आँफैलाई मस्काउने ठाउँहरु देख्नु – डिकन सिमोन पाठक

September 7, 2015 | Articles  

संसारमा गर्नलाई सबैभन्दा सजिलो काम के हो? हामीलाई अरूको कमजोरीहरूलाई औंल्याउनु, दोष देखाइदिनु, कुरा काट्नु सजिलो लाग्छ तर आफ्नै कमी कमजोरीहरू थाहा गरेर परिवर्तन हुनलाई गाह्रो लाग्छ। हाम्रो जीवनबाट परमेश्वरको महिमा हुनका निम्ति हामीले आफैंलाई मस्काउने ठाउँहरू देख्न आवश्यक छ। पितलको भाँडोलाई जति मस्कायो उति टल्किन्छ। मैला भाँडोलाई राम्रोसँग मस्काएर पखालेपछि त्यसमा भएको चमक देखिन्छ। हाम्रो जीवन टल्कन, एक तेजबाट अर्को तेजमा जान, एउटा महिमाबाट अर्को महिमामा जान, दोषरहित हुन, खोटरहित हुन, फलदायक हुनको निम्ति आफूमा भएको अपवित्रतालाई मस्काउनु र परमेश्वरको पवित्रतालाई धारण गर्नु अति आवश्यक छ।

परमेश्वरको पवित्रताले विशेष गरी दुईवटा कुराहरूलाई समावेश गर्दछ। पहिलोः परमेश्वर सृष्टिका सबैथोकहरूभन्दा माथि सम्पूर्ण रूपले अलग र प्रशंसाको योग्य हुनुहुन्छ। यो कुराले परमेश्वरको पवित्रताको सम्बन्धमा उहाँको सिद्धता वर्णन गरिएको भन्दा माथि छ भनेर निर्दिष्ट गर्दछ।

दोस्रोः परमेश्वर सबै पाप र दुष्टताबाट अलग हुनुहुन्छ। पवित्रताले परमेश्वर र उहाँको इच्छा अनन्तसम्म रहिरहन्छ भन्ने कुराको निश्चयता दिँदछ।

बाइबलमा पवित्र शब्दलाई क्रिया, विशेषण र नामको रूपमा प्रयोग गरिएको पाउँदछौं। क्रियाको रूपमा हेर्दा पवित्र शब्दको अर्थः पवित्र हुनु, पवित्र बनाउनु, समर्पण गर्नु, अर्पण गर्नु, अलग हुनु, उचाल्नु भन्ने हुन्छ। विशेषणको रूपमा हेर्दा पवित्र शब्दको अर्थ हुन्छः एकमात्र पवित्र, अलग गरिएको, पवित्र भन्ने हुन्छ। नाउँको रूपमा हेर्दा पवित्र शब्दलाई पवित्रता, पवित्रकरण भनी उल्लेख गरिएको छ। धर्मशास्त्रमा पवित्र भन्ने शब्द सबैभन्दा पहिला प्रस्थान ३ः५ मा उल्लेख भएको पाइन्छ। मोशालाई परमेश्वरले आफ्नो कामको निम्ति बोलाउनुहुँदा मोशाको जीवनमा पवित्रताको माग गर्नुभयो। परमेश्वर पवित्र हुनुहुन्छ, उहाँको सेवा गर्नको निम्ति, उहाँ सँगसँगै हिँड्नको निम्ति, उहाँको इच्छा, योजनाहरू हाम्रो जीवनमा पूरा हुनको निम्ति पवित्रता नभई नहुने कुरा हो।

परमेश्वरको पवित्रताले पाप र दुष्टताबाट अलग हुनु र उहाँको महिमा देख्नको निम्ति भक्ति चढाउनु भन्ने कुरालाई पुरानो करारका धेरैवटा खण्डहरूले प्रष्ट पार्दछ। मोशालाई परमेश्वरले पवित्र वासस्थान बनाउनको निम्ति आज्ञा दिनुभएको थियो। उनले परमेश्वरको आज्ञाअनुसार पवित्र वासस्थान बनाएका थिए। पवित्र वासस्थानलाई पवित्रस्थान र महा–पवित्रस्थान गरेर पर्दाले दुई भाग गरिएको थियो (प्रस्थान २६ः३३)। महा–पवित्रस्थानलाई भित्री पवित्रस्थान पनि भनिन्छ (१ राजा ६ः१६)।

पवित्र वासस्थान संसारको पाप र दुष्टताबाट अलग गरिएको स्थान थियो। यो स्थान परमेश्वरको सेवाको निम्ति समर्पण गरिएको थियो तर महा–पवित्रस्थानमा बाचाको सन्दूक राखिएको थियो। यो स्थान संसारको पाप र दुष्टताबाट अलग गरिएको मात्र होइन एकदमै अलग गरिएको र परमेश्वरको सेवाको निम्ति पूरै तवरले भक्ति चढाउने काम गरिन्थ्यो। यो स्थानमा वर्षमा एकपटक प्रधान पूजाहारी मात्र परमेश्वरलाई भक्ति चढाउन जान पाउँथ्यो। उसले मनमा अलिकता मात्र खराब सोच राखेको, संसारका कु–अभिलाषा मनमा लिएको पाइयो भने उसको त्यहीँ मृत्यु हुने गर्दथ्यो। महा–पवित्रस्थानले परमेश्वर कति पवित्र हुनुहुन्छ भन्ने कुराहरू चित्रण गरेको छ। परमेश्वर यति पवित्र हुनुहुन्छ कि संसारको कुनै पनि मानिस उहाँको उपस्थितिमा खडा हुन नै सक्दैन। परमेश्वरलाई धन्यवाद होस्, उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई मानव जातिको पापको प्रायश्चित गर्नलाई संसारमा पठाउनुभयो। उहाँको त्रू्कसको बलिदानको कारण संसारका सबै मानिस परमेश्वरको महा–पवित्रस्थानमा येशू ख्रीष्टद्वारा जान सक्छन्। मन, वचन र कर्मले घरि–घरि पाप गरिराख्ने मानिसहरू पुरानो करारको समयमा जस्तै भस्म भएका छैनन् किनकि परमेश्वरले सारा मानिस जातिलाई येशू ख्रीष्टद्वारा हेर्नुहुन्छ। पापमा डुबेको मानिसलाई पापबाट फर्किएर येशू ख्रीष्टद्वारा उहाँसँग सम्बन्ध स्थापित गरेको उहाँ चाहनुहुन्छ।

यशैयाले दर्शनमा परमेश्वरको पवित्रतालाई देखिसकेपछि आफ्नो पापलाई थाहा गरेका थिए। “सर्वशक्तिमान परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ” (यशैया ६ः३–४)। हामी जति परमेश्वरको पवित्रतालाई बुझ्दै जान्छौं, उति नै हामील आफैलाई मस्काउने ठाउँहरू देख्न सक्छौं। यशैयाले परमेश्वरको पवित्रतालाई देखेपछि उनी भन्छन्, “धिक्कार! म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाराजाधिराजलाई देखेको छु” (यशैया ६ः५)। यशैयाले आफैलाई पवित्र सम्झन्थे किनकि उनी परमेश्वरका अगमवक्ता थिए तर जब उनले परमेश्वरको पवित्रतालाई देखे तब मात्र उनले आफ्नो कमजोरीहरू, पापहरू थाहा गर्न सकेका थिए। उनले पापको पश्चात्ताप गरिकेपछि मात्र परमेश्वरको आवाज सुन्न सकेका थिए (यशैया ६ः८)।

परमेश्वरको उपस्थितिमा को जानसक्छ? “परमप्रभुको डाँडामा को उक्लन सक्ला? र उहाँको पवित्रस्थानमा को खडा हुन सक्छ? त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन, र जसले झूटो कुरामाथि शपथ खाँदैन” (भजनसंग्रह २४ः३–४)। पवित्रता बिना कोही पनि परमेश्वरको उपस्थितिमा जान सक्दैन। त्यहीकारण परमेश्वरले पवित्रताको माग गर्नुभयो। “तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु” (१ पत्रुस १ः१५–१६)। यो कुरा परमेश्वरले इस्राएलीहरूलाई भन्नुभएको थियो (लेवी ११ः४४–४५, १९ः२)। पवित्र परमेश्वर र मानिसहरूको बीचमा सम्बन्ध हुनको निम्ति पवित्रतालाई उच्च किसिमले व्याख्या गरिएको छ।

परमेश्वर पवित्र हुनुहुन्छ भन्ने तथ्यबाट तीनवटा कुराहरू सिक्नु अति आवश्यक छ : पहिलो, पापको कारण मानिस परमेश्वरबाट अलग भएको छ (रोमी ३ः२३)। “तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्, र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ, र उहाँले तिमीहरूको कुरा सुन्नुहुनेछैन” (यशैया ५९ः२)। प्ाापले मानिसलाई परमेश्वरबाट अलग गराउँदछ। सृष्टिको शुरूका मानिस आदम र हव्वाको परमेश्वरसँग घनिष्ठ संगति थियो। तर जब उनीहरूले परमेश्वरको आज्ञा उल्लङग्न गरे तब संसारमा पापको प्रवेश भयो। पापको कारण उनीहरू परमेश्वरबाट टाढो भए। उनीहरूले पाप गरिसकेपछि परमेश्वरको मुहार उनीहरूले देख्न सकेनन्। पापको कारण पवित्र परमेश्वरसँग संगति टुट्यो तर मानिस यस्तो प्राणी हो परमेश्वर बिना जिउन सक्दैन। त्यसकारण मानिसले परिकल्पना गरेर परमेश्वरलाई विभिन्न रूप आकृतिहरू बनाएर पूजा गर्न थाले।

किन मानिस परमेश्वरबाट अलग भएको छ? एउटै कारण होः पाप। परमेश्वर पवित्र हुनुहुन्छ। मानिसहरू पापी छन्। पापले मानिसहरू परमेश्वरबाट अलग भएका छन्।

परमेश्वर पवित्र हुनुहुन्छ भन्ने तथ्यबाट सिक्नुपर्ने दोस्रो कुरा हो : येशू ख्रीष्टद्वारा पापी मानिसलाई परमेश्वरकहा जाने बाटो खुलेको छ। “यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसग हाम्रो मिलाप भएको छ। उहाद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खडा छौं, र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउछौ” (रोमी ५ः१–२)। येशू ख्रीष्टद्वारा पापी मानिसको परमेश्वर पितासग मिलाप हुनसक्दछ। येशू ख्रीष्ट यस संसारमा धर्म (Religion)शुरू गर्नलाई होइन तर सम्बन्ध (Relationship) शुरू गराउनलाई आउनुभयो।

यदि तपाईंको जीवनमा पाप, अधर्म, नराम्रा कामहरूको कारणले परमेश्वरसग संगति गर्न सकिराख्नुभएको छैन, प्रार्थनाको जीवन सेलाएर गइराखेको छ, परमेश्वरको वचन पढ्न मन लाग्दैन, तपाईंको हृदयमा शान्ति छैन, तपाईं रातमा निदाउन सकिराख्नुभएको छैन भने तपाईं निराश भएर नबस्नुहोस्, तपाईंको लागि आशा छ। येशू ख्रीष्ट कहाँ गएर पाप क्षमा माग्नुहोस्। उहाँद्वारा परमेश्वर पितासँग सम्बन्ध ठीक गर्नुहोस्। जब तपाईंको परमेश्वरसग ठीक सम्बन्ध हुन्छ। तब तपाईंको हृदयमा ईश्वरीय शान्तिले बास गर्दछ। तपाईंको प्रार्थनाको जीवन प्रभावशाली हुँदछ। परमेश्वरको वचनको प्रकाश तपाईंले पाउन थाल्नुहुनेछ। तपाईंको जीवनमा रूपान्तरण आउनेछ। “यसकारण भाइ हो, येशूको रगतद्वारा महा–पवित्रस्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। हाम्रा निम्ति एउटा नयाँ र जीवित मार्ग उहाले खोलिदिनुभयो, जसको कारण पर्दाद्वारा, अर्थात् उहाँको शरीरद्वारा भएर हामी भित्र पस्न सक्छौं ” (हिब्रू १०ः१९–२०)। परमेश्वरको पवित्रताले येशूको मानिसलाई परमेश्वरकहाँ जाने बाटो खुलेको छ। र मृत्युपछि पनि परमेश्वरको घर स्वर्गमा जानसक्छौं।

परमेश्वर पवित्र हुनुहुन्छ भन्ने तथ्यबाट सिक्नुपर्ने तेस्रो कुरा होः

मानिसको परमेश्वरप्रति भक्ति र भयको अवधारणा छ। परमेश्वर पवित्र हुनुहुन्छ। त्यहीकारण हामी उहाँलाई भक्ति चढाउछौं। उहाँको उपासना गर्छाै। उहाँको भय मान्छौं। यो कुरा मानिसको भित्री चेतनामा छ। जुन मानिसले परमेश्वरको डर राख्न छोड्छ, त्यसको जीवनमा दुष्टताले बास गर्छ, त्यो मानिसले भ्रष्ट कामहरू गर्न थाल्छ, अरूहरूलाई ठग्ने, लुट्ने कामहरू गर्न थाल्दछ। आफ्नै दाजु, भाइ, ईष्टमित्रहरू, आफन्तहरूको खुट्टा तान्न थाल्छ। अरूलाई छिर्के लगाएर लडाउने विचार मात्र उसमा हुन्छ।

हामीले परमेश्वरलाई भक्ति गर्नु, उपासना गर्नु, उहाको श्रद्धा गर्नु, भय मान्नु हो भने उहाको पवित्रतामा जिउनु आवश्यक छ। के हामी पवित्र परमेश्वरलाई पवित्रतामा उहाँको आराधना गरिराखेका छौं? “धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।”