महाभूकम्पको आघातबाट निको हुने सामान्य तरिकाहरू – सिमोन पाठक

June 5, 2015 | Articles  

२०७२ वैशाख १२ गते तदानुसार अप्रिल २५ ता. २०१५ बिहान ११ः५६ मा गएको ७.८ (विदेशी मापन ८.१) रेक्टरको महाभूकम्प र त्यसपछि गएका अनगिन्ती पराकम्पनहरूले मानिसको दिनचर्यामा ठूलो फेरबदल ल्याइदिएको छ । धेरै धनजनको क्षति भयो । आँखाले हेर्दाहेर्दै धेरै घरहरू माटोमा मिल्न पुगे । घरमा पुरिएर र पर्खाल भत्किएर थिचिएकाहरूलाई उद्धार गर्न आर्मी, पुलिस लगायत सर्वसाधारण मानिसहरू आफ्नो बल र क्षमताले भ्याएसम्म लागिपरेका थिए । उद्धार र राहतको कार्यसँगै जनजीवन सामान्य बन्दै गएको थियो । यद्यपि भूगर्भविदहरूले आफ्नो अध्ययनबाट पाएको ज्ञानले पराकम्पनहरू जानु सामान्य हो भन्दै मानिसहरूलाई नअत्तालिन र आफ्नो कार्यमा लाग्नलाई उत्साह दिइराखेका थिए तर अचानक वैशाख २९ गते तदानुसार मे १२ ता. मंगलबार दिउँसो १२ः५० बजे फेरि ७.३ रेक्टर को शक्तिशाली भूकम्प गयो । धेरै घरहरू केही सेकेण्डमै माटोमा मिल्न पुगे । मानिसहरूको हृदयमा मृत्युको डर प्रबल भयो । धेरै मानिसहरूमा अब के गर्ने, कसरी बाँच्ने भन्ने ठूलो प्रश्न चिन्ह खडा भयो । भूगर्भविदहरू पनि अलमलमा पर्न पुगे । उनीहरूको अध्ययनबाट आर्जन गरेको ज्ञान पनि हल्लिन पुग्यो । वैशाख २९ गतेको भूकम्पपछि भूगर्भविदहरू पनि दुई धारमा हुन पुगे । एक थरीले यो पहिले गएको भूकम्पको पराकम्पन नै हो भनी दावी गरे भने अर्को थरिले यो पराकम्पन होइन भनी आफ्नो विश्वसनीय तर्कहरू दिनुमा व्यस्त भए । वैशाख २९ गतेको भूकम्पपछि पनि यो दिन र मितिमा अझैँ ठूलो भूकम्प जानेछ भनी झुटा भविष्यवाणीहरू गरेर जनमानसमा त्रास फैलाएर आफू चर्चित हुन खोज्नेहरू पनि देखा परेका थिए । भूकम्पको विषयमा रमाइला ठट्यौलीहरू फेसबूक र इन्टरनेटहरूमा पोष्ट गरेर मानिसहरूलाई रमाइलो गराएर भूकम्पलाई बिर्साउन खोज्ने मानिसहरूको पनि कमी थिएन ।

भूकम्पबाट शरीरमा चोट लागेका घाइतेहरू औषधि उपचारपछि बिस्तारै निको हुँदैछन् । त्यसरीनै हामीमा भएको डर, त्रास, तनाव वा हृदयको चोट पनि निको हुनु आवश्यक छ । घर र पर्खाल भत्केर चोट लाग्नेहरूको संख्याभन्दा मन, मस्तिष्कमा चोट लाग्नेहरूको संख्या लाखौं छन् ।

महाभूकम्पले हामीमा परेको शारीरिक पीडा र मानसिक आघातबाट निको हुनु आवश्यक छ । यू.एम.एन. का मानसिक स्वास्थ्य सल्लाहकार डा. स्टिफन कोल्टरले आघातको विषयमा दिनुभएको तालीम र सामान्य अध्ययनबाट प्राप्त गरेको ज्ञानको आधारमा मनौवैज्ञानिक आघातको विषयमा मैले यहाँ केही चर्चा गर्ने प्रयास गरेको छु । डा. स्टिफन कोल्टरका अनुसार मनोवैज्ञानिक आघात भनेको मनमा लागेको घाउ हो । शारीरिक घाउ समय बित्दै जाँदा प्राकृतिक रूपमा निको भएजस्तै मनमा लागेको चोट वा घाउ पनि प्राकृतिक प्रक्रियाले समय बित्दै जाँदा क्रमश निको हुँदै जान्छ । उनका अनुसार आघातमापरेका मानिसहरूमा सम्झन नचाहने कुराहरू पनि घरिघरि सम्झनामा आइराख्ने, दुःखलाग्दा सपनाहरू देख्ने, घटेका घटनाहरू सम्झनामा आइराख्ने जुन कुराले उसलाई आघात भएको थियो त्यस्ता वस्तुहरू देख्दा भावनात्मक रूपले संकटमा पर्ने जस्ता लक्षणहरू देखापर्दछन् । आघातको कारण स्नायु प्रणालीमा उच्च उत्तेजना हुन्छ जसले गर्दा झर्को मान्ने वा रिसाउने बानी, अत्यधिक चनाखो रहने, एक्कासी झस्किएर प्रतिक्रिया गर्ने, ध्यान केन्द्रित गर्न गाह्रो हुने, निद्रा नलाग्ने, कतिलाई बढी निद्रा लाग्ने पनि हुनसक्छ ।

भूकम्प जानुअघि हामीले आफैलाई सुरक्षित ठान्थ्यौं तर भूकम्पपछि आफू असुरक्षित भएको महसुस गरिराखेका हुनसक्छौं । भूकम्प गएको चार हप्ता बित्न लागिसक्यो तर हामीमा असुरक्षित भावनाका तरंगहरू दौडिराखेका हुन सक्छन् । पहिला गर्दै आएका कामहरू र रूची लागेका कुराहरू भूकम्पपछि गर्न मन नलागिराखेको होला । भूकम्प जाँदा भएका ठाउँ वा घरहरूमा बस्न मन परेको छैन होला । पहिला खान मन परेका कुराहरू खान रूची नहुने भइराखेको होला । मनमा अनेक किसिमको डरहरू पैदा भइराखेको होला । यदि हामीमा यस्ता कुराहरू भइराखेका छन् भने चिन्तित हुन आवश्यक छैन । भूकम्पको कारण यस्ता कुराहरू हामीमा हुनु मनोचिकित्सा विज्ञानका अनुसार सामान्य हो । भूकम्पको कारण हाम्रो स्नायु प्रणालीमा हामीले लिन सक्ने भन्दा धेरै सूचनाहरू एक्कासी लिनु परेको कारण स्नायु प्रणालीको तह पहिलाको भन्दा धेरै माथि भएको कारण नै यी सबै भएका हुन् । त्यसकारण नै कतिलाई पहिलेको भन्दा बढी झर्को लाग्ने, रीस उठ्ने, मानिसहरूसँग बहस गर्ने, एकाअर्कासँगको सम्बन्धमा समस्या देखिने, परिवारका सदस्यहरूको बीचमा नै मनमुटाव हुने, कोही बोलिराख्यो भने सुन्नलाई झर्को मान्ने, दिक्दारी लाग्ने, जीवन के रहेछ भन्दै जीवनको अर्थबारे प्रश्न गर्ने, उदासिन हुने र कतिचाहिँ परमेश्वरसँग रिसाउने पनि हुन्छन् ।

भूकम्पले हामीमा पुर्‍याएको आघात वा चोटबाट हामी निको हुन समय लाग्छ तर निको हुनु आवश्यक छ । डा. स्टिफनका अनुसार ६ देखि ८ हप्ता बितिसक्दा पनि हाम्रो मस्तिष्कमा परेको आघातबाट हामी निको हुन सकेनौं भने मानसिक उपचारको निम्ति व्यावसायिक परामर्श लिनुपर्दछ । भूकम्पले साना बाल बालिकाहरूमा ठूलो आघात पुर्‍याएको छ । यदि ६ देखि ८ हप्तापछि पनि राती सुत्न नसक्ने, एक्कासी निद्रामा उठेर बरबराउने, ओछ्यानमा पिसाब फेर्ने, पहिलाको भन्दा फरक व्यवहार देखाउने भइराख्यो भने मानसिक चिकित्सकसँग सल्लाह लिनु राम्रो हुन्छ । उनीहरूमा देखिने यस्ता व्यवहारहरू आघातको कारणले गर्दा भइराखेको हुन्छ । भूकम्पपछि बाल बालिकाहरू बुबा, आमा वा अभिभावकसँग बढी नजीकमा बस्न चाहन्छन् । बाहिर हिँड्दा खेरि अभिभावकको हात समातेर हिँड्न चाहन्छन् । यो समय बुबा, आमा वा अभिभावकहरूले बढी समय दिनु राम्रो हुन्छ । उनीहरूसँग बसेर कुराकानी गर्ने, खेल खेल्ने, रमाइलो गर्ने, उनीहरूलाई मन परेका कुराहरू गरिदिने, उनीहरूको मनमा खेलिराखेका कुराहरू चित्रद्वारा व्यक्त गर्न लगाउने गर्‍यौं भने भूकम्पले उनीहरूमा पुर्‍याएको आघातबाट चाँडो निको हुन सक्छन् । साना नानीहरू र किशोर किशोरी भएका अभिभावकहरू यो समयमा उनीहरूलाई बुझिदिनु अति आवश्यक छ । मनोचिकित्सा विज्ञानका अनुसार आघात परेको समयमा उनीहरू अहिले जुन उमेरमा छन् त्योभन्दा तीन चार वर्ष अगाडि हुँदाको समयमा भएको आनीबानी, व्यवहार, आचरणहरू अहिले देखाइराखेका हुन्छन् । भूकम्पको कारण उनीहरूमा आघात परेको कारण किशोर अवस्थामा पनि बच्चाको जस्तो व्यवहार देखाइराखेका हुन्छन् । उनीहरूलाई यो समयमा नझर्की र नरिसाइकन व्यवहार गर्‍यौं, दया, प्रेम, वास्ता देखायौं भने उनीहरू मन मस्तिष्कमा परेको चोटहरूबाट चाँडो निको हुनेछन् । तर उनीहरू अनुशासनभन्दा बाहिर जीवन जिउन खोज्छन् भने अभिभावकहरूले उनीहरूलाई अनुशासनमा रहन सिकाउनुपर्दछ । भूकम्पबाट मेरो छोरा बाँच्यो, मेरी छोरी बाँची भनेर चाहिने भन्दा बढी लाड प्यार देखाएर काम बिगार्दा पनि केही भनेनौं भनेत्यसले उनीहरूमा नकारात्मक प्रभाव पर्नसक्छ । मेरो बुबा, आमा वा अभिभावकले मैले काम बिगार्दा पनि केही भन्नु वा गर्नु भएन, मलाई स्वतन्त्र छाडिदिनुभयो भनी उनीहरूले झन् असुरक्षित महसुस गर्न सक्छन् । त्यसकारण साना बालबालिका र किशोर–किशोरी भएका अभिभावकहरूले यो समयमा उनीहरूलाई प्रेम गर्नुका साथै अनुशासनमा हिँड्न सिकाउनु पनि जरूरी छ ।

नेपालमा गएको भूकम्पले बाल, युवा, महिला र पुरुष सबैलाई केही नकेही मनमा घाउ लागेको छ । हामी सबै निको हुनु आवश्यक छ । डा.स्टिफनका अनुसार मानिसहरू निकोहुने फरक तरिकाहरू हुन्छन् । भूकम्प जानुअगाडि बढी कुराकानी गर्ने मानिस भूकम्पपछि चुपचाप बस्न सक्छ । भूकम्प अघि चुपचाप बस्ने मानिस भूकम्पपछि बढी कुराकानी गर्ने हुनसक्छ । कति मानिसहरू रोइरहने हुन सक्छन् । प्रत्येक व्यक्ति आघातबाट निको हुने तरिका फरक–फरक हुन्छ । यो कुरालाई परिवारका सदस्यहरूले, साथीभाइ वा काम गर्ने ठाउँहरूमा भएकाहरूले बुझिदिनु आवश्यक छ । आघातबाट निको हुन हामीले पहिले गर्दै आएका कामहरूमा फर्कनु पर्दछ । हाम्रो मनमा भएका भावनाहरू अरूहरूसँग बसेर बाँडचुँड गर्नुपर्दछ । हामी सानो झुण्डहरूमा वा दुई-तीन जना भेटेर सबैले भूकम्पको कथा सुनाउने र अरूको कथा सुन्ने गर्‍यौं भने भूकम्पले पुर्‍याएको आघातबाट चाँडो निको हुन सक्नेछौं । यसलाई टक थेरापी पनि भनिन्छ । हामी जति बसेर आफ्नो मनभित्रका तनावका भावनाहरूलाई व्यक्त गर्छौं उति नै चाँडो निको हुन सक्छौं । तर कतिलाई भूकम्पको आफ्नो कथा अरूलाई सुनाउन मन नपर्न सक्छ । उसलाई भन्नलाई कर गर्नु हुँदैन । आघातबाट निको हुने उसको फरक तरिका हुनसक्छ । यदि हामीमा भूकम्पले परेको आघात ६ देखि ८ हप्तापछि पनि पहिलेको जस्तो सामान्य अवस्थामा फर्कन सकेनौ भने परामर्शदाता वा मानसिक चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।

–    हाम्रो निम्ति आघातबाट निको हुने ठाउँ परमप्रभु परमेश्वरनै हुनुहुन्छ । बाइबलमा लेखिएको छ्, “उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ”(भजनसंग्रह १४७ः३) । हामीलाई आघातबाट चंगाई, छुटकारा, आशा र नयाँ मार्ग दिएर उहाँको महिमाको निम्ति नयाँ काममा चलाउनुहुने परमेश्वर नै हुनुहुन्छ । हाम्रो टुटेका हृदयहरू लिएर परमेश्वरकहाँ जाऔं । किनकि टुक्रिएको हृदयलाई जोड्ने र निको पार्ने उहाँ नै हुनुहुन्छ ।