क्रूस र पुनरुथानमा पाइने क्षमाको अाशिष् — डीकन सिमोन पाठक

April 9, 2015 | Articles  

हामीलाई घरिघरि चोट पुर्‍याउने व्यक्तिहरूलाई कतिपटकसम्म क्षमा दिनुपर्छ ? क्षमाको विषयमा शिक्षा दिन सजिलो छ तर क्षमाको अभ्यास गर्न अति नै गाह्रो छ । क्षमा दिनुपर्छ र लिनुपर्छ भन्ने ज्ञान धेरैलाई छ तर ज्ञान मात्र भएर क्षमा अर्थपूर्ण हुन सक्दैन । संसारमा चित्त नदुखेको, मन नभाँचिएको, चोट नपाएको मानिस विरलै होला । जीवनको कुनै कालखण्डमा हामीले चोट पाएका हुन सक्छौं र हामीले पनि अरू मानिसहरूलाई चोट पुर्‍याएका हुन सक्छौं । हामीहरूमध्ये कतिजना अहिले पनि परिवारका सदस्यहरूबाट, साथीभाइ वा समाजका मानिसहरूबाट चोट पाइराखेको अवस्थामा हुन सक्छौं । नेपालीमा भनाई छ ‘अचानोको चोट खुकुरीलाई के थाहा ?’ चोट पुर्‍याउने व्यक्तिलाई ठूलो कुरा नलागे तापनि चोट पाउनेको निम्ति ठूलो चोट भइराखेको हुन्छ । चोट पाउने व्यक्ति निको हुुनु आवश्यक छ । मानिसको ह्दयको चोट निको पार्ने एउटा विशेष औषधि हो क्षमा दिनु र लिनु ।
एकदिन पत्रुसले प्रभुलाई सोधेका थिए “प्रभु मेरो भाइले कति पल्ट मेरो विरूद्धमा अपराध गर्‍यो भने मैले त्यसलाई क्षमा गर्ने ? के सात पल्टसम्म ?” (मत्ती १८ः२१) । पत्रुसले प्रभुलाई प्रश्न गरिसकेपछि आफै उत्तर पनि दिएका थिए । याकूबको पत्रमा लेखिएको छ, “प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढीलो र रिसाउनमा धीमा हुनुपर्छ” (याकूब १ः१९) । तर पत्रुस ठीक उल्टा थिए । उनी बोल्नमा र रिसाउनमा छिटो तर सुन्नमा ढिलो थिए । उसको हात पनि छिटो चल्दथ्यो । येशू क्रूसमा चढाइनुअघि उहाँको गिरफ्तारीको निम्ति एक ठूलो भीड तरवार र लाठा लिएर येशू भएको ठाउँमा आएका थिए । “सिमोन पत्रुसले आफूसँग भएको तरवार निकालेर मुख्य पूजाहारीको कमारालाई प्रहार गरे र त्यसको दाहिने कान च्वाट्टै काटिदिए” (यूहन्ना १८ः१०) ।
पत्रुसको स्वभाव अरू चेलाहरूको भन्दा फरक किसिमको थियो । भीड देखेपछि तरवार चलाउन साहस गर्ने पत्रुस नै येशूलाई क्रूसमा चढाएको समयमा एउटा नोकर्नी केटीको प्रतिउत्तरमा येशूलाई तीन पटक इन्कार पनि गरेका थिए (लूका २२ः५६–५७) । यही पत्रुस येशू जीवित हुनुभएको दर्शन पाइसकेपछि पनि ‘म माछा मार्न जान्छु’ भन्दै पुरानै पेशामा फर्किएका थिए (यूहन्ना २१ः३) । तर येशूले यही पत्रुसलाई स्वर्ग जानुअघि तीन पटकसम्म उहाँलाई प्रेम गर्ने सम्बन्धमा प्रश्न सोध्नुभयो र मानिसको सेवा गर्ने महान जिम्मेवारी पनि सुम्पनुभएको थियो (यूहन्ना २१ः१५–१७) । उसले आÏनो जीवनकालमा प्रभुले दिनुभएको जिम्मेवारी पूरा पनि गरेका थिए ।
पत्रुसले किन क्षमाको विषयमा प्रभुलाई प्रश्न सोधेका होलान् ? किनकि येशूले चेलाहरूलाई प्रार्थना गर्न सिकाउँदा क्षमाको विषयमा यसरी सिकाउनुभएको थियो “हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं” (मत्ती ६ः१२) । पत्रुसले प्रभुले सिकाउनुभएको क्षमाको विषयलाई पालन गरेको हुन सक्छ । त्यसकारण उनले सात पल्टसम्म भन्दै उत्तर पनि दिएको हुन सक्छ ।
बाइबलमा सातौं नम्बरलाई सिद्धताको नम्बर पनि मानिएको छ । परमेश्वरले “सातौं दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो ।” “सातौं दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो” (उत्पत्ति २ः२–३) । “सातौंचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ दिन हो” (प्रस्थान २०ः१०) । “सातांै दिनमा तिमीहरूको एउटा पवित्र सभा होस् र तिमीहरूले त्यस दिन कुनै दैनिक काम नगर्नु” (गन्ती २८ः२५) । सात वर्ष सहकाल र सात वर्ष अनिकाल हुनेछ (उत्पत्ति ४१ः२९–३१) । पुरानो करारमा सातौं नम्बरको प्रयोगलाई विभिन्न दृष्टिकोणबाट प्रयोग गरिएको छ । नयाँ करारमा पनि सात मण्डली, सात सामदान, सात तारा, सात आत्मा आदि कुराहरूको वर्णन गर्न सातको प्रयोग गरिएको छ (प्रकाश १ः२०,३ः१) ।
पत्रुसले सात पल्टसम्म क्षमा दिने विषयमा प्रभुलाई सोध्नुको पछाडि सातौं नम्बरलाई उनले विशेष किसिमले हेरेको हुनुपर्छ । उनको विचारमा अपराध गर्ने भाइलाई सातपल्टसम्म क्षमा दिएपछि आफ्नो दायित्व पूरा हुन्छ भन्ने पनि हुन सक्छ । पत्रुसले प्रभुलाई यो प्रश्न सोध्नुअघि उनले कसैलाई सात पल्टसम्म क्षमा दिएको पनि हुन सक्छ । तर प्रभु येशूले पत्रुसलाई तीन छक्क पार्ने उत्तर दिनुभयो, “म तिमीलाई भन्दछु, सात पल्ट होइन, तर सत्तरी गुणा सातपल्ट” (मत्ती १८ः२२) । पत्रुसले अकमक्क पर्दै प्रभु सत्र गुणा सात पल्ट कि … सत्तरी गुणा सात पल्ट भन्दै प्रतिप्रश्न पनि गरेको हुन सक्छ । प्रभुले पत्रुसलाई क्षमाको सिमा नभएको सत्यता सिकाइराख्नुभएको थियो । सत्तरी गुणा सात पल्ट अर्थात् चार सय नब्बे पल्ट एउटा व्यक्तिलाई क्षमा दिनु भनेको उसलाई अब क्षमा दिन कुनै गाह्रो पर्दैन भन्ने पनि हो । उसको निम्ति क्षमा दिनु जीवनशैली नै भइसकेको हुन्छ ।
प्रभु येशूले पत्रुसलाई क्षमाको विषयमा एउटा दृष्टान्त भन्नुभयो । दश हजार सुनको सिक्काको ऋणको माफी पाएको नोकरले आफ्नो संगी नोकरले लिएको एक सय चाँदीको सिक्काको ऋण माफी गर्न सकेन । उसलाई घोक्रोमा पक्रेर झ्यालखानमा हालिदियो । दश हजार सुनको सिक्काको ऋण माफी दिने मालिकले यो सुनेपछि उसलाई दुष्टताको संज्ञा दिएर उसले गरेको व्यवहारको प्रतिफल भोग्न दण्ड दिनेहरूका हातमा सुम्पिदिए (मत्ती १८ः२३–३४) । दृष्टान्तपछि येशूले क्षमाको विषयमा यसरी भन्नुभयो “तिमीहरूले आफ्नो भाइलाई आफ्नो ह्दयदेखि क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्यसै गर्नुहुनेछ” (मत्ती १८ः३५) ।
हामीलाई चोट पुर्‍याउने मानिसहरूलाई क्षमा दिनसक्ने हुनको निम्ति येशूले हामीलाई दिनुभएको क्षमालाई बुझ्नु आवश्यक छ । हामीआफ्नै बलमा मानिसहरूलाई क्षमा दिन सक्दैनौं । हामी क्षमा दिने स्तरमा तब पुग्छौं जब हामी येशूले हामीलाई दिनुभएको क्षमालाई अनुभव गर्छाैं । उहाँलाई चिन्नुअघि र उहाँलाई चिनिसकेपछि पनि हामीले अनगिन्ती गल्तीहरू गरिसकेका छौं । दृष्टान्तमा बताएको दश हजार सुनको सिक्काको ऋण माफी गरिदिने मालिक परमेश्वर स्वयं हुनुहुन्छ । हामीले जीवनभर धर्मकर्म, दान–दक्षिणा, तीर्थव्रत गरेर तिर्न नसक्ने ऋण येशूले क्रूसमा तिरिसक्नुभएको छ । हाम्रो परमेश्वरको ह्दय क्षमा र प्रेमले भरिएको छ । उहाँको विरूद्धमा हामीले गरेका दशौं हजार अपराध र गल्तीहरू बिना शर्त क्षमा दिनुभयो । तर हामीचाहिँ एक सय चाँदीको सिक्काको ऋण माफी नगर्ने नोकरझैं सानातिना गल्तीहरूका पनि हिसाब राखिछोडेका हुन्छौं । क्षमाको विषयमा हामीले कतिपटक आफैलाई तल्लो दर्जाको नोकरजस्तै बनाइराखेका हुन्छौं । हामी क्षमा दिने मानिस बन्नको निम्ति क्रूसको प्रेमलाई बुझ्नु आवश्यक छ । हामी जबसम्म क्रूसको प्रेमलाई बुझ्दैनौं र क्रूसको क्षमादानलाई पूरा मात्रामा अनुभव गरेका हुँदैनौं तबसम्म क्षमाको आशिष बगाउन सक्दैनौं ।
येशू ख्रीष्टको क्षमादानलाई शब्दहरूद्वारा वर्णन नै गर्न सकिँदैन । उहाँलाई क्रूसमा चढाउनेहरूलाई क्रूसमा टाँगिराख्नुभएको समयमा उहाँले बोल्नुभएका सात वाणीहरूमध्ये एउटा वाणी यस्तो थियो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्” (लूका २३ः३४) । मानिसहरूले येशूलाई क्रूसमा चढाएका थिए । उनीहरूको मुखबाट अपशब्दहरू निकालेर येशूको विरोध गरिरहेका थिए । उहाँले चाहनुभएको भए स्वर्गबाट स्वर्गदूतहरू झिकाएर सबैलाई एउटै चिहान बनाउन सक्नुहुने थियो । तर उहाँले पिताको इच्छा पूरा गर्न चाहनुभयो । उहाँ क्रूसमा हुनुभएको समयमा रगतको धारा मात्र बगाउनुभएन तर रगतको धारासँगै प्रेम र क्षमाको धारा पनि बगाउनुभयो । उहाँले क्रूसमा भएको समयमा आफूलाई चोट पुर्‍याउनेहरूलाई बदला र घृणाको भावनाले हेर्नुभएन । उहाँले तिनीहरूलाई टिठाउनुभयो । क्रूसमा भएको समयमा पनि उहाँको हेराई सिंहासनमा थियो । गूड फ्राइडे अर्थात असल शुक्रबारचाहिँ पुनरूत्थान र सिंहासनलाई देख्ने दिन पनि हो । यदि येशूले क्षमाको सट्टा बदला लिनुभएको भए इतिहासमा पुनरूत्थानको दिन हुने थिएन । पुनरूत्थान बिना सिंहासनमा बस्नु पनि असम्भव हुने थियो । येशूले क्रूसबाट पुनरूत्थान र सिंहासनलाई देख्नुभयो । हामीलाई चोट पुर्‍याउने क्रूसहरूलाई कसरी हेर्दैछौं ? हामीहरूको ह्दयमा क्षमाको सट्टा बदलाको भावना पो छ कि ?
पावलल कलस्सीको मण्डलीलाई क्षमाको विषयमा यसरी लेखेका छन् । “एउटाले अर्कोलाई सहने गर, कुनै मानिसको विरूद्धमा केही दोषको कारण छ भने, एक–अर्कालाई क्षमा गर्ने गर । जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ” (कलस्सी ३ः१३)। हामीलाई चोट पुर्‍याउने मानिसहरूलाई क्षमा गर्नको निम्तिपरमेश्वरको वचनले आज्ञा दिएको छ । हामीले मानिसहरूलाई क्षमा दिनको निम्ति हामीले पाएको क्षमाको महत्वलाई बुझ्नु आवश्यक छ । मूल्य नै तिर्न नसकिने दशौं हजारको अपराध र गल्तीहरूको क्षमादान प्रभुबाट ग्रहण गर्ने अनि अरूलाई सय सिक्का चाँदीको मूल्य बराबर क्षमा दिनु पर्‍यो भने तिलको पहाड बनाउने स्वभावबाट हामी स्वतन्त्र हुन आवश्यक छ ।
हामीलाई चोट पुर्‍याउने मानिसहरूले हामीकहाँ आएर क्षमा नमागे तापनि हामीले आङ्खनो तर्फबाट ह्दयदेखि नै क्षमा दियौं र मनमा कुनैपनि तीतोपना राखेनौं भने हामी आफै निको हुनेछौं र फलवन्त हुँदै जानेछौंं । क्षमा दिने व्यक्तिले नै क्षमाको आशिष् उपभोग गर्नेछ । हामी जब क्षमा दिन्छौं एकअर्काको बीचमा बनाएको तीतो पर्खाल भत्केर जान्छ । परमेश्वरको चंगाई हामीमा बग्न थाल्छ । हाम्रा चोटहरू निको भएर जान्छन् । हामीमा मिलाप र शान्तिको आशिष् बग्न लाग्नेछ । हामी स्वतन्त्र भएर परमेश्वरको आराधना गर्न सक्नेछौं । परमेश्वरको क्षमाको अनुभव गर्दै उहाँको प्रेमले हाम्रो ह्दय भरिएर पोखिनेछ ।
क्रूस र पुनरुत्थानमा पाइने क्षमाको आशिष्को बाँडुचुँड परिवारबाट नै शुरू हुनु आवश्यक छ । हामीलाई कतिपटक परिवारका सदस्यहरूलाई चोट पुर्‍याएको ज्ञान नहुन सक्छ । यदि श्रीमान्–श्रीमती बसेर विगतमा मैले कुनै चोट पुर्‍याएको छु कि भनेर प्रश्न गर्ने हो भने निश्चयनै चोटका भावनाहरू त्यहाँ व्यक्त हुनेछन् । क्षमाको शुरुवात परिवारबाट गर्नको निम्ति श्रीमान्–श्रीमती, बाबु–आमा, छोरा–छोरी, ससुरा, सासु–बुहारी लगायत अन्य जो जति सदस्यहरू छन्, सबैले एकअर्कामा मैले केही चोट पुर्‍याएको छु कि भनेर कुराकानी गर्‍यौं र चोट पुर्‍याएकोमा क्षमा लिनेदिने काम भयो भने परिवारमा ठूलो जय आउनेछ । हाम्रा ह्दयका चोटहरू निको भएर जानेछन् । हाम्रो परिवार प्रभुको महिमा गर्ने परिवार बन्नेछ ।
हामी जब परिवारभित्र क्षमा लिन–दिन सक्छौं तब त्यो क्षमादान मण्डलीमा एकअर्कासँग पनि बगाउन सक्नेछौं । यदि हाम्रो ह्दय मण्डलीका अगुवाहरूको कारणले टुटेको छ वा हामीले मण्डलीका अगुवाहरूलाई चोट पुर्‍याएका छौं भने क्षमा लिने–दिने कुरामा ढिलो नगरौं । किनकि क्रूस र पुनरुत्थानको शक्तिले हामीलाई क्षमा लिन र दिन सक्षम तुल्याउँदछ । जब हामी मण्डलीभित्र क्षमाको आशिष् बगाउँछौं, त्यो आशिष् मण्डलीबाट बाहिर पनि बगाउन सक्नेछौं र धेरैलाई मण्डलीभित्र आउनको लागि बाटो तयार पारेका हुनेछौं । यदि हामीले क्षमा लिन–दिन सकिरहेका छैनौं भने हामी क्रूसमा हेरौं र पवित्र आत्माको सहायता मागौं । पवित्र आत्माले हामीले गर्न नसक्ने कामहरू गर्नलाई शक्ति दिनु हुनेछ । क्रूसकै कारण हामीहरू ख्रीष्टका अनुयायीहरू हुन सकेका छौं । ख्रीष्टियान हुनु भनेको ‘ख्रीष्ट ममा जिउनु हो’ (गलाती २ः२०) । ख्रीष्टमा जिउनेहरू ख्रीष्टको बाटो भएर हिँड्छन् । ख्रीष्टको बाटो क्रूसको बाटो, पुनरूत्थानको बाटो, सिंहासनको बाटो, प्रेम र क्षमाको बाटो हो ।