवै परमेश्वरको नजीक छन् र परिवारमा पारिवारिक वेदी रहेको हुन्छ अर्थात् परिवार सधैँ परमेश्वरका वचन र प्रार्थनाका निमित्त भेट्छन् । खर्चको अभाव, श्रीमान्–श्रीमतीका पुरुषवा महिला साथीहरू, छोराछोरीको अनुशासन सम्बन्धी कुराहरू, श्रीमान् र श्रीमती तर्फका शाखा सन्तानका कुरा, जाँड–रक्सी सेवन आदि आदि कुराहरूले घरमा झैँ झगडा, अशान्ति  ल्याउँछ । यस्तो समयमा कसैले पनि एकलौटी निर्णय लिनुहुन्न साथै म ठीक र “ऊ” बेठीक भनी कहिल्यै निर्णय गर्नुहुन्न । यदि पति वा पत्नी आत्माले भरिएको विश्वासी भनी भन्छन् भने सबैभन्दा पहिले एकछिन चूपचाप रही सहायताको निम्ति परमेश्वरसँग गोप्य–प्रार्थना गर्नु आवश्यक छ । दुईमध्ये एकले मात्र यसो गरेस्थिति सामान्य हुन्छ र केही समाधानका बाटो निस्कन्छ । यदि पति–पत्नी दुवै मिलेर प्रार्थना गरेमा त्यो दूषित स्थिति परिवर्तन भई परमेश्वरले दिनुभए अनुसार आनन्द र शान्तिको वातावरण आउनेछ ।

यसैगरीैबाबु–आमा, छोरा छोरीकोै सम्बन्धै पनिै ठीक रहनु–
पर्छ । यो भन्न सजिलो छ; गर्न गाह्रो तर विश्वासीरूको निमित्त उचित सल्लाह र मार्ग निर्देशन बाइबलमा प्रष्टाइएको छ । छोराछोरीले बाबु–आमाको आज्ञा पालन गर्नु र मान (इज्जत) गर्नुपर्छ (एफिसी ६:१–२) । वर्तमान समयमा छोराछोरीहरू आमा–बाबुभन्दा धेरै पढेका हुन्छन् र धेरै कुरा जान्ने हुन्छन् । यस्तो भएतापनि  छोराछोरीले  आमा–बाबुको आज्ञा–पालन र मान अथवा इज्जत गर्नुपर्छ (हितोपदेश २३:२२–२३) । यसबाट छोरा छोरीहरूलाई भलाईका साथै दीर्घायु (एफिसी ६:३) प्राप्त हुन्छ । यी परमेश्वरका वचन हुन् यो अवश्य पूरा हुने नै छ ।

आमा–बाबुले पनि छोरा छोरीहरूलाई रीस उठाउनु हुन्न । उनीहरूलाई प्रभुको “अनुशासन र शिक्षामा”हुर्काउनुपर्छ । यो सजिलो छैन । नियम पुर्‍याउने हिसाबले मात्र यो गरिनु हुन्न । बाबु–आमाले पहिले आफूलाई परमेश्वरको अनुशासनमा राख्न सक्नुपर्छ । आफूले गरेर, देखाएर भनेको कुरा प्र्र्र्रभावशाली हुन्छ । छोराछोरीलाई हुर्काउने र विशेषतःहुर्कदै गरेका वा हुर्किसकेका छोरा छोरीहरूको व्यवहार चुनौतीपूर्ण छ । हाम्रै
संसारका ज्ञान–बुद्धिले हुन सक्तैन । यसकालागि परमेश्वरको अनुग्रहमा आमा–बाबुले परिवर्तन गरिरहनुपर्छ ।
यी सबै भनाइले छोरा छोरीलाई सधैँ फुर्काउनुपर्छ भन्ने होइन । उनीहरू पनि व्यक्ति हुन्, उनीहरूको पनि आफ्नो विचार हुन्छ, तर्क गर्ने क्षमता हुन्छ, इच्छा हुन्छ । यी सबै बुझेर आमा–बाबुले उनीहरू सित व्यवहार गर्नुपर्छ । हामीहरूको निम्ति प्रभु  येशूले  पवित्र आत्मा पठाइदिनुभएको छ । उहाँ हामीसँग सधैँ बस्नुहुने सल्लाहकार हुनुहुन्छ (यूहन्ना १४:१६) ।

पवित्रआत्मा परमेश्वरले हामीलाई चाहिएको ज्ञान–बुद्धि, सल्लाह, समझ, बाबु–आमा, छोराछोरी सबैलाई निरन्तर झिँझो नमानी दिनुहुन्छ ।

के हामी हाम्रा परिवारबाट परमेश्वरका महिमा भएको चाहन्छौं? निर्णय हाम्रै परिवारको हो । सहायताको निमित्त पवित्र आत्मा हामीसँगै हुनुहुन्छ ।