धर्मशास्त्रमा वर्णन गरिएको धार्र्मिकता – डिकन सिमोन पाठक

October 2, 2015 | Articles  

नेपाल देशले जनताले चुनेको प्रतिनिधिहरूद्वारा बनाएको नयाँ संविधान भरखरै प्राप्त गरेको छ । नेपालीहरूमा अब त देशमा विकास र उन्नतिका ढोकाहरू खुल्नेछन् भन्ने आशाका किरणहरू पलाएका छन् तर राष्ट्रको उन्नतिहुन संविधानमात्र राम्रो बनेर पुग्दैन, धार्मिकताको पनि आवश्यकता पर्दछ । “धार्मिकताले देशलाई उचाल्छ” (हितोपदेश १४ः३४) । धार्मिकता के हो ? नयाँ करार र पुरानो करारमा धार्मिकतालाई कसरी व्याख्या गरिएको छ ? परमेश्वरको धार्मिकता र मानविय धार्मिकता के हो ? हामीमा धार्मिकताको शुरूवात कसरी हुन्छ ? आदि कुराहरूलाई जानेर त्यसअनुसार जीवन बितायौं भने मात्र व्यक्ति तथा राष्ट्रको उन्नति हुन्छ ।

पुरानो करारमा धार्मिकता र न्याय शब्दलाई धर्मी अथवा न्यायी भनी बढी मात्रामा प्रयोग गरिएको पाइन्छ । यसको अर्थ सीधै, ठाडै, सत्य, ठीक भन्ने हुन्छ । धार्मिकता र न्याय शब्दलाई  नयाँ करारमा इन्साफगर्नु, न्यायगर्नु, प्रमाणित गर्नु अथवा सफाई दिनु भन्ने अर्थमा प्रयोग गरिएको छ । शब्दको अर्थलाई केलाउँदा यो कुरा प्रष्ट हुन्छ कि परमेश्वरको धार्मिकता र न्यायमा ‘हो’ चाहिँ ‘हो’ र ‘होइन’ चाहिँ ‘होइन’ हुन्छ । यो संसारमा पैसा दिएर कालोलाई सेतो र सेतोलाई कालो बनाउन सकिन्छ । दोषीलाई निर्दोष र निर्दोषलाई दोषी ठहराउन सकिन्छ तर परमेश्वरको न्यायको दिनमा यो गर्न असम्भव छ । “धार्मिकता र न्याय परमेश्वरकोे सिंहासनको जगहुन्” परमेश्वरले गर्नुहुने न्याय सत्यतामा र विना भेदभाव हुन्छ (भजनसंग्रह ८९ः१४; ९७ः२) ।

पुरानो करारमा धार्मिकतालाई कसरी व्याख्या गरिएको छ ?
परमेश्वरको धार्मिकतालाई विशेष गरी दुई किसिमले प्रकाशपारिएको छः

१.परमेश्वरले दुष्ट र अनाज्ञाकारीहरूलाई दण्ड दिनुहुन्छ । परमेश्वर धर्मी हुनुभएको हुनाले दुष्ट र अनाज्ञाकारी जीवन जिउनेहरूले पुरानो करारको समयमा दण्ड पाउने गर्दथिए । (भजनसंग्रह ७ः९–१७, नहेम्याह ९ः३३, दानिएल ९ः१४) ।

२.परमेश्वरले आफ्ना मानिसहरूलाई तिनीहरूको शत्रुहरू र थिचोमिचोबाट छुट्कारा दिनुहुन्छ । पुरानो करारको समयमा परमेश्वरको धार्मिकताले दुष्टहरूलाई दण्ड दिने कुरालाई भन्दा पनि अझ बढी जोड दिएको कुरा चाहिँ आफ्ना मानिसहरूलाई शत्रुहरूको हातबाट र थिचोमिचोबाट छुट्कारा दिनुहुन्छ भन्ने कुरासँग सम्बन्धित छ । यसरी पुरानो करारको समयमा परमेश्वरको धार्मिकताले दुष्टहरूलाई दण्ड र धर्मीहरूलाई छुटकारा, सुरक्षा, कृपा, प्रेम प्रकट गरिएको कुरालाई दर्शाउँथ्यो ।

नयाँ करारमा परमेश्वरको धार्मिकतालाई कसरी प्रकाशपारिएको छ ?
नयाँ करारको समयमा अर्थात येशू ख्रीष्ट मानव बनेर यस धर्तीमा आउनुभए पछिको समयमा परमेश्वरको धार्मिकताले विशेष गरी तीनवटा कुराहरूलाई बुझाउँछः

१. परमेश्वरको राज्यलाई बुझाउँछः “तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्” (मत्ती ६ः३३) । “किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता,शान्ति र आनन्द हो”(रोमी१४ः१७) ।

२. परमेश्वरको सित्तैको वरदान येशू ख्रीष्टलाई बुझाउँछः “परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैमा धर्मी ठहरिएका छन्” (रोमी ३ः२४) । “येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ । किनभने केही भेद छैन” (रोमी ३ः२२) ।

३. येशू ख्रीष्टमा गरिएको विश्वासले मानिस धर्मी ठहरिन्छ, विश्वासद्वारा धर्मी ठहरिएकाहरूले धार्मिकताको खोजीगर्नु पर्दछ, परमेश्वरको अनुग्रहद्वारा धार्मिकतामा बढ्दै जानुपर्छ भन्ने कुरालाई बुझाउँदछ (रोमी६ः१२–१८,एफिसी४ः२४, ५ः९, फिलिप्पी १ः११)

पुरानो र नयाँ करार दुवैमा परमेश्वरको धार्मिकताले पापको पश्चात्ताप नगर्नेहरू माथि क्रोध र दण्ड पर्नेछ भन्ने कुरालाई प्रष्ट पारेको छ । पापको पश्चात्ताप गर्ने र परमेश्वरका पुत्र येशू माथि विश्वास गर्नेहरू धर्मी ठहरिएका हुन्छन् र ख्रीष्टमा गरिएका सबै प्रतिज्ञाहरू तिनीहरूको जीवनमा पूरा हुनेछन् भनी बताउँछ ।

परमेश्वरको धार्मिकता के हो ? धार्मिकता परमेश्वरको एउटा विशेष् गुण हो । परमेश्वरको धार्मिकताले अनन्तताको निम्ति सिद्ध मापनवा स्थानलाई जनाउँछ । परमेश्वरको धार्मिकता पवित्रताद्वारा झल्किराखेको हुन्छ । परमेश्वर धर्मी हुनुहुन्छ । जब उहाँ न्याय आसनमा बस्नुहुन्छ उहाँले संसारको न्याय निष्पक्षसँग गर्नुहुन्छ । संसारमा भएको सबैभन्दा धनी मानिसले पनि आफ्नो धन र शक्ति प्रयोग गरेर परमेश्वरको न्यायलाई बदल्न सक्दैन (भजनसंग्रह ७ः११) ।
परमेश्वरको धार्मिकतालाई निम्न कुराहरूद्वारा अझ प्रष्ट पार्न सकिन्छ अर्थात् परमेश्वरको धार्मिकता र न्यायले दिने खास सन्देश चाहिँ होः परमेश्वर धर्मी हुनुभएको हुनाले दुष्टहरूलाई दण्ड दिनुहुन्छ (प्रकाश १६ः५–७), आफ्नो मानिसहरूलाई दुष्ट्याईं गर्न देखि जोगाउनुहुन्छ (भजनसंग्रह १२९ः१–८), पापीहरूलाई क्षमा दिनुहुन्छ (१ यूहन्ना १ः९), आफ्ना मानिसहरूलाई दिनुभएका प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ (नहेम्याह ९ अध्याय), विश्वास योग्य हुनेहरूलाई इनाम दिनुहुन्छ (हिब्रू ६ः१०) ।

मानविय धार्मिकता के हो ? सैद्धान्तिक रूपमा मानव धार्मिकतालाई विश्लेषण गर्दा चारवटा कुराहरू पाउन सक्छौं

१. वास्तविक धार्मिकता (उत्पत्ति १ः३१, उपदेशक ७ः२९) । परमेश्वरले मानिसलाई पापरहित, निर्दोष, सोझो बनाउनुभएको थियो ।

२. ख्रीष्टको धार्मिकता (हिब्रू ४ः१५, १ पत्रुस २ः२२) । शुरूका मानव आदम पापमा फस्यो । येशू पाप रहित मानव बन्नु–भयो ।

३. धर्मी बनाइएको धार्मिकता (रोमी ५ः१)। यसलाई धर्मीकरण पनि भनिन्छ । परमेश्वरले मानिसलाई धर्मी भनी घोषणा गर्नुभएको धार्मिकता । यो मुक्तिको मार्गमा हिँड्ने पहिलो कदम पनि हो ।

४. नविकरण गरिएको धार्मिकता । यसलाई पवित्रकरण पनि भनिन्छ । परमेश्वरले एकपटक धर्मी ठहराइसक्नु भएकाहरू ख्रीष्टको स्वरूपमा वा परमेश्वरको प्रतिरूपमा दिनदिनै बनिँदै जाने धार्मिकता हो ।

हामीमा धार्मिकताको शुरूवात कसरी हुन्छ ?

धार्मिकताको शुरूवात नयाँ हृदयबाट हुन्छ। “म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरू भित्र म नयाँ आत्मा हालिदिनेछु । तिमीहरूबाट ढुंगाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु । अनि म मेरा आत्मा तिमीहरूमा हालिदिनेछु, र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होशियार साथ मान्ने तुल्याउनेछु” (इजकिएल ३६ः२६–२७) । किन परमेश्वरले नयाँ हृदय दिनेछु भन्नुभयो ? किनकि मानिसको हृदयमा अशुद्धताले बास गरेको छ । अशुद्धताले भरिएको हृदय सधैँ छली हुन्छ । अरूलाई छल्ने, झुट बोल्ने, बेइमान गर्ने, असत्यतालाई रूचाउने, भ्रष्टाचार गर्ने, दुष्ट विचारहरूले भरिएको हुन्छ । अशुद्धताले भरिएको हृदय ढुंगा जस्तो कडा हुन्छ । कठोर हुन्छ । त्यस्तो हृदयभएको मानिसले जहिले पनि अरूलाई चोट पुर्‍याइराखेको हुन्छ । ढुंगाको जस्तो कठोर हृदय भएका मानिसहरूले आफ्नो सम्पर्कमा भएका मानिसहरूलाई चोट पुर्‍याउने काम गरिराखेका हुन्छन् ।

हाम्रो हृदयमा परमेश्वरको धार्मिकताले बास हुनको निम्ति हामी नयाँ सृष्टि हुनु आवश्यक छ । “यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर, नयाँआएको छ” (२ कोरिन्थी ५ः१७) । कुनै पनि रूखमा नयाँ पातहरू पलाउनको निम्ति पुराना पातहरू झर्नुपर्दछ । पुराना पातहरू बोटबाट झरेनन्भने त्यो रूखमा नयाँ पाउलाहरू आउन सक्दैनन् । हाम्रो जीवनमा नयाँ पाउलाहरू आउनको निम्ति, अर्थात नयाँ सृष्टि हुनको निम्ति परमेश्वरको धार्मिकतालाई ग्रहण गर्नुपर्दछ । त्यो धार्मिकता परमेश्वरले येशू ख्रीष्टद्वारा दिनुभएको छ । हामीले जब उहाँलाई साँचो हृदयले ग्रहण गर्छौं तब परमेश्वरको धार्मिकताले हामीमाबास गर्दछ । हामी नयाँ सृष्टि हुन्छौं अनि नयाँ हृदय पनि पाउँछौं । परमेश्वरको आत्मा हाम्रो आत्मामा बास गर्नुहुन्छ । हाम्रो हृदय ईश्वरीय शान्तिले भरिन्छ किनकि परमेश्वरको धार्मिकता र शान्तिले एकले अर्कालाई मन पराउछन् (भजनसंग्रह ८५ः१०) । जब नेपालका मानिसहरूले परमेश्वरमा पाइने धार्मिकतालाई ग्रहण गर्छन् तब देशमा शान्ति, उन्नति र प्रगति हुन्छ । हाम्रो हृदय कस्तो छ ? परमेश्वरको धार्मिकताको गुणले भरिएको मानिस धार्मिकताको सिद्धान्त अनुसार जीवन जिउँदछ । के हामी परमेश्वरको धार्मिकताको सिद्धान्त अनुसार जीवन जिउँदैछौं ?